रास्वपाका नेताहरूले 'महाधिवेशनबाट हाम्रो वैचारिक धार प्रस्ट भयो, अब अगाडि बढ्छौँ' भनिरहेको समाचारहरूमा सुनियो । यस्ता टिप्पणीहरूले के देखाएका छन् भने वैचारिक धार भनेको के हो भन्ने विषयमा नै केही विचार गर्न आवश्यक छ ।
वैचारिक धार तय गर्ने भनेको विश्वमा प्रचलित केही जार्गनहरू टिपनटापन गरेर आफ्नो दृष्टिकोणसँग मिल्ने एउटा नयाँ हल्काफुल्का जार्गन बनाउने र 'ल हेर हाम्रो धार त्यही हो' भन्ने प्रकृया होइन ।रास्वपाले भनिरहेको लोकतन्त्र, न्याय, उदारवाद, समावेशिता आदिको सार्वभौम र विश्वव्यापी अर्थ हुँदैन । बनाउन खोजे पनि काम छैन । यी अवधारणा सार्थक हुने भनेको सम्बन्धित ठाउँ वा देशका विधिविधानमा के-कस्ता प्रबन्ध छन् र त्यसप्रति राजनीतिक शक्तिहरूको कस्तो निष्ठा छ त्यसबाट देखिने कुरा हो ।
अर्थात्, विचारमा स्पष्टताको व्यवहारिक र मूल पक्ष नेपालको संविधानका मूलभूत सिद्धान्तका बारेमा रास्वपाको औपचारिक दृष्टिकोण हो ।
नेपालको संविधानका मूलभूत पक्ष -संसदीय लोकतन्त्र, अभिव्यक्तिको स्वतन्त्रता, गणतन्त्रात्मक पद्दति, संघीय प्रणालीको सरकार, समावेशी र धर्मनिरपेक्ष राज्य आदि विषयमा रास्वपाको दृष्टिकोण के हो ? यी विषयमा महाधिवेशनमा के कस्ता चर्चा भए ? रास्वपाको वैचारिक धार त्यसबाट तय हुने हो ।
हामीले समाचारहरूमा पढेको कुरा के हो भने रास्वपा नेपालको संविधानका मूलभूत पक्षहरूमा हेरफेर चाहन्छ । रास्वपाको नीति प्रत्यक्ष कार्यकारी अधिकार सहितको राष्ट्रपतिबाट देश चल्नुपर्छ भन्ने हो, ऊ प्रदेशबिनाको संघीय प्रणाली चाहन्छ, केही नेताहरूले अस्पष्ट रूपमै भए पनि समावेशितालाई 'मेरिट'ले विस्थापन गर्नुपर्छ भनिरहेका छन् ।
महाधिवेशनका क्रममा भएका छलफल र पारित प्रतिवेदनबाट के देखिन्छ भने रास्वपा वैचारिक रूपमा स्पष्ट छैन । मलाई त लाग्छ इमानदार पनि छैन । रास्वपाका नेताहरूले नेपालको संविधानमा आफूले देख्न चाहेको कुरा स्पष्ट रूपले बोलेका छैनन् ।
सबैले वैचारिक रूपमा स्पष्ट हुनुपर्छ भन्ने छैन । सबै राजनीतिक दल आफ्ना विचारमा इमानदार छन् भन्ने पनि होइन । तर, नेपाली राजनीतिको मूल समस्या वैचारिक अस्पष्टता र विचारमा इमानदारिताको कमी हो । यसले गलत राजनीतिक गठजोडहरूलाई प्रश्रय दिएको छ, राज्यका नीति तथा कार्यक्रमहरूलाई भद्रगोल र अव्यवहारिक बनाएको छ ।
यति ठूलो परिवर्तनपछि यति ठूलो जनमत बोकेर आएको पार्टी नेपालको संविधानका मूलभूत पक्षहरूप्रति अस्पष्ट र गैरजिम्मेवार हुनु दुखद् कुरा हो ।
सारांशमा भन्नुपर्दा, रास्वपाको वैचारिक धार तय भयो भन्ने कुरा बिलकुल झुठा हो । नेपाल देश के हो, कसको हो, कसले चलाउने हो, कसरी चल्ने हो -यी यावत प्रश्नहरूमा रास्वपाका अहिलेसम्मका बोली र व्यवहार प्रस्ट र इमानदार छैनन् । भविष्यमा हुँदैजालान् ।
कि कसो ?!
No comments:
Post a Comment