Wednesday, October 6, 2021

राज्यबाट शासित नहुने कला

यो लेख मलाई औधी मन पर्ने अमेरिकी राजनीतिशास्त्री तथा मानवशास्त्री जेम्स स्कट (James C. Scott) को वरिपरि घुम्नेछ । स्कट येल विश्वविद्यालयका प्राध्यापक हुन्, जसले राज्य स्थापनाको इतिहास र यसमा जोडिएका यावत जटिलताका विषयमा प्रशस्त अध्ययन-अनुसन्धान गरेका छन् । म आज उनका विभिन्न महत्त्वपूर्ण पुस्तकमध्ये सन् २००९ मा येल विश्वविद्यालयद्वारा प्रकाशित ‘द आर्ट अफ नट बिइङ गभर्न्ड’ (The Art of Not Being Governed) मा आधारित रहेर राज्यको स्थापना र विकासबारे उनका केही रोचक दृष्टिकोणहरूको चर्चा गर्नेछु ।



आजको सन्दर्भका लागि तपाईंलाई त्यस्तो भू–भागमा लैजाँदै छु, जहाँ राज्य कमजोर छ र मानिसहरू बलिया । भाषा, संस्कृति, इतिहास, जीवन निर्वाहको पद्धतिमा मात्र नभएर भूगोल पनि राज्यको प्रतिकूल छ । यो ठाउँ भारत, चीन तथा दक्षिण पूर्वी एसियाका राज्यहरू बर्मा, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, लाओको छायामा पर्ने पहाडी र हिमाली भू–क्षेत्र हो । राज्यको तापबाट अलग रहन चाहने झण्डै १ करोडको हाराहारीमा जनसंख्या रहेको र विभिन्न आदिवासी समूहहरूले भरिएको यो क्षेत्र केही दशकअघिसम्म पनि नजिकका राज्यहरूबाट दुर्गम थियो, यसका केही भाग अझै पनि विभिन्न हिसाबले दुर्गम नै छन् ।

यस क्षेत्रको अलग र विशिष्ट नाम छैन । तर, हल्याण्डका मानवशास्त्री तथा इतिहासकार विलेम भान शेन्डेल (Willem van Schendel) ले अध्ययन अनुसन्धानका लागि यस क्षेत्रलाई जोमिआ (Zomia) भनेर नामकरण गरेका छन् । जोमिआ शब्दमा स्थानीय भाषाका दुई शब्द जोडिएका छन्- ‘जो’ र ‘मि’ । ‘जो’को अर्थ दुर्गम र ‘मि’को अर्थ मानिस हुन्छ । जसरी भारतको उत्तरपूर्वी राज्य मिजोरम र त्यहाँका आदिवासीको नाम मिजो रहन गएको छ । नामको अर्थबाट पनि जोमिआलाई एउटा यस्तो क्षेत्रका रूपमा बुझ्न सकिन्छ, जसमा मानिसहरूले ‘दुर्गम’ जीवन बाँचेका छन्, वा बाँचेका थिए । जेम्स स्कटको पुस्तक ‘द आर्ट अफ नट बिइङ गभर्न्ड’ जोमिआ अध्ययनका क्षेत्रमा एक विशिष्ट योगदान हो । स्कटले पनि आफ्नो पुस्तकमा यस क्षेत्रलाई जोमिआ भनेरै व्याख्या गरेका छन् ।


जोमिआ र जीवन

कल्पना गर्नुहोस्, तपाईं आजभन्दा ५ सय वर्षअघि दक्षिण पूर्वी एसियाको कुनै ठाउँमा हुनुहुन्थ्यो । तपाईंको बसोबास स्थिर थिएन । जीविकोपार्जनका लागि तपाईंका उपाय आफ्नो रुचि र सहजताअनुकूल थिए । जमिनमा कसैको स्वामित्व थिएन । तपाईंमाथि शासन गर्ने शासक थिएन । राज्य थिएन । संविधान थिएन । कानुन थिएन । देशको महिमामण्डन गर्दै रचिएका गीत, कथा, कविता थिएनन् । र, तपाईं एक स्वतन्त्र मानिस हुनुहुन्थ्यो ।

तर, तपाईंले हेर्दाहेर्दै पानी भएका समतल उपत्यकामा धानबाली लगाउने क्रम सुरु भयो । धानमा आधारित खेती प्रणालीसँगै स्थिर बसोबासको चलन चल्यो । पहिला छरिएर बसेका मानिसहरूले धान खेतका लागि एक ठाउँमा भेला भएर एकीकृत बस्ती बनाए, जहाँ मानिस र तिनका घरपालुवा जनावर सानो घेराभित्र सँगसँगै बसोबास गर्न थाले । आफूसँग अलौकिक शक्ति भएको दाबी गर्दै एकपछि अर्का राजारजौटाको उदय भयो । राजारजौटाले धानबालीमाथि कर तोके । उनीहरूका लागि दरबार बने । राज्यको महिमा झल्काउन विभिन्न भौतिक संरचना निर्माण गर्ने क्रम सुरु भयो । यस्ता संरचनामा ज्यालाबिना काम गर्न मानिसहरूलाई बाध्य बनाइयो । सेना र राज्यको प्रशासनिक संरचनामा मानिसहरूलाई भर्ना गरियो । एकीकृत बस्तीमा मानिस र घरपालुवा जनावरको घनत्व बढेसँगै विभिन्न प्रकारका सरुवा रोगको महामारी पनि बढ्यो ।

यस्तो परिस्थितिमा सम्भवतः तपाईंसँग दुई विकल्प हुने थिए । पहिलो- राज्यको अस्तित्वलाई स्वीकार गर्दै स्थिर खेती प्रणालीमा आबद्ध हुने, एकीकृत बस्तीमा बस्ने, राज्यको रैती हुने । दोस्रो- राज्यको तापबाट आफूलाई पर राख्न उकालो चढ्ने । स्वतन्त्र जीवन बाँच्ने ।

दक्षिण पूर्वी एसियाका प्रशस्त मानिसले दोस्रो विकल्प रोजे । ‘द आर्ट अफ नट बिइङ गभर्न्ड’ दोस्रो विकल्पको नालीबेली हो, जसमा स्कटले राज्यको प्रभावबाट पर रहन दक्षिण पूर्वी एसियाका पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने आखा (Akha), लाहु (Lahu), कारेन (Karen), नागा (Naga), काचिन (Kachin), मोङ (Hmong) आदि खोरिया खेत (Swidden Agriculture) मा निर्भर र डुलुवा आदिवासीको इतिहास र वर्तमानको चित्र प्रस्तुत गरेका छन् । यही चित्रको संक्षिप्त वर्णन म आज गर्दैछु ।

 

धानबालीको जगमा बनेका राज्य, रैती र आदिवासी

दक्षिण पूर्वी एसिया (भारतको उत्तरपूर्वी क्षेत्र, म्यानमार, भियतनाम, कम्बोडिया, चीन, थाइल्याण्ड आदि) मा केही विशिष्ट परिस्थिति थिए, जसका आधारमा राज्यका जग बसे । त्यसमा सबैभन्दा ठूलो परिस्थिति धान (Pady) मा आधारित खेती प्रणाली थियो । धान सीमित तथा सानो क्षेत्रमा उब्जाउन सकिने बाली हो, जसका लागि एक निश्चित क्षेत्र र सामूहिक खेती प्रणाली आवश्यक पर्छ । एकै समयमा छर्न, रोप्न, गोड्न र बाली भित्र्याउनपर्ने र सिँचाइका लागि प्रशस्त पानीको पनि जोहो गर्नुपर्ने हुनाले धान बालीका लागि मानिसहरूलाई एकअर्कासँग जोडिएर नजिक बस्नुपर्ने बाध्यता हुन्छ । धानबालीले सिर्जना गरेको यही बाध्यता एकीकृत बस्तीको आधार बन्यो ।

निश्चित क्षेत्रमा लगाइने र जमिनमाथि फल्ने हुनाले धानको उत्पादन हिसाबकिताब गर्न र त्यसमाथि कर लगाउन राज्यका लागि सहज हुने नै भयो । यही सहजताका आधारमा दक्षिण पूर्वी एसियाका उपत्यकाहरूमा पानीमा फल्ने धान बाली (Wet rice cultivation) मा आधारित केही ठूला र प्रशस्त स-स-साना राज्यहरू (उनका शब्दमा Pady states) विकास भए । यसरी विकास भएका राज्यहरूमा ताइ (Tai), बर्मा (Burma), हान (Han), युनान (Yunnan), शान (Shan), चिआङ माइ (Chiang Mai), लाम्फुन (Lamphun), लाओ (Lao), मनिपुर (Manipur) आदि प्रमुख उदाहरण मानिन्छन् ।

धानबालीमा आधारित स्थिर खेती प्रणालीका आधारमा जब दक्षिण पूर्वी एसियाका उपत्यकाहरूमा धमाधम राज्यहरू बन्ने क्रम सुरु भयो । त्यसपछि राज्यका लागि चाहिने राजनीतिक, सांस्कृतिक र आर्थिक संस्थाहरू पनि बन्न थाले । राजतन्त्रको स्थापना भयो । सरकार र प्रशासकीय संरचना बने । राज्यको वैधता स्थापित गर्न कथा, गीत, कविता रचना गर्ने क्रम सुरु भयो । भारतबाट व्यापार गर्नेहरूले ल्याएको हिन्दु परम्परा तथा डुलुवा धर्मगुरुहरूले ल्याएको थेराबादा बुद्ध परम्परालाई राज्य निर्माणको सांस्कृतिक आधार बनाइयो । नागरिकबाट कर उठाउन जमिनको नापजोख गर्ने क्रम (Cadastral Survey) सुरु भयो । राज्यले जनताको श्रममा कब्जा जमाउन र उनीहरूबाट कर उठाउन विभिन्न विधि र प्रशासनिक संरचना निर्माण गरे । समाजलाई श्रेणीकरण गरियो -उँचनीच, ठूलो-सानोका वर्गीकरणहरू कठोर र विधिसम्मत हुँदै गए ।

स्थिर खेती प्रणाली र त्यसमा पनि धानबालीका लागि अनिवार्य सर्त हो- मानव श्रम । त्यसैले, दक्षिण पूर्वी एसियामा स्थापना हुने राज्यका लागि मानिसहरूको आवश्यकता अत्यन्त ठूलो थियो । मानिसहरू जति बढी भए, कृषिउपज त्यति नै बढी हुन्थ्यो, कर त्यति नै बढी उठ्थ्यो र राज्य त्यति नै शक्तिशाली हुन्थे । त्यसैले, राज्यको ध्यान सकेसम्म राज्यको केन्द्र (Court) नजिकै मानिसहरूको बसोबास गराउन र उनीहरूको श्रम शोषण गर्नमा (जसलाई स्कटले corvée labor, taxes, conscription भनेका छन्) केन्द्रित भयो । यसका लागि राज्यले दास खरिद गर्ने, लडाइँबाट दास बनाउने, बलपूर्वक मानिसहरूलाई राज्यको सीमाभित्र राख्ने प्रयास गरे । यही क्रम जोमिआमा सयौँ वर्षसम्म चलिरह्यो ।

जब उपनिवेशीकरण सुरु भयो, राज्यको प्रभाव झन् विस्तार हुन थाल्यो । कर सङ्कलन बढाउन र प्राकृतिक स्रोतमाथि कब्जा जमाउन सडकलगायत भौतिक पूर्वाधार विस्तार गरियो । उपनिवेशका प्रशासकहरूले मानिसको गणना व्यवस्थित रूपमा गर्न थाले । जनगणनाका लागि हरेक व्यक्तिलाई एउटा निश्चित जातीय समूहको सदस्यका रूपमा गणना गर्ने विधि बनाइयो । यसको प्रभाव उपत्यकाका राज्यमा धानबालीमा आश्रित सर्वसाधारणमा मात्र परेन । राज्य छल्न पहाड र हिमाल उक्लेका आदिवासीमाथि पनि उपनिवेशको आँखा पर्‍यो । जोमिआका आदिवासीलाई निश्चित वर्ग र समूहमा दर्ता गर्ने क्रम सुरु भयो । बेलायती र फ्रान्सेली उपनिवेशका मालिकहरूले राज्य नरुचाउने समूहमाथि राज्यको बोझ लाद्न थाले ।

तामझाम जतिसुकै ठूलो भए पनि दक्षिण पूर्वी एसियाका राज्य स्थिर र आन्तरिक रूपमा बलिया भने थिएनन् । आन्तरिक द्वन्द्वका कारण तिनीहरू कुनै बेला शक्तिशाली हुन्थे र लगत्तै कमजोर पनि । कतिपय राज्य आन्तरिक द्वन्द्व, महामारी, भूकम्प तथा अन्य प्राकृतिक विपत्तिका कारण तहसनहस भएका उदाहरण प्रशस्त छन् ।

शक्तिशाली भनिएका राज्यको पनि प्रभाव क्षेत्र अत्यन्त साँघुरो थियो । यातायातका साधनको सीमितता र बाटोघाटोको अभावका कारण राज्यहरू केन्द्रवरिपरि केही सय किलोमिटरभन्दा बढी क्षेत्रमा प्रभाव जमाउन सक्षम थिएनन् । अर्कोतर्फ, धानबालीमा आश्रित नागरिकले राज्यको प्रशासन र सेनाको दुर्व्यवहारको मार खेप्नुपर्थ्यो जसका कारण राज्यहरू आफ्नै रैतीबाट पनि सुरक्षित थिएनन् । रैतीका लागि राज्यको प्रभाव क्षेत्रमा बस्नु आकर्षक कुरा थिएन ।

त्यसैले, जुन बेला राज्यको स्थापना र शक्ति विस्तार भइरहेको थियो । त्यही बेला राज्यको ढाँचा ढर्रा र यसले लाद्ने नियन्त्रण नरुचाउने मानिसहरू राज्यत्याग गरेर पहाड र हिमालीक्षेत्रमा बसोबास गर्ने क्रम पनि निरन्तर थियो । धानबालीमा आश्रित किसान र दासहरू समतल उपत्यकामा बसोबास गरिरहे, राज्यको अधीनमा बस्न नरुचाउनेहरूले उपत्यका छोडे र जोमिआका पहाड र हिमाली क्षेत्रमा जीवन निर्वाहको विशिष्ट ‘कला’को विकास गरे । आदिवासीले विकास गरेको विशिष्ट जीवनशैली र मान्यतालाई जेम्स स्कटले समग्रमा ‘रैती नहुने कला’ भनेर अर्थ्याएका छन् ।


रैती नहुने कला

जोमिआ, माथि भनिएझैँ, एउटा यस्तो ‘शरण क्षेत्र’ (Refuge) हो, जुन राज्यका सबै चरित्रभन्दा पृथक् छ । जोमिआको पृथक् चरित्रमा चार पक्ष प्रधान छन् । पहिलो हो, बसोबासको शैली, दोस्रो खेती प्रणाली, तेस्रो सामाजिक संरचना र चौथो भौगोलिक अवस्थिति ।

जोमिआ ‘अस्थिर’ क्षेत्र हो । यहाँ मानिसहरूको ठेगाना निश्चित छैन । जोमिआका आदिवासी एक ठाउँमा सीमित नभएर लामो क्षेत्रफलभित्र डुलेर बस्छन् । एउटा समूह आज एक ठाउँमा हुन्छ भने भोलि कता पुग्ला ठेगान हुन्न । यस्तो चरित्र राज्यको चरित्रको ठिकविपरीत हो । चलायमान र छरिएर बस्ने (Footloose) जनसंख्याले न आफैँ राज्यको स्थापना गर्न सक्छ, न त यस्तो जनसंख्यालाई राज्यको नियन्त्रणमा ल्याउन सजिलो छ ।

जोमिआका आदिवासीको डुलुवा प्रवृत्तिसँग मिल्दोजुल्दो उनीहरूको खेती प्रणाली छ । उनीहरूको खेती प्रणालीका दुई प्रमुख विशेषता छन् । पहिलो विशेषता झाडी फाँडेर बाली लगाउने खोरिया खेत पद्धति (Swidden agriculture) सँग सम्बन्धित छ । खोरिया खेतका लागि मानवीय श्रम बढी चाहिँदैन । एउटा परिवार वा सानो समूहले आफूलाई पर्याप्त हुने उब्जा खोरिया खेतबाट प्राप्त गर्न सकिन्छ । तर, यसका लागि प्रशस्त क्षेत्रफल चाहिन्छ, ताकि एउटा परिवार एकपटक खोरिया फाँडेर बाली गरिएको ठाउँलाई वर्षौंसम्म बाँझो राख्न र पछि फर्केर आउन सकोस् ।

जोमिआका आदिवासीको खेती प्रणालीसँग सम्बन्धित दोस्रो विशेषता उनीहरूले चयन गर्ने बाली हो । यस क्षेत्रमा जीविकोपार्जनका लागि धानबाली लगाउने प्रवृत्ति अत्यन्त न्यून छ (थियो) । समतल क्षेत्रमा जस्तो अन्न बाली लगाउने चलन जोमिआमा कम छ । प्राय: मानिसहरूले लगाउने बाली जमिनमुनि फल्ने आलु, तरुल, कर्कलो, कसाभा (Cassava) आदि हुन् । केहीले मकै लगाउँछन् । यसका अतिरिक्त लहरे गेडागुडी लगाउने चलन छ । जोमिआका आदिवासीले लगाउने बाली कि त जमिनमुनि हुन्छन्, कि त लहरामा ।

खोरिया खेतको बाली पद्धति र धानभन्दा अन्य बालीको चयनका केही विशेषता छन् जसले जोमिआलाई राज्यको पहुँचभन्दा टाढा राख्न सहयोग गरेको छ । खोरिया खेतले उनीहरूलाई स्थिर खेती प्रणालीभन्दा पर राख्छ । खोरिया खेतमा निर्भर हुँदा मानिसलाई एक ठाउँमा बस्ने आवश्यकता नहुने मात्र होइन, चलायमान रहनुपर्ने बाध्यता नै हुन जान्छ । यसका लागि ठूलो समूहमा नभएर स-सानो समूहमा बस्नुपर्ने आवश्यकता पनि हुन्छ । यसको परिणामस्वरूप जोमिआ असंख्य स-साना टुक्राहरूमा बाँडिएको छ, र त्यसैले राज्यको प्रभावबाट टाढा छ ।


आलु, तरुल, कर्कलो र कसाभालगायत जरे बालीहरूको विशेषता के छ भने तिनीहरू शासकको नजरमा पर्दैनन् । तिनीहरूको उत्पादकत्वको हिसाबकिताब राख्न सहज छैन । त्यसैले, यस्ता बालीमा कर उठाउन सजिलो छैन । यसबाहेक डुलुवा आदिवासीका लागि जरे बालीको अर्को फाइदा छ- यस्ता बाली फल्नासाथ एकैपटक काटेर भित्र्याउन आवश्यक छैन । जमिनमुनि तयार भएको बाली आफ्नो आवश्यकताअनुसार चाहिएजति निकालेर खाँदै गए हुन्छ । जोमिआका मानिसहरूले लगाउने बालीहरू तीनदेखि चार महिनामा तयार हुन्छन्, जसले गर्दा उनीहरूलाई एक ठाउँको बाली उपभोग गरेर अर्को ठाउँमा सर्न सहज हुन्छ ।

राज्यबाट टाढा रहने आदिवासीको अर्को महत्त्वपूर्ण हतियार उनीहरूको विशिष्ट सामाजिक संरचना हो ।

जोमिआको समाज यथार्थमा समतामूलक (Egalitarian) समाज हो । यहाँ सम्पत्ति, शक्ति, भाषा, वंश वा अन्य कुनै पनि आधारमा ठूलो-सानोको असमानता छैन । सम्पत्तिमा व्यक्तिगत स्वामित्व छैन । प्राकृतिक स्रोतमा सबैको पहुँच समान छ । त्यसैले, सबै मानिसको हैसियत बराबर छ । विभिन्न समूहका नाइकेको भूमिका भए पनि त्यसबापत उसले विशिष्ट अधिकार वा सम्मानको उपभोग गर्न पाउँदैन । नाइके शक्तिशाली हुन चाहेको र विभेदको सिर्जना हुन थालेको अवस्थामा त्यस्ता नाइके मारिएका प्रशस्त घटना जोमिआमा छन् ।

राज्य असमानताको जगमा निर्माण हुने राजनीतिक संरचना हो । त्यसैले, समतामूलक समाज राज्य स्थापनाको आधार बन्न सक्दैन, न त सबैको हैसियत बराबर रहने सामाजिक समूहलाई सजिलै राज्यको प्रभावभित्र धकेल्न सम्भव छ ।

जोमिआमा धानबालीमा आधारित उपत्यकाका राज्यको प्रभाव कमजोर हुनुको अर्को महत्त्वपूर्ण कारण त्यहाँको भूगोल हो । जोमिआ समतल छैन । यहाँको पहाड र हिमाली क्षेत्र असमान, असजिलो र अग्लो-होचो भएका कारण राज्यका प्रशासकहरूका लागि यो ठाउँ असजिलो र जोखिमपूर्ण छ । यही भौगोलिक अवस्थितिका कारण जोमिआमा प्रशस्त सांस्कृतिक, आर्थिक र राजनीतिक विविधता पनि छ । दक्षिण पूर्वी एसियामा जति पनि राज्यहरू बने, ती समतल क्षेत्रमा बनेका छन् । राज्यबाट जो ‘भागेका’ छन्, तिनीहरूले उचाइ नै रोजेका छन् । यसको विशेष कारण छ- पहाड र हिमालले मानिसहरूलाई राज्यबाट जोगाएका छन् । जोमिआको भूगोलको रोजाइ त्यहाँका आदिवासीको राज्यको प्रभाव छल्ने उत्कृष्ट कला हो ।

राज्यको ओझेलमा बस्ने जोमिआका आदिवासीको कलाबारे जेम्स स्कटले प्रस्तुत गरेको बृहत् वर्णनमा समाहित दुई रोचक पक्षको अब छोटो चर्चा गरौँ । ती हुन्- जोमिआका आदिवासीको जातीय पहिचान र लिखित इतिहाससँग उनीहरूको सम्बन्ध ।


जेलिफिस’ आदिवासी

आदिवासीलाई हेर्ने स्थापित दृष्टिकोणको विशेषता के छ भने त्यसले एउटा आदिवासी समूहलाई निश्चित भाषा, वंश, स्थान र ऐतिहासिकतासँग जोड्छ । जेम्स स्कटले आफ्नो पुस्तक ‘द आर्ट अफ नट बिइङ गभर्न्ड’मा यस अवधारणाको आलोचनात्मक व्याख्या प्रस्तुत गरेका छन् ।

जेम्स स्कटका अनुसार जोमिआका विभिन्न आदिवासी समूहमध्ये कुनै पनि समूह ‘ठोस’ होइनन् । यसको विपरीत जोमिआ त्यस्तो क्षेत्र हो, जहाँ मानिसका सामाजिक-सांस्कृतिक विशेषतामा असीमित तरलता र लचकता छ । उनीहरूको भाषा निश्चित छैन, वंश ठोस छैन, स्थान स्थिर छैन । त्यसैले, जोमिआका आदिवासी ठोस आकार-प्रकार र रङ नभएका तथा आफ्नो स्वरूप र चरित्र आवश्यकताअनुसार निरन्तर परिवर्तन गरिरहने ‘जेलिफिस’ जस्तै हुन् । यो उनीहरूको राज्यबाट अलग हुने विशिष्ट आधार हो ।

जोमिआका आदिवासी समूहहरू एकअर्कासँग जोडिने र टुक्रिने प्रक्रिया अत्यन्त नियमित र स्वाभाविक हो । उदाहरणका लागि काचिन समूहको भनिएको मानिस तुरुन्त कारेन समूहको सदस्य बन्न सक्छ । लाहुलाई आखा बन्न कत्ति पनि बेर लाग्दैन । उनीहरूले प्रयोग गर्ने भाषामा पनि विभिन्न रोचक विशेषता छन् । जोमिआको एक जना आदिवासीले पाँच वा छ विभिन्न भाषा उत्तिकै दक्षताका साथ बोल्न सक्छ । उनीहरू जोमिआभित्रका भाषा मात्र नभएर उपत्यकामा बोलिने भाषाहरू पनि बोल्न सक्छन् । जोमिआका आदिवासीहरूका लागि पोशाक, भाषा, खानाको परिकार, निश्चित नाम आदिसँगको सम्बन्ध निश्चित र स्थिर छैन ।

जोमियाका आदिवासीको ‘जेलिफिस’ चरित्रको अर्को उदाहरण वंशका बारेमा उनीहरूको विश्वास पनि हो । आफ्नो इतिहास र वंश परम्पराका बारेमा जोमिआका आदिवासीहरूले सुनाउने मिथकहरू निश्चित र स्थायी छैनन् । पहिलो त उनीहरू आफ्नो वंश निश्चित रूपमा यही हो भनेर भन्न सक्दैनन्, वा चाहँदैनन् । एउटै आदिवासी समूहभित्रका उपसमूह वा परिवारको एकाइका पनि आफ्नो वंशका बारेमा फरकफरक बुझाइ छन् । त्यसैगरी, उनीहरू आफ्नो वंशका बारेमा आफ्ना मिथक र वर्णनहरू फेरिरहन्छन् । यो लचकता र तरलताले उनीहरूलाई आफ्नो वातावरणमा घुलमिल हुन सघाएको मात्र होइन, राज्यबाट पर रहन पनि सजिलो बनाएको छ ।


इतिहास, लिपि र राज्य

जोमियाका आदिवासीलाई राज्यका नागरिकले होच्याउन प्रयोग गर्ने विभिन्न मापदण्डमध्ये एउटा मापदण्ड उनीहरूको आफ्नो अलग्गै लिपि नहुनु पनि हो । लिपि नहुने समूहलाई सभ्यताको कसीमा तल्लो दर्जामा राख्ने गरिन्छ । जोमिआका आदिवासीका आ–आफ्ना साङ्केतिक चिह्नहरू छन्, जसलाई उनीहरूले आफ्नो अस्थायी बासस्थानमा चिह्न लगाउनदेखि शरीरमा ट्याटु बनाउनसमेत उपयोग गर्छन् । तर, उनीहरूको आफ्नो लिपि छैन । जोमिआका आदिवासीसँग लिखित साङ्केतिक भाषा छैन ।

आफूसँग लिपि नभएको कुराबारे जोमिआका आदिवासी पनि चनाखो छन् । यसलाई अर्थ्याउन उनीहरूले प्रशस्त मिथक बनाएका छन् । लाहु (Lahu) समूहको मिथकले भन्छ- उनीहरूका देवता गुइ-शा (Gui-Sha)ले उनीहरूको लिपि खानेकुराभित्र राखेर दिएका थिए, जसलाई उनीहरूले खाइदिए र लिपिको नाश भयो । वा (Wa) समूहको पनि यसैसँग मिल्दोजुल्दो मिथक छ । मिथकले भन्छ- जब उनीहरू उपत्यकामा बस्थे, उनीहरूसँग लिपि थियो । तर, उनीहरूले शासकले दिएको दुःख खप्न नसकेर अचानक उपत्यका छोड्नुपर्‍यो । उपत्यका छोड्दा उनीहरूले गोरुका छालाका पुस्तकमा लेखिएको आफ्नो लिपि सँगै बोकेर ल्याएका थिए । तर, भोक सहन नसकी उनीहरूले गोरुको छाला खाइदिए र त्यसरी लिपिको विनाश भयो ।

आफूसँग लिपि नभएको कुराको व्याख्याका लागि आदिवासीले प्रस्तुत गरेका मिथकभन्दा फरक जेम्स स्कटले लिपिको अभाव र राज्यसँग आदिवासीको सम्बन्धबारे आफ्नो विश्लेषण प्रस्तुत गरेका छन् ।

स्कटको विचारमा लिपिका केही विशिष्टताहरू छन्, जसले त्यससँग सम्बन्धित समूह र त्यसको इतिहासलाई निश्चित वा ठोस स्वरूप प्रदान गर्छ । लिपि समाजको स्थायी स्वरूप र चरित्रसँग सम्बन्धित छ । लिपिको प्रयोग राज्यको वैधता र इतिहास निर्माण गर्न र त्यसलाई निरन्तरता दिनका लागि अपरिहार्य छ । त्यसैले, राज्यका लागि लिपि अत्यन्त आवश्यक छ । राज्यका लागि लिपि आवश्यक पर्ने अर्को प्रमुख कारण कर सङ्कलन हो । लिपिमार्फत नै राज्यले नागरिकको आम्दानीको हिसाबकिताब राख्छ । कर तोक्छ । कर नतिर्नेलाई सजायको व्यवस्था गर्छ । जेम्स स्कटले प्रस्तुत गरेको तथ्याङ्कअनुसार राज्यहरूले (जस्तै, मेसोपोटामिआको उरुक राज्य) लिपिको ८५ प्रतिशतभन्दा बढी उपयोग आर्थिक तथा कर सङ्कलनको प्रयोजनका लागि गर्ने गर्थे ।

मिथकहरूमार्फत लिपिको अभावका लागि जोमिआका आदिवासीले जेजस्ता मिथक प्रस्तुत गरे तापनि लिपिको अभाव राज्यको प्रभावबाट आफूलाई टाढा राख्ने उनीहरूको रणनीति र कला हो । यसले उनीहरूलाई एक निश्चित वंश, वर्ग, जात, ऐतिहासिकतामा सीमित नरही स्वतन्त्र हुन सघाएको छ भने अर्कातिर राज्यका बाध्यकारी नीतिनियम र कर प्रशासनबाट पनि अलग राखेको छ । जोसँग लिपि छैन, ऊ स्वतन्त्र छ, जोसँग लिपि छ, ऊ राज्यका नीतिनियमहरूमा बाँधिएको छ ।


जोमिआ र आजका हामी

जेम्स स्कटका अनुसन्धान तथा उनले लेखेका पुस्तक संसारभर प्रख्यात मात्र छैनन्, तिनीहरूले हाम्रो इतिहास, वर्तमान र भविष्य बुझ्न अत्यन्तै रोचक र अरूभन्दा पृथक् दृष्टिकोणहरू उपलब्ध गराएका छन् । उनका पुस्तक तथा लेखहरूमा राज्यको इतिहास र अर्थराजनीति बुझ्न अत्यन्त महत्त्वपूर्ण औजारहरू प्राप्त गर्न सकिन्छ । मलाई लाग्छ, स्कटका पुस्तकमा इतिहास, राजनीति वा मानव विशेषताको वर्णन मात्र छैनन्- जीवन र जगत्‌को बुझाइ आनका तान फेर्न सघाउने सशक्त दृष्टिकोणहरू पनि छन् । लेखको बाँकी अंशमा ‘द आर्ट अफ नट बिइङ गभर्न्ड’मा स्कटका दुई सशक्त दृष्टिकोणको छोटो चर्चा गर्दैछु ।


राज्यको दोहनकारी चरित्र

आज हामी यस्तो परिवेशमा छौँ, जसमा मानिसको शरीर, समाज र सोचाइमाथि राज्यको पूर्ण नियन्त्रण छ । यही अनुभवका आधारमा हामी राज्यलाई मानव सभ्यताले स्थापना र विकास गरेको अनिवार्य अनि उच्चतम संस्था भनेर बुझ्ने गर्छौं । राज्यबिनाको मानव अस्तित्व हाम्रो परिकल्पनाभित्र अटाउँदैन । राज्यलाई बलियो, प्रभावकारी, सक्षम, न्यायपूर्ण र उन्नत बनाउनमा त्यसभित्र रहेका सबैको ध्यान केन्द्रित भएको हुन्छ । राज्य असल वा खराब भएको चर्चा हुन्छ, प्रभावकारी वा प्रभावहीन भएको चर्चा हुन्छ, तर राज्यको अस्तित्वमाथि नै प्रश्न भने उठ्दैन । ‘राज्य मानव जीवनका लागि अनिवार्य संस्था हो, होइन’ भनेर हामी बहस गर्दैनौँ । हाम्रो बुझाइमा राज्य एक प्राकृतिक संस्था हो र मानिस यही संस्थाको अधीनमा रहने प्राणी ।

के राज्य सबैले सोच्ने गरेझैँ न्यायपूर्ण, व्यावहारिक, प्रभावकारी वा भनौँ मानव जीवनका लागि नभई नहुने संस्था हो त ?

जेम्स स्कटको बौद्धिक परिश्रमको एउटा महत्त्वपूर्ण उद्देश्य यस प्रश्नको जवाफ खोतल्ने हो । दक्षिण पूर्वी एसियाको इतिहासलाई विस्तृत रूपमा केलाउँदै स्कट भन्छन्, 'राज्य -न्यायपूर्ण र प्रभावकारी नभएर अन्याय र शोषणको जगमा खडा भएको एक विभेदकारी संस्था हो । यसको स्थापना र विकास नै श्रमको शोषण, दासत्वकरण र अमानवीय तथा बाध्यकारी कर (उनका शब्दमा Corvée labor, conscription, tribute) बाट भएको हुन्छ । राज्यको छातामुनि नागरिक स्वतन्त्र र सुरक्षित रहन्छन् भन्ने विश्वास जोमिआको १५०० देखि २००० वर्ष पुरानो इतिहासले गलत प्रमाणित गर्छ । राज्य द्वन्द्वको स्रोत हो । महामारीको कारण हो । विभेद र स्तरीकरणका जगमा निर्माण भएको संस्था हो । उन्नतिको नभएर दुर्गतिको प्रतीक हो ।'

राज्यको चङ्गुलमा फसिसकेका हामी अब यस चङ्गुलबाट बाहिर निस्कन सम्भव नहोला- यद्यपि राज्यको सीमितता र यसमा निहित कमजोरीलाई बुझ्न जेम्स स्कटले प्रस्तुत गरेको जोमिआको बयानले पक्कै सघाउँछ । राज्यलाई पवित्र र निर्विकल्प संस्था मानेर यसको भजन गाउने प्रवृत्तिबाट सजग रहन जेम्स स्कटले हामीलाई सुझाएका छन् । उनको सुझावलाई मान्ने हो भने हामीले आफूलाई राज्यमा निहित गर्ने होइन, राज्यबाट सुरक्षित राख्ने हो । किनकि राज्य एक शक्तिशाली र विनाशकारी संस्था हो, जसको लक्ष्य विभेद र अन्यायलाई संस्थागत र पुनर्उत्पादन गर्नमा केन्द्रित हुन्छ ।


असभ्य’ आदिवासी र ‘सभ्य’ नागरिकको भ्रम

जब हामी राज्यको भौगोलिक, राजनीतिक र सांस्कृतिक सीमाभित्र नबाँधिएका घुमन्तेफिरन्ते, आदिवासी, ‘भगौडा’हरूलाई बुझ्छौँ वा व्याख्या गर्छौंत्यस सन्दर्भमा राज्यबारे हामीले प्राप्त गरेको गलत र पूर्वाग्रही शिक्षा हाबी हुन्छ । हामी ठानिरहेका हुन्छौँ कि राज्यको भौगोलिक र राजनीतिक परिधिभित्र नपरेका मानिस तथा तिनका समूह ‘असभ्य’ हुन् । आधारभूत ज्ञान र चेतनाको अभावमा आफ्नो ‘अवैज्ञानिक’ जीवनशैली त्याग्न नसक्दा यस्ता समूहले राज्यको नागरिक हुनुको फाइदा लिन सकेका छैनन् ।

यस भाष्यमा राज्यको सदस्यता भएको समूह उन्नत हो र नभएको (जस्तै: नेपालका राउटे) चाहिँ पछौटे र अविकसित ।

स्थिर बसोबास भएका, अन्नबालीमा निर्भर, राज्यको अधीनमा रहेका समूहलाई सभ्यताको कसीमा पाकेका (Cooked) भनेर बुझ्ने गरिएको छ भने खोरिया खेती गर्ने, घुमन्तेफिरन्ते र राज्यको ताप छल्नसम्म उपत्यकाभन्दा माथि पहाडी र हिमालीक्षेत्रमा शरण लिएका आदिवासी समूहलाई काँचा (Raw)को दर्जामा राखिन्छ । आफ्नो लिखित भाषा हुने सभ्य कहलाइन्छ, नहुने असभ्य ।

जेम्स स्कटको बौद्धिक परिश्रमको अर्को उद्देश्य यस बुझाइलाई उल्ट्याउने हो । स्कटले राज्य र राज्यको परिधिभन्दा बाहिर रहेका पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न आदिवासी समूहबीचको पारस्परिक सम्बन्धको इतिहास मिहिन रूपमा केलाए । यसका आधारमा स्कटको तर्क छ, 'राज्यको प्रभावबाट पर बस्ने समूह राज्यमा समाहित हुने चाहना हुँदाहुँदै त्यसो गर्ने क्षमता नभएर राज्यबाट उकालोतिर भागेका होइनन्राज्यसँग उनीहरूले कायम गरेको निश्चित दूरी उनीहरूको रोजाइ (Choice) हो । यही रोजाइअनुरूप नै उनीहरूले आफ्नो सामाजिक संगठन, जीवनयापनको पद्धति, सांस्कृतिक मूल्य मान्यताको निर्माण गरेका छन् । आफूमाथि नियन्त्रण गर्न चाहने राज्यलाई आफ्नो क्षेत्रबाट धपाएका छन् ।'

राज्यबाट शासित नहुनु आदिवासीको एक विशिष्ट ‘कला’(Art) हो, जुन राज्यको बढ्दो प्रभावका कारण आजभोलि (विशेष गरी विगत ७ दशकयता) धरापमा छ ।

स्कटको पुस्तक ‘द आर्ट अफ नट बिइङ गभर्न्ड’ पढिसक्दा जोकोहीको मनमा पनि केही प्रश्नहरू अवश्य उठ्छन्- के राज्यको अधीनमा रहेर नागरिक भएको मानिस वास्तवमै स्वतन्त्र छ ? के राज्यलाई पवित्र र जायज संस्थाका रूपमा स्वीकार गर्न आवश्यक छ ? के सभ्यताको आधुनिक मापदण्डले असभ्य ठहर्‍याएका मानिस वास्तवमै अबुझ र असभ्य हुन् ? , के सभ्यताले मानिसलाई वास्तवमै सुखी र समृद्ध बनाएको छ ?

यी प्रश्नका जवाफ सबै व्याख्याका विषय हुन्, तर कतिपय प्रश्नहरू जवाफभन्दा बढी महत्त्वपूर्ण हुन्छन् ! मलाई लाग्छ जेम्स स्कटको पुस्तकले हामीलाई आफ्नो परिवेश र राज्यको चरित्र राम्रोसँग बुझ्न सघाउँछ । राज्य सधैँ सफल र प्रगतिउन्मुख संस्था होइन, यसमा अनेकन छिद्र र कमजोरी हुन्छन् भनेर स्वीकार गर्न सिकाउँछ । र, आदिवासी (वा जनजाति) समूहका विशेषतालाई इतिहास र अर्थराजनीतिको बृहत् फ्रेममा राखेर बुझ्न सहयोग गर्छ ।

 

शिलापत्रमा २०७८ असोज २० मा प्रकाशित