Saturday, August 21, 2021

जनै, मिशेल फुकोः र कान्छी भाउजुको सिन्दुर

भैरव अर्यालको 'टाउको' निबन्धमा एउटा रमाइलो वाक्य छ –‘म पढेको मान्छे, नपढेको कुरा जान्दिनँ ।’ कति गजबको व्यङ्ग पढेलेखेका भनिने मानिसहरूमाथि अर्यालको ! वास्तवमा पढेका मानिसहरू पढेको कुरामात्र जान्दछन्, र तिनै कुरा बताउन खोज्छन् । नपढेका मानिसले त झन् ‘कुरा’ जान्ने कुरै भएन ।

आज हामी पढेका कुरा र नपढेका कुरा दुवै गरौँ । केही किताबका कुरा, केही आफ्नै अनुभवका कुरा । वा भनौं पढेर पनि नपढेका कुरा । बुझेर पनि नबुझिने गरेका कुरा । आजको लेखमा म मार्सेल माउस, ब्रोनिस्वाफ मालिनोभ्स्की र मिशेल फुकोका कुरा गर्नेछु । तर, फिकर नगर्नुहोस् - ती लेखकका किताबमा भएका कुराको फहरिस्त लगाउने मेरो योजना छैन ।

तपाईंसँग एउटा घडी छ । तपाईंले आफैं किनेको । तपाईंसँग अर्को एउटा घडी पनि छ -कुनै साथीले उपहार दिएको । अब भन्नुहोस् -ती दुई घडी तपाईंका लागि उस्तै हुन्, कि त्यसमा केही भिन्नता छ ? आफैंले किनेको घडी र कसैबाट ‘सित्तैमा’ पाएको घडीका बिचमा तिनीहरूको बनोट र मूल्याबाहेक अरू के फरक छ ?

यो प्रश्न तपाईं मलाई सोध्नुहुन्छ भने मेरो जवाफ यस्तो हुनेछ -मैले आफैँ किनेको घडी एउटा उपभोग्य वस्तु मात्र हो । उपहार पाएको घडीसँग भने केही अर्थ जोडिएका छन् । पहिलो त मैले उपहार पाएको घडीमा उपहार दिने मानिस कुनै न कुनै रूपमा उपस्थित छ । घडीलाई के गर्ने, कसरी र कहिले लाउने, अरूलाई दिने कि नदिने भन्ने निर्णय गर्नुपर्दा उपहार दिने मानिस मेरो मस्तिष्कमा प्रकट भइहाल्छ । त्यसैले, उपहारको घडी भौतिक वस्तु मात्र होइन, त्यसभित्र एउटा आत्मा पनि छ । त्यो आत्मा उपहार दिने मानिसको हो । उपहारको घडी मेरो हातमा बाँधिएको छ, तर यसको अर्थ मेरो स्वामित्वमा मात्र सीमित छैन ।

उपहार पाएको घडीको थप एउटा अर्थ छ -मैले घडी उपहार पाएबापत उपहार दिनेलाई के फिर्ता दिएँ ? यसका बारेमा म सधैं चनाखो रहन्छु र रहनुपर्छ । उपहार फर्काउनु पर्छ । फर्काउने तरिका, समय, आदानप्रदान गरिने वस्तु फरक होलान्, तर उपहार कहिलै एकोहोरो हुन्न । त्यसैले, उपहार  दिने र लिनेहरू एकअर्कासँग जोडिएका हुन्छन् । उपहारले सम्बन्धहरू बनाउँछन् (तोड्न पनि सक्छन्) ।

उपहार र यसको अर्थलाई मार्सेल माउसले आफ्नो पुस्तक ‘द गिफ्ट’ (The Gift) मा असाध्यै रोचक ढङ्गले प्रस्तुत गरेका छन् । फ्रान्सेली मानवशास्त्री Marcel Mauss को उक्त किताब आजभन्दा झन्डै १०० वर्षअघि सन् १९२५ मा प्रकाशित भएको थियो । समाज र संस्कृतिको अध्ययनमा माउसको उपहारको थ्यौरी विशिष्ट मानिन्छ र यसको उद्दरण आजसम्म पनि भइरहेको छ ।

मार्सेल माउसको उपहारको कुरापछि एकपटक पोल्याण्डमा जन्मेका बेलायती मानवशास्त्री ब्रोनिस्वाफ मालिनोभ्स्की (Bronislaw Malinowski) का कुरा गरौँ । लगभग माउसकै समयमा जन्मेका मालिनोभ्स्कीले पपुआ न्यु गिनी नजिकै पर्ने ट्रोब्रिआण्ड द्विपमालामा बस्ने आदिवासीको अध्ययन गरेका थिए । सन् १९२२ मा प्रकाशित उनको पुस्तक Argonauts of the Western Pacific को उद्देश्य त्यहाँका आदिवासीको राजनीतिक-आर्थिक संरचनाको अध्ययन गर्ने थियो । यसका लागि मालिनोभस्कीले आदिवासी समूहले डुङ्गामा चढेर विभिन्न टापुहरू घुम्दै विभिन्न प्रकारका वस्तु साटासाट गर्ने अभ्यासको बेलिबिस्तार लगाएका छन् । आदिवासीले एकआपसमा साट्ने ती वस्तु मूल्यवान हुँदैनन् । वास्तवमा भन्ने हो भने ती वस्तु उपभोगका लागि प्रयोग पनि गरिन्नन् । तर, ती हरेक वस्तुमा त्यो वस्तुको मालिकको प्रतिष्ठा र पहिचान अन्तर्निहित छ । त्यस्ता वस्तुको साटासाटबाट ट्रोब्रिआन्डका टापुमा बस्ने आदिवासीले आफ्ना सन्देशहरू साटासाट गर्छन् र एकआपसमा सम्बन्धहरू बनाउँछन् -जसले उनीहरूको सामाजिक आर्थिक जीवनलाई सम्भव बनाउँछ ।

मालिनोभ्स्की धेरै पुराना मानवशास्त्री हुन् । उनले प्रस्तुत गरेको सिद्धान्त आजभोलि प्रयोगमा छैन । तर पनि ट्रोब्रिआन्ड द्विपमालामा उनले गरेको अध्ययन नपढी, नबुझी मानवशास्त्रको ‍आधारभूत ज्ञान सम्भव छैन । उनको पुस्तकले हामीलाई वस्तुहरूको विशिष्ट अर्थ र तिनको प्रयोगमा लुकेका विभिन्न जटिल आयामहरू केलाउनमा सहयोग गर्छ ।

आज यहाँ मालिनोभ्स्की र माउसका कुरा कोट्याउनमा मेरो स्वार्थ तपाईलाई एउटा कुरा सुनाउने हो । त्यो के भने -हामीले प्रयोग गर्ने निर्जीव वस्तुहरूको पनि जीवन हुन्छ । तिनीहरूसँग हाम्रा भावना, अर्थ, अपेक्षा, संझना, घृणा, प्रेम जोडिएका हुन्छन् । तपाईंले उपहारमा पाएको घडी यसको एउटा सामान्य उदाहरण हो । वस्तुले आफ्नो अर्थ आफैँ बनाउँदैनन् -बनाउने नै भए पनि हामी त्यो बुझ्न सक्दैनौँ -तर हरेक वस्तु हाम्रा अर्थहरूले अर्थपूर्ण भएका हुन्छन् ।

जनै त्यस्तै वस्तुहरूमध्ये एउटा वस्तु हो -जसमा अनेकन अर्थहरू जोडिएका छन् ।

हिन्दु जात व्यवस्थामा उच्च जात मानिने ब्राम्हण, क्षेत्रिय लगायतका समूहलाई ‘दुईपटक जन्मिने जात’ भनिन्छ । अर्थात्, उनीहरूको जन्म दुईपटक भएको मान्यता छ । एकपटक प्राकृतिक रूपमा जन्मेपछि र अर्को ब्रतबन्ध गरेर जनै लगाएपछि । दुईपटक जन्मिने जात शुद्ध र विशिष्ट हो । यो शुद्धता र विशिष्टताको सबैभन्दा प्रस्ट संकेत जनै हो ।

बि.सं. १९१० मा जब जङ्गबहादुर राणाले नेपालको पहिलो मुलुकी ऐन जारी गरे जसमा उनले नेपालका लागि चार जातको सामाजिक संरचना प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको जात व्यवस्थाको श्रेणीमा पहिलो स्थानमा परेको जात थियो -तागाधारी (अर्थात्, जनै लगाउने), दोस्रो -मतवाली (रक्सी पिउने), तेस्रो -पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने (अर्थात्, उसले छोएको पानी पिउन नहुने तर उसलाई झुक्केर छोइहालेमा शरीरमा सुनपानी छर्किनु नपर्ने) र अन्तिम -पानी नचल्ने छोइछिटो हाल्नुपर्ने (अर्थात्, उसले छोएको पानी पिउन नहुने र केही गरी उसलाई छोइहालेमा शरीरमा सुनपानी छर्किनु पर्ने) ।

जङ्गबहादुरको मुलुकी ऐनबाट बाहुन, छेत्री, ठकुरी, जैसी आदि त्यसबेला उच्चजात मानिने समूह (र त्यसमा पुरुष) दुईपटक जन्म लिनेमा परे र उनीहरूले जनै लगाउन पाउने भए । तागाधारी बाहेक अरू मतवाली र पानी नचल्ने वर्गमा परे । मात्र एकपटक जन्म लिने । अशुद्ध । जनै लगाउन नपाउने ।

हिन्दु जात व्यवस्थामा जनैको सोझो र सरल अर्थ सम्भवतः यही हो ।

अब लागौँ फुकोः तर्फ ।

मिशेल फुकोः (Michel Foucault) बिसौं शताब्दीका प्रख्यात फ्रान्सेली इतिहासकार र दार्शनिक थिए । उनले प्रशस्त पुस्तक लेखे । कक्षाकोठामा पढाउदा उनले बोलेका कुरा पनि अत्यन्त महत्त्वपूर्ण छन् जसले हाम्रो समयका जटिलतालाई केलाउन ठुलो सहयोग गर्छन् । सन् १९२६ मा जन्मेका फुकोःको एड्स संक्रमणका कारण सन् १९८४ मा मृत्यु भयो । तर, उनले छोडेर गएका दृष्टिकोण आज अत्यन्त समयसान्दर्भिक र रोचक छन् ।

म आज फुकोले ‘सरकार’का बारेमा प्रस्तुत गरेका केही धारणा सकेसम्म सरल रूपमा प्रस्तुत गर्न चाहान्छु ।

एकैछिन हाम्रो आफ्नै इतिहासतिर जाऔं है । इतिहासका पुस्तकमा विभिन्न राजा, महाराजाले विगतमा शासन कसरी चलाउँथे भनेर विस्तृत वर्णनहरू छन्  । राजाहरूलाई प्रायः दयालु र जनताप्रेमी भएको बयान हामी पढ्छौँ । सँगसँगै, ती राजाले आफ्नो शासनमा गलत काम गर्नेलाई कस्तो सजाय दिन्थे भन्ने कुरा पनि पढ्छौँ । लोकतन्त्र, अदालत, नियमकानुन केही नभएको त्यो बेलामा राजाको विवेक नै कानुन हुनेगर्थ्यो । राजाले कसैलाई कठोर सजाय दिनुपरे उसको घाँटी काटिन्थ्यो । सर्वस्वहरण हुन्थ्यो । जात खोसिन्थ्यो । राजाको आदेशमा गलत काम गर्नेहरूको टाउको मुडिन्थ्यो, उनीहरू देश निकालामा पर्थे ।

माथिको कुरा उहिलेको नेपालको कुरा भयो । संसारभरको अनुभव पनि के हो भने प्राचिन समयको शासन प्रणालीमा शासकको जनतामाथिको नियन्त्रण प्रत्यक्ष र भौतिक प्रकृतिको थियो ।

आजका शासक प्रत्यक्ष र भौतिक शक्तिका आधारमा शासन गर्दैनन् । यसो हेर्दा शासक नरम छन् । तिनीहरूको खुलेआम विरोध गर्न पाइन्छ । नारा जुलुस निकाल्न पाइन्छ जसलाई सरकारले नै सुरक्षा दिन्छ । पहिलेको जस्तो अरूको सम्पत्ति चोर्दा टाउको गुमाउनु पर्दैन । सानातिना गल्तीको कसैले वास्ता पनि गर्दैन । जघन्य अपराधमा पनि राज्यले मानिसको ज्यान सकेसम्म लिँदैन ।

आम नागरिकलाई अनुशासित बनाउने राज्यको जिम्मेवारीमा व्यापक हेरफेर आएको छ । आजको सरकारले आधुनिक संस्था -जस्तै, विद्यालय, अस्पताल, सेना, प्रहरी, कर्मचारीतन्त्र आदिको प्रयोग गरेर नागरिकलाई ‘अनुशासित’ बनाउँछ । यी संस्थाले निश्चित मूल्यमान्यता आम नागरिकलाई सिकाउँछन् । विद्यालयमा चोर्नु हुन्न, धेरै पढेर राम्रो कमाइ हुने जागीर खानुपर्छ भन्ने सिकाइन्छ । अस्पतालले के खाने, के नखाने, कस्तो जीवनयापन गर्ने भनेर नागरिकलाई सिकाउँछन् । सेनाले आफ्नो संगठनमा आवद्ध र अस्थायी रूपमा तालिम लिने नागरिकलाई निश्चित मूल्यमान्यता सिकाउँछ । प्रहरी अपराधमा संलग्नलाई कारवाही गर्नमा भन्दा अपराध हुन नदिने उपायको खोजीमा बढी संलग्न हुन्छ जसका लागि सूचना तथा तथ्याङ्क संकलन र तिनको विश्लेषण गर्छ । कर्मचारीतन्त्र पनि आम नागरिकलाई कसरी निश्चित उद्देश्य र मूल्यमान्यतासँग जोड्ने भन्ने उद्देश्यमा नै केन्द्रित हुन्छ ।

अर्कोतिर आम नागरिकहरू आफैं आफूलाई अनुशासित बनाउँछन् र राज्यको अपेक्षाअनुरूप नै आफ्नो जीवन व्यथित गरिरहेका हुन्छन् । मानिसहरू रोग लाग्छ कि भनेर व्यायाम गर्छन् । आफ्ना सन्तानलाई राम्रो पढ्न, चोरी नगर्न, अरूलाई अभद्र व्यवहार नगर्न र असल मानिस बन्न सिकाउँछन् । कानुनको पालना गर्नुपर्छ भन्ने कुरालाई नैतिक रूपमा उचित मानिन्छ ।

तर, के यसको मतलब आज नागरिक विगतको तुलनामा बढी स्वतन्त्र, बढी शक्तिशाली छन् त ?

फुकोः भन्छन् -छैनन् । यसको ठिक विपरीत झन् बढी नियन्त्रित र पराधिन छन् । राज्य थप शक्तिशाली र नियन्त्रणमुखि बनेको छ । राज्यले संकलन र विश्लेषण गर्ने तथ्याङ्कको आकार र दायरा बढेको छ । राज्यले उत्पादन गर्ने आदर्श नागरिकको परिभाषा दिनानुदिन जटिल र बहुआयामिक बनिरहेका छन् । राज्यको नियन्त्रणमा रहेका संस्था र प्रणालीहरू (जस्तै, अर्थतन्त्र) यति शक्तिशाली र जटिल बन्दै गइरहेका छन् कि तिनीहरूबाट मुक्ति पाउन असम्भव छ ।

अर्थात्, विगतमा राज्य थियो र नागरिकहरू थिए । नागरिकको राज्यसँगको सम्बन्ध सीमित थियो । आज राज्य छ त्यसैले नागरिक छन् । नागरिक राज्यका बन्दी बनेका छन् ।

आजको सरकार एउटा निश्चित शैली र मानसिकताबाट निर्देशित छ । आज सरकारको मानसिकताको केन्द्रबिन्दुमा 'नियन्त्रण' रहेको छ । यस मानिसकताले मानिसलाई स्वतन्त्र र अधिकार सम्पन्न बन्न दिँदैन -केवल जनसङ्ख्याको एक अंशका रूपमा मात्र व्यवहार गर्छ । यस मानसिकतालाई फुकोःले गभर्न्मेन्टलिटी (Governmentality) भनेका छन् जसमा ‘गभर्न’ र ‘मेन्टलिटी’को जोडले आधुनिक सरकारको एक विशिष्ट चरित्रको निर्माण गरिरहेको हुन्छ ।

यस्तो प्रवृत्तिबाट निर्देशित सरकारसँग जोडिएको रोचक कुरा के भने सरकारले बनाउन र लागु गर्न चाहेका मूल्यमान्यताको वकालत जनता स्वयं गर्दै हिँड्छन् । कुनै बेला जङ्गबहादुर राणालाई कसैलाई जनै लाउन दिन र कसैलाई जनै लगाउनबाट वञ्चित गर्न आफ्ना कर्मचारी र सेनाको प्रयोग गर्नुपर्थ्यो । यसका लागि कानुन बनाउनु पर्‍यो । आजभोलि जनैबारेका 'नर्म्स'हरू आम जनता आफैं बनाउछन् । जनै लगाउने अभ्यास पनि आफैँ गर्छन् ।

अब कान्छी भाउजुको प्रसङ्ग ।

एकपटकको दशैंमा हामी एकजना नातेदारको घरमा टिका थाप्न गएका थियौं । म सानै थिएँ । हामी टिका थाप्न पालो पर्खिरहँदा एकजना आफन्त महिला पालोमा हामीभन्दा अघि हुनुहुन्थ्यो । उहाँका श्रीमान कान्छा भएकाले सबैले उहाँलाई कान्छी भाउजु भनेर बोलाउँथे । जब उहाँ आफ्नो पालोमा टिका थाप्न अघि सर्नुभयो त्यसबेला टिका लगाइदिने आमै कान्छी भाउजुलाई देखेर रिसले कड्किन थाल्नुभयो ।

“ए कान्छी, के हो तिम्रो चाला, बिहा गरेकी मान्छे न सिउँदोमा सिँदुर छ, न पोते । लाइदिन्न म तिमीलाई टिका । भित्र गएर .....को कोठाबाट सिँदुर लाएर आऊ ।”

आफ्नो पालो छोडेर कान्छी भाउजु उठ्नुभयो र केही नबोली सिँदुर लगाउन त्यही घरकी बुहारीको कोठातिर जानुभयो ।

त्यसबेला त मेरालागि त्यो केवल एउटा सानोतिनो र रोचक घटनामात्र थियो । तर, अहिले सम्झँदा कान्छी भाउजुको सिउँदोमा जबरजस्ती राख्न लगाइएको सिँदुरको अर्थ के थियो होला ?! भन्ने प्रश्न निकै रोचक लाग्छ । के सिन्दुरलाई सुन्दरता वा टाउकोको रक्षाका लागि लगाइने रातो रङ्गको धुलो भनेर व्याख्या गर्न मिल्छ ? विवाहित महिलाका लागि सिन्दुरको अर्थ कसरी निर्माण भएको छ ? यस अर्थको प्रयोग कसले र किन गर्छन् ? यी प्रश्नहरू महत्त्वपूर्ण छन् भन्ने मैले धेरै पछि बुझेँ ।

मलाई लाग्छ यी प्रश्नका जवाफ खोज्दै जाने हो भने एउटा कुरा झन्‌झन् प्रस्ट हुन्छ -वस्तुहरूको सामाजिक जीवन हुन्छ । हामी आफ्नो परिचय बनाउन, शक्ति सञ्चय गर्न, अरूमाथि नियन्त्रण गर्न वा आफ्नो स्वार्थ पुरा गर्न वस्तुका विशेष अर्थहरू निर्माण गरिरहेका हुन्छौँ । ती अर्थहरूको खोजी गर्ने हो भने समाज र संस्कृतिलाई बुझ्न अझ सजिलो हुन्छ ।

अन्तिममा, संस्कृतिको कुरा ।

समाज-संस्कृति अध्ययन गर्नेहरूले संस्कृतिको परिभाषा बनाउन र फेर्नमा ठूलो समय नस्ट गरेका छन् । बेलायती मानवशास्त्री टाइलर (E. B. Tylor) बाट उन्नाइसौँ शताब्दीको अन्तदेखि नै सुरु भएको परिभाषाको प्रतिस्पर्धामा जोतिनेहरूले एउटा अति सामान्य कुरा बुझिदिए निकै ठूलो समस्या समाधान हुन्थ्यो । त्यो कुरा के हो भने मानिसले जन्मिँदै लिएर नआएको तर अरूबाट सिकेको सबै कुरा संस्कृति हो । यति कुरामा विश्वास मानेपछि संस्कृतिलाई परिभाषित गर्ने लेठो गरिरहन पर्दैन ।

अर्थात् -आँखा झिम्किनु संस्कृति होइन, तर केही कुराको इशारा गर्न आँखा झिम्क्याउनु संस्कृति हो । खानु संस्कृति होइन तर के खाने र के नखाने भन्ने हाम्रो बुझाइ संस्कृति हो । वास्तवमा भन्ने हो भने शरीरमा लगाउने जुत्तादेखि विद्यालयमा सिकिने गणीतसम्म, घरको डिजाइनदेखि धान रोप्दा गाइने गीतसम्म सबै कुरा संस्कृति हो ।

संस्कृतिलाई परिभाषित गर्ने र यसलाई विशिष्ट मान्ने प्रवृत्तिले जन्माएको एउटा ठूलो समस्या के भने यसले मानिसले अपनाएका निश्चित मूल्यमान्यता र अभ्यासलाई जटिल, संवेदनशील, अपरिवर्तनीय र ठोस संरचनाका रूपमा अर्थ्याउँछ । मानिसहरू सोच्छन्, उनीहरूले गर्ने पूजाआजा, लगाउने जनै (वा सिन्दुर), धर्मग्रन्थ, चाडपर्व संस्कृति हुन् । यस बुझाइका आधारमा उनीहरू संस्कृतिलाई रक्षा गर्नुपर्ने कुरा ठान्छन् । यो जटिल (र गलत) परिभाषाभित्र जुनजुन कुरा पर्छन् त्यसको प्रतिरक्षामा मानिसहरू बढी नै संवेदनशील हुन्छन् ।

अर्थको गहिराइ र व्यापकतालाई बिर्सिने हो भने कमिज वा सुरवाल जति संस्कृति हो, जनै पनि त्यति नै संस्कृति हो ।

जन्मेपछि सिकेको कुराको एउटा सुन्दर पक्ष के भने यसको हेरफेर समय र स्थानका आधारमा मानिसले आफैं गर्नसक्छन् र गरिरहेका पनि हुन्छन् । आँखा झिम्क्याउँदा लाग्ने अर्थमा समयअनुसार परिवर्तन हुन्छ । महिला र पुरुषका भूमिका फेरिन्छन् । विज्ञानका नियम र मापदण्ड समान रहन्नन् । के खाने भन्ने कुरा फेरिन्छ । विवाहित महिलाले लगाउनु पर्ने सिन्दुर र जनै पुर्णिमामा उच्च जातका पुरुषले लगाउने जनैका अर्थ र औचित्य फेरिन्छन् । वेद, गीता, बाइबल, कुरानका व्याख्या ठाउँअनुसार फरक हुन्छन् ।

मानिस त्यसबेला सही अर्थमा मानिस हुन्छ जुन बेला उसले आफूले जन्मेपछि सिकेका कुरामा संशय गर्न, तिनमाथि प्रश्न गर्न र आवश्यक परे तिनीहरूलाई हेरफेर गर्न प्रयास गर्छ ।

7 comments:

  1. सिन्दुरको बारे स्पष्ट हुने गरि लेखिनु अझै ठिक होला ।

    ReplyDelete
  2. तपाईं को लेख मन पर्छ त्यसकार्ण बोलग भने पछी झनै पढन मनलाग्यो। पडे पछी नयाँ पना को अनुभव भयो। Honestly refreshing. Hope you will contunue posting your blogs.

    ReplyDelete
  3. लेख निकै मनपर्‍यो , लेखकलाई आभार, हाम्रा सबै सस्कृतिहरु समसय योग्य छन् । हरेक सस्कृतिको परीक्षण, पुनपरीक्षण गरिनु पर्दछ । व्यक्तिगत तथा समामाजिक मूल्य र जीवन उपयोगिताको आधारमा अपनाउने तथा परिमार्जन गर्ने निर्णय गरिनु पर्दछ ।

    ReplyDelete