कति राम्रो हुन्थ्यो राजनीतिका कुरा गर्न नपरे ! हामी सर्वसाधारण मानिसले राजनीतिक पार्टी, नेता, सरकारका बारेमा कुरा गर्नु समयको भद्दा दुरुपयोग हो वास्तवमा । समाज वा राज्य ठिक ठाउँमा हुने हो भने हामीले कुरा गर्ने विषय दर्शन, विज्ञान, कला, साहित्य हुनुपर्ने हो । तर, हामी समाज वा राज्य निर्माण गर्ने लक्षमा बाटो बिराएर भौँतारिरहेका छौँ -वा सकारात्मक रूपमा भन्ने हो भने यसको प्रारम्भिक चरणमा छौँ । त्यसैले, बारम्बार राजनीति, नेता, पार्टीका बारेमा कुरा गरिरहन्छौँ ।
आज म फेरि नेपाली राजनीतिका बारेमा कुरा गर्न लाग्दैछु । आजको लेखमा मलाई मन नपर्ने केही ठुला र केही साना प्रवृत्तिका बारेमा कुरा गर्दैछु । यो सूचि लामो हुनसक्छ र तपाईं आफूलाई मन नपर्ने प्रवृत्ति पनि यसमा जोड्न सक्नुहुन्छ ।
सर्वज्ञानीको आत्मविश्वासः भनिन्छ -‘मसँग देश बनाउने सुत्र छ’ भनेर दावी गर्ने राजनीतिकर्मीलाई कहिलै विश्वास नगर्नु ! यस्तो दावी गर्ने मानिस कि हदैसम्म अवसरवादी हो या पटमूर्ख । नेपालमा भने यस्तो प्रवृत्ति राजनीतिमा लागेका पूराना, नयाँ धेरै मानिसहरूमा छ । 'मेरो हातमा सत्ता आउने हो भने सबै कुरा ठिक ठाउँमा ल्याइदिन्छु' भन्ने मानिसहरू पुराना ठुला पार्टी र स-साना नयाँ पार्टी सबैमा छन् । आज म केपी ओलीको कुरा गर्ने छैन -तर, उनीबाहेक पनि प्रशस्त नेताहरूमा यो प्रवृत्ति छ । बाबुराम भट्टराई लामो समयदेखि आफूले काम गर्न पाउने हो भने देश बनाइदिने कुरा गरिरहेका छन् । बालेन शाह, हर्क साम्पाङ्, लोकमान घिसिङ् सबैलाई देश बनाउने सुत्र आफूसँग भएको गहिरो विश्वास छ । रवि लामिछाने यसको अर्को ‘क्लासिक’ उदाहरण हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारी पद्दतिको सोझो वा घुमाउरो वकालत गर्ने मानिसहरू देश बनाउने 'सुत्र'मा विश्वास गर्नेहरू हुन् । मलाई लाग्छ यस्ता मानिस र आफूलाई समाधान ठान्ने उनीहरूको मानसिकता भविष्यमा नेपालको अर्को ठुलो संकटको कारण बन्न सक्छ ।
कम्युनिस्ट पाखण्डः तपाईंले मिडियामा ‘कम्युनिस्ट आन्दोलन बलियो बनाउनु पर्छ’, ‘समाजवादी पार्टीहरूको गठबन्धन बनाऔं’, ‘मार्क्सवादी, लेनिनवादी चिन्तनका आधारमा समस्याको हल खोजौँ’ -जस्ता बकबक अवश्य पढ्नु वा सुन्नुभएको होला । आफैंलाई पत्यार नलाग्ने यस्ता कुरा एकपटक होइन पटकपटक गर्ने यस्ता नेताको सूचिमा माधव नेपालजस्ता दुर्गन्धित वा विप्लवजस्ता जण्ड अपराधीमात्र होइन -त्यसपछिको पुस्तामा पर्ने घनश्याम भुषालजस्ता धेरैले बौद्धिक मानेका नेता पनि पर्छन् । नेपालमा जुन तह र शैलीको भ्रष्टाचारको जालो बनेको छ त्यसको निर्माणमा सबैभन्दा ठुलो योगदान कम्युनिस्ट पार्टी र तिनका नेताको छ । तिनीहरूले नै सबै लाज पचाएर ‘कम्युनिस्ट आन्दोलनमाथि षड्यन्त्र भएको छ’ भन्ने बिलौना गाउनु र ‘कम्युनिस्टहरू एक हुनुपर्छ’ भनेर भाषण गर्दै हिंड्नु गजबको पाखण्डीपन हो । त्योभन्दा दुखद् कुराचाहिँ के हो भने नेपालका भ्रष्ट र जातिवादी पुरुषहरूले कम्युनिस्ट चिन्तनका आडमा आम जनतालाई दशकौँदेखि मुर्ख बनाइरहेका छन् । यो प्रवृत्ति भविष्यमा पनि निरन्तर रहने सम्भावना छ ।
नयाँहरूको सतहीपनः मलाई जेनजी आन्दोलनमा सहभागी र त्यसपछि राजनीतिमा आएका मानिसहरू र तिनका प्रवृत्तिबारे त्यति धेरै ज्ञान छैन । यसअघिका विवेकशिल, साझा, रास्वपा, सिके राउतको पार्टी आदिका तामझाम भने देखेको हो । यी पार्टीका नेताहरूमा देखिने समस्या के भने देश, राज्य, सरकार, जनता, समाज, इतिहास आदिबारे आधारभूत बुझाइ पनि उनीहरूमा छैन । रविन्द्र मिश्रको हाँस उठ्दो र झर्को लाग्दो ‘विचारभन्दा माथि देश’ भन्ने बकबक यसको एउटा सानो उदाहरण हो । विवेकशील पार्टीले प्रशस्त सहानुभूति पाएको हो -तर, त्यो पार्टीमा आधारभूत सवालहरूमा स्पष्टता कहिलै थिएन । देश तथा संविधानका महत्त्वपूर्ण सवालमा स्पष्ट दृष्टिकोण नै नभएको रास्वपा विगतको निर्वाचनमा प्रशस्त मत ल्याउन सफल भयो । रास्वपा र नयाँ पार्टीका केही नेताले त अझ आफूलाई ओशोको तस्वीरको माला लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएको र फोटो भिडियो बनाएको देखेको छु, र अचम्मित भएको छु । आफूलाई ओशो भक्त ठान्ने सर्वसाधारण मानिसलाई म मुर्ख ठान्छु, तर ऊ अरूका लागि खतरा हुन सक्दैन । देश चलाउने र नीतिनिर्माण गर्ने मानिस यदि आफूलाई ओशो भक्त ठान्छ भने चाहिँ त्यो मानिसको सतहीपनले अरूलाई खतरा निम्त्याउन सक्छ ।
पुराना पार्टीका नयाँहरूको अवसरवादः ओली, प्रचण्ड, देउवा आदि घृणा र उपेक्षाका पात्र बनिसकेका छन् -यस्तो लाग्छ उनीहरू थप बेइजति कमाउन कटिबद्ध भएर लागेका मात्र हुन् । त्यसैले उनीहरूका बारेमा लामो कुरा गर्न आवश्यक छैन । तर, उनीहरूपछिका नेताका आजभोलिका टिप्पणी सुन्दा यस्तो लाग्छ उनीहरू २० वर्षअघि कोमामा गएका थिए र आज एक्कासी बिउँतिएका छन् । शंकर पोखरेल, प्रदीप ज्ञवाली, विमलेन्द्र निधी, प्रकाशसरण महत आदि आज पनि उही ओली-देउवाबाला पूरानो पाखण्डले देश चलाउने सपना देखेर बसेका छन् । आजको परिवेषमा आम मानिसका सोच, अपेक्षा र आवश्यकता के छन् भन्ने बारेमा उनीहरूमा रत्तिभर चासो र चिन्ता देखिँदैन । आफ्ना मालिकलाई जसोतसो कुर्सीमा राखिरहन पाए आफ्नो दुनो सोझिने थियो भन्ने ‘हुटहुटी’ले उनीहरूलाई दृष्टिविहीन बनाएको छ । उनीहरूको रक्षा ‘पशुपातिनाथ’ले गर्लान् ।
सबैमा व्याप्त रुढिवाद र जातिवादः नयाँ पूराना सबै पार्टी र तिनका नेतामा व्याप्त अर्को खतरनाक प्रवृत्ति जात, धर्म, इतिहास, संस्कृति र विविधतालाई बुझ्ने क्षमतामा देखिएको अभाव हो । गगन थापाले राख्ने प्राय सबै मिडिया पोस्टहरूमा टिका लगाएको, मन्दीर भ्रमण गरेको तस्वीर किन हुन्छ ? उनी चाहन्छन् -आफ्ना समर्थक, सुभेच्छुकलाई आफ्नो आस्थाले प्रभावमा राख्न सकियोस् । यो त सानो र कम क्षति गर्ने उदाहरण भयो । तर, गगन स्वयंमा हुनसक्ने र पुराना ओलीदेखि नयाँ मिश्रसम्म सबैमा देखिएको खतरनाक प्रवृत्ति के भने उनीहरू आफ्नो इतिहास, भाषा, धर्म, संस्कृति र जातलाई सर्वश्रेष्ठ मान्छन् र त्यसलाई राज्यका विशेषताको कोटीमा पुर्याउन प्रयत्नरत छन् । आफू जुन कुरामा अभ्यस्त छ र आफूलाई जे सही लाग्छ त्यो सबैलाई सही लाग्नुपर्छ भनेर अपेक्षा गर्ने अनि त्यसैलाई विविधताको सम्मान ठान्ने यस्तो प्रवृत्ति अमूल्य समयको दुरुपयोग मात्र होइन, यसले थप निराशा र द्वन्द्व निम्त्याउँछ । दक्षिण एशियाको पछौटेपनसँग जेलिएको एउटा दुखद् प्रवृत्ति राजनीतिलाई धर्म, भाषा, जात र संस्कृतिसँग मिसाउने प्रवृत्ति हो । भारत र पाकिस्तान यसका चरम उदाहरण हुन् । नेपालमा पनि राजनीतिमा संलग्न उच्चजातका पहाडिया हिन्दुहरू आफ्नो जातीय तथा सांस्कृतिक विशेषतालाई राज्यका विशेषता बनाउन प्रयत्नरत छन् र त्यसले नेपालको पिछडिएको अवस्थालाई थप मलजल गरिरहेको छ ।
नेपालको राजनीति पाखण्डले भरिपूर्ण छ । जसरी नेपाली समाजमा प्रशस्त पाखण्ड छ, राजनीति पनि त्यसबाट अछुतो हुने कुरा भएन । दुःख लाग्ने कुरा चाहिँ के भने राजनीतिको पाखण्डलाई नेपालको मिडियाले 'अनक्रिटिकल्ली' समाचार र विचारका सामग्रीका रूपमा पाठकहरूमाझ प्रस्तुत गर्ने गरेको छ । एउटा उदाहरण हेरौँ । हामी सबैलाई थाह छ -जनार्दन शर्मा एक विवादित भ्रष्ट नेता हुन् । अर्थमन्त्रीको पदमा रहँदा उनीबाट भएका गलत कामहरू कसैले बिर्सन सक्दैन । तर, उनले 'हामी क्रान्तिकारी कम्युनिस्टहरू एक हुनुपर्छ' भनेर कुनै ठाउँमा भाषण गरे भने मिडियाले जस्ताको तस्तै समाचार बनाउँछ -कम्युनिस्ट एकताको कुरा गर्ने जनार्दन एक विवादित र भ्रष्ट नेता हुन् भनेर पाठकलाई सम्झाउने प्रयास गर्दैन । 'हेभी मेटल शैलीका गीत सुन्दा सलह भाग्छ' भनेर विश्वास गर्ने घनश्याम भुषालको कमनसेन्समा मिडियाले प्रश्न गर्दैन अनि उनका हरेक भाषणको सार जस्ताको तस्तै पाठकलाई प्रस्तुत गर्छ । प्रकाशमान सिंह, कृष्ण सिटौला, सुजाता कोइराला, अग्नी सापकोटा, विष्णु पौडेल, गोकुल बास्कोटा आदि आफ्नो अकर्मण्यता, पदलोलुपता वा भ्रष्टाचारका भद्दा गतिविधिका कारण पटकपटक बदनाम छन् -तर तिनका पाखण्डी दृष्टिकोणहरू पढ्न र सुन्न हामी वाध्य छौँ । राष्ट्रपतिको पदमा रहँदा विद्या भण्डारीका हास्यास्पद तामझामबाट आजित भएको कुरा मिडियाले आम पाठकलाई स्मरण गराउँदैन, बरु आज उनलाई पूर्वराष्ट्रपतिका रूपमा एक आदर्श व्यक्ति जस्तो गरेर प्रस्तुत गर्छ । मिडियाले पाखण्डी नेता र उनीहरूका गलत प्रवृत्तिमाथि प्रश्न नगर्दा यस्तो प्रवृत्तिले झन् प्रश्रय पाएको छ ।
मलाई लाग्छ राजनीति गर्ने व्यक्ति आफ्नो खुशी वा रहरले सार्वजनिक जिम्मेवारी लिनका लागि प्रयत्नरत हुन्छ । आफ्नो यस प्रयत्नमा सफल भए उसले करदाताको पैसाबाट तलब तथा अन्य सुविधा पाउँछ । त्यसैले, सर्वसाधारण नागरिक हामीले नेताको गुनगान गाएर समय बिताउने होइन, उनीहरूका सीमिततालाई औंल्याउने हो, उनीहरूलाई सचेत गराउने हो । आजको लेखको उद्देश्य पनि त्यही हो ।