Follow me on Twitter

Thursday, May 21, 2026

म कहाँको पोखरेल ?!

तिमी कहाँको पोखरेल ?!

यो प्रश्नले मलाई बेलाबेलामा पछ्याइरहन्छ । अरू पोखरेललाई पनि पछ्याउँदो हो ।

म कहिले 'खोटाङ्को' भनेर जवाफ दिन्छु । कहिले खार्पाको । कहिले इनरुवाको । अहिलेसम्म खोटाङ्ग पुगेको छैन म । खोटाङ् नै नपुगेको मानिस खार्पा पनि पुग्ने कुरा भएन । तर, मेरा बाले मलाई ‘हामी खार्पाका पोखरेल हौँ’ भनेर सिकाउनुभएको छ । म बाले सिकाएको कुरा अल्छि मान्दै भट्याइरहेको छु ।

बाले त्यही कुरा अहिले भन्नुभएको भए ‘खार्पाका पोखरेल र अरूतिरका पोखरेलमा के फरक छ, बा?’ भनेर सोध्थेँ होला । तर, १५ वर्षअघि बाले छोडेर जानुभयो । मेरो प्रश्न मैसँग छ । केही जवाफ मैले आफैँ बनाएको छु ।

मेरा बाको जागीर ठुलो थिएन । घर पनि ठुलो थिएन । म निकै ठुलो हुँदासम्म बाको र हाम्रो आफ्नो घर थिएन । लामो समयसम्म बाले सङ्घर्षले भरिएको जीवन बाँच्नुभयो । केहीले साथ सहयोग दिए, धेरैले अपमान र कष्ट नै दिए होलान् । यी सबै खेपेर बाआमाले जेनतेन हामीलाई हुर्काउनुभयो ।

जीवनको असजिलो यात्रामा बासँग गर्व महसूश गर्ने गतीलो आधार यही एउटा थियो कि हामी खार्पाका पोखरेल हौँ ।

बा जानुभयो । म ठुलो हुँदै गएँ । अहिले बुढो हुने क्रममा छु । जति जति म उमेरमा छिपिँदै गएँ खार्पा र पोखरेल शब्दसँग मेरो बिरक्ति बढ्दै गयो । जुन कुराले मेरा बालाई आत्मसम्मान दिए ती कुरासँग म टाढिँदै जान थालेँ ।

केही वर्षअघि सानो जमघटमा एकजना मान्यजनले उही प्रश्न सोध्नुभयो -बाबु कताको पोखरेल ? मैले जवाफ दिएँ –‘म घरको न घाटको पोखरेल !’

विष्णु सापकोटा मलाई बेलाबेला सम्झाउने गर्छन् –‘तिमी बिभरको मान्छे छौ’ । ‘बिभर’ स्याङ्जातिरको लवज हो शायद । पूर्वतिर ‘भर नभाको मान्छे’ भनेको सुनेको छु । बेलाबेलामा म फ्याट्ट नियमित भन्दा फरक कुरा गरिदिन्छु । मानिसले नसोचेको, अनुमान नगरेको कुरा गर्ने मेरो बानी हो । यस्तै बानीले पहिले बेलाबेलामा विष्णुलाई अप्ठेरोमा पारिदिएको छु । मदेखि बेस्सरी रिसाएका मानिसलाई उनले फकाएका छन् ।

गत साता कान्तिपुरको विचार कोलुममा उनै विष्णुको ‘डिपार्चरसँग तर्सेको परम्परावादी वृत्त’ भन्ने लेख छापियो । छापिनु त के थियो उनीमाथि आलोचना र गालीको असिना-पानी खनिइ हाल्यो । लेखमा भएका उनका तर्कसँग त म पनि सहमत थिइनँ ‍-तर रमाइलो के लाग्यो भने एउटा लेखले पनि मानिसलाई यति धेरै उद्वेलित बनाउन सक्दोरहेछ ।

भोलिपल्ट व्हाट्सएपमा विष्णुलाई यस्तो सन्देश पठाएँ –‘विभरको तिमी कि म ?’ उनले गाला च्यातेर हाँसेका तीनवटा डल्लाले जवाफ फर्काए ।

धेरै वर्षअघि मैले उट्पट्याङ् कुरा गर्दा मानिसलाई थामथुम पार्ने विष्णुले आफैँ 'उट्पट्याङ्' कुरा गरे । एकमनले सोचेँ -म पनि सोसल मिडियामा गएर मानिसहरूलाई 'थामथुम' पारौँ कि ?! यो 'आइडिया' ठिक लागेन । किनकि म विष्णुका तर्कमा सहमत थिइनँ र यो कुरा विष्णुलाई भनेको थिएँ ।त्यसैगरी, विष्णुलाई मेरो 'थामथुम'को आवश्यकता पनि थिएन । 

हिजो जिममा कुदिसकेर सुस्ताइरहँदा उनको फोन आएको थियो । सबै गाली र आलोचना पढ्दै उनी हाँसेर बसिरहेका रहेछन् । आधा घण्टा गफ गर्दा पन्ध्र मिनट त हामीले हाँसेरै बितायौँ ।

विष्णुको लेख देशको राजनीतिका बारेमा थियो । म चाहन्छु मानिसले मलाई फरक प्रसङ्गमा गाली गरुन् ।

म पोखरेलमा थिएँ । पोखरेल भएकामा कुनै गर्व नभएको कुरा गर्दैथिएँ ।

मेरा बालाई समाजले विपन्न बनायो । दिनरातको परीश्रमबाट परिवार पाल्न धौधौ बनायो । मानसिक रूपमा कमजोर, हतास बनायो । शारीरिक रूपमा थकित बनायो । अनि सबै कुराले विपन्न बनाएर सास फेर्ने एउटा झिनो आधार दियो -जात, र त्यो जातसँग जोडिको ‘खार्पा’को जरो । त्यसैमा झुण्डिएर मेरा बाले जोखिमपूर्ण जीवन बिताउनुभयो । बासँग नामका पछाडि पोखरेल हुन्थेन र मानिलिउँ कुनै दलीतको जात बुझाउने ‘थर’ हुन्थ्यो भने हामी थप चेपुवामा पर्ने थियौँ । हाम्रो स्थिति थप खराब हुनेथियो ।

पोखरेल भन्ने पहिचानसँग मेरा बाका भयङ्कर कष्टपूर्ण जीवनगाथा र अन्यायपूर्ण तवरले वितरित थोरै सुविधा (प्रिभिलेज) दुवै जोडिएका छन् । जातीवादी, असमान, अन्यायपूर्ण र विभेदकारी संरचनाले वितरण गरेका सुविधा वास्तवमा मेरा बालाई विपन्न बनाउने कारक पनि थिए । त्यो कुरा बालाई थाह थिएन -हुने कुरा पनि भएन ।

बा खार्पाली पोखरेल र उपाध्धे बाहुन भएकोमा गर्व गर्नुहुन्थ्यो । जनैपुर्णिमा आउनुभन्दा एकमहिना अघिदेखि जनै बाट्न थाल्नुहुन्थ्यो । पुर्णिमाका दिन मन्दीरमा लगेर जनै पूजा (जप) गराउनुहुन्थ्यो, र जनै फेरेको दिन सेतो लुङ्गी र सेतै जनै लगाएर आँगनमा भएको काठको बेन्चमा बस्दा भदौको गर्मीमा उहाँको अनुहार धपक्क बलेजस्तो देखिन्थ्यो । जनै फेरेर आफ्नो जातलाई थप एक वर्ष 'रिन्यु' गरेको खुशी उहाँको अनुहारमा झल्किन्थ्यो ।

बा र मेरो पुस्ता फेरियो । हाम्रो समय फेरियो । म फेरिएँ । आज थर र त्यसमा जोडिएको जातीय पहिचानसँग म चाहे पनि गर्व गर्न सक्दिन । त्यसमाथि जातमा गर्व गर्नुपर्ने कुरा नै के हो भन्ने उमेर छिपिएपछि मैले बुझ्न सकिनँ ।

‘पोखरेल’ मैले आर्जन गरेको ‘टाइटल’ होइन । पोखरेल हुनाले म जैविक रूपमा उन्नत, बेहोरामा अब्बल, हेर्दा सुन्दर हुन सक्दिन ।

पन्ध्र वर्षअघि प्रमीला जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन जाँदा त्यहाँका कर्मचारीले कागजपत्र हेरेर ‘तपाईंको नाममा पतिको थर पोखरेल तप्नुपर्ने हुन्छ’ भनेछन् । केही बेरसम्म त उनले मानिनछन् । तर, कर्मचारीले अनेक प्रसङ्ग र उदाहरण निकालेर अड्डी कसेपछि हार मानेर ‘लौ त’ भनेर हिँडिछन् । ‘राहदानीमा मात्र त्यस्तो होला’ भन्ने सोचेर उनले त्यस दिन कम महत्त्व दिएको ‘पोखरेल’ले आज पुच्छरजस्तो बनेर उनलाई जताततै पच्छ्याइरहेको छ । आफ्नो उसै पनि लामो नाम, थर पछाडि कार्यालयको इमेलदेखि हवाइजहाजको टिकट किन्दासम्म हरेक ठाउँमा थप पोखरेल लेख्दै हिड्नुपर्दाको लेठोका प्रसङ्ग उनले बेलाबेलामा मलाई दिग्दारीका साथ सुनाउने गर्छिन् । म उँधोमुन्टो लगाएर उनका कुरा सुन्छु ।

यही मेसोमा हामी जातप्रतिको नेपालको अब्सेसनका कुरा गरेर हास्न थाल्छौँ । यता फर्क्यो जात - उता फर्क्यो जात । के थरी ? माइती के थरी ? ससुराली के थरी ? कुन गोत्र ? पहाड कता ? छोराको बर्तमन्न गर्‍यौ ? हजार प्रश्न । हजार चासो । कुरा जातकै ।

हास्नु महत्त्वपूर्ण कुरा हो । संसार तनावहरूले भरिएको छ । तनावहरू अस्थीर छन । अस्पष्ट छन् । हामी अस्थीर, अस्पष्ट तनावलाई उत्तिकै अस्थीर दिमागको प्रयोग गरेर अर्थ लगाउन खोजिरहेका हुन्छौँ । ती अर्थ कहिले ठाउँमा पर्छन्, कहिले कुठाउँमा । जसरी विष्णु सापकोटाको लेखका अर्थहरू कुठाउँमा परेर अहिले मानिसहरूलाई तनाव दिएको छ ।

जातप्रतिको मेरो वितृष्णा यसअघि पनि ट्विटर वा ब्लगतिर धेरैपटक गरेको छु । यसो गर्दा मानिसहरू रिसाएका छन् । ‘आफ्नो जातप्रति गर्व नगर्ने तँ मानिस होस् कि पशु ?’ । यस्ता प्रतिक्रिया मलाई आइरहन्छन् । कतिले त कुटपिट गर्ने धम्की पनि दिन्छन् ।

तर, आजभोलि म पहिलेका तुलनामा शान्त छु । पाखुरा सुर्केर भिड्न जान्न । गाली गर्ने गरिरहन्छन् । 

मलाई आफू मानिस भएकोमा गर्व छ । आफूले बोल्ने-लेख्ने भाषाप्रति सम्मान छ । आफू जन्मेको स्थानप्रति मोह छ । आफूले सानैदेखि सुनेका, गाएका गीतप्रति लगाव छ । तर, जात र देश मेरो गर्वका स्रोत होइनन् -जीवनयापनका व्यवहारिक र औपचारिक आधार मात्र हुन् । तिनले मेरा बारेमा केही बताउँदैनन् । धर्म त म मान्दै नमान्ने भएकाले त्यसमा कुरै गर्न परेन ।

एउटा किताब छ कास्ट्स अफ माइन्ड भन्ने । त्यसमा निकलस डर्क्स भन्ने मानवशास्त्रीले जातलाई कसरी बेलायती उपनिवेषले व्यवस्थाका रूपमा स्थापित गर्‍यो भन्ने रोचक वर्णन गरेका छन् । पुस्तक पढ्दा बुझिन्छ भारतमा हिन्दू जातहरू थिए -तर जातप्रथा थिएन । उपनिवेषका प्रशासकहरूले जनगणना गराएर जातलाई अनिवार्य र कठोर बनाइदिए र पछि गान्धी-नेहरूले जातलाई भारतको यथार्थका रूपमा स्वीकार गरे । 

एउटा पुस्तकले नै मानिसले विचार बनाउनुपर्छ भन्ने छैन । तर, नामका पछि झुण्डिएको हाम्रो जातको प्रसङ्ग कति सतही रहेछ भन्ने बुझ्न डर्क्सको किताबले गजबले सघाउँछ ।

म कहिलेकाहीँ गीत सुनेर रोएको छु । कहिलेकाहीँ उपन्यास पढेर हाँसेको छु । खुशी हुँदा वा मन खिन्न हुँदा आफू जन्मेहुर्केको इनरुवा बजार गएर केही दिन बिताउन पाए हुन्थ्यो भन्ने सोच मनमा आउँछ ।

तर, देश र जात सम्झेर म कहिलै भावुक भइनँ । यस्तो लाग्छ कहिलै हुन पनि नपरोस् ।

मलाई लाग्छ देश र जात (अनि धर्म) सम्झेर जो भावुक भएका छन् (वा भावुक भएको अभिनय गरेका छन्) संसारका प्राय सबै समस्या तिनैले ल्याएका हुन् ।

कि कसो ?

No comments:

Post a Comment