Wednesday, February 21, 2024

बसिबियाँलोः नेपाल फर्किने कि नफर्किने ?

फेरी उही बेतुकका कुरा । तैपनि बसिबियाँलो गरौँ है !

पहिलो त मलाई यो प्रश्न नै सतप्रतिशत निरर्थक लाग्छ । किन भने -कुनै पनि मानिस आफूले अँगालेको पेशा, प्राप्त गरिरहेको गरिरहेको सुविधा (सुख होइन, सुविधा), पेशाको भविष्य र आफू सदस्य रहेको सञ्जाल छोडेर फगत आफ्नो देशको स्वार्थका लागि कुनै देशमा बस्ने वा त्यो देश छोड्ने निर्णय गर्दैन । यसो गर्छ भनेर आशा गर्नु नै मुर्खता हो ।

तर, नेपालमा धेरै कुरा दुर्लभ भए तापनि मुर्खता दुर्लभ छैन । न सार्वजनिक बहसमा सामेल हुने सर्वसाधारण मानिसमा मुर्खताको कमी छ, न त देश चलाउनेहरूमा ।

राजा महेन्द्रले पनि देशको स्वार्थका लागि आफ्नो स्वार्थ त्यागेर गाउँ फर्किन नेपाली जनतालाई आव्हान गरेका हुन् । शहरमा वा विदेशमा बस्ने मानिस आफ्नो सीप र पुँजी लिएर गाउँ जाउन् र गाउँलाई समृद्ध बनाउन् भन्ने उनको नारा थियो । गाउँ फर्क अभियानको प्रचार-प्रसार त प्रशस्त भयो -तर महेन्द्रको आव्हानलाई आत्मसात गर्दै कति मान्छे गाउँ फर्के त ?! यसबाट गाउँमा कस्तो समृद्धि आयो त ?!

महेन्द्रको गाउँफर्क अभीयानको अपार असफलता पछि पनि गाउँ, देश फर्किनुपर्छ भन्ने चिप्ला कुरा गर्नेहरूको सङ्ख्यामा कमी आएन । यसमा आजभोलि एउटा नयाँ प्रवृत्ति थप भएको छ -म देशको हितका लागि देश फर्केँ भनेर घोषणा गर्ने ।

मेरो कुरा त उही हो -कुन काम गर्ने, कुन देशमा बस्ने, कहिलेसम्म बस्ने र कहिले फर्किने भन्ने व्यक्तिको अनुकुलता वा रुचि कुरा हो । तर, यदि कसैले म देशकै लागि देश फर्केँ भन्छ भने चाहिँ यस्तो दाबीमा केही गडबड छ ।

एउटा सचेत, सक्षम र आफ्नो पेशामा सफल व्यक्तिले देश र नागरिकको सम्बन्धका विभिन्न आयामलाई गहिराइमा बुझेको हुन्छ । मानव हितका लागि असल काम जहाँ बसेर गरे पनि हुन्छ भन्ने कुरा बुझ्न त्यति गार्‍हो पनि छैन । यो सामान्य कुरा बुझेको व्यक्तिले केवल देशका लागि भनेर आफ्नो पेशा र भविष्य त्याग गर्दै गर्दैन ।

आफ्नो अध्ययन, पेशा, व्यवसाय, सञ्जाल सबै त्यागेर देशका लागि देश फर्किने मुर्ख हो । मुर्खहरू जहाँ बसे पनि जता फर्के पनि त्यसको अर्थ रहन्न ।

यसको अर्को पाटोलाई हेरौँ ।

देश भनेको के हो ? एउटा संस्था, वा परम्परा, निश्चित बुझाइ, साझा पहिचान । यी सबै कुरालाई ठोस जस्तो बनाउने तत्व हुन् निश्चित भूगोल, जनसङ्ख्या र केही औपचारिक संस्था । यी सबैको महत्त्व आफ्नो ठाउँमा छ -तर देशका जटिलता व्यक्तिको पहुँच र सम्भावनाभन्दा सधैँ माथि हुन्छन् । नेपाल देश अहिले जुन अवस्थामा छ त्यसलाई राम्रो बनाउन कुनै अमुक व्यक्ति वा व्यक्तिहरूको समूह देश फर्केर राम्रो काम गरेर मात्र सम्भव छैन ।

म देशलाई राम्रो बनाउन देश फर्किन्छु भन्ने सन्देशभित्रको अर्को समस्या के हो भने यसले देशभित्र देशलाई राम्रो बनाउन सक्षम मानिस नै छैनन् भन्ने आसय बोकेको छ । नेपालको अवस्था खराब भएको देशभित्र पर्याप्त असल वा सफल मानिस नभएर होइन -ता कि विदेश बस्नेले यसको अभाव पुर्ति गर्न आफ्नो कामधाम छोडेर देश फर्किनु परोस् ।

अब एउटा प्रोभोकेटिभ कुरा गरौँ ।

नेपालको समस्या के हो भने नेपाल न त सफल छ न असफल । ‘धिकिर धिकिर करैछी, मरैछी न जियैछी’को यो अवस्थामा देशलाई राखिरहने स्वार्थ समूह नेपालमा बलियो छ । कुशासन, भ्रष्टाचार र सारा बेथिति निश्चित स्वार्थ समूहको संरक्षणमा भइरहेको छ । यही अवस्थामा टिकीरहँदा नेपालको भविष्य दशकौँसम्म यस्तै रहन सक्छ । त्यसैले, नेपालको अवस्था योभन्दा खराब हुन जरुरी छ, ता कि सुधारका ठोस सम्भावनाको खोजी र उपयोग हुन सकोस् ।

जुन देशले सवारी चालकको प्रमाणपत्र छापेर निवेदकलाई बाँड्न सक्दैन, १३ महिनामा बनाउनुपर्ने पुल ७ वर्षसम्म बनाउन सक्दैन, हरेक महत्त्वपूर्ण ओहोदामा पदाधिकारी नियुक्ति गर्दा जसलाई नियुक्ति दिने हो उसबाट रकम असुल्छ, मध्यपूर्वका पेट्रो-डलरबाट धनी भएका क्रुर तानाशाहसँग आफ्ना नागरिकलाई श्रमिक बनाइदेऊ भनेर गुहार माग्छ त्यस्तो देश र यस्तै मानसिकतालाई बलियो बनाउन आवश्यक छैन । यसलाई त भत्काउन पर्ने हो ।

अब एउटा अन्तिम तर्क ।

नेपाल राम्रो बनाउन के गर्नुपर्छ भन्ने कुरा प्रस्ट छ । सुशासन, कानुनी शासन, आर्थिक नीतिमा आमूल सुधार, स्रोत र सम्पत्तिको पहुँचमा समानता, लोकतान्त्रिक विधि र पद्दतिको परिपालन ! यसो गर्न देशमा भएकालाई कसले रोकेको छ ? सबै कुरा थाहा भएर पनि देशको हितमा असल काम गर्न नसक्नेहरूले सिर्जना गरेका समस्या विदेशमा भएका मानिस फर्केर कसरी समाधान हुन्छ ?

राजनीति गरेर सांसद् बन्ने हो, मन्त्री बन्ने आश छ, कुनै देशको राजदूत वा कुनै अमूक कामरेड, दाइ वा भाउजुलाई पैसा ख्वाएर मालदार संस्थानको प्रबन्धकमा नियुक्ती पाउने सम्भावना र नैतिक चरित्र छ भने नेपाल फर्के भयो । आफ्नो पेशा, सीप, परीश्रम र सम्भावनालाई सम्मान गर्नेले देश बनाउन देश फर्किने कुरा बिल्कुल वाहियात नै हो ।

कुनै मानिस नेपाल बनाउन कै लागि नेपाल फर्केको छ भने मलाई त्यस्तो मानिससँग सकेसम्म सङ्गत गर्नु नपरोस् !

Monday, February 12, 2024

मान्छेको उद्देश्य सत्यको खोजी गर्नु होइन भनी बताउने किताब

 मानिस यस्तो प्राणी हो जो आफ्ना इन्द्रिय र विकसित मस्तिष्कको प्रयोगबाट यथार्थसम्म पुग्न सक्छ।” यो वा यस्तै कुरा त हामी धेरै सुनिरहेका हुन्छौं। तर, जीव विज्ञान र मानिसको मनोवैज्ञानिक चरित्रका विशेषतालाई आधार मान्दा यस्तो तर्क कतिको चित्तबुझ्दो छ त ?

मैले हालसालै पढिसिध्याएको एउटा पुस्तक ‘द केस अगेन्स्ट रिआलिटी’ का लेखक डोनल्ड होफमन भन्छन्- मानिससँग यथार्थ पत्ता लगाउने क्षमता हुन्छ भन्ने कुरा बिल्कुल गलत हो।

होफमनको रोचक पुस्तकमा समेटिएका उनका केही तर्कलाई साङ्गोपाङ्ग यहाँ प्रस्तुत गर्नेछु।

एउटा उदाहरणबाट सुरु गरौं- तपाईंको अगाडि एउटा टेबल छ। टेबलमाथि टमाटर छ। जुन बेला तपाईं टमाटर हेरिरहेको हुनुहुन्छ त्यसबेलासम्म टेबलमा टमाटर हुन्छ। तर, जब तपाईं अर्कोतिर हेर्नुहुन्छ- के त्यो टमाटर त्यसबेला पनि टेबलमाथि नै हुन्छ त ?

तपाईं (वा मलाई) लाग्ला टमाटर हामीले हेरिरहे पनि वा नहेरे पनि टेबलमाथि नै हुन्छ। तर, होफमनको विचारमा हामीले नहेरेको बेला पनि टेबलमाथि टमाटर उही अवस्थामा रहिरहन्छ भनेर ठोकुवा गर्ने हामीसँग कुनै आधार हुन्न।

संसारको कुनै पनि वस्तु र अवस्था त्यसबेलासम्म अस्तित्वमा हुन्छ जुन बेला हामी त्यसलाई अनुभव गरिरहेका हुन्छौं। हाम्रो अनुभव बाहिर कुनै पनि कुरा एउटा निश्चित अवस्थामा छ भन्ने बुझाइ केवल हाम्रो विश्वास मात्र हो। अर्थात्, संसार अर्थपूर्ण हुने हाम्रो अनुभवभित्र मात्र हो, हाम्रा अनुभवहरू सत्यप्रिय (Veridical) हुन्नन्।

यस्तो अनुभवको आधारचाहिं के हो त ? होफमनले प्रस्तुत गरेको यस प्रश्नको जवाफ भने निकै रोचक छ। उनको विचारमा मानिससँग यथार्थ पत्ता लगाउने वा त्यसका आधारमा निर्णय लिने क्षमता हुन्न।

तपाईंको बगैंचामा फुलेको फूल, आकाशमा उडिरहेको चरा, घर अगाडिको रूख सबै तपाईंले निर्माण गरेका धारणा हुन्। तिनीहरूको रूप, रङ्ग, आकार, अवस्थाका बारेमा तपाईंको धारणासँग फूल, चरा वा रूखको कुनै साइनो छैन। उदाहरणका लागि रुख हाम्रा लागि रुखका रूपमा अर्थपूर्ण हुनका लागि १३० मिलियनभन्दा बढी फोटोरिसेप्टरहरू मार्फत आँखाको प्रकाश प्रशोधन गर्ने क्षमता र त्यस्तै करोडौं न्युरोनहरू मार्फत चित्रलाई निश्चित अर्थ दिने मस्तिष्कको भूमिका हुन्छ। यो सब प्रक्रियामा रूखको भूमिका हुँदैन।

अब प्रश्न उठ्छ- के प्रकाश प्रशोधन गर्ने आँखा र त्यहाँ बनेको तस्वीरलाई अर्थपूर्ण बनाउने मस्तिष्कको भूमिका मानिसले प्रकृतिबाट प्राप्त गरेका विशिष्ट जैविक क्षमता हुन् ? होफमनका विचारमा, होइनन्। उनी भन्छन्- यथार्थसम्म पुग्ने क्षमताका आधारमा मानिसको जैविक विकास भएकै होइन।

मानिसले संसारसँग अन्तरक्रिया गर्ने र यस क्रममा संसारको अर्थ लगाउने कुराको सार जैविक निरन्तरतासँग जोडिएको छ- यथार्थसँग होइन। हामी प्रकृतिमा रहेका कुनै पनि वस्तु र अवस्थालाई बुझ्दा यसबाट कसरी आफ्नो जैविक आवश्यकता पूरा गर्ने वा आफूलाई सुरक्षित राख्ने भन्ने प्रश्नबाट निर्देशित भएका हुन्छौं। सत्य वा यथार्थ के हो भन्ने कुरा मानिसको जैविक चरित्रका लागि महत्त्वपूर्ण होइन।

इन्द्रिय वा मस्तिष्कको प्रयोगले हामीले निर्माण गर्ने अनुभव गलत र अस्थिर भएका प्रशस्त उदाहरण छन्।

होफमनले दिएको एउटा उदाहरण हो पश्चिमी अस्ट्रेलियामा पाइने जुल बिटल नामका कीरा र बियरका रित्ता बोतलसँग तिनीहरूको सम्भोग।

पश्चिमी अस्ट्रेलियाका निर्जन ठाउँहरूमा यात्रा गर्ने मानिसहरूले बियर पिएर जथाभावी फाल्ने काँचका रित्ता बोतलले कुनै बेला एउटा अनौठो समस्या सिर्जना गरे। पोथीको खोजीमा भौंतारिने जुल कीरा काँचका ती रित्ता बोतलसँग आकर्षित भए, र सम्भोग गर्न थाले। ती कीराको कमजोरीबाट लाभान्वित बने स्थानीय विशेष प्रजातिका कमिला। कमिलाले सम्भोगमा लीन जुल कीरालाई आफ्नो आहारा बनाए जसका कारण जुल कीराको तीव्र रूपमा विनाश हुन थाल्यो। यसको पत्तो पाएर स्थानीय सरकारले जथाभावी बियरका बोतल फ्याक्न प्रतिबन्ध लगाउनु पर्‍यो र जुल बिटल पूर्णरूपमा विनाश हुनबाट जोगिए।

प्रचलित बुझाइलाई हेर्ने हो भने जुल कीराका भालेले पोथी कीरा सहजै चिन्नुपर्ने हो। भाले र पोथीले एकअर्कालाई चिन्ने र प्रजनन् गर्ने क्षमता हरेक प्रजातिको विकासको आधारभूत क्षमता हो। तर, हरेक प्रजाति आफ्नो विशिष्ट क्षमताका कारणले अस्तित्वमा रहेको हुन्छ भन्ने जीव विकासको मान्यतालाई जुल कीराको उदाहरणले गलत प्रमाणित गर्छ।

जुल कीराको उदाहरणलाई होफमनले सशक्त रूपमा प्रस्तुत गरेका छन्। हामीले यथार्थ भनेर बुझ्ने गरेका कुरा कसरी हाम्रा अनुभूति मात्र हुन् भन्ने तर्क सशक्त रूपमा प्रस्तुत गर्न उनले मानिसको दृष्टि, मस्तिष्क र जैविक विकाससँग जोडिएका विभिन्न विशेषताको विस्तृत विवरण पनि पुस्तकमा पेश गरेका छन्। होफमनले सम्भोग साथी छान्ने जुल कीराको उदाहरण दिए। तर, हाम्रा इन्द्रियले पैदा गरेका भ्रमहरूबारे जो–कोहीसँग प्रशस्त अनुभव छन्।

सन् २०१९ मा प्रकाशित ‘द केस अगेन्स्ट रिआलिटी’ नामको होफमनको पुस्तकको सहायक शीर्षक पनि निकै रोचक छ। यसले भन्छ– ‘जैविक विकासको प्रक्रियाले सत्यलाई कसरी हामीबाट लुकायो !’

क्यालिफोर्निया विश्वविद्यालय अर्भाइनका प्राध्यापक होफमन मानव चेतना र मस्तिष्कको जैविक विकासका घागडान अध्येता हुन्। उनले यस क्षेत्रका संसारका प्रसिद्ध चिन्तक र अध्येतासँग सङ्गत गरेका छन् र ‘द केस अगेन्स्ट रिआलिटी’मा पनि उनीहरूका योगदानका सबल र दुर्बल पक्ष केलाएका छन्। पुस्तक पढिरहँदा उनको लेखन शैली मात्र नभएर उनका तर्कहरूको रोमाञ्चकताले हर कोही पाठकलाई लोभ्याउने सामर्थ्य राख्छ जस्तो लाग्छ मलाई।

तर, यो लेख होफमनको पुस्तक ‘द केस अगेन्स्ट रिआलिटी’को रिभ्यु होइन। रिभ्युको विशेष संरचना हुन्छ- जसमा म दक्ष छैन। न त मलाई संरचनासँग विशेष आसक्ति नै छ।

होफमनको पुस्तक पढ्दै जाँदा मलाई खट्केको कुराचाहिं विज्ञानका विशुद्ध विधाका अध्येताहरू समाज विज्ञानका क्षेत्रमा विकास भएका थ्यौरीहरूसँग कतिसम्म अनभिज्ञ छन् (!) भन्ने हो।

क्लिफर्ड ग्योट्ज मानवशास्त्रमा मलाई विशेष मन पर्ने अध्येता र लेखक हुन्। उनले विकास गरेको अध्ययन विधा व्याख्यात्मक मानवशास्त्रका नामले मानवशास्त्रको क्षेत्रमा प्रसिद्ध छ। ग्योट्ज भन्छन्-मानिसको सोचाइ र व्यवहार जैविक विशेषताका आधारमा व्याख्या गर्न सकिन्न। मानिसका हरेक व्यवहारका प्रशस्त तह हुन्छन्। यी तहहरूको निर्माणमा उनीहरूको ‘स्वार्थ’ को भूमिका हुन्छ।

सन् १९७३ मा प्रकाशित उनको पुस्तक द इन्टरप्रेटेशन अफ कल्चर्स मानवशास्त्रका विद्यार्थीले छुटाउनै नहुने पुस्तकका रूपमा गनिन्छ।

ग्योट्जको विचारमा एउटा निश्चित सन्दर्भमा एउटा निश्चित व्यक्तिले केही कुरा भन्छ वा कुनै काम गर्छ भने उसले किन यसो गरिरहेको छ ? भनेर बुझ्न उसको सामाजिक-सांस्कृतिक जीवनका विभिन्न तह केलाउनुपर्ने हुनसक्छ।

एउटा उमेर युवक वा युवतीले एउटा आँखो झिम्क्याएको छ भने उसले सामान्य ठट्टा गरेको हुनसक्छ, विपरित लिङ्गीप्रति विशेष इशारा गरेको हुनसक्छ, कसैलाई गिज्याएको हुनसक्छ, कुनै नाटक गरेको अभ्यास हुनसक्छ। जबसम्म आँखा झिम्क्याइमा निहित उद्देश्यको गहिराइमा पुग्न सकिन्न तबसम्म यसको अर्थ बुझ्न सकिन्न। आँखा झिम्क्याइको गहिराइमा पुग्न सम्बन्धित संस्कृतिको बृहत् अध्ययन आवश्यक हुन्छ।

ग्योट्जले हाल इन्डोनेशियाको बाली प्रान्तमा गरिने भालेजुधाईको अत्यन्त रोचक मानवशास्त्रीय अध्ययन गरेका छन्। एकदिन गाउँ घुम्न निस्किँदा उनले भालेजुधाई भइरहेको देखे जसमा एउटा निकै ठूलो सङ्ख्यामा गाउँलेहरू मनोरञ्जन लिइरहेका थिए। एकैछिनमा प्रहरीको टोली आइपुग्यो जसपछि गाउँलेको भागदौड मच्चियो- ग्योट्ज पनि उनीहरूसँगै भागे। त्यो घटनाको क्षणिक त्रासदी ग्योट्जका लागि मानवशास्त्रीय अध्ययनको विषयवस्तुमा परिवर्तन भयो। उनले बालीको सामाजिक संरचना र त्यसमा भालेजुधाईको स्थानको विस्तृत अध्ययन त पेश गरे नै, यसका साथै भालेजुधाईका बारेमा बालीका व्याख्याका तहहरू पनि निकै रोचक ढङ्गले पेश गरेका छन्।

ग्योट्ज मलाई विशेष मन पर्ने मानवशास्त्री हुन्। यसको एउटा कारण के हुनसक्छ भने उनको कलम सशक्त छ। उनी मानवशास्त्र अध्ययन गर्नुअघि साहित्यका विद्यार्थी थिए।

मेरा लागि मानवशास्त्र मूलतः साहित्य हो- यस्तो साहित्य जसले एउटा निश्चित रुचि भएका मानिसलाई छुन सक्छ।

अब बिट मारौं।

होफमनले मानिस सत्यको आधारमा होइन, भ्रमका आधारमा बाँचिरहेको हुन्छ भन्ने तर्क जुन जोडबलका साथ प्रस्तुत गरेका छन् त्यस्तो तर्क जीवशास्त्रमा नयाँ भए पनि मानवशास्त्रमा नयाँ होइन। मानवशास्त्रमा त हामी भनिरहेका हुन्छौं- मानिस भनेको त्यस्तो प्राणी हो जोसँग जीवन र जगतबारे अनन्त र बृहत् व्याख्याहरू हुन्छन्। ती व्याख्या र सत्य (वा यथार्थ) बीच कुनै साइनो हुन्न।

सत्य, वास्तविकता, यथार्थको लफडाले संसारलाई आक्रान्त बनाएको छ। अहिलेको समाधानमुखी संसारमा समस्याहरू ओझेलमा परेका छन्। समस्याको यो खडेरीमा डोनाल्ड होफमनको पुस्तकले थोरै प्राणवायु सञ्चार गरेको छ।

मानिस सत्य र यथार्थको प्राकृतिक स्रोत होइन भनेर चाखलाग्दा तर्क प्रस्तुत गर्ने होफमनको पुस्तक ‘द केस अगेन्स्ट रिआलिटी’लाई सलाम !


(अनलाइनखबरमा पुस २७, २०८० मा प्रकाशित)

पाकिस्तान, इमरान खान र निर्वाचन

 पाकिस्तानमा बिहीबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचन मतपरिणाम लगभग आइसकेको छ।

अलजजिराका अनुसार कुल २६५ सिटमध्ये अब ९ सिटको मात्र परिणाम आउन बाँकी छ।

यो निर्वाचन हुँदै गर्दा पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) पार्टीका अध्यक्ष समेत रहेका इमरान खान जेलमा छन्।

पिटिआईलाई पहिलेको चुनाव चिह्न नदिइएपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पाकिस्तानको राजनीति, निर्वाचन र त्यहाँ हुने कुनै पनि उतार-चढाव बुझ्न यसका केही अवस्थालाई बुझ्नुपर्ने हुन्छ।

पहिलो हो, यहाँको अर्थ-राजनीति।


धनाढ्य जमिनदार र उद्योगपतिको सानो समूहबाट शासित देश हो पाकिस्तान। मध्यम वर्गको अस्तित्व प्रस्ट रूपमा कमजोर देखिने पाकिस्तानका जनता कि त असाध्यै धनी छन्, कि असाध्यै गरिब।

राज्यका हरेक अंग र निकाय धनाढ्य भूमिपति वर्गको हित संरक्षण गर्ने उद्देश्यबाट निर्देशित छन्।

पाकिस्तानको भू-राजनीति पनि कम जटिल छैन।

मध्यपूर्व, दक्षिण एसिया र उत्तरको शक्तिशाली छिमेकी चीनबिच चेपिएको छ यो देश। यी तिनै क्षेत्रका उथलपुथलमा जानीनजानी पाकिस्तान मुछिएकै हुन्छ।

पाकिस्तानको तेस्रो जटिलता यहाँका चार प्रदेशहरूको विविधता र त्यसमा निहीत असमानता हो। सिन्ध, पञ्जाब, बलोचिस्तान र खेबर पख्तुन्ख्वा प्रदेशहरू भाषिक र सांस्कृतिक आधारमा मात्र पृथक छैनन् — तिनीहरूका आर्थिक-राजनीतिक र जनसांख्यिक हैसियत पनि फरक-फरक छन्। प्रशस्त विविधता र फरक अपेक्षाहरूबीच पाकिस्तान राष्ट्र निर्माणको बोझ पनि बोकिरहेकै छ।

पाकिस्तानलाई बुझ्न छुटाउनै नहुने अर्को अवस्था यसको औपनिवेशिक इतिहास र सन् १९४७ को भारतसँगको ‘पार्टीसन’ हो। बेलायतीले छोडेर गएका अपूरा मुद्दा मात्र नभएर उपनिवेशको नोकरशाही ढाँचाढर्रा, रंगभेदी सोच र विभेदकारी सामाजिक अवस्था पाकिस्तानका चरित्रसँग जोडिएका छन्। यसका अतिरिक्त भारतसँगको पृथकता पाकिस्तानको दुःखदायी यथार्थ र पहिचान दुबै हो।

पाकिस्तानको अर्को जटिल अवस्था राज्य र धर्मबीचको सम्बन्ध हो। अलग राष्ट्रका रूपमा स्थापना हुँदा पाकिस्तान उदारवादी र आधुनिक राष्ट्रका रूपमा अस्तित्व बनाउन उद्यत थियो। सन् १९७८ मा जिया-उल-हक सैनिक 'कू' बाट शासनसत्तामा स्थापित भएपछि उनले पाकिस्तानलाई इस्लामिक गणतन्त्र बनाउने अभियान चलाए। दस वर्षे उनको शासनकालमा सारिया कानुनले प्रधानता पायो। धर्मगुरूहरू समाज र राजनीतिमा हाबी भए। राज्यका सबै पद्धति र संरचनामा धर्मलाई आधार बनाइयो।

यी सबै अवस्थालाई निरन्तरता दिने र जटिल बनाउने अर्को अवस्था ‘संस्थापन’ भनेर चिनिने पाकिस्तानको सेना हो। सेना राजनीति, व्यापार, परराष्ट्र मामिला, धार्मिकता सबै क्षेत्रमा सशक्त रूपमा सक्रिय छ, र प्रश्न वा आलोचनाभन्दा माथि छ।

आजको पाकिस्तानमा गरिब र धनीबीच भीमकाय असमानता छ, चीनसँग लिएको भयंकर ठूलो ऋणको बोझ छ, अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको निर्भरता छ, धर्मका रक्षकहरूको प्रभाव छ र राष्ट्र निर्माणको चुनौती छ।

राजनीतिक रूपमा अस्थिर पाकिस्तानमा सन् २०१८ को आमचुनावका बेला एक नयाँ आशा र उत्साहको सञ्चार भयो।

इमरान खानले नेतृत्व गरेको पाकिस्तान तहेरिक-ए-इन्साफ (पिटिआई) ले ‘नयाँ पाकिस्तान’ बनाउने अभियान घोषणा गर्‍यो। गरिबी र महँगी घटाउने, कर प्रणाली सुधार गर्ने, अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको निर्भरता अन्त गर्ने, धार्मिक विद्यालयहरूलाई आधुनिकीकरण गर्ने र समग्र राजनीतिलाई गाँजेको भ्रष्टाचार र ‘सिफारिसवाद’ अन्त गर्ने इमरान खानको प्रतिबद्धतामा आमजनताले रूचि देखाए।

निर्वाचनमा बहुमत नपाए पनि अन्य दलसँगको सहमतिमा उनी सरकार बनाउन सफल भए र सहमतीय सरकारका प्रधानमन्त्री भए।

इमरान खान नयाँ ढंगको जनतामुखी राजनीति गर्ने लोकप्रिय नेताका रूपमा उदाए।

इमरान खानले ठम्याएका समस्या र उनका चुनावी प्रतिबद्धता सही भए पनि ती समस्याको समाधान त्यति सहज थिएन। यसका लागि सामाजिक-आर्थिक पुनर्संरचना आवश्यक थियो। इमरान खानले भूमिको असमानता अन्त गर्न, अर्थतन्त्रमा नीतिगत सुधारमार्फत रोजगारी सिर्जना गर्न, राज्यमा धर्मको प्रभाव कम गर्न र राजनीतिमा नागरिक सर्वोच्चता कायम गर्न आवश्यक पहलकदमी लिन सक्नुपर्थ्यो।

जुन देशमा चानचुन ४० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, कुल गार्हस्थ्य उत्पादनमा करको योगदान १० प्रतिशत छ र सेनाको बजेट वार्षिक बजेटको २० प्रतिशतभन्दा धेरै छ, त्यहाँका समस्या कति जटिल छन् भनेर सहजै अनुमान गर्न सकिन्छ।

चुनावी र्‍यालीमा भाषण गर्न जति सजिलो हुन्छ, राज्य वा अर्थतन्त्रको पुनर्संरचना त्यति सहज हुँदैन। यसका लागि ठूलो परिश्रम गर्न तयार हुनुपर्छ। आफ्ना नजिकका मानिस शत्रु बन्न सक्छन् र सत्ता धरापमा पर्न सक्छ।

नयाँ पाकिस्तान बनाउने नाराबाट चुनाव जितेका इमरान खान यसका लागि तयार भएनन्।

उनले पनि सजिलो बाटो नै रोजे।

सेनासँग राम्रो सम्बन्ध बनाए। नोकरशाहीकै कुरा सुने। धर्मगुरूहरूसँग असल सम्बन्ध बनाउनमा जोड दिए। भूमि वितरणमा विद्यमान असमानता अन्त गर्ने र आर्थिक संरचनामा सुधार गर्ने क्षेत्रमा कुनै काम भएनन्। अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको निर्भरता झन् बढ्यो। असमान र विभेदलाई बढावा दिने कर प्रणालीको नीतिगत परिवर्तन गर्ने प्रयासको थालनी समेत भएन। रोजगारीका अवसर बढेनन्। महँगीले आकाश छोयो । नोकरशाहीमा भ्रष्टाचार रोकिएन। पिटिआईका कार्यकर्ताको बोलबाला भने गाउँदेखि सहरसम्म बढेर गयो जसका कारण आममानिस नै त्रसित हुनुपर्ने अवस्था आयो।

आफ्नो व्यक्तित्वसँग जोडिएको पेशावरी चप्पल र रेब्यान चस्मामा सजिएर राजनीतिक र्‍यालीमा अरू दल र नेतालाई गाली गर्न मै इमरान खानको समय बढी खर्च भयो। चुनावका बेलाका उदारवादी र सुधारवादी नारा बिर्सिएर उनी एकाएक धर्मको महत्त्वका बारेमा उपदेश दिन थाले। बलात्कारका घटनामा महिलालाई नै दोषी देखाउने खालको उनको टिप्पणी सार्वजनिक भयो। मदरसालाई आधुनिकीकरण गर्ने आफ्नो पुरानो प्रतिबद्धता बिर्सिएर उनले विद्यालयहरूमा अंग्रेजी भाषाको ठाउँमा उर्दू पढाइ गर्नुपर्ने धारणा राखे।

प्रधानमन्त्रीका रूपमा उनको भूमिका अरूलाई सल्लाह र निर्देशन दिनमै सीमित भयो। जनताले ठूलो भरोसा गरेका लोकप्रिय नेता इमरान खान सत्ताको खेलमा पुराना नेताभन्दा कम भएनन्।

प्रधानमन्त्रीका रूपमा उनको प्रदर्शन कमजोर रहिरहेकै बेला कोभिड महामारी सुरू भयो र त्यसको केही समयपछि युक्रेनमाथि रूसको आक्रमण। यसबाट अर्थतन्त्र झन् चेपुवामा पर्‍यो। महँगी र बेरोजगारीले आकाश छोयो। इमरानको कार्यशैली र क्षमतामाथि प्रश्न ओइरिन थाले।

शासकीय सुधार र अर्थतन्त्र बलियो बनाउन इमरान खान असफल भएको मौका उनका राजनीतिक प्रतिद्वन्द्वीले छोड्ने कुरा थिएन। उनलाई २०२२ को अप्रिल महिनामा सत्ताबाट हटाइयो र पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शेबाज शरीफ पाकिस्तानका प्रधानमन्त्री भए।

पाकिस्तानको राजनीति प्रतिस्पर्धा, दुश्मनी र बदलाको भावबाट निर्देशित छ। एउटा सत्तामा हुँदा उसको प्रतिद्वन्द्वी मारिनुपर्ने वा जेलमा बस्नुपर्ने अवस्था छ। जुल्फिकर अलि भुट्टो, जिया-उल-हक, बेनाजिर भुट्टो मारिए। जो ज्यान जोगाउन सफल थिए, उनीहरूलाई अनेकन मुद्दा मामिलामा फसाइयो।

यही परम्परा इमरान खान सत्तामा हुँदा पनि दोहोरियो।

पूर्व प्रधानमन्त्री नवाज शरीफले बेलायतमा निर्वासनमा बस्नुपर्‍यो।

अहिले इमरान खान र उनकी श्रीमती बुस्रा बिबी पाकिस्तानी जेलमा छन्। यहाँका अदालतले उनीहरूमाथि एकपछि अर्को गर्दै दुई दशकभन्दा बढीको जेल सजाय तोकेका छन्।

यसैबीच पाकिस्तानमा गत बिहीबार आम निर्वाचन सम्पन्न भएको छ। यसबेला म पाकिस्तानबाहिर छु — तर निर्वाचनको रमिता सञ्चारमाध्यममार्फत निरन्तर पछ्याइरहेको छु।

दुश्मनी र बदलाको भावबाट ग्रसित पाकिस्तानको राजनीतिमा अहिले सत्तामा रहेका राजनीतिक शक्तिहरूले पिटिआईका उमेदवारलाई पार्टीका रूपमा निर्वाचनमा भाग लिनबाट वञ्चित गरे। उनीहरूलाई क्रिकेट ब्याट चुनाव चिह्नबाट चुनाव लड्न दिएनन्।

यसका बाबजुद यो लेख लेख्दासम्म पिटिआई सबभन्दा बढी १०० सिट जित्न सफल भएको छ, र उसले समर्थन गरेका स्वतन्त्र उमेदवारको संख्या प्रतिनिधि सभामा सबभन्दा बढी हुने निश्चित जस्तै छ।

चुनावी नतिजा हेर्दा के भन्न सकिन्छ भने — पार्टीका प्रतिनिधिका रूपमा चुनाव लड्न पाएको र क्रिकेट ब्याटको चुनाव चिह्न पनि पाएको भए पिटिआईले कमसे कम सहज बहुमत प्राप्त गर्ने थियो।

बाहिरबाट हेर्दा पाकिस्तानको राजनीति सहज देखिए पनि आन्तरिक रूपमा यसका जटिलता असंख्य छन्। तर यी जटिलताको समाधान भाषण र चिप्ला कुरा होइनन्। नयाँ ढंगको राजनीति गर्ने प्रतिबद्धता देखाउनेले यी जटिलताका विभिन्न पाटाहरूलाई बुझ्न र संरचनागत सुधारका लागि प्रयत्न गर्न सक्नुपर्छ। जसमा इमरान खान असफल रहे।

भविष्यमा कसको नेतृत्वमा र कसरी सरकार बन्छ हेर्न बाँकी छ।

यद्यपि, एउटा कुरा भने प्रस्ट छ — पाकिस्तानका आममतदाताले सत्तामा जरो गाढेर बसेका पुराना पार्टीको विकल्प खोजेका छन्। इमरान खानलाई एकपटक फेरि मौका दिन चाहेका छन्।


(सेतोपाटीमा माघ २७, २०८० मा प्रकाशित)

Thursday, February 8, 2024

पुराना बेइमान, नयाँ अनभिज्ञ

गएको वर्ष जुन महिनामा स्वतन्त्र पार्टीका बारेमा ब्लग लेखेको रहेछु । रवि लामिछानेले राजनीतिक पार्टी खोल्लान् र त्यसका बारेमा गन्थन्-मन्थन् गर्नुपर्ला भनेर २-३ वर्षअघिसम्म सोच्न पनि सकिन्थेन, जुन आज यथार्थ भएको छ । आफैँलाई पनि विश्वास लाग्दैन कि म यही विषयमा दोस्रो पटक ब्लग लेख्दैछु ।

मलाई थाह छ यो मेरो बेबकुफी हो -सानो सन्तोषको कुरा के भने बेबकुफी स्वयंमा अपराध होइन ।

रमिताको कहिलै कमी नहुने देशमा पाँच-सात वर्ष पहिले निकै ठूलो रमिता भयो । एकजना अमेरिकावासी नेपाली पूर्व-पत्रकारले अनवरत २४ घण्टा अन्तर्वार्ता लिएर गिनिज बुकमा नाम लेखाउने भए । उनका लागि विशेष स्टुडियो बन्यो । स्टुडियोको भित्तामा ब्यानर थियो –“बुद्ध वज बर्न इन नेपाल !” यो म्याराथन इन्टर्भ्यूको महारमितामा नेपालका गन्यमान्य छोटेमोटेदेखि बडेसम्मका गन्यमान्यको लाइन लाग्यो । अनवरत अन्तर्वार्ता सम्पन्न भयो । गिनिजमा सम्भववत नाम लेखियो र बुद्ध नेपालमा जन्मेको कुरा भारतले चाल पनि पायो ।

त्यसको केही समयपछि तिनै पूर्व-पत्रकार रवि लामिछाने फेरी नेपाल फर्के । यसपटकको फर्काई नेपाल मै बसेर पत्रकारिता गर्ने उद्देश्यमा केन्द्रीत थियो । मैले बुझेअनुसार पत्रकारिता केवल पत्रकारिता थिएन । भ्रष्टाचारी, दुराचारी, व्यभिचारी आदिको पर्दाफास गर्ने थियो । पत्रकार आफैँ जनताका मुद्दा छान्थे, आफैँ दोषी पत्ता लगाउँथे, अन्याय भएका र दोषि लुकेका ठाउँमा आफैँ पुग्थे र अभियुक्तलाई आफैँ कारवाही पनि गर्थे ।

त्यसपछि वागमती नदिमा धेरै पानी बग्यो । जननायक पत्रकारले पार्टी खोले, जनताले विश्वास गरे । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी एउटा बलियो जनमतसहित संसद्‍मा छ । आउने चुनावमा त बहुमत नै ल्याएर सरकार बनाउने दाउमा छ ।

नेपालमा पुराना र ठुला भनेर चिनिएका पार्टीले देखाएका रमिताको कुरा गरेर साध्य छैन । तिनीहरूले लाजसरमका सबै मानकको धज्जी उडाएका छन् । त्यसबाट आजित आम मानिस आफूले ढाडमा बोकेको पुराना पार्टीको कुहिएको भारी कसरी बिसाउन सकिएला भनेर चिन्तित छन् । मानिसका मनमा एउटा चल्तापुर्जा, इमानदार, टिलिक्क टल्केको नयाँ पार्टी भए त खास्सा हुन्थ्यो भन्ने छ । ठुला-पुराना पार्टीको यही दिगमिग मेटाउन टक्क आइपुगेको छ स्वतन्त्र पार्टी ।

अर्थात् -ठुँस्स गनाउने आधा कुहिएको चामलको भात र उस्तै ननिको गुन्द्रुकको तिहुनको बिकल्पमा अब हामीसँग छ चिकेनको स्वादमा, लसुनको तेलको स्यासे सहितको तैयारी चाउचाउ -त्यो पनि बाइ वन गेट वन फ्रि जस्तो लोभलाग्दो अफरमा ! राष्ट्रिय स्वतन्त्र पार्टी ।

उसबेला रबिन्द्र मिश्रका बारेमा धेरै ब्लग लेखेँ । साझा र विवेकशिल पार्टी गठन गर्दा, फुटाउँदा, फेरि जोड्दा उनको फुर्तीफार्ती लर्तरो थिएन । त्यसबेला यस्तो लाग्थ्यो कि नेपालको भविष्य भनेको रबिन्द्र मिश्र नै हुन् । तिनै मिश्र अहिले युपी बिहारतिरको डिस्टिलरीले बनाएको तेस्रो दर्जाको ह्विस्कीमा मिसाएको बरफको डल्लो जस्तो पग्लेर न रक्सी न पानी जस्तो भए । उनको राजनीतिका बारेमा माथापच्ची मेरो समयको दुरुपयोग थियो । तर, समस्या उनको होइन, मेरै हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत रबिन्द्र मिश्रको जस्तो नहुन सक्छ । चौरासी सालको चुनावमा स्वतन्त्र पार्टीको बहुमत नै आउन सक्छ । विद्वान स्वर्णीम वाग्लेले विपी कोइरालासँग तुलना गरेका रवि लामिछाने वास्तवमै प्रधानमन्त्री बन्नसक्छन् ।

राजनीतिमा, र त्यसमाथि दक्षीण एसियाको राजनीतिमा अचम्म मान्नुपर्ने कुनै कुरा छैन । केपी ओली वा पुष्पकमल दाहाल नेपालका प्रधानमन्त्री होलान् भनेर २० वर्षअघि कसले कल्पना गर्न सक्थ्यो ? गोकुल बास्कोटा सञ्चारमन्त्री र सरकारका प्रवक्ता भएर दिनै पिच्छे सारा देशलाई अर्ति उपदेश दिएको र ज्ञानेन्द्रका मन्त्री टङ्क ढकालले राजनीतिक पार्टीको उछितो काढेको पनि देखेकै हो । अनिल केशरी शाहलाई संघीय सरकारको मन्त्रीका रूपमा पाउने भाग्य नेपालीले जन्मदेखि लिएर आएको रहेछ भने कसको के लाग्छ ?! आखिर उनी पनि कम प्रतिभाशाली होइनन् ।

घघडान बैंकर । सफल, प्रसिद्ध । यति प्रसिद्ध कि उनको व्यक्तित्व ‘कल्ट’ बनेको छ । यो कल्टको प्रभाव र प्रवाहलाई मध्यनजर राख्दै उनले केही वर्षपहिले आफ्ना सहकर्मीसँग एउटा फोटो खिचाएका छन् । त्यो सामुहिक फोटोमा बैंकका सबै कर्मचारी उनै सिइओको फोटोको मुखुन्डो लगाएर उभिएका छन् । सिइओमात्र बिचमा विशेष हाउभाउसहित खडा छन्  र उनी मात्र मुखुण्डोबिहिन छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजनीतिक प्रशिक्षक हुन् उनी । अर्थात्, राष्ट्रिय स्वतन्त्र पार्टीका त्यस्ता सदस्य जसले आम जनताका आवश्यकतालाई कसरी सम्बोधन गर्ने भनेर राजनीतिक विचार बनाउने र त्यसमा पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने जिम्मेवारी बोकेका छन् ।

उनी गृह वा परराष्ट्रमन्त्री बन्नु अस्वाभाविक होइन । आखिर अहिलेका मन्त्रीको पनि हविगत सबैलाई थाहा छ । अहिलेका परराष्ट्र मन्त्रीलाई नै हेरौँ न ! सरकारको काममा आधा र श्रीमतीले सम्हालेको विश्व हिन्दु परिषद्‍को काममा आधा व्यस्त छन् । उनको कुर्सी बैंकरको हातमा पर्दा आश्चार्य मान्नुपर्ने कुनै कुरा छैन ।

एकपटक, कुनैबेला बाबुराम भट्टराई नेपालका प्रधानमन्त्री बन्न सफल भए । सादगी, सदाचारी, भ्रष्टाचारविरोधी, विद्वान प्रधानमन्त्रीले तुरुन्त घोषणा गरे –‘म विदेशी गाडी चढ्दिन ।’ मुस्ताङ् गाडीमा गोरखा गएका भट्टराईको लोकप्रियताले आकाश छोयो । नेपालका दुःखका दिन सकिएको भान धेरैलाई भयो । ‘बाबुरामलाई काम गर्न देऊ’ भन्ने टिशर्ट छापिए । ती टिशर्ट लगाएर युवाहरू सडकमा निस्के । एउटा गजबको रमिता त्यसबेला पनि भयो ।

बाबुराम भट्टराई सफल हुन सम्भव थिएन किनकि उनी हिरोपन्थीले देश बनाउने गलत मान्यताबाट गाइडेड थिए । उनको नयाँ शक्ति पनि यस्तै मान्यताको उपज थियो । देशका समस्या र चुनौती बहुआयामिक र संरचनागत हुन्छन् । यसका लागि मूल्यमान्यताबाट निर्देशित र दीर्घकालीन दृष्टिकोण बोक्ने व्यक्ति चाहिन्छ जसले हिरोपन्थीमा होइन सहाकार्यमा विश्वास गर्छ ।

मलाई लाग्नेचाहिँ के हो भने -जुन कुरा यसअघिको ब्लगमा पनि भनेको छु -रवि लामिछानेको स्वतन्त्र पार्टी स्वतन्त्र शब्दकै गलत र भ्रामक बुझाइको जगमा खडा भएको छ । एउटा राजनीतिक पार्टी ‘अरू राजनीतिक पार्टी गलत छन्’ भन्ने आधारमा मात्र अस्तित्वमा रहन सक्दैन । देशको इतिहास, वर्तमान र भविष्यका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै स्पष्ट दृष्टिकोण छैन । पार्टीका मानिसका जति धारणा आएका छन् ती सबै हचुवा, टालटुले र कामचलाउ छन् ।

नेपालको बौद्धिक वा बुद्धिजीवीको समूह अपवादलाई छोडेर असाध्यै पिपलपाते अवसरवादी र हचुवा छ । कृष्णप्रसादले भनेजस्तै -यसको प्रवृत्ति गङ्गा आए गङ्गादास, जमुना आए जमुनादास जस्तो हो । रवि लामिछानेको व्यक्तिगत प्रवृत्ति र उनी जोडिएका घटनामा प्रश्न गर्ने त कुरै छौडौँ राष्ट्रिय स्वतन्त्र पार्टीको सतहीपनका बारेमा प्रश्न गर्ने हिम्मत र हैसियत समेत राख्दैन । बरु नेपालको भविष्य यस्तै चटकेहरू हुन् भनेर एलिट भेटघाटमा अमूल्य मन्तव्य राख्दै हिँड्छन् ।

मैले ब्लगमा प्रस्ट पार्न खोजेको राष्ट्रिय स्वतन्त्र पार्टी कति कमजोर छ भनेर होइन । सबै पार्टी कमजोर छन् । सबैमा खराब मानिस (र असल मानिस) छन् । मुख्य कुरा देशका समस्या र तिनको समाधानलाई कसरी बुझ्ने भन्ने हो । यस मामिलामा ठुला वा पुराना पार्टी बइमान छन्, स्वतन्त्र पार्टी अनभिज्ञ छ ।