Friday, May 29, 2026
नक्कल गर्नु राम्राको !
प्रधानमन्त्रीको कालो पोशाक, कालो चस्मा र कालो टोपीको रोजाइ र कम बोल्ने अभ्यास महेन्द्र शाहको नक्कल भन्ने धेरैबाट सुनियो ।
आजको नेपालका निर्वाचित प्रधानमन्त्री लोकतन्त्र मासेर निरंकुशताको जग बसाउने इतिहासका छोटेमोटे कुलीन शासकको ‘फ्यान’ बनेर उनको नक्कल गरिरहेका होलान् जस्तो त मलाई लाग्दैन । यदि यस्तै हो भने उनमा इतिहास र राजनीतिबारे आधारभूत समझको कमी रहेछ भन्ने बुझ्नु पर्यो ।
लौ महेन्द्र नै हुने रहर छ रे -तर पहिरनको नक्कलबाहेक महेन्द्रले इतिहासमा गरेजस्तो कुन काम गर्ने प्रधानमन्त्रीको चाहना होला त ?
राजनीतिक दललाई अवैध घोषणा गरेर फेरी अर्को निरङकुश शासन सुरु गर्ने ? जनताको पैसाबाट बन्ने ठुला ठुला भौतिक पूर्वाधारका योजना देखाएर तिनको निर्माण मेरो बलबुता र दुरदृष्टिबाट भएको हो भनेर फुईं लगाउने ? सरकारले जुत्ता, चुरोट, कपडा बनाउने ‘फेल्ड मोडेल’ फेरी परीक्षण गर्ने ? राजनीतिक अधिकार, अभिव्यक्तिको अधिकार माग्नेहरूलाई जङ्गलमा लगेर गोली ठोक्ने ? चीन र भारत छिमेकमा भएकाले नेपालमा चुनौति छन् त्यसैले मेरो निरङ्कुशता मात्र देशको माटो सहाउँदो हो भन्ने ? म विष्णुको अवतार हुँ, सबैले मेरो भक्ति गर्नुपर्छ भनेर जनतालाई सिकाउने ?
प्रधानमन्त्रीले के बुझ्नुपर्यो भने ६५ वर्झअघि सम्भव हुने यी कुरामध्ये कुनै पनि कुरा आज सम्भव छैनन् । चुनावमा पाएको बहुमत निरङ्कुशता ल्याउने लाइसेन्स होइन ।
महेन्द्रजस्तै देखिएँ भनेर गमक्क भएर फुल्न त पाइयो -शासकको नक्कल गर्ने ‘रैति’को दास प्रवृत्ति अस्वाभाविक होइन । तर, राजनीतिमा महेन्द्रको नक्कल गर्न खोज्ने र सेनाको बन्दुकको भरमा शासन चलाउँछु भन्ने ज्ञानेन्द्रको कुन हालत भएको छ त्यो नबिर्सनु !
नेपाल लोकतन्त्र र नागरिक सर्वोच्चताको स्थापित अभ्यासबाट पछाडि फर्किने छैन । जसले बालेन्द्र शाहलाई भोट हाले तिनै मानिसले यसो हुन दिने छैनन् ।
सकेसम्म कसैको नक्कल नगर्नु र आफू जे हो त्यसको सम्मान गर्नु । नक्कल गर्नै परे संसारमा असल मानिस कति छन् कति । नेपालमा नभेटिए विश्वमा त छन् !
कि कसो ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment