समाज (र त्योसँग जोडिएको प्रणाली)ले मानिसलाई 'पैसा कमाउनुपर्छ' भनेर सिकाउने तर किन कमाउने, कति कमाउने र कसरी कमाउने भन्ने कुरामा रिफ्लेक्ट गर्न कहिलै नसिकाउने रहेछ !
अकुत सम्पत्ति कमाएर कानुनी कारवाहीमा परेका वा समाजमा इज्जत गुमाएका मानिसहरूले यति धेरै सम्पत्ति कसका लागि र किन कमाउनु परेको हो भन्ने बारेमा ठण्डा दिमागले सोच्ने आवश्यकता कहिलै नदेख्ने रहेछन् । रहर खासै केही नभएका, जाँडरक्सी नपिउने, माछामासु नखाने, सरकारी पैसा पाएमात्र घुमफिर गर्ने मानिसहरू नै करोडौँ करोड रुपैयाँ जम्मा गर्न यत्रो मेहनत गर्ने र यत्रो जोखिम उठाउने प्रवृत्ति मानसिक कमजोरी पनि हो कि ?! पदको कुरा पनि त्यस्तै । उमेरले डाँडा काटीसक्यो, शरीर वृद्धअवस्थामा छ, विगतमा अनेकन ठुला पदमा काम गरिसकेको छ तै पनि फेरी अर्को पद पाउन पाए हुन्थ्यो भनेर नेताको चाकरी गर्ने, सत्तालाई मन पर्ने कुरा मात्र बोल्ने किन होला भन्ने मैले कहिलै बुझिनँ । ठुलो पदमा जिम्मेवारी र त्यससँग जोडिएका तनाव पनि ठुलै हुन्छन् । ती सबै झेल्ने रहर मानिस पटकपटक किन गर्छ ? अध्ययन गर्ने, विचार गर्ने, नयाँ कुरा सिक्ने, आफूले जानेको कुरा व्यवस्थित रूपमा अरूसँग बाँड्ने आदि कुरामा धनी र अनुभवी मानिसहरूको बिल्कुल रुचि छैन । रुचि के मा छ त ? पैसा कमाउनमा । पद पाउनमा । तर, किन चाहिएको पद र पैसा भन्ने सोच्ने फुर्सद् नै छैन । व्यक्तिको तहमा हल नहुने समस्या प्रणाली वा नियमकानुनले हल गर्नुपर्छ । अर्थतन्त्रले सम्पत्ति र सम्पत्तिको पुस्तान्तरणलाई नियमित वा व्यवस्थित नगर्ने हो भने अकुत सम्पत्ति जम्मा गर्ने प्रवृत्ति आत्मसमीक्षाबाट मात्र समाधान हुन सक्दैन ।
No comments:
Post a Comment