Wednesday, December 13, 2023

कुराका कुरा

इस्लामाबादको कठ्याङग्रिने जाडो । अलिकति ह्विस्की तातोपानीमा मिसाएर स्वाट्टै पारेपछि म ओछ्यानमा छिरेको छु । कानमा ‘बड’हरू बज्दैछन् –‘याद पिया कि आए ऽऽऽऽ !’

तपाईंहरूमध्ये कतिलाई ह्विस्कीमा तातो पानी मिसाएको कुराले थोरै विचलित बनाएको हुनुपर्छ । ह्विस्की आइसमा मिसाउने हो -तातोपानीमा होइन । एकपटक जहाजमा व्हिस्किसँग तातोपानी माग्दा एअर होस्टेसले अचम्म मानेकी थिइन् र कन्फर्म गर्न फेरी सोधेकी थिइन् –‘आर यु स्योर ?!’

तर, म परख गरेर ह्विस्की पिउँदिन । म ह्विस्कीको पारखी होइन ।

आजको विषय रक्सी होइन ।

ल्यापटपमा युट्युब चलिरहेको छ । अनेकौँ नखरामा हरिहरण र उस्ताद राशिद खान स्टेजमा गाइरहेका छन् । दुबाइको लाइभ पर्फर्मेन्स हो क्यारे यो । उनिहरूको रेन्डिशन मन लोभ्याउने छ ।

हरिहरण दक्षिण भारतका लोकप्रिय गायक । आजभन्दा चानचुन ३० वर्षअघि उनले स्वर दिएका गीतहरूसहित ‘बम्बे’ सिनेमा रिलिज भएको थियो । ‘तु हि रे ऽऽऽ‘ भन्ने गीत त तपाईंले पनि सुन्नुभएको होला ।

म त्यसबेला २० वर्षको थिएँ । प्रेम र समर्पणको अनुभूति भर्खर हुँदै थियो । आफूलाई मन परेकी कुनै उनीसँगको कल्पनाले मन मस्तिष्क रामाञ्चित हुन्थ्यो । समुन्द्रको किनारको कुनै एकान्त ठाउँमा उभिएर सिनेमाको हिरोले ‘तु हि रेऽऽऽ‘ भनेर प्रेमिकाको अलाप गर्दा आफ्नै कलेजो ज्यानबाट बाहिर आएझैँ लाग्थ्यो ।

उस्ताद राशिद खान नामी कलाकार ! भारतको शास्त्रीय संगीतमा उनको विशेष स्थान छ । मलाई उनले ठुम्री गाएको असाध्यै मन पर्छ ।

ठुम्री राधाले कृष्णको प्रेममा गरेका अलापमा आधारित छन् । ठुम्रीमा थोरै विरह हुन्छ र धेरै आशक्ति । स्टेजमा राशिद र हरिहरण ‘बहिरी कोयलया कुक सुनावे, मुझ बिरहन का जिया जलाए, हाय राम’ भन्दै अलाप लिइरहेका छन् । दुवैले राधाको कृष्णप्रतिको आशक्तिलाई गलाको माध्यमबाट सिँगारिरहेका छन् ।

जब म यस्ता कुनै राम्रो सुफी वा शास्त्रीय सङ्गीत सुनिरहेको हुन्छु मलाई त्यसबेला लाग्छ -त्यो विशेष गीत, त्यसबेला सुनेको गीत कसैले नगाएको भए, कसैले संगीत नभरेको भए संसार कति अपूरो हुन्थ्यो होला !

सङ्गीतले मेरो अनुभवलाई कसरी प्रभावित पार्छ भनेर कहिलेकाहीँ विस्तारमा भन्न चाहन्छु, ता कि म आफ्नो अनुभूति बताउन सकौँ । तर, यो सम्भव छैन । हरेक अनुभव या अनुभूति भाषामा व्यक्त गर्न नसकिने रहेछ । आफूलाई लागेको हरेक कुरा चाहेर पनि अरूलाई बताउन सकिन्न, बुझाउन सकिन्न ।

म आज गीत-संगीतका बारेमा लेखिरहेको छैन ।

हिउँद कहिलै मन परेन मलाई ।

काठमाडौँ बसाइ सरेपछि हिउँदले मेरो सातो लियो । पुसको पन्ध्रदेखि माघे सक्रान्तीसम्म काठमाडौँको जाडो खपि नसक्नु नै हुन्थ्यो । खुट्टाका औँलाका टुप्पादेखि सुरु भएको चिसो तालुसम्म पुग्थ्यो । थुरथुर काम्दै मासको दाल र रायोको सागसँग भात खाएर बिहान लाग्ने कुहिरोभित्र छिर्‍यो र रात परेपछि घर फर्क्यो । हिउँदको दिनचर्यामा एक खालको ‘मेलाङ्कोली’ भएजस्तो लाग्थ्यो ।

हिउँदको दुःख जाडो मात्र होइन । छोटा र अँध्यारा दिन मात्र पनि होइनन् । यी दुवै कुरा हुन् । थप कुरा पनि होलान् । पूर्वी मधेशको गाउँमा जन्मेहुर्केको मलाई हिउँ, अँध्यारो, चिसो स्याँठसँग जति बल गरे पनि दोस्ती गर्न गार्‍हो छ ।

त्यसैले, मौसमसँग मेरो अलिखित र भद्र सम्झौता छ -हिउँदमा बाँच्ने, गर्मी महिनामा जिउने ।

नर्वेमा पढ्दा हिउँ र निरन्तरको झरीबाट वाक्क भएका बेला एकदिन त्यहीँको साथीलाई सोधेको थिएँ –‘तिमीहरूको हिउँद कहिलेसम्म चल्छ ?’ उसले साइकल घिस्याउँदै भनेको थियो –‘हामी भाग्यमानी भए अप्रिलमा सकिन्छ, कुनै वर्ष मे महिनासम्म हिउँ पर्छ, कहिलेकाहीँ गर्मी महिना सुरु नहुँदै हिउँद लाग्छ ।’

म नर्वेमा जिउन सक्दिनथेँ । जुन साता आफ्नो शोधपत्र बुझाएँ, त्यही साता घर फर्केँ ।

हरिहरण र उस्ताद राशिद गीत सकेर स्टेजबाट हिँडे । मैले युट्युवमा अर्को गीत छानेँ –‘ये दिल तुम बिन कहिं लगता नही हम क्या करें ।’

आठ वर्षजति भयो होला -बेंशीसहरमा काम परेर गएका बेला काउलेपानीबाट डिनर खाने र उतै बास बस्ने निम्तो आयो । निम्तो मान्न मध्य पुसको त्यो साँझ काउलेपानी पुग्दा डाँडाको टुप्पामा होमस्टेको स्वागत घरमा मुटु कमाउने जाडो थियो । सिमेन्टको भूईंको चिसो जुत्ताभित्र छिरेर घुँडासम्म पुगेको थियो, र अझ माथि उक्लिने धुनमा थियो । स्वागत खान प्लास्टिकका कुर्सीमा बसेको म चिसोले भित्रभित्र काँपीरहेको थिएँ ।

राजेन्द्र सरले लामो तर औधी रमाइलो स्वागत भाषण सके र हाम्रा हातहातमा सेलरोटीको थाल र त्यसको छेउमा स्टिलको ग्लासमा कोदाको रक्सी थमाइदिए । हामी ग्लासको तातो रक्सीले कुन बेला जिउ तताउला भनेर प्रतिक्षा गर्दैथियौँ त्यही बेला उनले रमाइलो भाखा हाले –“स्वर्गजस्तो यो काउलेपानी, मया लाउछ छोडेर काँ जानी” ! त्यसपछि वातावरण न्यानो भयो ।

काउलेपानीमा त्यो साँझ र त्यो जाडो सम्झँदा अहिले पनि आङ् सिरिङ्ग हुन्छ । तर, त्यो भन्दा सिरिङ्ग पार्ने राजेन्द्र सरको गीत थियो । घर छोडेर कहाँ जाने ? आफ्नो प्यारो ठाउँ छोडेर कहाँ जाने ? कसैले विरही स्वरमा सोधेका यी प्रश्न आफैंमा मार्मिक छन् । ठाउँसँगको माया गाढा हुन्छ । छोडेर जान सजिलो हुँदैन ।

म हिउँदको विषयमा लेखिरहेको छैन । म र हिउँदबिचको सम्बन्ध प्रस्ट छ ।

म गीत-सङ्गीतको बारेमा लेखिरहेको छैन । त्यो काम मबाट भन्दा राम्रो अरूबाट हुनसक्छ ।

साँच्ची मसँग अब लेख्नलाई बाँकी के कुरा छन् त ? सोच्छु । केही भेटिदैनन् । मेरा कुरा सकिए कि ? थाहा छैन । कुरा सकिन सम्भव छ ?  मलाई लाग्छ यस्तो हुन सक्छ ।

कुरा नगर्न भने सम्भव छ ।

त्यसैले म आजभोलि कुरा गर्दिन । नेपालको राजनीति र समाज, आर्थिक अवस्था, नेता, एमसिसी, राजतन्त्र -यी कुनै विषयमा मेरा टिप्पणी छैनन् । बहस र वादविवाद गर्ने जाँगर छैन । मलाई केही भन्नु छैन, र कसैका कुरा सुन्नु छैन ।

मसँग पहिले कुरा गर्न (वा कुरा लेख्न) जुन समय उपलब्ध थियो आजभोलि त्यो समयमा गीतहरू सुन्छु । थप किताब पढ्छु । यो उदासी होइन, सम्झौता हो । आफैँले आफैँसँग गरेको । कुरा नगर्ने सम्झौता ।

अहिले युट्युवमा उस्ताद हुसेन बक्श पञ्जाबी भाषाको गीत गुनगुनाउँदैछन् –‘सोनिये जे तेरेनाल दगा में कमावाँ, नि रब करे में मर जावां ऽऽऽ’

मलाई कुराहरूसँग रिसराग भएको होइन ।

मलाई लाग्छ कुरा गर्नैपर्छ । कुराहरू आवश्यक हुन्छन् । कुरा नगर्ने समाज सिथिल र निष्क्रिय समाज हो । कुरा नगर्ने कुरा तानाशाहीमा सम्भव छ । खुला समाजको जग भनेकै कुरा हुन् । चाहिने कुरा, नचाहिने कुरा । असल कुरा, खराब कुरा । भलादमी कुरा, फोहोरी कुरा । मन पर्ने कुरा, नपर्ने कुरा । कुरा र कुरामाथिका कुराले समाज जीवन्त बनाउने हुन् ।

मुख्य समस्याचाहिँ के हो भने आजभोलि कुरालाई खुला हिडडुल गर्न गार्‍हो छ । कुरा बाहिर निस्किनासाथ तिनीहरूको कि अपहरण हुन्छ कि तिनीहरूमाथि आक्रमण सुरु हुन्छ । कुराहरू आगनमा घुम्ने कुखुराका निरिह चल्लाजस्ता भएका छन् -जसलाई कुन बेला कताबाट उडिआउने चिलले झम्टिने हो ठेगान हुँदैन ।

त्यसैले, आजभोलि कुराहरू सङ्कटमा छन् ।

प्रविधि (techne/technology) का विषयमा मार्शल माक्लुहनको विचार मलाई असाध्यै सटिक लाग्छ । उनी भन्छन् -जब मानिसले एउटा नयाँ प्रविधिको विकास गर्छ त्यसपछि त्यो प्रविधिले थाहै नपाइ मानिसको जीवन, सामाजिक सम्बन्ध र सामाजिक संस्थाहरूलाई परिवर्तन गरिदिन्छ । मानिसले विकास गर्ने प्रविधि उसको नियन्त्रणमा रहँदैन, त्यसले मानिसमाथि नियन्त्रण गर्छ ।

उनको तर्क गहन भए पनि सरल छ -कसैले हवाइजहाजको आविष्कार गर्‍यो । त्यसपछि संसार परिवर्तन भयो । काम र काम गर्ने तरिका फेरिए । व्यक्ति र सरकारका शैली, ढाँचा र ढर्रा फेरिए । मर्ने, बाँच्ने तौरतरिका, सोख, लवज, सपना फेरिए । बाँच्ने तरकिब फेरिए । तमाशा फेरिए । आज हामी जस्तो संसारमा बाँचेका छौँ त्यसको चरित्रलाई उड्डयन प्रविधिले पनि प्रशस्त प्रभाव पारेको छ ।

इन्टरनेट यसको अपवाद होइन ।

मेरो कुरा कता जाँदैछ तपाईंले लख काटिसक्नुभयो । त्यसैले, थप लेखिरहन परेन । कुराको बिट मार्न यत्ति भन्छु -इन्टरनेट र यससँग जोडिएका औजारले आज सार्वभौम शक्ति हासिल गरिसकेका छन् । मानिसहरू ती औजारका अघि निरिह भएर तिनले खोजेजस्तो कन्टेन्ट बनाइरहेका छन् । ठुला कर्पोरेशनले मानिसको कमजोरी मज्जासँग चिनेका छन् र मानिस कठपुतलीजस्तो तिनीहरूले सेट गरिदिएको धुन र तालमा नाचेका छन् ।

अहिले आर्टिफिसल इन्टेलिजेन्सबाट कुनै मरिसकेका वा जीवित गायकको स्वरमा गीत बनाउन सम्भव होला । भइनसकेको भए पनि अब केही समयमै हुनेछ । त्यसपछि कम्प्युटरबाट धडाधड गीतहरू बर्सेलान् । जसरी युट्युवबाट समाचार र टिकटकबाट आन्दोलनहरू बर्सिरहेका छन् ।

तर, फत्तेमानले ‘मर्न बरु गारो हुन्नऽऽऽ’ भनेर आँखा चिम्म गएर गाएको त्यो गीत कुनै प्रयोगसालामा जन्मेला ? त्यो भन्दा सुरिलो र सुमधुर गीत बन्ला तर उनैले गाएको गीत बन्ला ? कृतिम तरिकाले बनाइएको गीतमा गीत र गायक बिचको सम्बन्ध कस्तो होला  ?

कुराको कुरा सक्ने हो की ?!

कुरा के हो भने -कुराले कुरा गर्नेको बोझ पनि बोकेको हुनुपर्छ । बोक्न सक्दैन भने कुराको अर्थ रहन्न ।

यदि कसैले अरूको प्रतिक्रिया पाउनका लागि कुरा गर्छ भने त्यो मानिसलाई आफ्ना कुराप्रति सम्मान छैन । कुरा यस्तो हुनुपर्छ कि त्यसले कुरा गर्नेको सोचको प्रतिनिधित्व गरोस् । इन्टरनेटको अल्गोरिदमले सिर्जना गरिदिएको हाइपररियल स्पेसमा आकर्षण, कुण्ठा र प्रतिश्पर्धाका लागि मनले नभएर मुखले गर्ने कुराहरूमा कुरा गर्ने मानिसको निष्ठा हुन्न ।

कुराहरू आज सङ्कटमा भएको कारण पनि यही हो । कुरा रित्ता र आडम्बरी हुने कारण पनि यही हो । उही पट्यारलाग्दा कुरा पटकपटक दोहोरिने कारण उही हो । एकै खाले कुरा पटकपटक दोहोरिएर उफ्रिरहनु र नयाँ कुरा ओझेलमा पर्ने कारण उही हो ।

काउलेपानीको गीत यतिका वर्षमा पनि बिर्सिन सकेको छैन –“ऽऽऽ माया लाउछ छोडेर काँ जानी !” जब यो गीतको सम्झना आउँछ म सोच्न थाल्छु - राजेन्द्र सरको गलाबाट निस्केको त्यो मिठो गीत काउलेपानीमा अझ गुञ्जीरहेको होला त ?! कसैले राजेन्द्र सरलाई काउलेपानीको डाँडाबाट कुनै कृतिम र पट्यारलाग्दो सहरतिर बसाइ सर्न बाध्य पो पार्‍यो कि ?!

एघार बज्यो । तातोपानीसँग मिसाएर पिएको ह्विस्कीले लेख्दालेख्दै कुन बेला छोडेर गयो पत्तो भएन । अहिले मेरो ल्यापटपमा उस्ताद आमीर अली खानको स्वरमा अर्को गीत बजिरहेको छः

"माहिया तेरे बेखण लै, चुक चर्खा गलिके बिच ढावाऽऽऽऽ" !