Saturday, September 4, 2021

बसिबियाँलोः एक अ-धार्मिकको आत्मवृत्तान्त

काठमाडौँ र इस्लामाबादमा कतिपय कुरा उस्तै छन्, र कतिपय कुरा फरक । फूलहरूको सौन्दर्य उस्तै छ । पानी परेपछिको माटोको गन्ध उस्तै छ । आकाशमा मनमौजी घुम्ने बादलका टुक्राको चर्तिकला उस्तै छ । हावाका रेत र गति उस्तै छन् । मानिसका आँखा र तिनमा गाडिएका चाहना उस्तै छन् । खानामा चल्ने मरमसला लगभग उस्तै छन् ।

तर, यहाँ प्रशस्त कुरा फरक छन् -जसको चर्चा तल गर्नेछु । मैले देखेको पाकिस्तान (र यहाँको विशिष्टता) मेरा लागि एउटा रोचक प्रश्न हो । यसको व्याख्या कसरी गर्ने ? यस प्रश्नको जवाफ म खोजिरहेको हुन्छु । 

एक व्यक्ति आफैँमा एउटा सिङ्गो संसार हो । उसको चरित्र र मनोदशा बुझ्न उसको आफ्नै इतिहास र त्यसका आरोह अवरोह बुझ्न सक्नुपर्छ । तर, व्यक्ति समग्र रूपमा सार्वभौम हुन सक्दैन । मानिसहरूको चरित्रमा झल्किने देशको विशिष्टता यसको इतिहासमा निर्माण भएको हुन्छ । एउटा देश कसरी बनेको छ र यसको 'विकास' कसरि भएको छ भन्ने कुराले मानिसका अनुभूति, दृष्टिकोण र सामाजिक सम्बन्धमा गहिरो प्रभाव पारेका हुन्छन् । त्यसैले, संरचनावादीहरू भन्ने गर्छन् मानिस इतिहासको उपज हो । 

तर, आज म इतिहासको कुरा गर्ने छैन । मैले इतिहास पढ्ने मौका पाइनँ । यसभन्दा अघिको ब्लगमा लेखेझैँ ‘म पढेको मान्छे, नपढेको कुरा जान्दिन’ । यी भैरव अर्यालका शब्द थिए । आज पनि मेरो प्रस्थान बिन्दु त्यही हो । मैले रहरले केही दर्शनशास्त्रका किताब पढेँ । आजको लेख पनि दर्शनशास्त्र र मेरा आफ्नै अनुभूतिको ‘ककटेल’ हुनेछ । कुनै निष्कर्षबिनाको ।

आज बेलायती दार्शनिक डेभिड ह्युम (David Hume) को कुरा गरौँ । त्यसमा मेरो आफ्ना टुक्राटाक्री अनुभूति जोडजाड पार्नु त छँदैछ ।

ह्युममा जानुअघि एकैछिन फेरि पाकिस्तान ।

चानचुन तीन वर्षअघि म पहिलो पटक जब इस्लामाबाद आएँ त्यस बेला, माथि भनेझैँ, यहाँको वातावरणमा उतिसारो भिन्नता पाइनँ । अवश्य पनि राजधानी शहर इस्लामाबाद शान्त, सफा, हरियो र मनोरम छ । तर, एउटा शहर अर्थपूर्ण बनाउने त्यहाँका मानिसले हो । मानिसको अध्ययन गर्दा मेरो विशिष्ट अनुभूति के रह्यो भने यहाँका मानिस धार्मिक छन् । म जन्मेको पूर्वी मधेशको इनरुवा र आसपासका गाउँ र मैले आफ्नो जीवनको ठूलो समय बिताएको काठमाडौँ शहरमा कहिल्यै नदेखेको र नभोगेको कुरा यहाँ देख्छु -मानिसलाई ईश्वर (उनीहरूका अल्लाह)मा अगाध आस्था छ । उनीहरूको सम्पूर्ण जीवन अल्लाहको अस्तित्व वरिपरि घुम्छ । यो क्रम बालक हुँदाको सिकाइबाट सुरु हुन्छ र जीवन रहेसम्म चलिरहन्छ ।

एक औसत पाकिस्तानी नागरिकका लागि विगतका सबै कुरा भगवानको कृपाबाट मात्र सम्भव भएको हुन्छ (अल्हमदुलिल्ला!), भविष्यमा हुने सबै कुरा पनि भगवानको कृपाबाट मात्र सम्भव हुनसक्छ (इन्शाल्लाह!) ।

पाकिस्तानसँगको सुरुआति जम्काभेटमा मानिसको दैनिक जीवनमा धर्मको प्रभाव देखेर चकित भएको थिएँ । ठूलाठूला सेमिनारका बिचबाट उठेर मानिसहरू नमाज पढ्न एक ठाउँमा भेला भएको देख्दा कम्ता आश्चर्य लाग्दैनथ्यो ! एउटा शुक्रवार लाहोर शहरमा कतै जाँदै थिएँ त्यही बेला गाडिको शिसाबाट देखेको दृष्यले मेरो ध्यान खिच्यो । मध्यान्हको त्यो समयमा सयौँ मानिस सडक पेटीमा उभिएर नमाज पढिरहेका थिए । कतै हिँडिरहेका ती मानिसहरूका लागि नमाज पढ्ने समय भएकाले सडकमै रोकिएर नमाज पढ्नु अनिवार्य थियो । त्यो दृष्य मेरालागि आश्चर्यजनक त थियो नै, उत्तिकै रोमान्चक पनि थियो । 

पाकिस्तानलाई यहीँ थाती राखेर एकै छिन दर्शनशास्त्रका कुरा गरौँ ।

एक थिए डेभिड ह्युम । उनी बेलायती दर्शनशास्त्री थिए । उनको जन्म अठारौँ शताब्दीको पूर्वार्ध (सन् १७११)मा स्कटल्याण्डमा भएको थियो जुन बेला समग्र युरोपको चिन्तनमा ‘इन्लाइटेनमेन्ट’ युगको प्रभाव अत्यन्त गाढा थियो । प्रारम्भमा त ह्युम कानुनका विद्यार्थी थिए तर उनको लक्ष जीवन र जगत्‌सँग जोडिएका केही बृहत् प्रश्नको जवाफ खोज्नु थियो । त्यसैले कानुन छोडेर उनी दर्शनशास्त्रमा तल्लीन भए । आज म उनका विभिन्न योगदानमध्ये कारण-परिणामको सिद्धान्तको साङ्गोपाङ्ग चर्चा गर्नेछु ।

एउटा उदाहरण हेरौँ । तपाईलाई तातो पानी चाहिएको छ । यसका लागि तपाईं आगो बाल्नुहुन्छ । त्यसमाथि पानीको भाँडो बसाउनुहुन्छ । केही बेर आगो बलिरहेपछि भाँडामा भएको पानी उम्लन्छ । यहाँनिर म तपाईंलाई एउटा प्रश्न सोध्छु है -यो घटनामा पानी उम्लनुको कारण के होला ?

तपाईंले यही प्रश्न मलाई सोध्नुभए म सहजरूपमा जवाफ दिनेछु -आगो ! आगोमा राखेपछि भाँडोमा भएको पानी उम्लन्छ । पानी उम्लने कारण आगो हो ।

ह्युम भने यस तर्कमा सहमत थिएनन् ।

ह्युमको विचारमा आगो बल्ने र पानी उम्लने क्रियाहरूबिचको सम्बन्ध मानिसको मस्तिष्कले सिर्जना गरेको विश्वास मात्र हो । उनी ठान्थे -आगो बल्ने र पानी उम्लने क्रियाहरूबिच कुनै सम्बन्ध छैन । त्यो सम्बन्ध समयको संयोग र निरन्तरताले जन्माएको विश्वास हो । सम्बन्ध भए नै पनि आगो बल्ने र पानी उम्लने क्रियालाई कारण र परिणाम बनाउँदा पानी उम्लने जटिल प्रक्रियालाई समग्रतामा बुझ्न सकिन्न ।

उनको विचारमा संसारमा जति पनि घटना हुन्छन् तिनीहरूमा दुई विशेषता हुन्छन् । पहिलो, ती समय क्रममा घटेका हुन्छन् (जस्तै, पहिले आगो बल्छ र त्यसपछि पानी उम्लिन्छ) । दोस्रो, ती हाम्रा अनुभवमा दोहोरिएका वा निरन्तर भएका हुन्छन् (जस्तै, आगो बलेपछि त्यसमाथि पानीको भाँडो बसाउँदा निश्चित समयपछि पानी उम्लन्छ) । हामीलाई थाहा छ -बलेको आगोमाथि भाँडोमा पानी बसाउँदा त्यो उम्लन्छ । त्यसैले, हामी आगोलाई कारण र पानी उम्लने कुरालाई परिणाम ठानिरहेका हुन्छौँ ।

ह्युमको दर्शनले हामीलाई सचेत गराउँदै भन्छ -पानी उम्लनमा अन्य प्रशस्त कारण हुन सक्छन् । उदाहरणका लागि भाँडो एउटा कारण होला -भाँडो नभएको भए पानी उम्लन्थ्यो र ? पानीको भौतिक बनावट अर्को कारण होला -तेल उम्लँदैन ! तेस्रो कारण तपाईंको पानी तताउनुपर्ने आवश्यकता होला -तपाईंले नचाहेको भए पानी उम्लने थिएन । अर्को कारण तपाईंले आगो कसरी पार्नुभयो -लाइटर, सलाई ? त्यो पनि पानी उम्लने कारण हुनसक्छ । यस्ता कारण खोज्न थाल्ने हो भने हामी विभिन्न सम्भावित कारणहरूको जालोमा जेलिन पुग्छौँ । कारणहरूको खोजीले संसारको बुझाइलाई कुनै सहयोग गर्दैन ।

ह्युमको यो सिद्धान्त दर्शनशास्त्रमा कारण-परिणामको सिद्धान्त (Theory of Causation/Causality) भनेर चिनिन्छ । यसको चर्चा उनले सन् १७४० मा प्रकाशित A Treatise of Human Nature सन् १९४८ मा प्रकाशित An Enquiry Concerning Human Understanding नामका आफ्ना दुई पुस्तकहरूमार्फत गरेका छन् । जीवन-जगत्‌को व्याख्या गर्न निश्चित कारणको खोजी गर्ने दर्शनशास्त्रमा त्यस बेलाको प्रवृत्तिलाई ह्युमले गरेको आलोचनाबाट इनलाइटेनमेन्ट युगको दर्शनशास्त्रमा एउटा ठूलै सङ्कटको सिर्जना भएको थियो -जसलाई इम्यानुएल कान्टले हल गर्ने प्रयत्न गरे । ह्युमको दर्शनबाट प्रभावित चार्ल्स डार्विन जीव विकासको अध्ययनका लागि निश्चित कारणमा नअल्झी जीवजन्तुका शारिरीक संरचना तथा विशेषता र प्रकृतिका परिवर्तनको बृहत् अध्ययन गरे र प्रख्यात सिद्धान्त प्रतिपादन गरे ।* 

ह्युमका विचारमा संसारका घटना र अवस्थितिलाई निश्चित कारणसँग जोड्ने प्रवृत्ति विज्ञानको गतिशीलताको अवरोध हो । आफ्नो अगाडि घटेको कुनै घटनालाई अर्को घटनासँग कारण र परिणामको सम्बन्धमा जोड्ने हो भने विज्ञानको आवश्यकता नै रहन्न  । पानी पर्ने बादलको कारणले, भकुन्डो गुडेर पर पुग्ने लात्तीले हिर्काएर, हातमा भएको गमला भुईंमा खस्ने गुरुत्वाकर्षणले, मानिसको मृत्यु हुने मुटुको गति बन्द भएर ! कारण-परिणामको सम्बन्धमा निश्चित क्रियालाई जोडेपछि काम तमाम !

ह्युमले इन्लाइटेनमेन्टका बौद्धिकहरूलाई कारण-परिणामको घनचक्करबाट बाहिर निस्केर संसारलाई यसको वास्तविक गतिशीलतामा बुझ्न आव्हान गरे । उनले भने -आजसम्म जे निरन्तर रहेको छ त्यो त्यसैगरि भोलि पनि निरन्तर नै हुनेछ भन्ने निश्चित छैन । अर्थात्, अहिलेसम्म हरेक बिहान उदाएको सूर्य भोलि पनि यसैगरि उदाउँछ भन्ने विश्वासमा नबस । सूर्य कसरी, किन र कस्ता क्रिया-प्रक्रियाको संयोगले उदाउने र अस्ताउने हो त्यसको विस्तृत अध्ययन गर !

म कसरी अ-धार्मिक भएँ ? मलाई नै थाहा छैन । जब म कारणहरू खोज्न थाल्छु तब तिनीहरूको जालोमा हराउँछु ।

सानो छँदा बाआमाले नियमित पूजापाठ गरेको मैले देखिनँ । उहाँहरू दुवै आफ्ना चार सन्तान र आफ्नो जीवन निर्वाह गर्ने भागदौडमा व्यस्त रहनुहुन्थ्यो । हाम्रो आफ्नो घर नभएकाले मेरो बाल्यकाल अधिकांश अरूका घरमा आश्रय लिएर बित्यो । बाआमाले चाहेको भए पनि नियमित भजनकिर्तन, पूजाआजा हाम्रालागि सहज र सम्भव थिएन होला । चाडपर्व मनाउनेबाहेक बाआमा मन्दीर गएको, घरमा नियमित पूजापाठ लगाएको वा धार्मिकतासँग जोडिएका अन्य अभ्यास गरेको मलाई सम्झना छैन ।

मेरो बुवा धार्मिकताको अभ्यासमा झन् बढी अनिच्छुक हुनुहुन्थ्यो कि जस्तो लाग्छ -मलाई पछुतो के छ भने मैले बुवा जीवित रहँदासम्म उहाँसँग खुलेर यो कुरा गरिनँ । आमा आजभोलि नियमित पूजापाठ गर्नुहुन्छ, तर यो क्रम धेरै पछि सुरु भएको हो । हामी सानो छँदा म लगायत मेरा दाइ, दिदीलाई पूजापाठ-भजनकिर्तन गर्न, (छोराहरूलाई) नियमित जनै लगाउन, खानपिनमा छोइछिटो बार्न बाआमाले सिकाउनुभएन । उहाँहरूले नखाए पनि हामीले घरमा कुखुरा र कहिलेकाहीँ त भैँसीको पनि मासु पकायौँ र खायौँ । काठमाडौँमा विद्यार्थी भएर बस्दा र पछि नोकरी गर्ने क्रममा पूजापाठ गर्ने उद्देश्यले कहिल्यै कुनै मठ मन्दीर गइनँ । यति सम्म कि म मठमन्दीर गएको छैन भन्ने हेक्का समेत मलाई कहिल्यै भएन । मेरा बाआमाले सोध्नुभएन । हामी खूला, स्वतन्त्र वातावरणमा हुर्कियौँ -जसका लागि म उहाँहरूप्रति सदा कृतज्ञ छु ।

मेरालागि सुखद संयोग के भयो भने प्रमीला पनि धर्म र धार्मिकताका अभ्यासभन्दा टाढा छिन् । धार्मिक आस्था र त्यससँग जोडिएका अभ्यासका लागि  हाम्रो दैनिक जीवनमा कुनै ठाउँ छैन । हामी आफ्ना छोरा र छोरीलाई पनि धर्मका बारेमा बुझ्न तर यसको प्रभावबाट आफूलाई मुक्त राख्न प्रेरणा दिइरहेका हुन्छौँ । खानेकुरा खाँदा र अरू बेलामा हुने हाम्रा कुराकानीमा उनीहरूलाई विभिन्न धार्मिक विश्वास भएका मानिसलाई समान रूपमा र सम्मानजनक व्यवहार गर्न सिकाउँछौँ र धर्मको अभ्यास नगर्ने व्यक्तिको स्वतन्त्रताका बारेमा कुरा गर्छौँ । मलाई लाग्छ धर्म र धार्मिकताबाट आफूलाई माथि राखे मात्र संसारका गतिशीलता र पृथक् दृष्टिकोणहरू सहजरूपमा बुझ्न सकिन्छ, र यही कुरा हामी आफ्ना छोराछोरीलाई भनिरहेका हुन्छौँ । मेरो र मेरो परिवारका लागि धार्मिकता अध्ययनको विषय हो, अभ्यासको विषय होइन ।

धर्मबाट मात्र होइन यसको वरिपरि खडा भएका विभिन्न अन्य प्रकारका आस्था र अभ्यासबाट पनि म टाढा छु । 'अध्यात्मवाद' भनिने चिन्तनले मलाई कहिल्यै लोभ्याएन । कुनै गुरु, योगी, मौलाना, बाबा, पादरी, स्वामी, रिम्पोचेका कुरा ध्यान दिएर सुन्दिनँ न त आकल झुकल सुनेका प्रवचनले मलाई प्रभावित बनाएका छन् । मलाई लाग्छ धर्म गुरु, धार्मिक ग्रन्थ आदिबाट पाउन सकिने जति पनि ज्ञान छन् ती आजको युगमा सहज रूपमा सबैलाई उपलब्ध ज्ञान हुन् । यस्ता ज्ञान मानिसको दैनिक जीवनको भोगाइ, प्रकृतिसँगको अन्तर्क्रिया, विद्यालयका पाठ्यपुस्तक आदिबाट सहजरूपमा पाउन सकिन्छ । जुन ज्ञान मानिसले सहज रूपमा पाउन सक्दैन ती ज्ञानको अभावले उसको जीवनलाई अपूर्ण बनाउँदैन, बनाएको छैन । यसको विपरीत -आजको संसारका प्रायः समस्या तिनै मानिसहरूले रचेका हुन् जसले धर्म र नैतिकतामा महारथ हासिल गरेका छन् र अरूलाई यस्तो ज्ञान सिकाउँदै हिड्छन् ।

छोटकरीमा म एउटा अ-धार्मिक मानिस ।

एक व्यक्तिलाई धर्मको अभ्यास नगर्न सजिलो छ । तर, ‘धर्ममा मलाई आस्था छैन’ वा ‘धार्मिकताको अभ्यास गर्दिनँ’ भन्न सजिलो छैन । यो हाम्रो यथार्थ हो र यसभित्र विभिन्न जटिलता लुकेका छन् । यस्ता जटिलतामध्येको एक जटिलता चाडपर्व हुन् ।

भदौ महिनाले नेटो काट्न नपाउँदै नेपालमा झरीको रफ्तार र तीव्रता घट्न थाल्छ । असोज महिना टेकेपछि रुन्चे बादलको घुम्टो च्यातिन थाल्छ । दिन घमाइला हुन थाल्छन् । अनि सुरु हुन्छ चाडबाडको मौसम । क्वाँटी खाने, तीज, बावुको मुख हेर्ने, सोर्‍ह सराद् र कोजाग्रत पूर्णिमा । त्यसपछि दसैँ, र लगत्तै तिहार ! तिहार पछि छठ ।

दसैँ र तिहार मात्र नभएर अरू स-साना पर्वहरू मेरा लागि विशेष थिए र अहिले पनि छन् । राम्रो लुगा, मिठो खाना, आफन्तसँगको भेटघाट आदि पर्वका विशेषता भए । बाल्यकालमा खुशीका फोका बोकेर आउने दसैँ ठूलो भएपछि पनि नोस्टाल्जिआ बनेर रहिरहन्छ । चाडपर्वसँग जोडिएको एउटा महत्त्वपूर्ण कुरा के भने यसले बालबच्चामात्र होइन, सबै उमेरका मानिसलाई विशेष प्रकारको रोमाञ्चकता दिन्छ । चाडपर्वमा मानिसको मुहारमा छाउने खुशीका धर्काहरू पढ्दा यस्तो लाग्छ मानिसहरू अरू बेला बाँच्नका लागि सङ्घर्ष गरिरहेका हुन्छन् र पर्वमा रमाउन तँछाडमछाड गर्छन् ।

चाडपर्व त उही हुन् तर आजभोलि तिनका अर्थ भने फेरिन थालेका छन् । पर्वलाई धर्मसँग जोड्ने प्रवृत्ति बढेको छ । हामी सानो छँदा पर्व केवल पर्व थिए । पर्वसँग जोडिएका कथा धर्मग्रन्थ वा धार्मिक मूल्यमान्यतासँग जोडिएका भए तापनि पर्व मान्ने मानिसलाई त्यसको वास्ता हुन्थेन । तर, आजभोलि चाडपर्व सुरु हुनासाथ तिनीहरूसँग जोडिएका धार्मिक कथालाई मिथक नभएर इतिहास जस्तो व्याख्या गर्ने क्रम सुरु भएको छ । त्यति मात्र कहाँ हो र –‘खबरदार मेरो पर्वका बारेमा केही नराम्रो बोल्लास्’ भनेर अमुक शत्रुतिर औंला सोझ्याउने प्रवृत्ति पनि मौलाउँदै गएको छ ।

मलाई धर्मको वास्ता छैन, चाडपर्वचाहिँ मनाउँछु भन्न अब क्रमशः नपाइने पो हो कि ? दसैँ मनाउन हिन्दु र क्रिसमसमा रमाइलो गर्न क्रिश्चियन नै हुनुपर्ने पो हो कि ? ईदमा बिरयानी पकाएर खाँदा मुस्लीम धर्म अँगालेको अर्थ लाग्ने पो हो कि ? जनै पूर्णिमामा जनै लाउन्न तर 'क्वाँ ती' खान्छु भन्दा अराजक भइने पो हो कि ?

बेलायती दार्शनिक डेभिड ह्युम आस्तिक थिए कि नास्तिक भन्ने प्रश्नको जवाफ सजिलो छैन -मेरा लागि त यो प्रश्न नै सान्दर्भिक होइन । तर, धर्मको व्याख्या गर्ने र यसको औचित्य पुष्टि गर्ने प्रवृत्तिका बारे उनका दुई दृष्टिकोण सरल र रोचक छन् । पहिलो, उनको विचारमा, संसार प्रकृतिका निश्चित र विश्वव्यापी नियममा आधारित छ । यी नियम जटिल छन् तर तिनीहरूको प्रवृत्ति संसारमा एकनासको छ । अर्थात्, आकाशबाट पानीको साटो फूल खस्दैन, आँपको रुखमा सुन्तलाको फल लाग्दैन । त्यसैले, उनको विचारमा, संसार कुनै जादुमय शक्तिको रचना होइन । यदि यसो हुन्थ्यो भने यस्तो शक्तिको उपस्थिति मानिसले अनुभव गर्न सक्थ्यो -अर्थात् उसले आकाशबाट फूल खसाएर हामीलाई आश्चर्यचकित बनाउन सक्थ्यो, कटहरको रुखमा अम्बा फल्न सम्भव हुन्थ्यो । दोस्रो, संसारको रचनामा एक अनन्त, नैतिक र सर्वशक्तिमान् ईश्वरको हात छ भन्ने कुरा पत्याउन सकिन्न । यस्तो हुन्थ्यो भने, ह्युमको विचारमा, संसारमा यति धेरै दुःख, अन्याय र अपूर्णता बाँकी रहने थिएन ।

म डेभिड ह्युम पढेर अ-धार्मिक भएको होइन ।

सन् २०१० ताका म स्विट्जर्ल्याण्डको फ्राइबुर्ग भन्ने सानो शहरमा संघीय प्रणाली बारे अध्ययन गर्दै थिएँ । फ्राइबुर्ग विश्वविद्यालयले आयोजना गरेको उक्त अध्ययन कार्यक्रममा संसारभरका ३० जना जति विद्यार्थी सम्मिलित थिए । ती विद्यार्थीहरूमध्ये एक थिए आइभरी कोस्टका सेर्गे । म आफ्नो जागीरको बिचमा अध्ययनको चाँजो मिलाएर उक्त कार्यक्रममा सहभागी भएको थिएँ -सेर्गे विशुद्ध विद्यार्थी थिए ।

सेर्गेसँग हरेक दिन विश्वविद्याल‍यका कक्षाकोठा र पुस्तकालयमा भेट हुन्थ्यो । लगभग हरेक साँझ होस्टेलको क्यान्टिनमा भेट हुन्थ्यो । विद्यार्थीले आयोजना गर्ने पार्टीहरूमा भेट हुन्थ्यो । सेर्गे असाध्यै धार्मिक थिए । ईश्वरप्रतिको उनको विश्वास र भक्ति गाढा थियो । जुनसुकै विषयको कुराकानीलाई पनि उनी आफ्नो क्रिश्चियन धार्मिक आस्थासँग लगेर जोडिहाल्थे ।

तिम्रो ईश्वर कुन हो ? सेर्गेको यस प्रश्नको जवाफ फर्काउन मलाई गार्‍हो थिएन । म उनलाई भन्थें -मेरो ईश्वर छैन । जीवनमा पहिलो पटक आइभोरी कोस्ट छोडेर स्विट्जर्ल्याण्ड आएका सेर्गेका लागि यो कुरा पत्यारिलो थिएन । उनी ईश्वरमा आस्था नभएको मानिस यस संसारमा हुनसक्छ भनेर विश्वास गर्न सक्थेनन् । उनले मेरो धार्मिक आस्था जान्न घुमाइफिराइ विभिन्न प्रश्नहरू सोधिरहे । मैले ती प्रश्नको जवाफ ईश्वरको अस्तित्वप्रतिको आफ्नो अविश्वासका आधारमा दिइरहेँ ।

अध्ययन कार्यक्रम सकिने बेलातिर एक साँझ सेर्गेले आफ्नो निष्कर्ष मलाई सुनाए -तिम्रो जीवनमा पक्कै कुनै दुखद् घटना घटेको हुनुपर्छ जसका कारण ईश्वरको अस्तित्वप्रति तिमीमा शंका उत्पन्न भएको छ । म उनको जवाफमा थोरै मुस्कुराएँ । त्यस दिनको रात्रि भोजमा सेर्गेको सुखद भविष्यको कामना गर्दै म उनीबाट बिदा भएँ ।

डेभिड ह्युम आज जीवित भएको भए र त्यस रात उनले सेर्गे र मबिचको कुराकानी सुनेका भए उनले सेर्गेलाई सम्भवतः भन्नेथिए -सेर्गे, सञ्जीव अधार्मिक हुनमा एउटामात्र कारण नहुन सक्छ । उसको जीवन र दृष्टिकोणका विभिन्न पक्षलाई परीक्षण गर र उसको अ-धार्मिकताका विशेषताको व्याख्या गर ! भनिरहन नपर्ला -यो एउटा उदाहरणमात्र हो ।

म कसरी अधार्मिक भएँ त्यो त मलाई नै थाहा छैन, तर मानिस कसरी यति धेरै धार्मिक हुनसक्छ ? यस प्रश्नले मलाई पछ्याइरहन्छ । पाकिस्तानका मानिसहरू किन यति धेरै धार्मिक छन् ? सेर्गेले धार्मिक आस्थाबिनाको जीवन किन सम्भव ठान्न सक्दैनन् ? यी प्रश्न सुन्दा सरल छन् तर उत्तिकै जटिल पनि छन् ।

नेपाल र विशेषगरि म आफू जन्मेहुर्केको परिवेषको एउटा लोभलाग्दो विशेषता के छ (थियो?) भने धर्म र धार्मिकता दैनिक जीवनमा कुराकानीको मुख्य विषय थिएन । विभिन्न धर्मका ईश्वरको सेवामा जीवन बिताउने धार्मिक मानिसहरू पनि नभएका होइनन् -तर तिनीहरू मैले देखेको, भोगेको नेपालका प्रतिनिधि पात्र होइनन् । टोलछिमेक, कार्यालय, सार्वजनिक सभासमारोह, भोजभतेर आदिमा गरिने कुराकानीमा मानिसका धार्मिक आस्था र अभ्यासका विषयमा सितिमिति कुराकानी हुन्नन् । धार्मिकता छ भने त्यो मानिसभित्र सीमित हुन्छ तर त्यसले सार्वजनिक जीवनमा कुनै अर्थ राख्दैन । पाकिस्तानका मानिसहरूलाई कुराकानीका क्रममा मेरो यस्तो सुखद अनुभव सुनाइरहन्छु ।

तर, पहिलेको नेपाल र अहिलेको नेपालमा फरक छ । अहिलेको नेपालमा धर्मलाई सडकमा ल्याउने प्रयास भइरहेको छ । आफ्नो धर्मका आधारमा समाज र राज्य चल्नुपर्छ भन्ने आग्रह पलाएको छ र यसको प्रभाव दिनानुदिन बढिरहेको छ । नेपाल जुन कुरामा विशिष्ट थियो त्यो विशिष्टता दिनानुदिन कमजोर हुँदैछ ।

कारण ? डेभिड ह्युमको चर्चा हामीले माथि गर्‍यौँ । कारण एउटा मात्र नहुन सक्छन् ।

प्रसिद्ध दार्शनिक बर्ट्रन्ड रशलको एउटा सानो तर मर्मस्पर्शी पुस्तक छ । मैले चर्चा गर्न लागेको त्यस पुस्तकको नाम कङ्क्वेस्ट अफ ह्यापिनेस (Conquest of Happiness) । त्यसको प्रारम्भमा मानिस दुःखी रहने कारणहरूको चर्चा गर्दै उनले यसका दुई प्रकारका स्रोतहरूको उल्लेख गरेका छन् । उनले औंल्याएका ती स्रोतहरूमा पहिलो स्रोत हो -सामाजिक प्रबन्ध (Social systems) र दोस्रो स्रोत हो सम्बन्धित व्यक्तिको मनोदशा (Psychology) । आफ्ना दृष्टिकोणलाई अर्थ्याउँदै रशल भन्छन् -वर्तमान समाजमा मानिसहरू दुखी रहने कारण सामाजिक प्रबन्ध हो जसले मानिसहरूका लागि विशिष्ट प्रकारका अवसर र चुनौतीहरूको सिर्जना गरेको छ । उनको विचारमा युद्ध, आर्थिक शोषण, गलत तरिकाको शिक्षा प्रणाली आदि वर्तमान समाजमा निहित त्यस्ता तत्त्व हुन् जसले मानिसलाई अन्तहीन रूपमा दुखी र उदास बनाएका छन् ।

नेपालमा धर्मप्रतिको चासो र यससँग जोडिएको अतिवादी चिन्तन हिजोआज स्वाट्टै बढ्नुमा सामाजिक प्रबन्धमा आएको परिवर्तन र (त्यससँग जोडिएको) मानिसको मनोदशाको निकै ठुलो भूमिका रहेको बुझ्न गार्‍हो छैन । यति सहज कुरा बुझ्नका लागि आजभन्दा चानचुन ९० वर्षअघि रशलले लेखेको पुस्तकको पनि वास्तवमा आवश्यकता छैन ।

आजको लेखमा निखार्न बाँकी रहेको कुरा एउटा छ । त्यस कुरालाई एउटा प्रश्नको सहायताले हेरौँ । त्यो प्रश्न हो -के धार्मिक हुनु र अ-धार्मिक हुनु दुवैलाई उत्तिकै स्वीकारयोग्य बनाउन सकिएला ? मेरो विचारमा यो प्रश्न पेचिलो छ, तर यसको जवाफ खोज्दा हरेक पटक रमाइला कुरा भेटिन्छन् ।

अङ्ग्रेजी भाषामा एउटा भनाइ छ । त्यसलाई सरलीकरण गर्दा यस्तो हुन जान्छ -तिमीलाई गोलभेँडा खान मन पर्दैन भने गोलभेँडा नखाएको कुरामा गर्व नगर ।

एउटा मानिस धार्मिक हुनसक्छ । यो उसको रोजाइको कुरा हो । अ-धार्मिक हुन सक्छ । यो पनि उसको रोजाइको कुरा हो । जसरी धार्मिक हुनु स्वाभाविक र स्वीकार्य कुरा हो त्यसैगरि अ-धार्मिक हुनु स्वीकार्य र स्वाभाविक कुरा हुनुपर्ने । धार्मिक भएकोमा वा अ-धार्मिक भएकोमा गर्व गर्न आवश्यक छैन । तर, यो दृष्टिकोण दुर्लभ छ । आइभरी कोस्टका सेर्गेमात्र होइन, नेपालमा पनि अधिकांश मानिसहरू धार्मिकताबिनाको मानिसको अस्तित्वको परिकल्पना गर्न सक्दैनन् ।

यसमा प्रशस्त कारणहरू हुनसक्छन् । तिमध्येको एउटा कारण सम्भवतः यो होला कि मानिसहरू धर्मलाई संस्कृति भन्ठान्छन् । धर्म अवश्य पनि संस्कृति हो -किनकि सिकेका कुरा सबै संस्कृति हो -तर धर्म भनेको संस्कृतिको एउटा अंश हो -सम्पूर्ण संस्कृति होइन । धर्मले समग्र रूपमा एउटा मानिस र उसका मूल्यमान्यतालाई प्रतिनिधित्व गर्न नसक्ने हुनाले धर्म यसै पनि अपूर्ण हुन्छ । त्यसैले, धर्म नमान्ने मानिस संस्कृतिबिहीन होइनन् । उनीहरूलाई हेर्न र उनीहरूसँग व्यवहार गर्न विशेष सतर्कता र शैली चाहिन्न ।

यो लेखको सुरुमा नेपाल र पाकिस्तानका समानता र भिन्नताको कुरा गर्दा मैले इतिहासको कुरा उप्काएको थिएँ । नेपाल र पाकिस्तान पृथक् इतिहास भएका देश हुन् । नेपालको इतिहास जातीय र सांस्कृतिक विविधताले रङ्गिएको छ । पाकिस्तानको इतिहासमा धार्मिक राष्ट्रवाद हावी छ । नेपालमा पनि विगत र वर्तमानमा धार्मिक राष्ट्रवादले मलजल र हावापानी नपाएको होइन । तर, यसले काम गर्न सकेन । नेपालको विविधताका अगाडि सीमित अभिजात वर्गको चाहना पारित भएन । भविष्य कस्तो हुनेछ त्यो त अनुमानको कुरा मात्र हो ।


*प्रकाशनका क्रममा रहेको मेरो पुस्तक ‘एक अनि शून्य’मा ह्युमले दर्शनशास्त्रमा उठाएका महत्त्वपूर्ण प्रश्न र कान्टका जवाफको विस्तृत चर्चा गरेको छु ।


नोटः ब्लग अन्यत्र प्रकाशित गर्नुअघि अनुमति आवश्यक छ ।