Bluesky

@sanpokh.bsky.social

Thursday, February 26, 2026

मध्यरातका शिशुहरू

मेरो ‘पढ्नुपर्ने पुस्तक’को सूचिमा केही त्यस्ता पुस्तक छन् जसलाई मैले विगतमा गलत बुझाइका आधारमा प्राथमिकतामा राखिनँ । त्यस्ता पुस्तकमध्ये एक हो सलमान रस्दीको ‘Midnight’s Children’ । रस्दी लोकप्रिय भएको अवस्य थाह थियो तर उनको लोकप्रियताको स्रोतका बारेमा मेरो बुझाइ यथेष्ट थिएन । यो पुस्तक पनि मलाई भारत-पाकिस्तानको २०४७ को विभाजन र त्यसका क्रममा मानिसहरूले भोग्नुपरेको कष्टको दुखद् वर्णन् होला जस्तो लागेको थियो ।

केही दिनअघि MC पढिसक्दा अत्यन्त ठूलो आनन्द मात्र मिलेको होइन -म रस्दी र उनको उपन्यासका बारेमा कति गलत रहेछु भन्ने महसुस पनि भयो ।

जर्मनीबाट चिकित्सा विज्ञानको अध्ययन पुरा गरी डाक्टर बनेर कश्मीर फर्केका आदम अजिजको प्रसङ्गबाट उपन्यास सुरु हुन्छ । एक दिन नमाज पढ्ने क्रममा माटोको ढिस्कोमा नाक ठोक्किएर रगत निस्केको प्रसङ्गबाट सुरु भएको उपन्यास उनका नाति सलीम सिनाइको शारीरिक र मानसिक विक्षिप्ततामा आइपुगेर सकिन्छ । भारत स्वाधिन भएको रात १५ अगस्त १९४७ मा मुम्बइको एक अस्पतालमा जन्मेका सलिम सिनाइको जीवनका आरोह-अवरोह नै उपन्यासको मूल कथा हो । यो कथामा भारतको स्वाधिनता, भारत-पाकिस्तानको विभाजन र बङ्लादेशको पाकिस्तानबाट विभाजन जोडिएका छन् ।

दक्षिण एसियाका लागि बेलायती उपनिवेषबाट भारतको स्वाधिनताको घटना नयाँ होइन । न त पाकिस्तानको विभाजन र यस क्रममा आम मानिसले झेलेका कष्ट नयाँ हुन् । बङ्लादेशले पाकिस्तानबाट अलग हुन गरेको सङ्घर्ष दक्षिण एसियाको इतिहासको महत्त्वपूर्ण घटना हो जसका बारेमा हामी सबै धेरथोर जानकार छौँ । तर, इतिहासका यी कुनै प्रसङ्ग उपन्यासका मूल विषय होइनन् । उपन्यासको मूल विषय सलिम सिनाइको जीवन अनुभव हो । उसको जन्मको प्रसङ्ग, जन्मनासाथ उसलाई मेरी परेरा नामकी नर्सले गलत परिवारको जिम्मा लगाएको घटना र यही गलत परिवारसँग इतिहासका माथि उल्लिखित सबै अवरोहमा उसले काटको घनचक्करले उपन्यासलाई ‘बुलन्द’ बनाएका छन् ।

यो उपन्यास पढ्दा सलमान रस्दीको बेजोडको कल्पनाशीलताबाट म अत्यन्त गहीरो रूपमा प्रभावित भएँ । म्याजिक रिअलिज्मको शैलीमा मार्केजको उपन्यास One Hundred Years of Solitude बारे यस अघिको एउटा ब्लगमा वयान गरेको छु । यही शैलीमा रस्दीको उपन्यास अर्को बेजोड र ‘नपढी नहुने’ कृति रहेछ भन्ने महसुस भएको छ ।

उपन्यासको रमाइलो पक्ष के छ भने सलिम सिनाइको जीवनका आरोह-अवरोह जति कष्टप्रद भए पनि ऊ मार्फत् जीवन-जगतबारे लेखकले प्रस्तुत गरेका वर्णन् रोचक र हास्यास्पद् (humorous) छन् । सलिमकी हजुरआमा नसिम गनी, आमा अमिना सिनाइ, उसलाई अस्पतालमा साट्ने र बाल्यकालमा हेरचाह गर्ने मेरी परेरा, बहिनी जमिला, ऊसँग विवाह गर्ने पार्वती र पुस्तकको अन्तमा साथी बनेकी पद्माको चरित्र चित्रण रस्दीले यती कलात्मक ढङ्गले  गरेका छन् कि उपन्यास जीवन्त र रोचक बनेको छ ।

मेरो अनुभूतिमा यो उपन्यासलाई भव्य बनाउने पक्ष भने अर्कै छ । त्यो पक्ष हो ‍-दक्षिण एसिया र त्यसमा पनि भारत, पाकिस्तान र बङ्लादेशको राजनीति र समाजमा निहित हिंसा, भेदभाव, गरीबी, असमानता र पछौटेपनको सटिक अनि हास्यास्पद चित्रण । यो क्षेत्रका लागि कुन विषय महत्त्वपूर्ण छन् ? राजनीतिलाई समाजका कस्तो चरित्रले डोहोर्‍याएको छ ? मानिसको जीवनको मूल्य कसरी निर्धारण हुन्छ ? यी सबै कुरा रस्दीको उपन्यासमा गजब रमाइलो तरिकाले प्रस्तुत भएका छन् ।

मलाई आज लाग्छ मैले धेरै वर्षअघि यो उपन्यास पढ्नुपर्ने थियो । ढिलो भए पनि पढ्न पाइयो र धन्य भइयो । यो उपन्यास पढिसकेपछि रस्दीप्रति ममा गहिरो सम्मान पलाएको छ ।