भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनले नेपालका कमजोरी (भल्नरेबिलिटी)लाई उदाङ्गो बनाइदिएको मात्र छैन, भल्नरेबलिटीलाई बढाइदिएको छ । मलाई लाग्छ वर्तमान नेपालको जटिल राजनीतिक संकटलाई प्रभावकारी रूपमा निरुपण गर्न चाहिने क्षमता नेपाली समाजसँग छैन । एउटा झिनो आशा के भने भल्नरेबिलिटीलाई राम्रोसँग बुझ्न सके जसोतसो देश र समाजको प्राण बचाउन सकिनेछ । अन्यथा, नेपाल भयानक हिंसात्मक द्वन्द्वमा फस्ने खतरा छ ।
आजको लेखाइ मेरा ब्लगका नियमित पाठकका लागि मात्र । लेखको सुरुआतमा जेनजी विद्रोहका बारेमा हाल भइरहेका टिकाटिप्पणीमाथि आफ्ना दृष्टिकोण राख्नेछु । दोस्रो खण्डमा राज्यको क्षयीकरण, सोसल मिडियाको दुरुपयोग र नागरिक-राज्यबिचको सम्बन्धबारे छोटो चर्चा गर्नेछु ।
जेनजी विद्रोहबारे अहिले भइरहेका टिकाटिप्पणीहरूलाई दुई धारमा प्रस्तुत गर्न सकिन्छ । पहिलो धारले भन्छ -जेनजी विद्रोह युवाहरूको असन्तुष्टिको इमानदार अभिव्यक्ति थियो । दोस्रो धार भन्छ -जेनजी विद्रोह अदृश्य शक्तिहरूको उक्साहटमा भएको हिंसात्मक गतिविधि थियो ।
मलाई लाग्छ यी दुवै धारमा केही सत्यता छन् र केही सीमितता पनि ।
जेनजी विद्रोह वास्तवमा युवाहरूको असन्तुष्टिको अभिव्यक्ति थियो । यसले देशभरिका मानिसबाट पाएको सहानुभूतिलाई अवमूल्यन गर्नु मुर्खताबाहेक केही होइन । नेपालको अर्थतन्त्र र सार्वजनिक सेवा प्रवाहको अवस्था संसारको दाँजोमा यति कमजोर भएका थिए र भ्रष्टाचार यति धेरै झाँगिएको थियो कि समग्र वातावरण निस्सासिँदो बनेको थियो । आम जनताको असन्तुष्टि चुलिएको थियो । नेपाल ‘टिपिङ् पोइन्ट’मा थियो । त्यसैले, जेनजी आन्दोलन वा विद्रोह अस्वभाविक थिएन । अस्वभाविक उनीहरूमाथि सरकारबाट भएको नृशंस दमन थियो ।
तर, यसले मात्र जेनजी आन्दोलनका सबै पक्षलाई लाई व्याख्या गर्दैन ।
आम मानिसको
मनोभावनालाई आफ्नो पक्षमा पार्न केही व्यक्ति र संगठनले केही समयदेखि सोसल मिडियामा संगठित अभियान
चलाएका छन् । यस्ता अभियानका संरक्षक तथा यसमा उपयोग भएको आर्थिक स्रोतबारे हाम्रो
जानकारी सीमित छ । काठमाडौँका मेयर बालेन शाह र व्यापारी भनेर चिनिएका दुर्गा
प्रसाईंका सुनियोजित र विशिष्ट अभियान केही उदाहरण हुन् जसले नेपालको सामाजिक सञ्जाललाई कन्टेन्ट र डिरेक्शन
दुवै दिएका छन् । सार्वजनिक रूपमा कम बोल्ने तर सोसल मिडियामा सुनियोजित अभियान चलाउने काठमाडौँका मेयर बालेन शाह केन्द्रिकृत, सर्वसत्तावादी, ‘प्राविधिक’ राज्य संरचना स्थापना गर्ने लक्षमा काम गरिरहेको अनुमान गर्न सकिन्छ । दुर्गा प्रसाईंको अभियान ज्ञानेन्द्र शाहलाई
राजा बनाएर गद्दीमा फर्काउने र नेपाललाई फेरी धार्मिक राष्ट्र बनाउने घोषित उद्देश्यबाट
सञ्चालित हुनसक्छ । यी दुवै अभियानका प्रशस्त अघोषित उद्देश्य भएको नकार्न सकिँदैन
-तर, यी अघोषित उद्देश्य प्रस्ट छैनन् ।
मलाई लाग्छ जेनजी आन्दोलनमा बालेन शाह र दुर्गा प्रसाईंका यी दुवै अभियानले ऊर्जा भरेका थिए । आन्दोलनमा सहभागी र उद्दण्ड गतिविधिमा संलग्न मानिसहरू प्रसाईं र शाहका प्रशंसक वा समर्थक नहुन सक्छन् । तर, उनीहरूका सोसल मिडिया क्याम्पेनले मानिसहरूलाई नजानिदो गरी उत्तेजित र आक्रामक बनाएको यथार्थ बिर्सन मिल्दैन ।
तर, के जेनजी आन्दोलनलाई विशुद्ध रूपमा सोसल मिडिया मानिपुलेशनमात्र भन्न मिल्छ ।
अवश्य मिल्दैन ! जसरी लेखको सुरुआतमा भनेको छु -ओली, देउवा, पुष्पकमल र उनीहरूका आसेपासेको अराजक तथा अनैतिक राजनीतिले सीमा नाघेको थियो । देशको हालत आन्तरिक रूपमा खराब थियो । मानिसहरू निराश थिए । विद्रोह कहिले र कसरी होला भन्न मात्र गार्हो थियो, तर हुनेमा कुनै शंका थिएन ।
जेनजी आन्दोलनको दोस्रो दिन जे भयो त्यो दुर्भाग्यपूर्ण थियो । यसले एउटा स्वाधिन राष्ट्रका रूपमा नेपालको भविष्यलाई अँध्यारो सुरुङमा धकेलिदिएको छ । त्यस दिन गलत मानिसहरूको संलग्नतामा गलत काम भएका छन् । देशको अरबौँको सम्पत्ति खरानी भएको छ । निर्दोष मानिसका जायजेथा नासिएका छन् । निजी सम्पत्तिको रक्षा गर्ने जिम्मेवारीमा राज्य नराम्रोसँग चुकेको छ । यसले राज्यप्रतिको मानिसको भरोसालाई धरापमा पारेको छ । निजी क्षेत्रको लगानीको सम्भावना घटाएको छ । क्षति भएको सम्पत्तिको परिपूरण गर्ने बोझ पनि नेपालको अर्थतन्त्रले धान्न सक्नेभन्दा गर्हौँ छ ।
दोस्रो दिनको हिंसा र आगजनीमा संलग्न व्यक्ति वा समूहमाथि छानविन तथा कारवाही हुनुपर्छ । तर, यसलाई जेनजी आन्दोलनसँग जोडेर समग्र आन्दोलनलाई अपराधीकरण गर्ने दृष्टिकोणले अहिलेको सङ्कट समाधान गर्न कुनै सहयोग गर्ने छैन ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र हिंसा दर्जनौं युवाको नृशंस हत्याको आडमा सम्भव भएको हो । आम जनताका कठिनाइ, गुनासाप्रति कुनै चासो नराख्ने अकर्मण्य केपी ओलीको शासनमा दर्जनौँ युवाले प्रहरीको गोलीबाट ज्यान गुमाउनुपर्ने अवस्था आम मानिसलाई आक्रोशित र अराजक बनाउन काफी थियो । अनुसन्धान तथा छानविनको उद्देश्य यस्तो आक्रोशबाट फाइदा उठाउने अपराधिक तत्वहरूमाथि केन्द्रित हुनुपर्छ -जेनजी आन्दोलनको औचित्यमाथि होइन ।
जेनजी आन्दोनको सन्दर्भपछि कुरा गरौँ वर्तमान नेपालका केही भल्नरेबिलिटी बारे ।
नेपाली राज्यको क्षयीकरण वर्तमान नेपालको एउटा ठुलो चुनौति हो ।
विगत दुई दशकयता दलतन्त्र हावी हुँदा राज्यका सबै संस्था कमजोर र निकम्मा भएका छन् । वायुसेवा निगमदेखि नेपाल प्रहरीसम्म, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सर्वोच्च अदालतसम्म, नेपाली सेनादेखि ‘अनुसन्धान’ (जासुसी) निकायसम्म । प्रभावकारी सेवा प्रवाहको त कुरा छौडौँ अपराध र हिंसात्मक गतिविधिबारे अग्रिम सूचना संकलन गर्न र यसलाई रोक्ने रणनीति बनाउनसमेत नेपालको राज्यसंयन्त्र सक्षम छैन । आम नागरिकको जिउज्यान र उनीहरूको सम्पत्तिको सुरक्षा गर्न राज्य असफल रहेको जेनजी आन्दोलनले प्रस्ट पारेको छ ।
यो असफलताको जिम्मेवार को-को हुन् ? प्रस्ट रूपमा तिनै हुन् जसले दुई दशकदेखि आलोपालो देश चलाउने जिम्मेवारी लिएका छन् ।
राज्यको क्षयीकरणसँगै बिर्सन नहुने आम जनताको बौद्धिक क्षयीकरण हो । यो समस्या राज्यका संस्थाहरूको क्षयीकरणभन्दा ठुलो र विकराल हो भन्ने मलाई लाग्छ ।
समग्र देशलाई निश्चित मापदण्डका आधारमा व्याख्या गर्न सम्भव छैन । सामाजिक प्रवृत्तिलाई सामान्यीकरण गर्नु पनि उचित र व्यवहारिक होइन । तर, आजको सामाजिक-सांस्कृतिक अवस्थालाई नजिकबाट हेर्दा केही अवस्था आम प्रवृत्तिका रूपमा प्रकट हुन्छन् ।
एउटा प्रवृत्ति के छ भने सोसल मिडिया (विशेषगरी युट्युव, इन्स्टाग्राम, फेसबुक र टिकटक)ले मानिसलाई समान रूपमा मुर्ख हुन सहज वातावरण बनाइदिएका छन् । सोसल मिडियाका गलत र हचुवा कन्टेन्टलाई आधार मानेर विचार बनाउनेहरूको जमातमा औपचारिक पढाइलेखाइ नभएका मानिसहरू मात्र छैनन्, प्रशस्त पढेलेखेका र समाजमा मानसम्मान पाएका मानिस पनि छन् । सोसल मिडियाले मानिहरूलाई बौद्धिक रूपमा कमजोर बनाएकाले यथार्थपरक सूचना तथा छलफलको स्पेश लोप भएर गएको छ ।
कामको सिलसिलामा र व्यक्तिगत कारणले यात्रा गर्दा नेपाल बाहिरका शहरहरूमा नेपालीहरूसँग बेलाबेलामा भेटघाट र कुराकानी हुन्छ । उनीहरूका कुरा सुन्दा मलाई के लाग्छ भने उनीहरूमध्ये धेरैजसो स्थापित वा मुलधारे स्रोतलाई सुचना र जानकारीको माध्यम बनाउँदैनन् । नेपालका घटनाहरूका बारेमा जानकारी लिने उनीहरूका स्रोत सोसल मिडिया (विशेष गरी युट्युव र फेसबुक)का कन्टेन्ट हुन् । विदेशमा बस्ने नेपालीमाझ मात्र नभएर नेपालभित्रको आम विचार निर्माणमा पनि सोसल मिडियाका कन्टेन्ट र फिडहरूको योगदान ठुलो छ भन्ने मेरो अनुमान हो ।
मूलधारे सञ्चारमाध्यम सधैं निष्पक्ष र तथ्यपरक हुन्छन् भन्ने होइन, तर तिनीहरूमा सूचनालाई प्रमाणीकरण गर्ने निश्चित प्रणाली हुन्छ । तिनीहरू निश्चित मूल्यमान्यता र परम्पराका आधारमा चलेका हुन्छन् । युट्युव, टिकटक र फेसबुकमा कन्टेन्ट बनाउने 'क्रिएटर'ले आफूले प्रस्तुत गरेको सूचना वा विश्लेषणका लागि जिम्मेवार हुनुपर्दैन -तर मूलधारे मिडियाले यो जिम्मेवारीको ख्याल राख्नुपर्छ । त्यसैले, मूलधारे मिडिया जतिसुकै पक्षपाती भए पनि सोसल मिडियाका तुलनामा सूचनाप्रवाहमा बढी तथ्यपरक हुन्छन् ।
कर्पोरेट कम्पनीले बनाएका लाइक र सब्स्क्राइबमा आधारित आय आर्जनका नियमबाट निर्देशित सोसल मिडिया कन्टेन्टका लागि सूचनाको सत्यता भेरिभाइ गर्ने वा समाज वा राष्ट्रप्रति जिम्मेवार हुनुपर्ने दायित्व हुँदैन । सूचना वा विश्लेषण प्रस्तुत गर्ने युट्युव वा फेसबुकका स्रोतको उद्देश्य या त दुर्गा प्रसाईं वा बालेन शाहको जस्तो निश्चित लक्ष्यका लागि आम मनोविज्ञानलाई प्रभावित बनाउने हो या भ्यू र लाइक जम्मा पारेर पैसा कमाउने हो । यसले नेपालको विचार निर्माणको समग्र वातावरण नै प्रदुषित बनाएको छ ।
बुद्धि र विवेक भएका सीमित व्यक्तिहरू प्रदुषणबाट बच्न मौन बसेका छन् । सोसल मिडियामा विचारको स्पेश सौरभ, स्वागत नेपाल, सुरेन्द्र केसी, आशिका तामाङ् अनि बालेन शाह र दुर्गा प्रसाईंले चलाएका अनगिन्ती ट्रोल खताहरूले ओगटेका छन् ।
सोसल मिडिया नेपालको मात्र नभएर संसारकै ठुलो चुनौति बनेको छ । सोसल मिडियालाई मात्र दोष दिएर समाजको अन्तर्विरोधलाई बेवास्ता गर्न मिल्दैन । नेपाली समाजसँग जोडिएको एउटा अन्तर्विरोध -जसलाई म अर्को ठुलो चुनौति मान्छु -के हो भने नेपालमा नागरिक र राज्यका बारेमा स्पष्ट र सही दृष्टिकोण छैन ।
शासकलाई या देउता या राक्षस मान्ने प्रवृत्तिको उदाहरण काठमाडौँका मेयर बालेन शाह आफैँ हुन् । ठुला पार्टी र तिनका नेताहरूलाई खुला चुनौति दिएका कारण बालेन शाह नेपालभर यति लोकप्रिय बनेका छन् कि उनको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन नै सम्भव छैन । उनी मूल्याङ्कनहरूभन्दा माथि छन् । नेपालीहरू आज पनि फलानो राजाले फलानो बाटो बनाइदियो, फलाना नेताले आफ्नो जिल्लामा यति वटा पुल बनाइदियो भनेर जिवित र मुर्दा बनिसकेका शासकहरूको सभक्ति यसरी स्मरण गर्छन् कि यी सबै कुरा शासकले आफ्नो निजी सम्पत्तिबाट बनाइदिएका हुन् ।
प्रधानमन्त्री, मन्त्री, मेयर, मुख्य मन्त्री, सिडिओ, सचिव, न्यायधिश -सबै सार्वजनिक पद हुन् र ती पदमा बस्ने व्यक्ति निश्चित सर्तमा सार्वजनिक सम्पत्तिबाट तलबभत्ता खाएर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हुन् भन्ने सामान्य बुझाइ नेपालमा विकास भएको छैन । नागरिकहरू आफूलाई प्रजा र नेतालाई भगवान ठान्छन् । सडक, पुल, वृद्धभत्ता वा सित्तैमा पाएको भनिएको औषधि हामी नागरिककै पैसाबाट सम्भव भएको हो भन्ने बुझाइ आम मानिसमा छैन । यसको मौका बालेन शाह, केपी ओली वा प्रचण्ड-देउवाले उठाउने नै भए । उनीहरू सबैले आफूलाई 'सेभियर'का रूपमा प्रस्तुत गर्न कुनै कसर बाँकी राखेका छैनन् र राख्ने छैनन् । नेपाली समाज कुनै बेला केपी ओलीको प्रशंसामा मग्न थियो । आज बालेन र सुशीला कार्कीको भजन गाउनमा व्यस्त छ ।
सारांशमा, नेपाल आज आफूले सम्हाल्न नसक्ने सङ्कटको भूमरीमा फसेको छ । संकटबाट बाहिर निस्किने उपाय खोज्नका लागि सोसल मिडिया प्रयोग तगारो बनेको छ । नेपालको अर्को सिमितता शासकलाई देउता मान्ने प्रवृत्ति हो । नेपालमा आज भइरहेका सार्वजनिक बहसलाई नजिकबाट हेर्दा निकट भविष्यमा नेपालले संकटबाट बाहिर निस्किने सम्भावना म देख्दिन । सङ्कट थप गहिरिन भने सक्छ ।
No comments:
Post a Comment