Friday, November 30, 2012

तर्क, प्रमाण, विज्ञान र उत्तरआधुनिकतावाद

म अङ्ग्रेजी साहित्यको विध्यार्थी थिएँ कुनै बेला । जीवनको प्रमुख लक्ष नै 'अङ्ग्रेजी शिक्षक बन्ने' थियो । सुनसरी र धनकुटाका सरकारी कलेजहरूमा 'मेजर इङ्लिस' भनिने अङ्ग्रेजी साहित्य पढिन्थ्यो । पढिन्थ्यो के भन्नु घोकिन्थ्यो । उपन्यास, कथा र कविताका लगभग दुईतिहाइ कुरा बुझिंदैनथे । शिक्षक वा प्राध्यापकले पनि कुरोको चुरो ओकल्न नसक्ने । तैपनि परिक्षामा 'पास' भइयो । एमए पढ्न ५२ सालतिर काठमाडौं आउँदा अङ्ग्रेजी विषय नै पढ्ने लक्ष थियो । पढाइ सकेर सुनसरीतिरै माध्यमिक विध्यालयमा शिक्षक हुने सपना काखि च्यापेर अङ्गरेजी विभाग किर्तिपुरमा भर्ना लिइयो ।

तर पढाइ सुरु हुँदानहुँदै मेरो अङ्ग्रेजी साहित्यसँग मन मरिसकेको थियो । कारण थिए मेरा एक नजिकका आफन्त जसले समाजशास्त्र-मानवशास्त्रमा एमए पास गरेर काठमाडौंमा एउटा गतिलै जागिर पाएका थिए । घरतिर उनको चर्चा हुन्थ्यो -एनजिओमा काम गर्छ ; महिनावारी ३० हजारभन्दा बढी कमाउँछ ; छोराछोरी काठमाडौँको 'बोर्डिङ्' पढाउँछ ; आदि । एकदिन उनलाई भेट्न गएँ र उनले पनि अङ्ग्रेजी भन्दा 'सोसोलोजी' कै 'स्कोप' भएको सल्लाह दिए । उनीसँगको भेटपछि अङ्ग्रेजीको मास्टर हुन मन भएन ।  अघिल्लो दिनसम्म रसिला लाग्ने विषय अर्कोदिन अचानक रिसउठ्ता लाग्न थाले । "१९औं र २०औं शताब्दिका अङ्ग्रेजी उपन्यास, कथा र नाटक पढेर के काम ?" भन्ने विचार आयो । त्यहि 'डेजी मिलर', उही 'फार फ्रम द म्याडिङ्ग क्राउड' उनै किट्स, उनै शेली, उही शेक्सपियर । भो मलाई पुग्यो । अब 'सोसोलोजी, एन्थ्रोपोलोजी' पढेर एनजिओमा जागिर खाइन्छ भन्ने विचारले मन रमाउन थाल्यो। समाजशास्त्रको नयाँ भर्नाका लागि एकवर्ष कुर्ने निर्णय भयो । अर्को वर्ष किर्तिपुरको ओल्लो भवनबाट पल्लो भवनमा बसाइ सरियो ।

जसैजसै समाजशास्त्र-मानवशास्त्र विभागमा भर्ना भइयो मनमनमा आफूलाई अरूभन्दा फरक र विशिष्ट सोच्ने क्रम पनि सुरु भयो । समाजशास्त्र र मानवशास्त्र 'विज्ञान' हुन् भनेर परिभाषा पढिन्थ्यो र मनमनै दङ्ग परिन्थ्यो । मैले पढेका विषय 'गफ' हैनन् । अझ साहित्यजस्ता 'अर्थहीन गन्थन्' हैनन् । बरु विशुद्ध 'विज्ञान' हुन् । समाज विज्ञान । मेरो अध्ययन समाज र संस्कृतिलाई वैज्ञानिक पद्धतिले बुझ्नलाई हो ता कि यसलाई उन्नत बनाउन मैले विशिष्ट योगदान गर्न सकौं । समाज विज्ञानले अरूलेजस्तो गफका आधारमा नभइ थ्यौरी र अनुसन्धान विधिको प्रयोगले समाज र संस्कृतिको विश्लेषण गर्छ । यस्तो विषय पढ्ने म पनि भविष्यको वैज्ञानिक नै हुँ ।

यस्तो सोचाइ ममामात्र थिएन । समाजशास्त्र र मानवशास्त्र केन्द्रीय विभाग किर्तिपुरका प्राय सबै प्राध्यापक र विध्यार्थीहरू 'समाजशास्त्र र मानवशास्त्र वैज्ञानिक विषय (Scientific Disciplines) हुन्' भन्ठान्थे । कसैले यिनको वैज्ञानिकतामाथि प्रश्न गरेमा यसको कडा प्रतिवाद गरिन्थ्यो । यतिमात्र हैन, अरू सबै समाजविज्ञानभन्दा समाजशास्त्र र मानवशास्त्र उन्नत र विकसित विज्ञान हुन् भन्ने सोचिन्थ्यो । यही आत्मरतिले पाठ्यक्रममा भएका थ्यौरी र अनुसन्धान पद्धति मन लगाएर पढ्न हामीलाई हौसला पनि दिइरहेको हुन्थ्यो ।

सन् २००० मा मैले किर्तिपुरमा आफ्नो अध्ययन पूरा गरें । त्यसपछि सन् २००२ देखि २००४ सम्म नर्वेको बर्गेन विश्वविध्यालयमा भर्ना भएर मानवशास्त्रको थप २ वर्षे अध्ययन पनि पूरा गरियो । नर्वेको पढाइ सकेर नेपाल फर्केपछि आफैंले पढेको त्रिवी केन्द्रीय विभागमा मानवशास्त्रका थ्यौरी पढाउन थालियो -मुख्य गरि मार्क्सवाद र उत्तरआधुनिकतावाद । तर, यसबेलासम्म समाजशास्त्र र मानवशास्त्रलाई हेर्ने मेरो दृष्टिकोण पूर्णरूपमा परिवर्तन भइसकेको थियो । म आफूलाई 'वैज्ञानिक' हैन 'गफाडी' ठान्न थालिसकेको थिएँ । समाजशास्त्र र मानवशास्त्रलाई साहित्यको कोटिमा राख्नुपर्छ भन्ने तर्क गर्नथालेको थिएँ । कारण थियो उत्तरआधुनिकतावादी चिन्तनमाथि मेरो केही अध्ययन ।

त्रिवीमा मेरो पहिलो लेक्चरमा मैले विध्यार्थीलाई यसो भनें -मलाई थाहा छ तपाईंहरू समाजशास्त्र र मानवशास्त्रलाई वैज्ञानिक तथा प्राविधिक विषय ठान्नुहुन्छ । समाजशास्त्री र मानवशास्त्री बनेर भविष्यमा आफ्नो समाज र राष्ट्रलाई उन्नत बनाउने उपाय पत्ता लगाउने उद्देश्य पनि राख्नुभएको होला । म पनि यस्तै रहरले आजभन्दा ७ वर्षअघि यही विभागमा भर्ना भएको हुँ । तर, समाजशास्त्र र मानवशास्त्रलाई वैज्ञानिक विधाका रूपमा परिभाषित गर्नु र समाजशास्त्री र मानवशास्त्रीलाई वैज्ञानिकको दर्जा दिनु बिल्कुल गलत हो । एकप्रकारको अत्याचार पनि हो । मानिसको सामाजिक व्यवहार र संस्कृतिको वैज्ञानिक अध्ययन संभव छैन । समाजशास्त्र र मानवशास्त्रको इज्जत झुठो दावीले बढ्ने हैन बरु हामीले आफ्नो अध्ययनको सीमितता बुझ्न आवश्यक छ ।

प्रतिक्रिया मिश्रित थियो । कसैलाई मैले उठान गरेको विषय रोचक लाग्यो ; कतिले मेरो नियतमाथि शंका गरे । तर सबैले आफ्नो गहीरो विश्वासको आधार हल्लिएको महशुस भनें गरे । मेरो उद्देश्य पनि यही थियो । मैले उनीहरूलाई आश्वस्त पार्दै भनें -म मानवशास्त्रको विध्यार्थी भएकोमा गर्व गर्छु तर यसका लागि मानवशास्त्रलाई विज्ञान भनिरहनु पर्दैन । मैले लगभग ५ वर्षजति त्रिवीलगायत त्रीचन्द्र कलेज, सगरमाथा कलेज र क्याम्पियन कलेजमा एमए कार्यक्रममा पढाउँदा सबैतिर यही सन्देश प्रवाह गरें । मेरो भागमा परेको पाठ्यक्रम पनि उत्तरआधुनिकतावाद नै थियो जसले गर्दा मलाई विज्ञान र वैज्ञानिकताको सीमितता र मिथ्याप्रति आफ्ना विध्यार्थीलाई सजग गराउन सजिलो भयो ।

समाज र संस्कृतिको अध्ययन वैज्ञानिक हुनसक्दैन भन्ने मान्यता विश्वका धेरै मुलुकमा र नेपालमै पनि क्रमश स्थापित हुँदै गइरहेको छ । मानिस समाजबाट सिकेको संस्कृति र मान्यताबाट मात्र निर्देशित हुँदैन बरु हरेक मानिसले आफ्नो उन्नत दिमाग र भाषाको प्रयोगले जीवन र जगतलाई आफ्नै मौलिक तरिकाबाट बुझ्छ र व्याख्या गर्छ । यो व्याख्या व्यक्तिपिच्छे फरक हुनसक्छ । मानवीय व्यवहार अन्य जनावरजस्तो 'इन्सटिङ्क्ट'बाट नभइ 'मौलिक बुझाइ'बाट निर्देशित हुनेहुनाले मानवीय व्यवहारको समष्टिगत अध्ययन र व्याख्या संभव छैन । उदाहरणका लागि बाँदरले आफ्नो भोक कसरी अभिव्यक्त गर्छ भन्ने कुराको वैज्ञानिक अध्ययन हुनसक्छ तर यही कुरा मानिसका सन्दर्भमा संभव छैन । कसैले अध्ययन गरेर कुनै व्याख्या प्रस्तुत गर्छ भने यो उसको बुझाइ मात्र हो । यसको सीमितता हामी सबैले बुझ्न आवश्यक छ ।

अधिकांश मानिसहरू 'विज्ञान'लाई नि:सर्त सम्मान र समर्थन गर्छन् । विज्ञानप्रतिको श्रध्दा यति बलियो र सर्वव्यापी छ कि सबै नयाँ आविष्कार, सुधार, प्रगति वा परिवर्तनलाई हामी विज्ञानको देन भन्ठान्छौं । विचार पनि राम्रो हुन वैज्ञानिक हुनुपर्छ (जस्तै, मार्क्सवाद) । जीवन र जगतप्रतिको दृष्टिकोण 'गफ' मात्र भएर पुग्दैन -यसमा तथ्य र प्रमाण हुनुपर्छ । हामी ठान्छौं परम्परागत विश्वास गलत हुन् किनकि तिनमा वैज्ञानिकता छैन अनि विज्ञानले 'सपोर्ट' नगरेका कुरा रूढीवादी हुन् र तिनमा विश्वास गर्नुहुन्न । विज्ञानप्रतिको यस्तै गहिरो आस्थाका कारण मानिसहरू विज्ञानको ऐतिहासिकता र सीमितता बुझ्ने प्रयास गर्दैनन् ।

विज्ञान युरोपेली इतिहासको निश्चित कालखण्डको उपज हो । त्यसैले यसको निश्चित ऐतिहासिकता र अर्थ-राजनीतिक सन्दर्भ पनि छ । यस विषयमा यहाँ बढी चर्चा गर्न चाहान्न । तर, तलका केही प्रश्नहरूमार्फत विज्ञानको सीमितताको चर्चा गर्न चाहान्छु ।

१. विज्ञान र यसले दिएका उपलब्धिले मानव जीवन र विश्वलाई के साँच्चीकै सहज, सुखी वा शान्त बनाएको छ ? संसारमा फैलिरहेको द्वन्द्व, आतङ्कवाद, आधुनिक तथा जैविक हातहतियारको प्रतिश्पर्धा, वातावरणीय विनास, चरम आर्थिक असमानता, साधन-स्रोतमाथिको असमान पहुँच र मानिसहरूको बढ्दो निराशाले के संकेत गर्छन् ? के विज्ञानले दिएका उपलब्धि नै दोश्रो विश्वयुद्ध, वातावरणीय विनास, आतङ्कवादको विश्वव्यापीकरण आदिका आधार हैनन् ?

२. विज्ञान र वैज्ञानिक पद्दतिको मापन वा पुष्टि कसरि र कसले गर्ने ? उदाहरणका लागि हाम्रो गाउँघरका बुढापाकाले जीवन र जगतका विषयमा हासिल गरेका बुझाइ र अनुभवको मूल्य के हुने ? उनीहरूको ज्ञान र अस्तित्वको हैसियत के ? तिर्खाको विकल्प कोकमात्र नभएजस्तै ज्ञानको सही स्रोत विज्ञानमात्र होला र ?

३. के सामाजिक उन्नति वा प्रगतिको माध्यम विज्ञानमात्र हो ? युरोपमा पनि उन्नाइसौं शताब्दिअघि महत्त्वपूर्ण आविष्कारहरू भएका छन् । अन्यत्र पनि मानिसले आफ्नो जीवनलाई सहज र रोचक बनाउन आफ्नै विधिले विभिन्न आविष्कार गरेका छन् । यस्ता विधि र आविष्कारको मूल्य वा सान्दर्भिकता के हुने ?

४. तथ्य र प्रमाण, जसलाई विज्ञानले हरेक तर्कको आधार मान्छ, आफैंमा बहुल हुन्छन् भने कुनै एक 'वैज्ञानिक' विश्लेषणलाई कसरि सही वा निर्विकल्प मान्न सकिन्छ ?

हामी विज्ञानको आतङ्कबाट त्रसित समाजमा बाँचिरहेका छौं । कहिलै स्कूलको मुख नदेखेका कारण ७५ वर्षे बुढाबाभन्दा ५ कक्षा पढ्ने उनका नातिको समाजमा बढी इज्जत छ । हाम्रा मौलिक बुझाइ, मान्यता, परम्परा र दृष्टिकोण वैज्ञानिकताको कसीमा नापिन्छन् र तथ्य र प्रमाणका अभावमा रूढिवादी र निकम्मा घोषित हुन्छन् । थ्यौरी र अनुषन्धान पद्दतिको जामा भिरेको विज्ञानले हाम्रा बहुल बुझाइ र सोचाइलाई उत्पत्ति नहुँदै मार्ने कसम खाएको छ । यो त्रासबाट मुक्त हुनका लागि हामीले अरूको विचारको मूल्याङ्कन गर्दा उक्त विचार कुनकुन तथ्य र प्रमाणले सुसज्जित छ भनेर हैन, कत्तिको रोचक छ भनेर हेर्न जरुरी छ । तथ्य र प्रमाण त जेका लागि पनि जुटाउन सकिन्छ । जीवन र जगतको हरेक बुझाइ एकप्रकारको व्याख्या हो र कुनै पनि व्याख्या अन्तिम हुन सक्दैन ।

9 comments:

  1. जीवन र जगतको हरेक बुझाइ एकप्रकारको व्याख्या हो र कुनै पनि व्याख्या अन्तिम हुन सक्दैन । Well writing :) Good satire :)

    ReplyDelete
  2. एस एल सी पछि दुनियाँले बिज्ञान पढ भनेर सल्लाह दिदाँ अटेर गरियो । आफै मनमौजी तरिकाले मानविकी रोजियो, त्यहि भएर विज्ञानको ज्ञान छैन । विज्ञानले दिएका उपलब्धिहरुले नकारात्मक कुराहरु पनि ल्यायो भनेर र विज्ञानले नै हतियार जस्ता मानव जीवन बिरोधी बस्तु अविस्कार गरयो भनेर विज्ञानलाई अवमुल्यन गरिनु हुन्न बन्ने सोच हो । कुनै पनि बिषय बिज्ञान हुनु र नहुनुले त्यसको महत्वमा खासै फरक पर्दैन बन्ने कुरामा सबै सहमत हुनै पर्छ । प्रत्येक बिषयको आफ्नै महत्व र उपयोग हुन्छ; हामीले पढी आएका बिषयहरुले एक अर्कालाई परिपूरण पनि गर्छन ।

    तपाइको शुरूकै एउटा बाक्यले भने सारै घत पार्यो । म पनि कुनै बेला रत्न राज्य क्याम्पसमा अग्रेजी साहित्यमा एम ए गर्ने सपना लिएर पढ्न जान्थे । सकिन र छोडे । तर मलाई एउटा कुरा सारै चित्त बुझेन: शिक्षक वा प्राध्यापकले कुन थ्यौरीमा के छ भनेर अर्थ बुझौथिए, जाँचमा प्रश्न आउदा यो तलको लेखनलाई फलानो थ्यौरीले विश्लेसन गर भन्ने । मैले एक दिन एक जना शिक्षकलाई यो थ्यौरी किताबमा छ, हामी रटछौ, तपाई यसको आधारमा लेखन विश्लेसन गर्न सिकाई दिनु भनेर निउ खोज्या, क्लासबाट निकाली दिनु भो । मैले नि त्यसपछि उहाको क्लास कहिले गइन, पछि creative writing को जांच मात्रै दिएर छोडिदिए ।

    ReplyDelete
  3. [बालकृष्ण घिमिरे जीले पठाउनुभएको टिप्पणी । प्राविधिक कारणले पोस्ट हुननसकेको टिप्पणी इमेलमार्फत राख्दैछु । उहाँको ट्विटर आइडी : @ghimireab ]

    विज्ञान भन्न बित्तिकै आधुनिक मसिन, गोलि गट्ठा, सम्झिनु गलत हो मेरो बिचारमा। तिनि विज्ञानले बिकाश प्रबिधि गरेका हुन । बिज्ञानको बिकाशलाइ मानब विकाशसंग कति पनि छुट्टायर हेर्न सकिन्न । जंगलि मान्छेहरुले जनाबर मार्न प्रयोग गर्ने धारिला हतियार र आगोको बिकास पनि बिज्ञान नै थ्यो । तेस्ता कुरामा तर्क र तथ्य छन। हाम्रा अग्रजहरुले गरिआएका धेरै कुराहरुलाइ विज्ञाले ब्याख्या गर्छ । जस्तो पिपलको रुख रोप्नु यसको आफ्नै वैज्ञानिक कारण छ, पिपलले सबैभन्दा बढि अक्सिजन प्रदान गर्छ। तुलसि रोप्ने कुरा तेस्तै छ, तेस्मा पाइने रासायनिक पदार्थले मानिसमा हुने धेरै रोगको घरेलु उपचार गर्न सकिन्छ। त्यो पनि विज्ञानले पुष्टि गरिसकेको कुरा हो । हतियारको बिकास र अन्य नकारात्मक कुराहरु त थाहा हुदा हुदै मान्छेले नजरअन्दाज गरेको हो। सबैको आ-आफ्नै विशेषता र आ-आफ्नै कमजोरि त छदै छन तर पक्कै पनि विज्ञान र प्रबिधि नहुदो हो त जिबन सारै असहज र कष्टकर हुदो हो ।

    ReplyDelete
  4. [सौरभ मिश्रजीले इमेलमार्फत पठाउनुभएको कमेन्ट । उहाँले झेल्नुपरेको प्राविधिक कठिनाइका लागि क्षमा चाहान्छु । उहाँको ट्विटर हेन्डल हो @stuckupghost]

    with all due respect, i don't think u made any sense. But, yeah, as ur
    conclusion states, u may say that u didn't intend to. Does that rule
    out possibility of any argument? If not, On what basis do u propose
    should we then accept or reject any idea put forth?

    ReplyDelete
  5. समाज र संस्कृतिको विषयमा मेरो धेरै जानकारी छैन तर विज्ञानको बिद्यार्थी भएको कारण यो विषयमा तपाईले उठाउनु भएको प्रश्नहरुमा केही भन्न चाहन्छु। विज्ञान युरोपेली इतिहासको निश्चित कालखण्डको उपज हो भन्न मात्र अलि नमिल्ला। ढुंगे युगदेखिनै विभिन्न कालखण्डमा मानिसले जिउने क्रममा प्राप्त गरेका ज्ञान र आविष्कारले विज्ञान अहिलेको अवस्थामा आइपुगेको हो। प्राचीन भारत, मध्यपूर्वी एशिया, चीन र ग्रिस लगायतका स्थानहरुमा नै विज्ञानको एक हदसम्म विकास भैसकेको थियो। हो, आधुनिक विज्ञानको उच्चतम बिकास भने युरोपमा पछिल्लो शताब्दीमा भएको मान्न सकिन्छ। विज्ञानको उपलाब्धिले मानव जीवनलाई धेरै सहज बनाएको छ, तेस कुरामा शंका भएन तर संसारमा भएका द्वन्द्व, आतङ्कवाद र नकारात्मक सबै कुरालाई विज्ञानसंग जोड्नु तेती सान्दर्भिक लागेन मलाई। यसका बहुआयामिक पक्ष छन् जस्तो लाग्छ मलाई त। बिज्ञानले युद्ध गराएको होइन बरु युद्धले आधुनिक बिज्ञानको बिकासमा भने धेरै सहयोग गरेको हो। पहिलो र दोश्रो विश्वयुद्धको एउटा(मात्र?) राम्रो उपलब्धि शायद यहि होला। बिज्ञानका आविष्कारले क्षति बढी गराएका होलान, तर ती नभएका भए पनि युद्धका उन्मादमा रमाउनेहरु मर्ने/मार्ने काम कम गर्थे भन्नेमा शंकानै छ। Richard Feynman ले भनेका पनि छन् If we make good things, it is not only to the credit of science; it is also to the credit of the moral choice which led us to the good work. Scientific knowledge is an enabling power to do either good or bad — but it does not carry instructions on how to use it.

    तर यी सबै भनेर पनि विज्ञान एक्लैले सम्पूर्ण कुराको समाधान हो भन्न खोजेको भने होइन है। तर यो एकदमै महत्वपुर्ण कुरा भने हो है। तपाइलेनै लेख्नु भएको अन्तिम वाक्य सार्है मन पर्यो, जीवन र जगतको हरेक बुझाइ एक प्रकारको व्याख्या हो र कुनै पनि व्याख्या अन्तिम हुन सक्दैन।

    ReplyDelete
  6. Nepali Unicode nabhayekale ma English mai comment garna chahanchu.

    Lately I have been confused by the same thing as you state. I too doubt whether human behavior can be explained by scientific accuracy.

    But, I agree with B F Skinner when he says "One difficulty to develop technology of Behavior is that almost all of what we called of behavioral science continues to trace behavior to states of mind, feelings, traits of character, human nature, and so on. Physics and Biology once followed similar practice and advanced only when they discarded him". What he is trying to say is as long as physicist believed a projectile flies because it had some inert quality that made it fly, they went nowhere. When Modern Physics, began to consider them as mere mass with nothing inert, than only natural law of Physics were developed.

    It is no way that same rigid approach can be applied to human, however the more scientific theory like Marxism, can only be developed when some consideration is made. In case of Marxism, case of class struggle resulting from capital based economics is raised. Let's say if Marxism wanted to incorporate gender based class struggle as well, it might have been a mess and a mere "guff".

    Hence, i thing your understanding of Social Science being literature more than science is inappropriate.

    ReplyDelete
  7. कन्फ्युजनमाथि कन्फ्युजन थप्ने कुरो जस्तो लाग्यो। बिज्ञान आफैमा एक कन्फ्युजन हो जो exception ले भरिएको हुन्छ। तर जब बिज्ञानमाथि नै प्रश्न उठ्न थाल्छ यसको मतलब नयाँ बिज्ञान प्रारम्भको पूर्वसंकेत हो। कुरा ठिक हो कि जुन बिज्ञान हामी स्विकार्दै आएका छौं त्यो सहि नहुन पनि सक्छ वा हुन पनि सक्छ। सत्यको खोजीमा बनाइएका बाटोहरुमध्ये बिज्ञान पनि एक हो र त्यस्तै अन्य थुप्रै बाटाहरु हुनसक्छन जो बाट हामी अनबिज्ञ छौँ। तर यसो भन्दैमा रहीआएको मान्यता माथि संका उत्पन्न गर्नु र अर्को गहकिलो बाटो नदेखाउनु प्रश्नमाथि प्रश्न गरेर कन्फ्युजन बढाउनु जस्तै लाग्यो। मानवशास्त्र र समाजशास्त्रमा बैज्ञानिक पहुँच नभेटेपछि त्यसको असन्तुष्ठी स्वरुप प्रश्न उब्जिएको जस्तो लाग्यो। तर बिज्ञानको सिमितता भन्ने कुरा चाई मन पर्यो।

    बिज्ञानले absolute कुरा मापन गर्नसक्छ। तर जब सापेक्षिक,तुलनात्मक अनि भावात्मक अध्ययनको कुरा आउछ,के भन्दा के राम्रो,कुन बुझाई सहि,कुन बाटो ठिक इत्यादि यसले सहि जवाफ नदिनसक्छ,त्यसैले मानवशास्त्र र समाजशास्त्रमा बिज्ञानको पहुंच कम भएको हुनुपर्छ।

    ReplyDelete
  8. सबै मित्रहरूलाई मेरो धन्यवाद ।

    सन् १९६० को दशकमा फ्रेन्च समालोचक रोलाँ बार्थले 'डेथ अफ द अथर' भन्ने अवधारणाको सुत्रपात गरे । उनको विचारमा कृतिको रचना सँगै लेखकको 'मृत्यु' हुनुपर्छ । अर्थात्,लेखक र उसको कृतिका बीच कुनै साइनु हुनु हुँदैन । म यो विचारको प्रशंसक भएकाले मेरो लेखको व्याख्या वा औचित्य निर्धारण गर्ने जिम्मा तपाईं पाठकहरूलाई नै सुम्पन चाहान्थें र चाहान्छु । यहाँहरूको टिप्पणीप्रति प्रति-टिप्पणी गर्ने आवश्यकता देख्दिन ।

    यहाँहरूले आफ्ना टिप्पणीमा उठाउनुभएका रोचक प्रश्न र व्याख्याहरूलाई कदर गर्छु र यसका लागि समय दिनुभएकोमा धन्यवाद दिन चाहान्छु ।

    धन्यवाद ! :-)

    ReplyDelete
  9. ढिलो गरि पढें यो ब्लग, पहिले नै नपढेकोमा पछुतो लाग्यो/ हो, निरपेक्ष केहि पनि छैन, हरेक कुरालाई सापेक्षिक रुपमा हेर्नु र बुझ्नु पर्दछ/ बिज्ञान पनि निर्बिकल्प हुन सक्दैन/ म धेरै बुझ्दिन यस्ता कुराहरु, मलाई कुनै बाद पनि थाहा छैन तथापी पढ्ने रहर गर्छु/ विज्ञानलाई उत्तराधुनिकताको कोणबाट जसरि विश्लेषण गरिएको छ यो ब्लगमा त्यो निकै तार्किक र सान्दर्भिक लाग्यो मलाई/ उत्तराधुनिकतालाई केवल साहित्यमा प्रयोग गरेको पढेको थिए मैले/ हुन त यो पनि साहित्यको एउटा पाटो हुन सक्छ/

    तथ्य र प्रमाण भएका कुरालाई मात्र विश्वास गर्ने र त्यसैलाई मात्र सर्वमान्य मान्ने हो भने त मानवीय मूल्य, मान्यता, सम्बेदनाहरुको त केहि अर्थ नै भएन नि/ जीवन भोगाईमा तथ्य र प्रमाण जुटाउदै हिडिदैन, जीवन त आफ्नै गतिमा हिडिरहेको हुन्छ/ अन्त्यमा, संजिव जी को नै अन्तिम वाक्य साभार गर्न चाहन्छु "जीवन र जगतको हरेक बुझाइ एकप्रकारको व्याख्या हो र कुनै पनि व्याख्या अन्तिम हुन सक्दैन ।"

    ReplyDelete