Follow me on Twitter

Saturday, May 30, 2026

सजिलोसँग सास फेर्न देऊ !

शान्तिपूर्ण, धाँधलीरहित निर्वाचनबाट निर्माण भएको सरकारको योग्यतामाथि प्रश्न गर्न नैतिक रूपमा गार्‍हो हुन्छ । 'सरकार चलाउने मानिस योग्य' छैनन् बारम्बार भन्दा उनीहरूलाई चुनेर त्यहाँ पठाउने बहुसङ्ख्यक जनता मुर्ख भएको र उनीहरूले गल्ती गरेको विश्वास गर्नुपर्ने हुन्छ ।

त्यसैले मेरो आशा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले राम्रो काम गरुन् र मानिसहरूको मन जितुन् भन्ने रहन्छ । जनताको विश्वास आर्जन गर्न सफल भएको सरकारले नै स्थीरता दिन्छ । स्थिरताले समृद्धिको आधार दिन्छ । तर, सरकार भने सधैँ फन्टुस काम गर्दै हिड्ने ! - बिना तयारी हतारहतार सुकुम्बासी बस्ती उजाड्न डोजर लिएर आतङ्क मच्चाउन जाने, - बिना छलफल तथा सहकार्य राजनीतिक संघसंस्था खारेज गर्दै हिड्ने, - जनताको प्रतिनिधित्व हुने सर्वोच्च संस्थामा प्रधानमन्त्री जानै नखोज्ने र बोल्दै नबोल्ने, - गृह मन्त्रालय महिनौँसम्म नेतृत्वविहिन भएको वास्ता नगर्ने, - सार्वजनिक संस्थामा नियुक्त मानिसहरूलाई रातारात हटाएर अर्को नियुक्तिको निश्चितता बिना तिनीहरूलाई नेतृत्वविहिन बनाउने, - सरकारको नीति तथा कार्ययोजनाका आधारमा नियुक्त गर्नुपर्ने राजदूत पदहरूमा खूला प्रतिश्पर्धाको स्वाङ् रचेर नियुक्ति प्रक्रियालाई नै विवादास्पद बनाउने । अहिले आएर आम्दानीको हेक्का नराखी आफैँले सधैं आलोचना गरिरहेको inflated वार्षिक बजेट बनाएर मन्दी र ऊर्जा सङ्कटको मारमा परेका जनतालाई नानाथरी कर थोपर्ने ! नयाँ, युवा भनेर मानिसहरूले धैर्य गर्ने र सकारात्मक हुने पनि हद हुन्छ । सरकारका कच्चा कामहरूले अनिश्चितता बढ्दै जाने र आम जनताको जीवन थप कष्टकर हुँदै जाने हो भने पूराना राजनीतिक पार्टीको अकर्मण्यताका कारण ज्ञानेन्द्रको लोकप्रियता बढे झैँ रास्वपाको अकर्मण्यताका कारण ओली-देउवा-प्रचण्डको लोकप्रियता बढ्ने अवस्था पनि नआउला भन्न सकिन्न । त्यो अवस्था वास्तवमै दुखद् हुनेछ । त्यसैले, निजी अस्पतालको उपचार खर्च, निजी विद्यालयको शुल्क र बिजुलीमा थोपरिएको अन्यापूर्ण करहरू तत्काल हटाउ सरकार । कष्टकर जीवन बिताइरहेका नेपालीलाई सजिलोसँग सास फेर्न देऊ !

No comments:

Post a Comment