Thursday, May 3, 2012

राजनीतिलाई घृणा हैन विश्लेषण गरौँ


लगभग दुई वर्षयता राजनीतिक दल र नेताप्रति नागरिक तहमा वितृष्णा, घृणा र आक्रोश क्रमशः विस्तार हुँदै गएको  देखिन्छ । गाउँघरका चिया पसलदेखि शहरका सोसल मिडियसम्म सबै राजनीतिक दल र नेताहरूको उछितो काड्ने थलाका रूपमा परिणत भएका छन् । यस्तो टिप्पणी गर्नेमा सर्वसाधारण नागरिक मात्र छैनन् । कतिपय प्रबुद्ध पेशाकर्मी, नागरिक समाजका अगुवा, सचेत युवा तथा विद्यार्थीहरूले पनि नेताहरूलाई ‘चोर’, ‘लुटेरा’, ‘हत्यारा’, ‘बुद्धिहीन’ आदि विशेषणले गाली गरिरहेको देखिन्छ ।

राजनीतिक द्वन्द्वको चपेटामा लामो समयसम्म पिल्सिएर विकास र स्थिरता गुमाएको हाम्रोजस्तो देशमा दल र नेताप्रतिको वितृष्णालाई अस्वाभाविक मान्न मिल्दैन । राजनीति र नेताहरूमाथिका यस्ता कतिपय आलोचना स्वस्थ र उपयोगी छन् । तर, अन्यौलपूर्ण राजनीतकि परिस्थितिभित्रको घटनाविशेषलाई हेरेर अभद्र टिप्पणीहरू हुनु र त्यसमाथि समाजका चेतनशील र प्रबुद्ध वर्गहरूबाट त्यस्ता टिप्पणी हुनु शोभनीय कुरा हैन । यस्ता अभिव्यक्ति पढ्दा हामी क्रमशः अधैर्य, असहिष्णु र अराजक हुँदै गएका त हैनौ ? भन्ने शंका लाग्छ ।

उदाहरणका लागि आजै हुनगइरहेको बाबुराम सरकार पुनःगठन र यसमा विभिन्न राजनीतिक दलहरूको अडानलाई लिएर सोसल मिडियामा देखिएका प्रतिक्रिलाई हेरौँ । यसका विषयमा सोसल मिडियामा कडा र तीब्र आलोचना पोखिएको छ । नेताहरू “सिनो खाने गिद्ध” भएका छन् भने सरकारको आजको पुनःगठन विशुद्ध रूपमा मन्त्री हुनका लागिको लडाईंका रूपमा चित्रित भएको छ । तर, कसैले पनि आजको पुनःगठनका सकारात्मक पक्षहरूको विश्लेषण गर्ने जाँगर गरेको छैन । तलका केहि बुँदामा सकारात्मक पक्षहरूको चर्चा उठाउन चाहान्छु ।

१. नेपालको नयाँ संविधान जारी गर्दा प्रमुख राजनीतिक दलहरूको संयुक्त सरकारले गरेको राम्रो न कि केहि राजनीतिक दलको गठबन्धनले । यसबाट संविधानप्रतिको अपनत्व बढ्छ ।

२. नयाँ संविधान जारी गर्ने कुराको जस लिन अन्य राजनीतिक दलहरू लालायित हुनु लोकतन्त्रका र मुलुकको राजनीतिक भविष्यका लागि सकारात्मक कुरा हो ।

३. राज्य पुनःसंरचनाका विषयमा भइरहेका छलफलको विरोधमा हाल उठेका आन्दोलनहरूको शान्तिपूर्ण समाधानका लागि तत्काल सबै प्रमुख दल समावेश भएको सरकारको खाँचो छ ।

अन्त्यमा, राजनीतिक संरचना, प्रक्रिया, प्रवृत्ति र पात्रहरूको विरोध र आलोचना गर्ने नागरिकको अधिकार लोकतन्त्रको सुन्दर पक्ष हो । नेपालमा मात्र हैन सबै लोकतान्त्रिक पद्दति भएका मुलुकमा यस्तो आलोचना हुन्छ नै । त्यसैगरी, राजनीतिज्ञप्रतिको वितृष्णा त विश्वव्यापी प्रवृत्ति नै हो । तर, विरोध र आलोचना थोरै भए पनि तथ्य र विश्लेषणमा आधारित हुनुपर्छ । पूर्णरूपमा मनोगत टिप्पणी र पूर्वाग्रहमा आधारित आलोचनाले कसैको पनि हित गर्दैन । न त यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्नमा कुनै सहयोग नै गर्छ ।