Thursday, November 1, 2012

बसिबियाँलो - १

मेरो ब्लग धमिराले खान लागिसकेछ । माया लाग्यो आज यसको । 'अकेजनल ब्लगर' भन्न पनि लाज लाग्ने भैसकेछ । मलाई कुनैपनि कोटीको ब्लगर भन्नु र कुनै सरकारी क्याम्पसमा भर्ना भएर राजनीति गर्ने 'विध्यार्थी' नेतालाई विध्यार्थी भन्नु उस्तै हो । ममा ब्लगर हुनका लागि चाहिने कमिटमेन्ट छैन । मलाई थाहा छ । तर, मैले जीवनमा धेरै त्यस्ता काम गरेको छु जसमा मेरो कमिटमेन्ट छैन ।

मानिस जीवनका खासखास चरणमा विचारशून्य हुन्छ कि !? मेरो प्रश्न । किनकि मलाई आजभोली यस्तै लाग्न थालेको छ । सबै कुरा पुराना लाग्छन् । कुनै विषयमा नौलो 'चार्म' पाउँदिन । सबै विषय घुमेर फेरि शून्यमा आएजस्तो । सबै तर्क एक्झस्टेड । आलु व्यापारी आलुदेखि वाक्क भएजस्तो भएको छ मलाई ।

कहिलेकाहिं कस्तो झोंक चल्छ भने यो पढ्ने, 'भलाद्मी' जागीर खाने र टुक्रे कुरामा बहस गर्ने पट्यारलाग्दो रुटिन चटक्क छोडेर काठमाडौं-कटारी चल्ने रात्रीबस चलाउँ । कति रमाइलो हुँदो हो ! म एकपटक रात्रीबसमा घर जाँदा हेटौंडा पुगेपछि डिकीमा सामान मिलाएर राख्न नजानेको निहुँमा डाइभरले खलासीलाई एक लात हानेको थियो । खलासी गुल्टेर ५ मिटर पर पुग्यो, तर जाइ लागेन । गर्मी महिनामा गन्जी र हाफ प्यान्टमात्र लाएर गाडी हाँक्ने त्यो डाइभरलाई सम्झँदा अहिले पनि मेरो छाती आनन्दले ढक्क फूल्छ ।

मैले जिन्दगीमा कसैलाई त्यसरी लात्ताले हान्न पाएको छैन । मजै हुँदो हो लात्ती हान्न । तर, बस किनिदिने कसले ? मलाई डाइभर राख्ने कसले ? बस चलाउने अभ्यास पनि छैन ।

रुटिन भागदौड र रुटिन विचारले जीवनलाई पट्यारलाग्दो बनाउँने रैछन् ।  निच (Nietzsche) ले भनेजस्तै 'डेन्जरसली' बाँच्न  पाए हुने । तर, सजिलो छैन । गुडमर्निङ्, काइन्ड रिगार्डस्, अल द बेस्ट, जय होस्, शुभकामना आदिले पछ्याउन छोड्दैनन् जहाँ गए पनि । झर्कालाग्दा इमेलको जवाफ पठाउनुपर्दा कहिलेकाहिं अन्तिममा 'काइन्ड रिगार्ड्स' को सट्टा 'यु आर अ्यान इम्पसिबल आसहोल' लेख्न मन लाग्छ, तर सकिंन्न । संसारमा बाँच्न कै लागि अधिकांश मानिस मन नपरेको बोल्न र मन नपरेको काम गर्न बाध्य छन् । कति त स्वस्थ रहन मन नपरेको खान पनि बाध्य छन् । म कसरि अपवाद हुनसक्छु ।

फ्रान्ज काफ्काको उपन्यास छ एउटा The Metamorphosis भन्ने । त्यसमा एउटा सामान्य जागिरे एक रात सुतेकै ठाउँमा अचानक किरामा रूपान्तरित हुन्छ । उपन्यासमा लेखकले अघिल्लो साँझसम्म सामान्य रहेको मानिस अचानक किरामा परिणत भएपछि अरूले उसलाई हेर्ने दृष्टिकोण र ऊ स्वयंको अरूलाई हेर्ने दृष्टिकोण कसरि फरक हुन्छ भन्ने कुरा रमाइलो ढङ्गले वर्णन गरेका छन् । दैनिक जीवनको मोनोटोनी हेर्दा त कहिलेकाहिं 'किरा भएर जीवन हेर्न पाएपनि हुने' भनेजस्तो लाग्ने । तर, उपन्यास उपन्यासै हो ।

ट्विटरमा पाखुरा सुर्केर समाज र राजनीतिका विषयमा चर्काचर्की गरिन्छ । यसमा भने आन्नद छ । तर, यसको पनि अर्थ छैन । म केमा विश्वस्त छु भने हाम्रो मुलुकको परिवर्तनको शैली र स्वरूप आजका विकसित युरोपेली र अमेरिकी मुलुकको भन्दा फरक हो । त्यसैले, धेरैले अपेक्षा गरेजस्तो हामी भविष्यमा उनिहरूजस्तो हुन संभव छैन । केहि समय पहिले फ्रेन्च इतिहासकार डोमिनिक लापोरको History of Shit भन्ने पुस्तक पढेको थिएँ । यसमा उनले युरोप (विशेषगरि फ्रान्स)मा कसरि १३ औं शताब्दिदेखि फोहरप्रतिको मानिसको धारणा परिवर्तन हुँदै गयो, र कसरि युरोपियनहरूले घर र सहर सफा राख्न सिक्दै गए भन्ने कुराको मसिनो विश्लेषण गरेका छन् । हाम्रा लागि यि कुरा झिनामसिना हुन् । हामी मार्क्सवाद, माओवाद, उदारवाद, उपभोक्तावाद आदि आदि ठूलाठूला कुरामा रम्ने मानिस जो पर्यौं । विदेशी दाताका पैसामा "खूला दिसामुक्त अभियान" चलाउन पाइन्छ भने बाँकी समय मार्क्सवाद वा उदारवादका मोटामोटा पुस्तक पढेर बसे भैगो । अनि अलिकति समय बाँकी रह्यो भने 'हाम्रो महान पूर्वीय सभ्यता पश्चिमी सभ्यताभन्दा बढी वैज्ञानिक र उन्नत छ' भनेर बोक्रे ध्वाँस लगाए पनि भयो ।

कहिलेकाहिं केहि मानिस "लेखेर राख अब यस्तो हुन्छ" भनेर गफ लाउँछन् । तिनले भनेको कुरा लेखेर राखेर पनि भनेको जस्तो भएन भने हुने केहि हैन । त्यसैले 'लेखेर राख्नु'को औचित्य छैन । तर, मलाई पनि भन्न मन लाग्छ कहिलेकाहिं "लेखेर राख, यो नेपाल सुध्रेर कहिलै रहरलाग्दो देश हुँदैन" । मसंग हजारौं उदाहरण छन् । मात्र एउटा : मैले काठमाडौँका सडकमा बत्ती नभएका ठाउँका जेब्रा क्रसिङ्गमा मलिन अनुहार लगाएर उभिंदा कुनै मोटर वा 'युवापुस्ता'का मोटरसाइकल चलाउनेले आफ्नो सवारीसाधन रोकेर 'बाटो काट' भनेको भेटेको छैन, अहिलेसम्म । यसो गरेको नजानेर हैन, गर्न मन नलागेर ।

सोमत सोमालियाको जस्तो भएपछि देश चाहिं स्विट्जर्ल्याण्डजस्तो हुने कुरा पनि भएन ।

मेरो पनि एउटा रहर छ । कुनै दिन एउटा गतिलो किताप लेख्ने । अलबेर कामुको दि आउटसाइडरजस्तै घच्चीको किताप लेख्ने । थाहा छ यसका लागि समय लाग्छ । कुनैदिन जागिर छोड्छु । अनि लेख्न थाल्छु । :-))