Follow me on Twitter

Monday, May 4, 2026

विकास, राजनीति, दलतन्त्र

केही वर्षअघि देश बनाउन भौंतारिँदै गर्दा रविन्द्र मिश्रले एउटा गजबको स्लोगन बनाउनुभयो । त्यो थियो -‘विचारभन्दा माथि देश’ । यो स्लोगनको फ्यालसीबारे धेरैले मिश्रलाई बुझाउन खोजे । देश भनेको पनि विचार नै हो, विचारभन्दा माथि केही हुँदैन भन्ने सामान्य कुरा उहाँलाई बुझाउन सकिएन ।

‘विचार’ र ‘देश’को कुरा गरे पनि वास्तवमा मिश्रले भन्न खोज्नुभएको चाहिँ ‘दलभन्दा माथि देश’ थियो । उहाँको चाहना थियो -देशमा ‘राजनीति’ नहोस् । विकासै, विकास मात्र होस् । विकास गर्न राजनीति चाहिँदैन ! राजनीति नचाहिएपछि राजनीतिक दल पनि चाहिने कुरा भएन । त्यसैले, पछिल्लो समयमा उहाँको परिकल्पनामा राजनीति नहुने देश र त्यो देशको शीरमा राजसंस्था थिए । त्यो परिकल्पना पूरा गर्न नपाई उहाँले राजनीतिबाट विदा लिनुभयो । तर, दल र राजनीतिप्रति घृणा पालेर बस्ने रविन्द्र मिश्रमात्र होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको निर्माण नै ‘दलहरूबाट स्वतन्त्र’ पार्टीका रूपमा भएको हो । वास्तवमा भन्ने हो भने रास्वपा एउटा यस्तो दल हो जुन दल हुन चाहँदैन । त्यसैले, बालेन्द्र शाहले आफ्नो प्रधानमन्त्री पदको आरोहणको औपचारिकता लागि रास्वपालाई प्रयोग गर्नु संयोग मात्र होइन । संसदीय निर्वाचनपछि विकास भएका घटनाक्रम र परिस्थितिले बालेन शाहको राजनीतिबिनाको समृद्धिको चाहनालाई पुष्टि गरिरहेका छन् । सुकुम्बासी बस्ती रातारात खाली गर्ने, संसद् निष्क्रिय बनाएर अध्यादेशबाट सरकार चलाउने, विगतका सरकारले नियुक्त गरेका पदाधिकारी एकमुष्ट हटाउने, संसद्मा प्रधानमन्त्री बोल्दै नबोल्ने आदि घटना वा कार्यवाहीका पछाडि एक निश्चित उद्देश्य छ । त्यो हो – समृद्धि हासिल गर्नका लागि राजनीति र राजनीतिक दल चाहिँदैन भनेर देखाउने । आम मानिसलाई संसद्, संविधान, विधिविधान र तिनीहरूको महत्त्वका बारेमा सरोकार हुँदैन । सुदूर भविष्यका बारे खास चासो हुँदैन । इतिहासको वास्ता हुँदैन । कांग्रेस-एमाले-माओवादीको कुशासनबाट आजित आम जनताले राजनीतिक दल कमजोर बनाउने जुनसुकै कुरामा पनि खुलेर समर्थन गर्ने नै भए । लोकतन्त्र भनेको दलतन्त्र होइन । यो कुरा ओली-प्रचण्ड-देउवालाई बुझाउन सकिएन । विकास एक राजनीतिक प्रक्रिया हो । यो कुरा रविन्द्र मिश्रलाई बुझाउन सकिएन । अहिले राजनीतिक दल, संस्था र पद्धतिप्रति असीमित घृणा पालेर सरकारको नेतृत्व गरिरहेका बालेन शाहलाई यी दुबै कुरा एकैपटक बुझाउनु पर्नेछ । तर, उनी बुझ्न त के अरूका कुरा सुन्न पनि तयार छैनन् ।

No comments:

Post a Comment