Wednesday, July 8, 2026
कर्णाली ब्लुजको कटासे बजार र नेपाल
बुद्धिसागरको प्रसिद्ध उपन्यास कर्णाली ब्लुजमा कैलाली जिल्लाको एउटा पुरानो बजारको चर्चा छ । त्यो बजारको नाम हो कटासे । एक समयमा निकै नाम चलेको र चहलपहल खुब हुने व्यापारिक केन्द्र कटासे समयक्रममा मानिसहरूको रोजाइ र प्राथमिकतामा पर्न छोडेर उजाड बन्दैगएको सुन्दर वर्णन कर्णाली ब्लुजमा छ ।
नेपालको समग्र अवस्था हेर्दा मलाई लाग्छ नेपाल देश यतिबेला बुद्धिसागरले उपन्यासमा वर्णन गरेको कटासे बजारको नियति भोगिरहेको छ ।
नेपालको अर्थतन्त्रले सीमित मानिसहरूका लागि गजब लाभ दिइरहेको छ । तर, आम सर्वसाधारणका लागि नेपालमा आफ्नो सीप र श्रमका आधारमा जीवन निर्वाह गर्न असम्भव जस्तै भएको छ । आम्दानीले खर्च धान्दै धान्दैन । सार्वजनिक सेवाको स्तर खराब छ । राज्यले प्रदान गर्नुपर्ने सामाजिक सुरक्षाको अवस्था डामाडोल छ । सामाजिक-सांस्कृतिक क्षेत्रमा पनि नेपाल खस्किँदै गएको छ । जथाभावी अन्यायपूर्ण करको भार मध्यम र निम्नमध्यम वर्गले बोक्नुपरेको छ । वैदेशिक रोजगारीका सामाजिक-सांस्कृतिक तथा मनोवैज्ञानिक नकारात्मक प्रभावहरूले मानिसहरूलाई सताएको छ । विद्यालय र विश्वविद्यालयमा प्रदान गरिने शिक्षाले मानिसहरूलाई सबल र सचेत गराउन सकेका छैनन् ।
मानिसहरू सकेसम्म छिटो देश छोड्न चाहन्छन् । नेपालबाट फुत्किन र भाग्न चाहन्छन् ।
धेरै धनसम्पत्ति नहुनेहरू आयआर्जनको खोजीमा अनि अलिअलि धनसम्पत्ति हुनेहरू राम्रो सेवा-सुविधाको खोजीमा नेपाल छोड्ने प्रवृत्तिले नेपाल अति गरीब वा अति धनीको मात्र स्थायी ठेगाना हुनेजस्तो देखियो ।
आज चिकित्सक (डाक्टर)हरूले नेपाल छोडिरहेको प्रवृत्तिबारे समाचार देखेको थिएँ । मेडिकल काउन्सिलबाट लाइसेन्स परिक्षा उत्तिर्ण गर्नेभन्दा देश छोड्ने डाक्टरको सङ्ख्या बढी हुने डरलाग्दो अवस्थाबाट नेपाल गुज्रिरहेको छ । यो त एउटा उदाहरण मात्र हो । सबै क्षेत्रमा यस्तो दुखद् अवस्था छ ।
नेपाल यसरी असान्दर्भमिक हुनुमा विगतमा देश चलाउने राजनीतिक दल अनि तिनका नेताको गल्ती कमजोरी अवश्य छ । तर, यो कुनै सरकार वा व्यक्तिलाई दोषि ठहर्याएर समाधान गर्न सकिने तहको समस्या होइन ।
समाज, अर्थतन्त्र वा राज्य समग्रतामा असान्दर्भिक र कमजोर हुँदैछ -कटासे बजार जस्तो । यसका कारण केही नेपालभित्र होलान् । धेरै कारणहरू विश्वको अर्थव्यवस्था राजनीतिमा आएको परिवर्तनमा पनि लुकेका होलान् । कटासे बजार ओइलाउनुका कारण देशका अन्य भागमा आएको परिवर्तन मूख्य थियो जसले मानिसहरूलाई काम वा अवसरको खोजीमा अन्यत्र लगेको थियो । नेपाल ओइलाउने कारण पनि नेपालबाहिरका बदलिँदा आयामहरूमा खोज्नुपर्ने हुन्छ ।
यो ‘असान्दर्भिकीकरण’ रोक्ने सामर्थ्य राजनीतिक दल र नेताहरूमा विगतमा थिएन । अब प्रश्न उठ्छ के जेनजी आन्दोलनको बलमा गठन भएको अहिलेको सरकारसँग नेपालको खस्कँदो अवस्थामा प्राण भर्ने भिजन छ त ?!
यो प्रश्नको जवाफ त समयले दिने नै छ । तर, अहिले सरकारले जसरी आफूलाई समग्रमा पजिशनिङ् गर्दैछ, अर्थमन्त्रीले जे बोलीरहेका छन्, प्रधानमन्त्रीले आफ्ना भिजन र प्राथमिकता जसरी प्रस्तुत गरिरहेका छन् त्यो सबलाई हेर्दा अहिलेको सरकार पनि नेपालको असान्दर्भीकीकरण (!)को गम्भीरता बुझ्न सक्षम भएजस्तो देखिएन ।
मैले यसो भन्नुको तात्पर्य निराशा फैलाउने होइन -समस्याको गम्भीरता देखाउने हो । कुनै कुराको समाधान खोज्नुभन्दा पहिले समस्यालाई गहिराइसम्म बुझ्नुपर्छ । नेपालको समस्या केही मानिसका खुट्टा भाँचेर, केहीलाई सौचालयमा थुनेर र केहीको घरबासमा डोजर लगाएर समाधान हुनेवाला छैन । समस्या जटिल छ र समाधानका उपाय पहिल्याउन पनि निकै सोचविचार चाहिन्छ ।
आन्तरिक रूपमा प्रणालीगत सुधार र मानवकेन्द्रीत विकास-निर्माणलाई कसरी सम्भव गर्ने हो त्यो कुरा सोच्नुपर्यो । आम जनताको विश्वास र मनोवल कसरी बढाउने हो त्यसमा ध्यान दिनुपर्यो । नत्र पुराना पार्टीहरूले जस्तै अर्को चुनावका लागि भनेर पैसा जम्मा गर्न थाल्नुपर्यो ।
सरकारमा भएका मानिसले कालो चस्मामा सजिएर फोटो खिचाउने र 'देश बनाउने टिम' भनेर फेसबुकमा हाल्ने पत्रु मानसिकताले कुनै गाउँको चौतारो बन्ला, देश त बन्दैन ।
कि कसो ?!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment