Saturday, August 15, 2020

दर्शनशास्त्रका कुरा -१

पश्चिमा बौद्धिक इतिहास (Western intellectual history)मा मलाई रुचि छ । किन छ थाहा छैन । एमएमा समाजशास्त्र र मानवशास्त्रका थ्यौरीहरू पढ्ने क्रममा चानचुन २० वर्षअघि यो रुचि जन्म्यो जस्तो लाग्छ । म अध्ययनशील मानिस होइन । तैपनि यो रुचिलाई निरन्तरता दिन कहिलेकाहिँ फुर्सद मिल्दा एकदुई किताब पढ्ने र आफूलाई चाख लागेको प्रवृत्तिबारे थप जानकारी राख्ने प्रयास गर्छु ।

केही समयदेखि मनमा एउटा रहर थियो -आफ्नो रुचि पछ्याउने क्रममा केही रमाइला कुराहरू पढिएको छ, विचारहरूमाथि विचार गरिएको छ । आफ्नो मनका ति आरोह-अवरोह अरूसँग किन नबाँड्ने ! यो लेख यही प्रयासको सुरुआत हो ।

यो र यसपछिका केही लेखमा पश्चिमा बौद्धिक इतिहास तथा दर्शनशास्त्रमा मलाई अत्यन्त रोचक लागेका ३-४ महत्त्वपूर्ण घटनाको वर्णन गर्ने प्रयास गर्नेछु । त्यस्ता घटनाको छनौट र वर्णन बिल्कुल मेरो (सीमित) बुझाइमा आधारित हुनेछन् । लेखाइमा भएका गल्तिकमजोरी सच्याउने र मिलाएर बुझ्ने जिम्मा त पाठकको छँदैछ ।

अब कुराको पोको खोलौँ है ।

यो लेखमा आज दार्शनिक Ludwig Wittgenstein को योगदानको चर्चा गर्नेछु । तर, उनको विषयमा प्रवेश गर्नुअघि सानो भूमिका बाँध्नै पर्नेहुन्छ ।

                 







आजभन्दा चानचुन २४०० वर्षअघि आज ग्रिसको राजधानी भएको एथेन्स शहरमा प्लेटो नाम गरेका ‘ज्ञानी’ थिए । त्यसबेलाको अत्यन्त समृद्ध शहर मानिने एथेन्सका नागरिक प्लेटो आफ्नो शहरको प्रशासन, यसको नेतृत्त्व र अन्य नागरिकको बानीव्यवहारबाट सन्तुष्ट थिएनन् । मानिसहरूले बुद्धिलाई भन्दा बललाई बढी प्राथमिकता दिएकोमा उनी चिन्तित थिए । उनी एथेन्सका शासकहरू बौद्धिक नभएको र उनीहरूमा उच्च क्षमता नभएकोमा पनि असन्तुष्ट थिए । यसको प्रमुख कारण उनी आम जनतालाई ठान्थे जसको बौद्धिक क्षमता कम भएकाले नै -प्लेटोको विचारमा- गलत नेताहरू चयन भइरहेका थिए । उनी भन्ने गर्थे -राज्यलाई समृद्ध बनाउने प्रबुद्ध नागरिकले हो । त्यसैले, उनी चाहान्थे सबैले दर्शनशास्त्रमा रुचि राखुन् ।

प्लेटोका अपेक्षा त्यतिमा सीमित थिएनन् । उनी चाहान्थे मानिसहरू पैसा, कोरा मनोरञ्जन र दैनिक जीवनको सुखसयलमा मात्र नभुलुन् -यी सबैबाट माथि उठेर जीवन-जगतका बारेमा गहिरिएर सोचुन् । नागरिकले असल नेता चयन गरुन् । यसका लागि चाहिने बौद्धिक क्षमता विकास गरुन् । समाजमा ‘बलियाबाङ्गा’को नभएर ज्ञानी, अनुभवी र क्षमतावान मानिसको कदर होस् । मानिसलाई ज्ञानी बनाउन र एथेन्सलाई आफूले चाहेअनुसार सुधार गर्न उनले एउटा विश्वविद्यालय खोले । आफ्नो विश्वविद्यालयमा मानिसहरूलाई जीवन के हो ? संसार के हो ? माया-प्रेमबाट के अपेक्षा राख्ने ? राज्य कस्तो हुनुपर्छ ? सुन्दरता के हो ? भन्नेजस्ता यावत विषयमा प्रशिक्षित गरे ।

पश्चिमा बौद्धिक इतिहासको प्रस्थानबिन्दु यसैलाई मान्न सकिन्छ । २४०० वर्षअघि स्थापना भएको दर्शनशास्त्रको यो जगमा युरोपका बौद्धिकहरूले असङ्ख्य 'इटा' थपे । यस क्रममा प्लेटो र उनका चेला एरिस्टोटलले गरेका व्याख्याहरूलाई थप उन्नत बनाइयो । समाजको परिवर्तनसँगै दर्शनशास्त्रले समेट्ने क्षेत्र पनि विस्तार हुँदै गयो ।

यसो भए तापनि पश्चिमा दर्शनशास्त्रको मूल उद्देश्य र यसको चरित्रले भने २ हजार वर्षसम्म निरन्तरता पाइरह्यो । प्लेटो र एरिस्टोटलका कतिपय विचारहरू आज गलत र असान्दर्भिक पुष्टि भएका छन्, तर उनीहरूले व्याख्या गरेको दर्शनशास्त्रको उद्देश्य र जीवन-जगतप्रतिका उनीहरूका अपेक्षाका मूलभूत तत्वहरूमा उतिसारो फेरबदल आएको छैन ।

अर्थात्, पश्चिमा दर्शनशास्त्र अझ पनि केही हदसम्म निम्नलिखित अवधारणाबाट निर्देशित छः

  • जीवन र जगतलाई गहिराइमा पुगेर बुझ्ने विशिष्ट क्षमता मानिससँग छ;
  • मानिस भएर बाँच्नुको औचित्य आफ्नो बौद्धिक क्षमताको उपयोग गरेर आफू र संसारलाई थप गहिराइ र उचाइमा बुझ्नु हो; र
  • आफू र संसारलाई बुझ्नुको औचित्य यी दुबैलाई थप उन्नत र सुखी बनाउने हो ।

पृष्ठभूमिकै चर्चा गर्ने क्रममा एकैछिनको लागि म यहाँहरूलाई प्लेटोभन्दा २ हजार वर्षपछि ल्याउन चाहान्छु ।

बिसौँ शताब्दिका प्रसिद्ध फ्रेन्च दार्शनिक तथा लेखक जाँ पाउल सार्त्र अस्तित्ववादी चिन्तनका मूल प्रवर्तकका रूपमा चिनिन्छन् । संसार के हो भन्ने बारेमा उनको रोचक बुझाइ छ । उनी भन्छन् संसार विसंगति (absurdity)हरूको जोड हो । हामी दैनिक जीवनको 'रुटिन'मा यति अभ्यस्त भएका हुन्छौँ कि यी विसङ्गतिहरूलाई गहिरिएर देख्न र बुझ्न सक्दैनौं । तर, हामी वरिपरिको भौतिक संसार र हाम्रा आनीबानी वा दैनिक जीवनका व्यवहारलाई गहिरिएर हेर्ने हो भने अति सामान्य कुरा -जस्तै, आफ्नो अगाडिको कुर्सी, लुगाको रोजाइ, खानेकुरा -पनि अर्थहीन, हाँसोउठ्दो वा विसंगत लाग्नसक्छन्[1]

सार्त्रले प्रस्तुत गरेको मूल दर्शनले मानिसको अस्तित्वको औचित्यको कुरा गर्छ । सार्त्र भन्छन् मानिसको जीवन कुनै गुह्य रहस्य (essence) बाट निर्देशित छैन । त्यसैले, हरेक जीवन आफैंमा सार्वभौम हो । व्यक्तिसँग आफूलाई स्वतन्त्र बनाउने असीमित क्षमता  (वा संभावना) हुन्छ । यसको पूरापूर उपयोग गर्नुपर्छ । आफूलाई वर्तमानका अवयवहरूमा सीमित राख्ने होइन -यसबाट उन्मुक्त र स्वतन्त्र हुने प्रयास गर्नुपर्छ । उनले आफ्नो समयमा मानिसलाई स्वतन्त्रताबाट वञ्चित गर्ने केही अवस्थाहरूको चर्चा गरे । सार्त्रको विचारमा आस्था (faith) र अर्थव्यवस्था (विशेषगरी, पुँजीवाद)ले मानिसका जीवन र सोचलाई नियन्त्रित गर्ने प्रयास गर्छन् । त्यसैले, सार्त्रको सुझाव पछ्याउने हो भने हरेक व्यक्तिले यी दुबैबाट आफूलाई पर राखेर आफ्नो चाहनाअनुरूपको उन्मुक्त जीवन बाँच्न सक्नुपर्छ ।

सार्त्रको दर्शनको प्रभाव साहित्यमा पनि गाढा छ । सन् १९३८ मा प्रकाशित उनको आफ्नै उपन्यास Nausea मा उनले प्रमुख पात्र Antoine मार्फत् जीवनको absurdity को मिहिन चित्रण गरेका छन् । यसैगरी, अस्तित्ववादी दर्शनबाट प्रभावित Samuel Beckett को नाटक Waiting for Godot र उपन्यास Murphy का पात्रहरू कुनै गुह्य लक्ष वा आदर्शबाट निर्देशित छैनन् । उनीहरूका दैनिक जीवन absurdity ले भरिपूर्ण छन् । वास्तविक जीवनमा यी पात्रहरूले आफ्नो absurdity को मेसो पाएका हुँदैनन्, तर उनीहरूको सामान्य जीवनको वर्णन्­मात्र पनि पाठकका लागि मनोरञ्जन बन्नसक्छ ।

Jean Paul-Sartre

सार्त्रको विचारबाट प्रभावित Albert Camus Franz Kafka ले पनि आफ्ना उपन्यासहरूमा अस्तित्ववादी धारलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।

सार्त्रका विचार क्रान्तिकारी तथा शक्तिशाली मानिन्छन् । मानिस के हो र कस्तो हुनुपर्छ भन्नेमा सार्त्रका विचार प्लेटो वा एरिस्टोटलका भन्दा फरक छन् -सम्भवतः मानिसका जुन प्रवृत्तिहरूलाई प्लेटोले समस्या ठान्थे र सुधार्न चाहान्थे ति प्रवृत्ति सार्त्रका लागि व्यक्तिविशेषको रोजाइ वा स्वतन्त्रताका कुरा हुनसक्थे । यद्दपि, जीवन र जगतलाई बुझ्ने मानिसको क्षमता र दर्शनशास्त्रको औचित्यका विषयमा प्लेटो र सार्त्रको विचारमा खास भिन्नता छैन । उनीहरू दुबै ठान्छन् -मानिससँग आफ्नो जीवन-जगत बुझ्ने विशिष्ट क्षमता छ -जसको उदाहरण दर्शनशास्त्र स्वयं हो । जीवन थप उन्नत बनाउने उद्देश्यमा यो क्षमतालाई उपयोग गर्नुपर्छ ।

सार्त्रको चर्चा मैले उदाहरणका रूपमा मात्र गरेको हो । पश्चिमा दर्शनशास्त्रका प्राय सबै प्रसिद्ध चिन्तकहरू René Descartes देखि Noam Chomsky सम्म, Bruch Spinoza देखि Karl Marx सम्म, Max Weber देखि Jurgan Habermas सम्मले जीवन-जगतको जटिलता केलाउन दर्शनशास्त्रको उपयोग गरे । संसारलाई थप नीतिपरक (ethical), उन्नत, न्यायपूर्ण, व्यवस्थित, बौद्धिक (rational), सरल बनाउन मानवीय क्षमताको उपयोग गर्नुपर्ने कुरामा जोड दिए । जीवनको औचित्यलाई ज्ञानको विस्तार र विकाससँग जोडे ।

यहाँनिर प्रश्नहरू स्वभाविकरूपमा उठाउन सकिन्छ -के सार्त्रले भनेझैँ उन्मुक्ति मानिसको निरपेक्ष चाहना हो ? के आफूलाई स्वतन्त्र बनाउने क्षमता मानिसमा अन्तर्निहित हुन्छ ? के मानव जीवनको अस्तित्वको आधार मुक्ति वा स्वतन्त्रता नै हो ?

बिसौँ शताब्दिको सुरुआतमा यो निरन्तरतामा एउटा जोडदार धक्का लाग्यो । यसको स्रोत थियो Ludwig Wittgenstein को चिन्तन । Wittgenstein को रुचि माथिका प्रश्नहरूमा थिएन । तर, उनले जीवन-जगतलाई बुझ्ने मानिसको क्षमता र दर्शनशास्त्रका सीमितताका बारेमा आफ्नो विचार प्रस्तुत गरे । दर्शनशास्त्रमा Wittgenstein को योगदानले सार्त्रको अस्तित्ववादमात्र होइन, सबै खाले दार्शनकिक विचारको सीमितता र उपादेयतामाथि गम्भीर प्रश्न खडा गर्‍यो, र दर्शनशास्त्रको बुझाइ र अभ्यासमा नै युगान्तकारी परिवर्तन ल्याइदियो ।

अस्ट्रियाबाट aeronautical engineering को अध्ययन गर्न सन् १९१८ मा बेलायतको Manchester को विश्वविद्यालय भर्ना भएका Wittgenstein केही समयपछि बेलायती दार्शनिक Bertrand Russell को काम (Principles of Mathematics) बाट प्रभावित भएका थिए । उनले दर्शनशास्त्रमा पलाएको रुचिलाई पछ्याउन engineering को पढाइ छोडे, र Russell ले उठाएका महत्त्वपूर्ण प्रश्नको निरूपण गर्न दर्शनशास्त्रमा जुटे । आजभन्दा चानचुन १०० वर्षअघि सन् १९२१ मा उनको पहिलो पुस्तक प्रकाशित भयो । पुस्तकको नाम थियो Tractatus Logico-Philosophicus (अर्थात्, Treaties in Logic and Philosophy).

Russell को परिचयसहित छापिएको Tractatus मा Wittgenstein ले प्रस्तुत गरेका तर्कहरू जटिल र बहुआयामिक छन् । तिनको मेरो बुझाइ पनि सीमित नै छ । तलका केही अनुच्छेदमा म उनको मूल विचारलाई सकेसम्म सरल वाक्यहरूमा प्रस्तुत गर्नेछु ।

Wittgenstein ले भने -मानिसले संसार बुझ्ने र यसको व्याख्या गर्ने माध्यम भाषा हो । भाषाको संरचनाले अर्थको संरचना प्रस्तुत गरिरहेको हुन्छ । वाक्यमा शब्दहरू जसरी एकआपसमा जोडिएर बसेका हुन्छन् तिनले वास्तविक संसारको ‘हाल’ (state of affairs) लाई ऐना जस्तैगरि प्रस्तुत गरेका हुन्छन् । Wittgenstein को यो भनाइ ‘अर्थको तस्वीर सिद्धान्त’ (picture theory of meaning) का नामले प्रचलित छ ।

यसका लागि एउटा उदाहरणलाई हेरौँ । मैले तपाईंलाई भनें “एउटा बिरालो कुर्सीमा बसिरहेको छ ।” यो वाक्य सुन्दा तपाईंको मश्तिष्कमा एउटा चित्र बनिरहेको हुन्छ, सम्भवत यस्तो


Wittgenstein ले भने -दैनिक जीवनको कुराकानीमा हामी भाषामार्फत् यस्तै तस्वीरहरू साटासाट गर्छौं ।

  • मेरो साइकलको चेन खुस्क्यो ।
  • आइसक्रिम किनेर ल्याउँदैगर्दा बाटैमा पग्ल्यो ।
  •  खुट्टामा चोट लागेर वैशाखी टेकिरहेको छु ।

माथिका तीन वाक्य सुन्दा, पढ्दा तपाईंको दिमागमा साइकल, चेन, पग्लेको आइसक्रिम, बाटो, चोट लागेको खुट्टा, वैशाखीका तस्वीरहरू नाचे होलान् । दैनिक जीवनमा आफ्ना कुरा अरूलाई भन्न र अरूका कुरा बुझ्न यामी यस्तै तस्वीरको सहारा लिन्छौँ । Wittgenstein को यही अवधारणालाई भाषाको तस्वीर सिद्धान्त (picture theory of language) भनेर चिनिन्छ ।

भाषाबाट हामी कसरी तस्वीर निर्माण गरेर यथार्थ बुझ्ने प्रयास गर्छौँ भन्ने तर्क प्रस्तुत गरेपछि Wittgenstein ले आफ्नो दोस्रो र मूल तर्क प्रस्तुत गरे । उनले भने -संसारका सबै बुझाइ वा दृष्टिकोण तस्वीरमार्फत् संप्रेषण गर्न सकिन्न । अर्थात्, हामीलाई लागेका सबै कुरा माथिका वाक्य (वा चित्र)हरूमा जस्तो छर्लङ्ग प्रस्तुत गर्न सम्भव छैन । जीवन र जगतका बारेमा हाम्रा महत्त्वपूर्ण विचार अभिव्यक्त गर्न भाषाका संरचना पर्याप्त छैनन् । भाषाको सीमितता हुन्छ -महत्त्वपूर्ण र गहन विचारहरू 'भन्न नसकिने' (unsayable) हुन्छन् ।

मैले माथि प्लेटोका विचार छोटकरीमा चर्चा गरेँ । त्यहीँबाट एउटा वाक्य निकालेर Wittgenstein को यो भनाइ बुझ्न उदाहरणका रूपमा प्रयोग गरौं ।

“राज्यलाई समृद्ध बनाउने प्रबुद्ध नागरिकले हो ।”

यो वाक्य सुन्दा तपाईंको मनमा कस्तो खालको तस्वीर बन्छ ? कुनै तस्वीर बन्छ ? कसैले यो वाक्य बोल्दा वा लेख्दा हामी उसलाई प्रश्न गर्न थाल्छौं -राज्य भनेको के हो ? कस्तो अवस्थालाई राज्य भन्ने ? समृद्ध हुनु भनेको कस्तो हुनु हो ? कस्तो नागरिकलाई प्रबुद्ध मान्ने ? प्रबुद्ध हुनुको सूचक के हो ? प्रबुद्ध कसरी हुने ?

Wittgenstein को विचारमा हामीले विचार गर्ने प्रशस्त कुराहरूको ठोस तस्वीर हुँदैन । उदाहरणका लागि सुख, दुःख, न्याय, समानता, धर्म, नैतिकता, आनन्द जस्ता अवधारणाको यथेष्ट व्याख्या गर्न मानिस र भाषाको क्षमताबाट सम्भव छैन । यसको अर्थ ति कुराहरूको महत्त्व छैन वा मानिसले तिनको चर्चा गर्न आवश्यक छैन भन्ने होइन । Wittgenstein को भनाइ के हो भने दर्शनशास्त्रले यी अवधारणाको सटिक व्याख्या गर्न सम्भव छैन । त्यसैले, उनको विचारमा दर्शनशास्त्र (वा logic) को उद्देश्य ति अवधारणाको निरुपण गर्ने होइन ‍।

त्यसैले, Wittgenstein आफ्नो पुस्तकलाई यो वाक्यले टुङ्ग्याए -"whereof one cannot speak, thereof one must be silent."

अर्थात् -जहाँबाट बोल्न सकिन्न, त्यस बिन्दुबाट मौन रहनुपर्छ ।

Wittgenstein को पुस्तक जर्मन भाषामा प्रकाशित भएको १ वर्षपछि सन् १९२२ मा अङ्ग्रेजी भाषामा पनि प्रकाशित भयो । यस पुस्तकले दर्शनशास्त्रको संसारमा ‘भूइँचालो’ नै ल्याइदियो । परम्परागत नीतिपरक दर्शनशास्त्रका जटिलताबाट वाक्क भएका दर्शनशास्त्रीहरूले Tractatus लाई युगान्तकारी विचारका रूपमा स्वागत गरे । वास्तवमा उनको पुस्तकले प्लेटो (अझ, सोक्रेटस)बाट सुरु भएको पश्चिमा दर्शनशास्त्रको सीमितता उजागर गरिदियो र यसको मर्ममा प्रहार गर्‍यो ।

आफ्नो पहिलो पुस्तक प्रकाशित भएपछि Wittgenstein ले ठाने दर्शनशास्त्रको मूल समस्या समाधान भयो । त्यसैले, आफूले दर्शनशास्त्रमा काम गर्ने आवश्यकता पनि समाप्त भएको ठानेर उनी नयाँ घर बनाइरहेकी आफ्नी दिदीलाई सघाउन भिएना फर्के ।

तर, पहिलो पुस्तक प्रकाशित भएको केही वर्षपछि Wittgenstein लाई लाग्यो उनको पुस्तक Tractatus ले केही प्रश्नहरू अधुरै छोडेको छ । त्यसैले उनी सन् १९२९ मा फेरी क्याम्ब्रिज विश्वविद्यालय फर्के र दर्शनशास्त्रको काममा जुटे । यस क्रममा उनले निर्माण गरेका विचारहरू सन् १९५३ मा उनको मृत्युपरन्त प्रकाशित पुस्तक Philosophical Investigations (जसलाई, म यसभन्दा मुनि PI भन्नेछु) मा समेटिएका छन् ।

तलका केही अनुच्छेदमा PI मा Wittgenstein ले प्रस्तुत गरेका विचारलाई तीन भागमा बाँडेर प्रस्तुत गर्नेछु ।

पहिलो -तपाईंलाई संझना होला, Wittgenstein ले आफ्नो अघिल्लो पुस्तक Tractatus मा भाषाले कसरी तस्वीरहरूमार्फत् वास्तविक संसार उजागर गर्छ भन्ने चर्चा गरेका थिए । आफ्नो यो दोस्रो पुस्तकमा उनले भाषा र यसको प्रयोग तस्वीर सिद्धान्तले देखाउन खोजेजस्तो सरल नहुने कुरा स्वीकार गरेका छन् । उनले PI मा भाषालाई, तस्वीर नभएर औंजार (tool) का रूपमा व्याख्या गरेका छन् ।

PI मा Wittgenstein भन्छन् भाषाको प्रयोग बहुआयामिक, जटिल र व्यापक हुन्छ । शब्दको अर्थ एक निश्चित तस्वीरमा सीमित हुनसक्दैन । त्यसैले, शब्दहरू बुझ्दा तिनिहरूलाई मानिसले कसरी निश्चित सन्दर्भमा ‘औंजार’का रूपमा प्रयोग गरेका छन् भन्ने बुझ्न आवश्यक छ ।

Tractatus भन्ने पुस्तकको तस्वीर सिद्धान्तको व्याख्या गर्न माथि एउटा उदाहरणमा वैशाखी शब्द प्रयोग गरेको थिएँ । त्यही शब्दलाई Wittgenstein ले प्रस्तुत गरेको औंजारको अवधारणा बुझ्न तलको उदाहरणमा हेरौँ –

एउटा प्रेमीकाले आफ्नो प्रेमीलाई भन्छिन् –“जिन्दगीको यात्रामा अब मलाई तिम्रो वैशाखी चाहिंदैन ।”

यो वाक्य सुन्दा वा पढ्दा सुन्ने वा पढ्नको दिमागमा वैशाखीको कस्तो चित्र बन्ला ? प्रेमिकाको वास्तविक अवस्थालाई उक्त चित्रले कसरी प्रतिनिधित्व गर्ला ? यो वाक्यमा प्रयोग गरिएको वैशाखी र साँच्चै प्रयोग गरिने वैशाखीमा के समानता वा भिन्नता छ ?

Wittgenstein को भनाइ छ -शब्दको पूर्वनिर्धारित, निश्चित र अन्तिम अर्थ हुँदैन । मानिसले वास्तविक जीवनमा आफूले चाहेको अर्थ निर्माण गर्नमा शब्द वा वाक्यहरूको प्रयोग गरिरहेका हुन्छन् । यसको परिणामस्वरूप भाषाको प्रयोगमा प्रशस्त विविधता र जटिलता अन्तर्निहित हुन्छ । त्यसैले, शब्दहरूको अर्थ केलाउँदा मानिसहरूले भाषाभित्र औंजारका रूपमा कसरी तिनीहरूको प्रयोग गरिरहेका छन् भनेर बुझ्न आवश्यक छ ।

दोस्रो, Wittgenstein ले भाषाको प्रयोग र अर्थ निर्माणलाई बुझ्न ‘भाषा खेल’ (language game) अवधारणा (मेटाफर) प्रयोग गरे ।

खेल भन्नासाथ हाम्रो ध्यान अक्सर त्यसका नियमहरूमा जान्छ । यद्यपि, Wittgenstein का अनुसार खेलमा नियमको महत्त्व कम र प्रत्येक खेलाडीले अपनाउने रणनीति (दाउपेच?)को भूमिका ठूलो हुन्छ । नियमहरू हेर्ने हो भने फुटबलदेखि जुवासम्मका नियमहरूमा प्रशस्त समानता भेट्न सकिन्छ । तर, हरेक खेलले कसरी पृथक मनोरञ्जन दिन्छन् त ? Wittgenstein को विचारमा खेलमा संलग्न रहेका बेला प्रत्येक खेलाडीले प्रयोग गर्ने आफ्नो रणनीति नै खेललाई यथार्थमा खेल बनाउँछ ।

Wittgenstein को विचारमा भाषाको प्रयोग पनि एक प्रकारको खेल हो । हामीले निश्चित सन्दर्भमा कुनै कुरा बोलेर वा लेखेर निश्चित उद्देश्यका लागि निश्चित सन्देश प्रवाह गर्न खोजिरहेका हुन्छौँ । वास्तविकतासँग यसको ठोस सम्बन्ध नहुनसक्छ ।

यसलाई प्रस्ट पार्न तलको उदाहरणलाई हेरौँ –

साइकल किनिदेऊ भनेर कराइरहेकी छोरीलाई शान्त पार्न उनकी आमाले भन्छिन् –“राम्रोसँग पढेर यो वर्ष राम्रो नम्बर ल्यायौ भने साइकल किनिदिन्छु ।”

यो वाक्य पढ्दा के स्वतः निम्नलिखित अर्थहरू बुझिन्छन् ?

  • आमासँग अहिले साइकल किन्ने पैसा छैन ।
  • छोरी राम्ररी पढ्दिनन् ।
  • परिक्षामा छोरीको राम्रो नम्बर नआएर आमा चिन्तित छन् ।
  • छोरीले परिक्षाफल नआएसम्म साइकल पाउने सम्भावना छैन ।

Wittgenstein को खेल मेटाफरका आधारमा भन्ने हो भने माथिका कुनै कुरा सही नहुन सक्छन् । उक्त वाक्यमार्फत् आमाले ‘खेल’ खेलेकी छन् । उनी साइकल किन्ने कुरा पर सार्न चाहेकी छन् । उनी चाहान्छिन् छोरीले पढाइमा ध्यान दिउन् । साइकल कहिले किन्ने, किन्ने-नकिन्ने निश्चित छैन -साइकल परिक्षाको नतिजा नआइ अर्को महिना नै पनि किनिन सक्छ । अर्थात्, आमाको भनाइको वास्तविकतासँग नजिकको सम्बन्ध छैन ।

Wittgenstein को विचारमा दैनिक जीवनमा यस्तै खेलहरू खेल्न हामी भाषाको प्रयोग गरिरहेका हुन्छौँ ।

तेस्रो (र यसैसँग जोडिएको) अवधारणा प्रस्तुत गर्दै Wittgenstein भन्छन् -भाषाको खेलमैदान वास्तविक जीवन हो । त्यसैले, Wittgenstein ले भाषाको प्रयोग, अर्थहरू र तिनको निर्माण प्रक्रिया बुझ्न वास्तविक जीवनका अभ्यास (practices)लाई हेर्नुपर्छ भनेर जोड दिएका छन् । उनले आफ्नो दोस्रो पुस्तक PI मा मानवअध्ययनका लागि गरिने ethnology को प्रशस्त चर्चा गरेका छन् । Wittgenstein ले आफ्नो दर्शनको व्याख्या गर्ने क्रममा बताएका छन् कि दर्शनशास्त्रमा उनले मानवअध्ययन वा मानवशास्त्रको दृष्टिकोण उपयोग गरेका छन् ।

PI मा Wittgenstein ले प्रस्तुत गरेका यिनै ३ अवधारणाले उनलाई दर्शनशास्त्रको क्षेत्रमा एक युगान्तकारी परिवर्तन ल्याउने चिन्तकका रूपमा स्थापित गरिदियो ।

Wittgenstein ले धेरै पुस्तक लेखेनन् । उनका पुस्तकमा परम्परागत र स्थापित संरचना र शैली छैनन् । उनको लेखाइमा शृङ्खला छैन -उनका पुस्तकका अनुच्छेदहरू एकआपसमा सम्बन्धित छैनन् । यी अनुच्छेदलाई उनले propositions वा aphorisms भनेका छन् । पुस्तकबाहेक उनले अन्य कतै जर्नलमा लेखहरू लेखेनन् । 

यद्यपि, Wittgenstein बिसौं शताब्दिका सबैभन्दा प्रभावशाली दर्शनशास्त्रीका रूपमा चिनिन्छन् ।

किन Wittgenstein यति ठूलो चर्चा र महत्त्व पाए ? अर्थात्, Wittgenstein का यी विचारहरू कसरी युगान्तकारी छन् ? केही छिन यसको छोटो चर्चा गरौँ ।

Wittgenstein भन्दा अघिका सबै प्रसिद्ध दार्शनिकले भनेका थिए -जीवन र जगत जटिल विषय हुन् । तिनको व्याख्या गर्नका लागि शब्दहरू छन् । ति शब्दमा अन्तर्निहित पूर्वनिर्धारित निश्चित अर्थहरू छन् । दर्शनशास्त्रीको काम तिनै अर्थहरू उधिन्ने हो ।

Wittgenstein ले यस दृष्टिकोणलाई मृत्युशैयांमा पुर्‍याइदिए । उनले भने कुनै पनि शब्दमा पूर्वनिर्धारित अर्थ छैनन् । केही शब्दसँग निश्चित अर्थ होलान् -जस्तै साइकल, कुर्सी, आकास, चश्मा, आदि । तर, जीवन-जगत बुझ्न र व्याख्या गर्न प्रयोग गरिने शब्दका अर्थहरू मानिसले बनाउने हुन् । मानिसहरूले आफ्नो आवश्यकता र परिस्थिति हेरेर आफ्ना शब्द र वाक्यहरूलाई निश्चित अर्थका लागि प्रयोग गरिरहेका हुन्छन् । त्यसैले, दर्शनशास्त्रले शब्दहरूको गुह्य अर्थको खोजीमा समय खेर फाल्न उपयुक्त होइन ।

Wittgenstein अघिका दार्शनिकले भनिरहेका थिए -भाषा र यसको संरचनाले वास्तविकता उजागर गर्ने हो । भाषाको संरचनामाथि वास्तविकताको नियन्त्रण हुन्छ (Structure of reality determines structure of language).

Wittgenstein ले फरक मत राख्दै भनेका छन् वास्तविकताले भाषाको संरचनालाई नियन्त्रण गर्ने होइन, भाषाको संरचनाले वास्तविकतालाई नियन्त्रण गर्छ । अर्थात्, हाम्रा वास्तविक अनुभव र अभिव्यक्तिको सीमितता भाषाको सीमिततासँग जोडिएका छन् । यसकारण जटिल शब्द र अवधारणामात्र होइन, झट्ट सुन्दा सामान्य लाग्ने शब्द वा अवधारणा व्याख्या गर्न पनि गार्‍हो हुनजान्छ ।

उदाहरणका लागि कुनै मानिसले ‘मेरो घरमा हल्का बैजनी रङ्गको टेबल छ’ भन्दा उसले बताएको रङ्गलाई हामीले कसरी बुझ्छौँ ? कस्तो रङ्गलाई बैजनी मान्ने भन्ने मापदण्ड के हो र यो मापदण्ड कसरी बन्छ ? त्यसपछि, कस्तो ‘शेड’को बैजनी रङ्ग हल्का बैजनी रङ्ग हुन्छ ? अर्को मानिसले फेरी भन्ला –‘आज मेरो पेट कटक्क दुखेको छ ।’ कटक्क दुखेको कस्तो अनुभव हो ? कति दुख्दा कटक्क दुखेको हुन्छ ? उसको कटक्क दुखाइलाई कसरी बुझ्ने ? त्यसैले, वास्तविक जीवनमा अभिव्यक्तिका धेरै अर्थहरू अपूर्ण हुन्छन् । भाषाको यो सीमितताको अर्थ वास्तविक प्रयोगलाई नहेरी बुझ्न सकिन्न ।

त्यसैगरी, Wittgenstein भन्दा अघिका दार्शनिकले शब्द र अर्थहरूको स्रोत अलौकिक र पूर्वनिर्धारित भएजस्तो गरेर व्याख्या गरे । उनीहरूका अनुसार दर्शनशास्त्रका समस्या र तिनको अनुसन्धानका स्रोत मानिसको मगज हो । यसमा मगज खियाउने दार्शनिक हुन् । यसलाई वास्ता नगर्ने र सामान्य जीवन बाँच्नेहरू सर्वसाधारण हुन् ।

यो मान्यतालाई Wittgenstein ले उल्टाइदिए । माथि PI को चर्चामा तेस्रो बुँदामा भनेझैं – Wittgenstein को विचारमा मानिसका अभिव्यक्तिले अर्थ पाउने उनीहरूका अभ्यास (practices) मार्फत् हो -भाषाको प्रयोग practices लाई अभिव्यक्त गर्न र साकार रूप दिन हो । त्यसैले, वास्तविक जीवनका अभ्यासहरूमा भाषाको प्रयोग नहेरी शब्दका अर्थहरू खोज्न सकिन्न ।

अब म लेखको लगभग अन्त्यतिर छु । लेख टुङ्ग्याउनुअघि २ कुरा ।

तपाईंको मनमा प्रश्न उठ्नसक्छ -यदि Wittgenstein ले दर्शनशास्त्रमा जटिल अवधारणाहरूको चर्चा असम्भव र अनुपयोगी ठान्थे भनें आफैंलेचाहिँ किन यसो गरे त ? उनको पहिलो पुस्तकको अन्तिम वाक्यमा आफैंले भनेझैं यी सबै प्रश्नमा मौन बस्न पनि सक्थे !

यो प्रश्नको जवाफ Wittgenstein ले आफैं आफ्नो पहिलो पुस्तकको अन्तिमभन्दा माथिको अनुच्छेदमा दिएका छन् । उनले भनेका छन् –

“विषयवस्तुलाई प्रस्ट पार्न मेरा कथन (propositions) ले सघाउने भनेको यसरी होः जसले मलाई बुझ्छ र मेरा बुझाइभन्दा माथि पुग्न ति कथनलाई भर्याङ्गका रूपमा प्रयोग गर्छ उसले सहजै पत्ता लगाउन सक्छ कि पुस्तकमा मैले प्रस्तुत गरेका कथनहरू निरर्थक छन् । त्यसैले, मेरा कथनभन्दा माथि पुगिसकेपछि भर्याङ्का रूपमा प्रयोग गरिएका यी कथनहरूलाई मिल्काइदिनु । संसार अझ राम्रोसँग बुझ्नलाई मेरा कथनहरूभन्दा माथि उठ्नु ।”

मभन्दा माथि पुगेपछि आफ्नो भर्याङ् मिल्काइदिनु भन्ने Wittgenstein को भनाई दर्शनशास्त्रमा Wittgenstein’s ladder भनेर प्रचलित छ ।

दर्शनशास्त्र Wittgenstein को रुचिको कुरा थियो, पेशाको होइन । उनी अस्ट्रियाका धनाड्य फलाम व्यापारीका छोरा थिए -केही स्रोतका अनुसार उनका बाबु अस्ट्रियाका दोस्रो धनी व्यक्ति थिए । उनका ३ दाजुहरूले आत्महत्या गरेका थिए -Wittgenstein को मनमा पनि केही समय आत्महत्याको चाहना आउने गरेको उनले बताएका थिए । पहिलो पुस्तक लेख्नुअघि आफ्ना बुवाबाट आर्जित गरेको सम्पत्ति आफ्ना नातेदारलाई बाँडिदिएर उनी नर्वेको सानो टापुमा गएर केही वर्ष बसेका थिए -जहाँ उनले आफ्नो पहिलो पुस्तक Tractatus तयार पारे । दोस्रो पुस्तक PI उनले आफ्नो जीवनको उत्तरार्धमा आयरल्याण्डको एउटा फार्महाउसमा बसेर लेखे जुन उनको चाहनाअनुरूप नै मृत्युपर्यन्त प्रकाशित भयो ।

पश्चिमा दर्शनशास्त्र समृद्ध र रोचक छ । यसमा विभिन्न दार्शनिकहरूको स्थान र योगदान ठूलो छ । उनीहरूले दिएका विचार रोचक र रमाइला छन् । तर, ति सबै प्रसिद्ध दार्शनिकलाई बुझ्न र उनीहरूको कामको व्याख्या गर्न सम्भव छैन । त्यसैले, मैले आफ्नो लेखका लागि Wittgenstein सहित ४ दार्शनिक छानेको छु । छनोटमा त्यस्ता दार्शनिकलाई राखेको छु जसले (मेरो विचारमा) दर्शनशास्त्रमा स्थापित मान्यता र परम्परालाई अस्विकार गरे, विचारको निरन्तरतामा यु-टर्न ल्याइदिए, 'रोमाञ्चक' जीवन बाँचे र 'रमाइला' कुरा गरे ।

समय क्रममा फ्रेन्च दार्शनिक Michel Foucault र अर्का फ्रेन्च Gilles Deleuze का योगदानको चर्चा गर्नेछु । तर, अर्को महिनाको लेख जर्मन दार्शनिक Friedrich Nietzsche का बारेमा हुनेछ ।



(नोटः यो लेख पूर्वस्विकृतिबिना कुनै साइटमा प्रकाशित नगर्नुहुन विनम्र अनुरोध छ ।)


[1] अंग्रेजीको absurd शब्दलाई व्याख्या गर्न यी तीन शब्दको सहारा लिएको छु ।

Friday, May 15, 2020

परराष्ट्रमन्त्रीलाई खूला चिठी


माननीय परराष्ट्रमन्त्रीज्यू,

यदाकदा मानिसहरूले ठूला नेता, प्रशासकलाई ‘खूला चिठी’ लेखेको देखेको छु। आजसम्म मैले यस्तो केही लेखेको छैन। यो शैलीमा खासै रुची पनि छैन। तर, आज आफैं यस्तो लेख्दैछु। तपाईंको नाममा।

चिठीको बेहोरा यस्तो छः

Tuesday, February 4, 2020

अन्तर्राष्ट्रिय विमानस्थलको अर्थ राजनीति

बितेका दुई साता प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा निकै ठूलो बहस भयो । रामेश कोइरालाले प्रशस्त मेहनत गरेर तथ्य र तथ्याङ्कहरूसहित प्रस्तावित विमानस्थल परियोजनासँग जोडिएका कतिपय अनुत्तरित प्रश्नहरूको विवेचना गर्नुभयो । सेतोपाटीमा प्रकाशित उहाँका लेखहरूले निजगढ विमानस्थलका विषयमा छलफल गर्नैपर्ने प्राविधिक, आर्थिक र राजनीतिक पक्षहरूको विस्तृत चर्चा गरेका छन् ।

Sunday, January 26, 2020

निर्विकल्प कोही छैन


१.
मतदाताले कसलाई मत दिन्छु वा दिएँ भन्ने गोप्य राख्न पाउने हक लोकतन्त्रको विशेषता हो । गोप्य मतदानको अभिप्राय नागरिकको सार्वभौमिकतासँग जोडिएको छ । औपचारिक रूपमा राजनीतिक पार्टीको सदस्यता लिने, पार्टी विशेषको चुनाव प्रचार-प्रसारमा लाग्ने वा उमेदवार बन्ने मानिसबाहेक अन्य मानिसको हकमा कसले कसलाई मत दियो वा को कुन पार्टीको समर्थक-सुभेच्छुक हो भन्ने विषयमा गरिने चर्चाको औचित्य हुँदैन, र हुनु पनि हुँदैन ।