Wednesday, December 4, 2019

म किन सोसल मिडिया प्रयोग गर्छु ?!



म सोसल मिडिया किन प्रयोग गर्छु ?

आफ्नो मनमा लागेको कुरा सुनाउन ।

म ब्लग वा ट्विटर प्रयोग गर्ने राष्ट्र र समाज बदल्नका लागि होइन । नेपाल बनाउनका लागि पनि होइन । नेपाल बनेन र बनाउनुपर्छ भन्नेहरूले देख्नेगरेका सपनामा आजभोलि मलाई विश्वास छैन । नेपाल बनाउने मेरो कर्तव्य हो जस्तो पनि लाग्दैन । जसलाई नेपाल बनाउने आफ्नो कर्तव्य हो जस्तो लाग्छ ति राजनीतिमा छन् । समाजसेवामा छन् । व्यापारी भएर अरूलाई रोजगारी दिएका छन् । म यी कामहरू गर्ने हैसियतमा छैन ।

त्यसैले म आजभोलि सोसल मिडिया आफूलाई लागेका कुरा अरूलाई सुनाउन मात्र प्रयोग गर्छु । मेरो वास्तविक उद्देश्य थिचिएका, बिर्सिएका, वास्ता नगरिएका न्यारेटिभलाई सतहमा ल्याउने हो । यसैका लागि लेख्छु ।

मेरा टिप्पणी किन नकारात्मक हुन्छन् ?

मेरा धेरैजसो सोचाइ र बुझाइ बहुसङ्ख्यक मानिसले मन पराउनेभन्दा उल्टा वा विपरित हुने गर्छन् । विभेदको मारमा परेका, हेपिएका, नसुनिएका मानिसले अनुभव गर्ने कुरामा मलाई बढी रुचि छ । सबैलाई हुनुपर्छ भन्ने नहोला । मलाई छ । यस्ता न्यारेटिभ बहुमतमा रहेका वा शक्ति र स्रोतसाधनसम्पन्न मानिसलाई मन नपर्नु स्वाभाविक हो । मानिसहरूले मलाई नकारात्मक देख्ने किन पनि होला भने म उनीहरूकै कारण विभेदमा परेका मानिसका बारेमा सोसल मिडियामा धेरै टिप्पणी गर्छु । त्यसैले, हुनेखानेहरूबाट नकारात्मकताको पगरी पाउँदा मलाई आश्चार्य लाग्दैन, बरु आफूले ठीकै गरिरहेको रहेँछु जस्तो लाग्छ ।

खासमा मेरो काम समाजमा यस्तो छ है भनेर देखाइदिने हो । समाज सुन्दर, शान्त, विशाल भए ऐनामा देखिने चित्र सुन्दर, शान्त, विशाल हुन्थ्यो । मानिसहरूलाई बिद्रुप आकृति मन पर्दैन । मानिसहरू ऐनामा देखिने समाजको आकृतिबाट तर्सिन्छन्, आत्तिन्छन् भने म के नै गर्नसक्छु ?! तर, आकृति बदल्ने मैले होइन ।

कसका लागि लेख्छु म ?

वास्तवमा विभेदमा परेका मानिसहरू भोइसलेस हुँदैनन् । उनीहरूको आवाज नसुनिने र वास्ता नगरिने मात्र हो । मैले विभेदमा परेका मानिसका पक्षमा बोल्दा उनीहरूको उपकार गरेको होइन, आफ्नो विवेकको प्रयोग गरेको मात्र हो । जो शक्तिशाली छ उसको न्यारेटिभ सधैं अग्रस्थानमा छ । यो त सबैले सुनेकै छ । मेरो काम पुरिएका, बिर्सिएका, दबिएका न्यारेटिभको उत्खनन् गर्ने हो जसले प्राय नसुनिने र दबाइएका आवाजलाई समेट्छ ।

विभेदको कुरा किन उचाल्ने, यो त बिस्तारै आफैँ घट्दै जान्छ नि

मूल समस्या यही बुझाइमा छ । विभेद समयको अन्तरमा स्वतः घट्दैन । नघट्ने रहेछ । मानिस चेतनशील भएर, शिक्षित भएर, भौतिक विकास भएर विभेद घट्ने होइन । तथ्याङ्क र हाम्रो आफ्नै अनुभवले पनि यो कुरा पुष्टि गरिरहेका छन् । सूचना, शिक्षा वा चेतनाको विकास भयो भनिरहँदा विभेद झनै उग्र र जटील बन्दैगएको छ । दलीतमाथि हुने दुर्व्यवहारका घटना बढेका छन्, महिला हिंसा बढेको छ, गरीबलाई आफ्नो स्तर सुधार्न झन् मुश्किल भएको छ । अल्पसङ्ख्यक, आदिवासी, जनजातिका सांस्कृतिक अधिकार र जनजीविकाका मुद्दाहरू झनै ओझेलमा परेका छन् ।

विभेदको कुरा नगरौँ, विकासको कुरा गरौँ भन्नेहरूले बुझ्न नसकेको कुरा के हो भने विकासको जग बलियो हुने वा विकास सुनिश्चित हुने सम्पूर्ण जनसङ्ख्यालाई समेटेर मात्र हो । दलित, जनजाति, मधेशी, महिला, गरीब वा पिछडिएका क्षेत्रका नागरिकले तथोचित सम्मानजनक स्थान पाउन नसकेको व्यवस्थामा उनीहरू विकासमा कसरी सार्थकरूपमा सहभागि हुनसक्छन् ? उनीहरू बलिया नहुँदा वा सक्रिय हुननसक्दा अर्थतन्त्र कसरी बलियो हुन्छ ?

विकासको बेला विभेदको कुरा नगरौँ भन्नेहरूले अज्ञानतावस आफैंले चाहेको विकासको सपनामा पानी खन्याइरहेका हुन्छन् ।

सरकारको किन सधैं विरोध गरेको ?

सरकार भनेको सत्ताको मुली हो । उसँग शक्ति छ र स्रोतसाधन छ । उसले धेरै काम गर्छ र धेरै गल्तीहरू पनि गर्छ । इमान र नैतिकताको खडेरी रहेका नेपालजस्ता देशमा त झन् सरकारहरूले राम्राभन्दा नराम्रा काम धेरै गर्छन् । त्यसैले, स्वतन्त्र, सर्वसाधारण नागरिकको काम सरकारलाई सचेत बनाउने हो ।

सरकारका काममा आलोचना गरिरहने मानिसले सरकारबाट लाभको आशा गरेका हुँदैनन् । उसलाई मानपदवी, पैसा वा पद चाहिँदैन । मलाई पनि चाहिँदैन । वास्तवमा यो सरकारका लागि सेवा हो -सकारात्मक रूपमा बुझ्ने हो भने ।

मेरो हकमा मैले सधैँ जुनसुकै र जोसुकैको सरकार सत्तामा रहँदा पनि उसले गरेका नराम्रा कामहरूको आलोचना गरेको छु । सम्भवतः राम्रा भनेका कामको गुनगानमा समय खर्च गरेको छैन होला, तर यसो गर्ने मानिसहरू त प्रशस्त छँदैछन् नि । सरकार आफैँले पनि आफ्नो कामको गुनगान गरिरहेकै हुन्छ ।

सरकारको विरोधका लागि मात्र लेख्ने ?

होइन ।

अहिले हामी एउटा डरलाग्दो वर्तमान र झनै डरलाग्दो भविष्यको चक्रमा छौँ । सरकारहरू राम्रो ढङ्गले नचल्ने वा सामाजिक-आर्थिक विभेदमात्र अहिलेका समस्या होइनन् -सदिऔंदेखि सम्पन्न र शक्तिशाली समूहहरू नै अहिले आफू कमजोर रहेको भावनाबाट ग्रसित भएर आक्रोसित र थप क्रुर हुनथालेका छन् । उदाहरणका लागि पश्चिमा मुलुकमा गोरा र क्रिश्चियनहरू, भारतमा हिन्दु, मुस्लिम बहुल मुलुकमा बहुसङ्ख्यक सम्प्रदाय, म्यानमारमा बौद्ध धर्मालम्बी र संसारका धेरै मुलुकमा पुरुषहरू महिला र अल्पसङ्ख्यक समुदायमाथि थप अनुदार, थप हिंसात्मक बन्न थालेका छन् । यो संसारका लागि डरलाग्दो चुनौति हो ।

आफ्नै वरिपरी हेर्दा अहिलेको युवा पुस्ता यसअघिको भन्दा पनि थप संकिर्ण, अनुदार र असुरक्षित र आक्रामक हुँदैगएको छ । ब्राम्हणहरू, पुरुषहरू, सम्भ्रान्तहरू आफ्नो धर्म, संस्कार र परम्पराको बचाउमा आक्रामक रूपमा खडा भएका छन् । अरूप्रतिको आक्रोस र घृणा बढेको छ ।

शक्तिशाली र बहुसङ्ख्यक समुदायले नै आफू अन्यायमा परेको अनुभव गर्दै अरूमाथि आक्रमण गर्न थालेपछि असुरक्षा बढ्छ । संसार यतिबेला यही असुरक्षित बाटोमा हिंडिरहेको छ । यसका प्रमुख कारणमध्ये एउटा इन्टरनेट र सोसल मिडिया, सामाजिक सञ्जाल पनि हुन् । शक्तिशाली समूहहरू यसको दुरुपयोग गरेर आफ्नो प्रभुत्व विस्तार गर्न सफल हुँदैगएका छन् ।

सोसल मिडियाको प्रयोग गरेर म यो कुरा सकेसम्म अरूलाई बुझाउन चाहान्छु ।

मेरा कुरा मन नपरे के गर्ने

म एक सर्वसाधारण मानिस हुँ । आफ्नो पेशा गर्ने, राज्यलाई कर तिर्ने । म कुनै नीतिनिर्माण गर्ने ठाउँमा छैन । बौद्धिक क्षमताका हिसाबले पनि मेरो अध्ययन सामान्य हो -म डाक्टर, प्रोफेसर होइन । भविष्यमा राजनीति वा समाजसेवाको क्षेत्रमा काम गर्ने चाहना छैन, भए पनि सम्भवतः योग्यता पुग्दैन । त्यसैले, सोसल मिडियामा मैले गर्ने टिप्पणीलाई धेरै महत्त्व दिन वा यसबाट विचलित हुन आवश्यक छैन । मेरा कुरा मन पर्दैन, राम्रा लाग्दैनन् भने ब्लग नपढे भइहाल्यो । ट्विटरमा फलो नगर्न र ब्लक गर्न सकिन्छ ।

मलाई फरक मतमा पूर्ण विश्वास छ । जस्तै, म धार्मिक होइन । व्यक्तिको धर्मप्रतिको आस्थामा मलाई समस्या छैन । मेरो धर्म प्रतिको अनिच्छामा पनि अरूलाई समस्या हुनुहुँदैन भन्ठान्छु । तर, धर्म र अधार्मिकता दुबै बहसका विषय हुन् र हुनुपर्छ । कसैले ‘धर्मका बारेमा कुरा नगर’ भन्यो भने त्यो कुरा मलाई स्वीकार्य छैन ।

मेरा विचारको जति पनि आलोचना गर्न जोसुकै स्वतन्त्र छ । तर, कसैले गाली गर्छ भने त्यो समयको दुरुपयोग मात्र हो । गाली गर्नेहरूबाट म के बुझ्छु भने मेरा टिप्पणी सही ठाउँमा परेछन् । मैले जुन उद्देश्यका लागि टिप्पणी गरे त्यो उद्देश्य पूरा भएछ । गाली र घृणा गर्नेहरूले आफ्नो धरातल र हैसियत देखाइरहेका हुन्छन् । गाली गर्न सबैलाई आउँछ, मलाई पनि आउँछ ।

जाँदाजाँदै,

मेरा व्यक्त गर्ने विचार बिल्कुल नयाँ र अरूले सुन्दै नसुनेका होइनन् । मैले आफ्नो विचार बनाउने पनि अरूका कुरा पढेर हो । उदाहरणका लागि म Michel Foucault, Arjun Appadurai, James C. Scott, Akhil Gupta, Ernst Friedrich Schumacher, Pierre Bourbeau, Paulo Freire, Edward Said आदिका सैद्धान्तिक विश्लेषण र नेपालका सन्दर्भमा महेश चन्द्र रेग्मी, Ludwig Stiller, Mark Liechty, Laura Kunreuther, Gregory G. Maskarineck, प्रत्यौश ओन्त, Mary Des Chene, खगेन्द्र सङग्रौला आदिका कामबाट प्रभावित छु । ट्विटमा मैले लेख्ने फुटकर टिप्पणीहरू यिनै विचारहरूबाट प्रभावित हुनेगर्छन् ।

आफ्ना विचारहरूमा थ्यौरेटिकल वा फिलोशोफिकल स्रोत नखुलाए पनि राज्यको भूमिकाका बारेमा जेम्स स्कट, अल्टरनेटिभ न्यारेटिभको कुरा गर्दा फुःको, विकासको कुरा गर्दा अखिल गुप्ता र शुमाकर, चेतनाको कुरा गर्दा फ्रेरे र बोर्द्वांका विचारहरूले मलाई निर्देशित गरिरहेका हुन्छन् । नेपाली समाजका विशेषता र त्यसमा निहित अन्तरविरोध बुझ्न माथिका विद्वानहरूका योगदान धेरै नै उपयोगी छन् ।



Tuesday, November 26, 2019

The Politics of Sari


My compliments to the article by Sabitri Gautam in today's The Kathmandu Post.

Consumption is a political behavior. We consume things to impart a certain message about ourselves and to communicate our values to others. The things we eat, things we wear and things we keep around us express who we are or want to be and what values we adhere to. You can tell a lot about a person by what she/he eats or does not eat; what she/he wears and does not wear. It is, therefore, very misleading to argue that our dresses, food, materials in hour house, do not really matter. Things have social life because we constantly give meanings to things.

The case in question, the sari of parliamentary candidates in Kaski, became a heated topic not because the candidates chose to wear saris during their election campaigns, but because the ways in which their supporters in social media interpreted this choice and utilized their opportunity to attack those who were questioning excessive importance given to saris failed to understand the essence of the debate around saris.

A society, everywhere, is characterized by unequal distribution of powers and resources. Most often they are interconnected. Those who have more power and resources exercise control over those who have less. Control over rules defining food, dresses and so on helps the rich and powerful to control or protect their wealth or powers.

The ways in which these controls are exercised differ across the world and can be different within the same social context. However, one of the interesting similarities which can be clearly observed is that the rich and powerful define customs, languages, dresses, and activities for those who are less powerful.

The dresses of men comprising of ideas regarding what to wear, how much of body parts to cover, how to interpret the lack of compliance to existing norms, etc. are not strongly regulated. You can always find men walking around without their shirts, wearing clothes carelessly which reveal their private parts, scratching their testicles, tucking their crotch with ease -in public. This is not a big problem!

Women have to follow certain standard for being present in public which are not compromised. Failure to do so comes with costs. Women's failure or lack of interest in confirming to existing values about how they look becomes the basis of the judgement about her moral and social standing. Women have to suffer for disparaging comments/criticisms from others and more intensely from their own relatives or family members.

Sari is not an exception. The man in Nepal's social context wants to see women in saris. Saris reveal women's confirmation to the male expectation of what makes them beautiful. This confirmation can very often be a matter of choice, or completely voluntary. However, It is important to understand that value around sari as a women's dress is an example which embodies complex and unequal relationships between men and women.

The candidates wearing a sari is not a big problem, as I said before. The problem lies in what we observed in social media after some people asked 'Why not more comfortable clothes, and why only saris?'

Sari is a very contested topic. One has to understand -what makes it so contested? The contest lies in men's struggle to keep women under their control. Men obviously do not want to compromise on the values they have set for women. A sari wearing, shy, jewelry clad, dutiful, unsuspecting, loyal, obedient woman is the dream of Nepali men. Any woman who doesn't confirm to this is an adhikarkarmi, dalarwadi, vibhajankari, a nuisance, a bitch.

My salute to those who are not deterred. 





Saturday, August 31, 2019

ह्याप्पी फादर्स डे !

बाबु बन्न सजिलो छ । एउटा साधारण प्राकृतिक प्रक्रिया । पुरुष शुक्राणु महिला जनेन्द्रीयमा प्रवेश गरेपछि सामान्यतः गर्भाधानको स्वभाविक प्रक्रिया सुरु हुन्छ । महिला गर्भवती हुन्छिन् र केही समयपछि शिशु जन्मिन्छ । यो क्षमता हासिल गर्न पुरुषमा विलक्षण शारीरिक वा मानसिक प्रतिभा चाहिन्न ।

यो कुरा सबै जीवका हकमा लागु हुन्न ।


अध्ययनले देखाएअनुसार सामुन्द्रिक सिलमध्ये ९० प्रतिशतभन्दा बढी भाले सिलले पोथीलाई गर्भाधान गराउन पाउँदैनन् । भाले सिलहरूमा कडा प्रतिश्पर्धा हुन्छ । बलिया बाङ्गाचलाख र पोथीलाई वशमा पार्ने विशेष क्षमता भएको सिलले मात्र पोथी फकाउन र उनीहरूलाई गर्भवती बनाउन पाउँछ । बाँकी भाले सिलहरू हेरेको हेरै हुन्छन् ।


सिलमामात्र नभएर प्राय सबै पशुपंक्षीको प्रजनन प्रक्रिया सहवासमा संलग्न भाले र पोथीको क्षमता र रुचिअनुसार हुन्छ ।


जीवहरूमा पोथी जातिलाई गर्भाधान गराउन पाउने सहज सुविधा भएको जीव सम्भवतः मानिसमात्र हो । यो सहजता पनि मानव समाजको उद्विकासका क्रममा पछि हासिल भएको हो । गुफामा बस्दा वा घुमन्तेफिरन्ते जीवनशैली हुँदा महिला र पुरुषबिचका सम्बन्ध तरल थिए ।  एकठाउँमा बसेर खेती गर्ने प्रणाली सुरुभएपछि बसोबासको संरचना फेरियो । परिवारको अवधारणाको जन्म भयो । महिला र पुरुषबिचका सम्बन्धले स्थायी प्रकृति ग्रहण गर्‍यो ।


आजभोलि परिवारको संरचना लगभग संसारभर स्थापित छ । एक महिला र एक पुरुषबिच विवाह हुन्छ जसले उनीहरूबिचको सम्बन्ध स्थायी बनाउँछ । यसैको परिणामस्वरूप शारीरिकरूपमा अत्यन्त अशक्तबाहेक सबै महिला वा पुरुषले प्रजननको सुविधा पाउँछन् । सन्तान उत्पादन गर्छन् ।


समाजको विकासक्रमसँगै सम्पत्ति थुपार्न मिल्ने र शक्ति सञ्चय गर्ने सुविधा हुनाले त शारीरिक रूपमा अशक्त भए पनि आर्थिकरूपमा सम्पन्न र शक्तिशाली पुरुषले महिलालाई विवाह गरेर घर भित्र्याउन सक्छ जसले उसको प्रजननको सम्भावना सुरक्षित बनाउँछ ।


प्रजननको प्रक्रियामा महिला र पुरुषको विशेषता र क्षमता भने समान छैन ।


एक महिलाले आफ्नो जीवनकालमा निश्चित सङ्ख्यामा सन्तान जन्माउन सक्छिन् । यद्दपिपुरुषहरूको हकमा एकजना पुरुषले सिद्धान्ततः हजारौँ महिलालाई गर्भाधान गराउन सक्छ । सेक्स सेलको गणनामा महिलाको तुलनामा पुरुषहरूको सेक्स सेल हजारौँ गुणा बढी हुन्छ ।


सेक्स सेल गणनाको आधारलाई लिएर रिचार्ड डकिन्स र एडवर्ड विल्सन भन्ने चिन्तकले सोसियोबायोलोजी भन्ने थ्यौरी नै बनाएका छन् । उनीहरू महिला र पुरुषमा हुने सामाजिक-सांस्कृतिक भिन्नतालाई सेक्स सेलको गणनाका माध्यमबाट व्याख्या गर्छन् । उनीहरूका विचारमा पुरुष बढी आक्रामक हुनेकम भावनात्मक हुनेकम रुने र महिलाहरू आफ्नो शारीरिक आकर्षणमा बढी ध्यान दिनेबढी मायालु हुनेधेरै रुने आदि विशेषतालाई प्रजनन क्षमतामा लगेर जोड्छन् ।


सोसियोबायोलोजी अत्यन्न आलोचित र ‘बकम्फुस’ थ्यौरीका रूपमा संसारभर चर्चित छ । महिला र पुरुषले आर्जन गर्ने आनीबानीको स्रोत सेक्स सेल होइन -उनीहरूका शारीरिक भिन्नतासँग सम्बन्धित सामाजिक अवधारणा हुन् भन्ने तथ्यबारे आजभोलि प्राय सबै सचेत छन् । महिलाका भनिएका विशेषता पुरुषसँग र पुरुषका विशेषता महिलासँग पनि हुन्छन् । हुर्कने क्रममा हरेक मानिसले घरमास्कुलमासञ्चारमाध्यमबाट र साथीसँगीहरूबाट केटा र केटी हुनुको भिन्नता सिक्छ । यी भिन्नताहरू सामाजिक सन्दर्भमा मानिसका व्याख्याहरूका आधारमा निर्माण भएका हुन्छन् ।


केही नारीवादी लेखकहरूले के भनेका छन् भने प्रकृतिको निरन्तरताका लागि थोरै पुरुष भए पुग्छ -किनकि एउटै पुरुषले विभिन्न महिलालाई गर्भाधान गराउन सक्छ । तरमहिलाको सङ्ख्या पुरुषका तुलनामा कम भयो भने असन्तुलन हुन्छ । त्यसैलेपुरुषहरू स्वभावैले अप्ठेरोजोखिमपूर्ण काम गर्न अग्रसर हुन्छन् । प्रकृतिले पुरुषहरू सजिलै गुमाउन सक्छ तर पुरुषभन्दा बढी महिला गुमाउन सक्दैन ।


यद्दपिसोसियोबायोलोजीले भनेझैं पुरुष भएकैले व्यक्तिलाई सक्षमयोग्यबलियो मान्ने संस्कार चलन लगभग संसारभर नै छ । यसको मात्रा र तरिका केही फरक होला । पुरुषहरू र कतिपय महिलाहरू पनि के ठान्छन् भने पुरुषसँग विशिष्ट प्राकृतिक विशेषता हुन्छन् जुन महिलासँग हुन्नन् ।


पुरुष र महिलाका पृथक प्रजनन र शारीरिक क्षमताका आधारमा कसरी उनीहरूका पृथक सामाजिक हैसियत निर्धारण भए भन्ने कुरामा प्रशस्त अध्ययन भएका छन् । यी अध्ययनले मानव सभ्यताको एउटा दुखद पाटो प्रस्तुत गर्छन् । प्रजननसँग र शिशुस्याहारसँग जोडिएका जिम्मेवारीका आधारमा महिलालाई शक्ति र स्रोतबाट विमुख बनाइएको इतिहास मानव शभ्यताको केन्द्रीय इतिहास हो ।


महिलाको सामाजिक हैसियत सबै ठाउँमा निम्छरो नै हुन्छ भन्ने कुरा सही होइन । यसमा प्रशस्त विविधता छन् । महिलाले प्राप्त गर्ने स्वतन्त्रतासम्मान र अधिकारका मात्रा ठाउँअनुसार फरक छन् । ठाउँ भन्नाले सामाजिक सन्दर्भ भन्ने बुझ्नुपर्छ । सामाजिक सन्दर्भहरू सम्पत्तिको बाँडफाँटनियमकानुनसंस्कृति (जस्तैधर्म) र परम्पराबाट निर्धारित हुन्छन् ।


नेपालको सन्दर्भमा महिला र विशेषगरी जात व्यवस्थाका हिन्दु र मुस्लिम सम्प्रदायमा महिलाको सामाजिक हैसियत अपवाद छोडेर किन कमजोर छ त ? दशकौं देखि शिक्षा र चेतना अभिवृद्धिका क्षेत्रमा गरिएको लगानीले किन अपेक्षित परिणाम दिन सकेन ? महिला आज किन झनै असुरक्षित र अपहेलित छन् ? यसबारेमा गम्भीर भएर सोच्नुपर्छ । 


 महिलाको स्तर सुध्रिन नसक्नु र उनीहरू हालसम्म पनि अपहेलित र कमजोर हुनुका पछाडि केही मुख्य कारण छन् ।


पहिलो हो नेपालको कमजोर शिक्षा प्रणाली । नेपालले शिक्षाको विस्तार र साक्षारता अभिवृद्धिका क्षेत्रमा उपलब्धि हासिल गरेको छ । यद्दपिनेपालको शिक्षा रूपान्तरणमुखि छैन । यसले स्थापित मान्यता र विश्वासकै पुनर्उत्पादन मात्र गर्छ । न त पाठ्यक्रम समय सुहाउँदो छ न शिक्षकशिक्षिकाको क्षमता वृद्धिमा सार्थक प्रयास भएको छ । कमजोर र असफल शिक्षा प्रणालीले केटाहरूलाई ‘भाले’ भएको घमण्डले फुलाएको छ केटीहरूलाई म त ‘आइमाई” भनेर खुम्च्याएको छ ।


नेपालको दोस्रो ‘बोटलनेक’ राज्यका ऐनकानुन हुन् । नेपालका नियमकानुनले महिलालाई औपचारिक रूपमा नै दोस्रो दर्जा दिएका छन् । सम्पत्तिमाथिको अधिकारसन्तानलाई नागरिकताको अधिकारसम्बन्धबिच्छेदको अधिकार आदि पुरुष र महिलाका लागि फरकफरक छन् । यसले महिला र पुरुषबीचको विभेदलाई पुनर्उत्पादन गरिरहेको छ । महिलाविरोधी संस्कार र मान्यता संस्थागत भएका छन् । नेपालका नीतिनिर्माता र बुद्धिजीवी कहलिएका कतिपयले त राष्ट्रको स्वार्थ प्रमुख हुने भन्दै भेदभावपूर्ण कानुनको प्ररिरक्षा गरेका छन् ।

महिलामाथि हुने भेदभावको तेस्रो स्रोत घरमा हुने सामाजिकीकरण हो । बाबुआमाले आफ्ना सन्तानलाई कस्ता मूल्यमान्यता सिकाउँछन् ? महिला र पुरुषका बिचको शारीरिक भिन्नतालाई कसरी व्याख्या गर्छन् ? छोरा र छोरीका लागि कस्ता शब्द र अभिव्यक्तिको प्रयोग गर्छन् ? सार्वजनिक स्थानमा केटा र केटीले गर्नुपर्ने व्यवहारका बारेमा कसरी शिक्षा दिन्छन् ? यी कुराहरूको ठूलो महत्त्व हुन्छ ।


हामीकहाँ संस्कार र सभ्यता केटीहरूलाई मात्र सिकाउनु पर्छ भन्ने छ । उनीहरूले आफ्नो संस्कारका आधारमा पुरुषहरूबाट ‘योग्यताको प्रमाण-पत्र’ लिनुपर्ने हुन्छ । केटाहरूले आमाबुवाबाट केही सामान्य प्रशिक्षण त पाउलान् तर यो पालना गर्नु वा नगर्नुले केही अर्थ राख्दैन । पालना नगर्ने कुरालाई नै केटाहरूको विशेषता मान्ने चलन छ । केटीहरूले भने समाजको निरन्तरताको बोझ बोक्नुपर्छ ।


पुरुष र महिलाबिच हुने विभेदपूर्ण सम्बन्धलाई वैधता दिने अर्को माध्यम आमसञ्चार हो । आमसञ्चारले उपभोग्य वस्तु प्रवर्धन गर्न केटा र केटीहरूका पृथक विशेषताको रचना गर्छ । जस्तैबाक्लो कालो कपाल र गोरो अनुहार केटीहरूका लागि नभै नहुने विशेषता बनाइदिन्छ । केटाहरूलाई मोटरसाइकल र कार दौडाउनहिमाल चढ्न र 'म्यानेजर' हुन लगाउँछ । कालो कपाल र गोरो अनुहारमा सजिएका श्रीमती 'म्यानेजर' श्रीमानलाई अफिस जानेबेला जुत्ता पुछ्न टाइ बाँध्न तयार भएर बसेका हुन्छन् ।


सञ्चारमाध्यमबाट निर्माण हुने विभेदको चेतना विज्ञापनमा मात्र सीमित छैन । अखवार र टेलिभिजनले प्रसारित गर्ने लेखटिप्पणी र समाचारहरू पनि अधिकांश भालेवादको पूरानो रोगले ग्रसित छन् । सञ्चारमाध्यममा कि त महिलाका लागि स्थान नै हुँदैन भए पनि पुरुष उपभोक्ताको रुचिलाई ध्यानमा राखेर बनाइएका सामग्रीले नै प्राथमिकता पाउँछन् । परिणामस्वरूप नेपालका आमसञ्चार स्त्रीद्वेशी र भेदभावपूर्ण चेतनाका कारखाना हुन् । यसलाई सुधार्न भएका भनिएका प्रयत्न अत्यन्त सुस्त र अपर्याप्त छन् ।


महिला-पुरुष सम्बन्धमा रहेका असमानता हटाउने हो भने शिक्षा, घरभित्र हुने सामाजिकीकरण, सञ्चारमाध्यम -सबै क्षेत्रमा परिवर्तन आवश्यक छ ।

नेपालमा महिला र पुरुषबिचको विभेद कहालिलाग्दो छ । यसो हुनुमा विभेदका संरचना मात्र कारण होइनन् । नेपालको अवस्था दुखद् किन छ भने महिलामाथि हुने विभेदका बारेमा हुनुपर्ने जति चेतना पुरुषहरूमा छैन । महिलामाथि विभेद छ र यसको न्यूनीकरण नगरी न्यायपूर्ण र विकसित समाजको परिकल्पना सम्भव छैन भन्ने सोच नेपालमा विकसित भइसकेको छैन । पुरुषहरू घरमास्कूलमा र सञ्चारमाध्यमबाट प्राप्त गरेका नारिद्वेशी र विभेदपूर्ण ज्ञानबाट विषाक्त भएका छन् ।

महिलामाथि गरिने भेदभाव र अन्याय पुरुषहरूका लागि लज्जाको विषय हुनुपर्ने हो । नेपालमा अहिलेसम्म यो प्रतिष्ठाको विषय रहेको छ । महिलाको सम्मान र अधिकारका विषय हाँसोठट्टाका विषय बन्ने गरेका छन् । महिलाका समस्या पुरुषका भन्दा पृथक छन् भन्ने बुझाइ स्थापित हुनसकेका छैन । महिलालाई पुरुषकै एक्टेन्शनमात्र मान्ने अवधारणा हावी छ । समग्रमा लैङ्गिकता विभेदको आधार रहेको कुरा मान्न पुरुषहरू तयार छैनन् ।

जातीयक्षेत्रीयराजनीतिकभाषिक विभेदका विरुद्धमा ठूलाठूला आन्दोलन हुन्छन् ।  यी आन्दोलनमा महिला र पुरुष सँगसँगै सहभागि हुन्छन् । दुःखको कुरा के भने यति गहिरो लैङ्गिक विभेदका लागि घनिभूत आन्दोलन सम्भव छैन । यस्तो आन्दोलन महिलाले घरबाटै, अफिसबाटै, फुटपाथबाटै सुरु गर्नुपर्ने हुन्छजुन सजिलो छैन । यो आन्दोलनमा भने महिलालाई पुरुषको साथ छैन ।

महिलामाथि हुने भेदभावको अन्त्य मूलतः पुरुषको जिम्मेवारी हो र हुनुपर्छ । पुरुषकेन्द्रीत सामाजिक संरचना, तिनलाई आडभरोस दिने नीतिनियम र पुरुषले ओगटेका सामाजिक स्पेश यो विभेदका मुख्य कारक हुन् । त्यसैले, यो समस्याको अन्त्यका लागि पुरुषहरूको सक्रियता जरुरी छ । बाबुआमाले आफ्ना छोराहरूलाई महिलालाई सम्मान गर्न सिकाउने हो र महिला र पुरुष बराबर हुन् भन्ने धारणा बनाउन प्रेरित गर्ने हो भने समस्या केही सहज हुनसक्छ । यसका अतिरिक्त घर, कार्यालय, विद्यालय, संसद् -सबै ठाउँमा महिलामाथि हुने विभेदको पहिचान र तिनको समाधानका लागि पुरुषहरूले सार्थक प्रयत्न गर्नसक्छन् ।

बाबु बन्न गार्‍हो छैन । असल बाबु बन्न भने छोराछोरीसँग नियमित कुराकानी गर्ने
, महिला हुनु र पुरुष हुनुको समानता र भिन्नताका बारेमा चर्चा गर्ने, स्त्रीद्वेशी विचार चिन्न सिकाउने र सबैलाई बराबर सम्मान गर्न प्रेरित गर्ने जिम्मेवारी बहन गर्नुपर्छ । यसो गर्न नेपालका सबै बाबुहरूलाई प्रेरणा मिलोस् । 

पुरुष जनेनद्रीय हुनु स्वयंमा योग्यताको प्रमाण होइन भन्ने कुरा छोराहरूले घरघरमा सिक्न पाउन् । ढिलै भए पनि बाबुको मुख हेर्ने दिनको शुभकामना !

नोटः 
१. म समाजशास्त्री होइन -यो पदवी मलाई सुहाउँदैन । मानवशास्त्र पढेको हो केही समय, तर मानवशास्त्री पनि भइसकेको छैन ।
२. यो लेख कसैलाई मन भए मलाई नसोधी आफ्नो अनलाइन आदिमा राखे हुन्छ । मेरो नाम पनि उल्लेख गर्नुपर्दैन ।

Saturday, July 13, 2019

अविकासका कुरा, देश फर्किनेका कुरा



नेपाल किन बन्न सकेन भन्ने ‘टपिक’ अब पुरानो भइसकेको छ । सम्भवतः यसमा मेरा थप ‘गनगन’ सुन्ने जाँगर तपाईं पाठकलाई नहोला । त्यसमाथिमलाई व्यक्तिगतरूपमा नेपाल बन्न नसकेकोमा चिन्ता अनि नेपाल बनाउन पाए हुन्थ्यो भन्ने हुटहुटी दुबै छैन -कमसेकम आजभोलि ।

विकास-अविकास तथा समृद्धि-गरीबी अर्थ-राजनीति र इतिहाससँग जोडिएका प्रश्न हुन् । यिनको विवेचनाका लागि समाज र इतिहासको गहीरो अध्ययन चाहिन्छ । मेरो अध्ययन नेपालको अविकासका कारण र तिनको निदानका उपाय पत्ता लगाउन पर्याप्त छैन ।

Wednesday, March 20, 2019

अब थप ‘डलरवादी’ हरू सडकमा आउनुपर्छ


एक्काइसौं शताब्दीको नेपाल महिला अधिकार र बलात्कारसँग जोडिएका सरल र मसिना प्रश्नमा बहस गर्न अभिशप्त छ।

के महिलालाई पनि पुरुषसरह वंश हस्तातरणको अधिकार चाहिन्छ? के बलात्कारविरुद्ध नागरिक अभियान सही हो? यस्ता विषयका पक्ष-विपक्षमा मिडिया र सामाजिक सञ्जालमा तर्क-वितर्क भइरहेका छन्। सामान्य मानवीय चेतबाट निरूपण हुने प्रश्न शंकाको घेरामा परेका छन्।