Bluesky

@sanpokh.bsky.social

Sunday, May 25, 2025

अरूका कुरा कसरी बुझ्ने, कसरी सहने ?!




विभिन्न पुस्तकहरू पढिन्छ र हरेकले केही न केही प्रभाव छोडेका हुन्छन् । तर, केही पुस्तक त्यस्ता हुन्छन् जसले आफ्नो दृष्टिकोणमा रहेको सीमिततालाई मजाले सम्बोधन गरिदिन्छन् । तिनीहरूको प्रभाव अन्य पुस्तकको भन्दा बढी हुन्छ ।

आज त्यस्तै एउटा पुस्तकको चर्चा गर्न लाग्दैछु । तर कुरा सुरु गरौँ एउटा अर्को पुरानो पुस्तकबाट ।

रिचर्ड डकिन्सको सन् १९७६ मा प्रकाशित पुस्तक The Selfish Gene ले समाज-संस्कृति अध्ययनका क्षेत्रमा निकै महत्त्व राख्छ । डार्विनको एभोलुशनरी सिद्धान्तलाई आधार बनाएर डकिन्स भन्छन् -मानिसको सामाजिक व्यवहार बुझ्न ‘जिन’को सहारा लिनुपर्छ । जिनको बनावटले स्त्री र पुरुषबिचको भिन्नता मात्र व्याख्या गर्दैन -मानिसका हरेक व्यवहार र निर्णयहरूलाई सजिलैसँग व्याख्या गर्न सक्छ ।

डकिन्सका अनुसार मानिस जिनको रक्षा र प्रवर्धन गर्ने एकमात्र उद्देश्यबाट निर्देशित एक अति स्वार्थी (Selfish) प्राणी हो । मानिसले अरूप्रति देखाउने सहयोग र सद्भाव (Altruism) पनि वास्तवमा स्वार्थबाट निर्देशित हुन्छन् । संसार स्वार्थी छ र मानिस त्यसको केन्द्रमा छ ।

डकिन्सले प्रस्तुत गरेका तर्क निकै बलिया र चित्तबुझ्दा छन् । तर, उनको जिनको थ्यौरीले मानिसका कतिपय व्यवहारलाई चित्तबुझ्दो ढङ्गले व्याख्या गर्न सक्दैन । विशेष गरि व्यक्तिका तहमा नभएर मानिसले समूहका तहमा कस्तो व्यवहार गर्छ भन्ने कुरा बुझ्न 'स्वार्थी जिन'को डकिन्सको तर्क पर्याप्त छैन ।

डकिन्सको थ्यौरीमा रहेको सीमिततालाई विश्लेषण गर्दै आफ्नो सन् २०१२ मा प्रकाशित पुस्तक The Righteous Mind: Why Good People are Divided by Politics and Religion मा जोनथन हाइटले समुहका सदस्याका रूपमा मानिसको विश्लेषण गरेका छन् ।

आफ्नो राष्ट्रप्रति मानिसको आशक्ति, जातीयता मोह, राजनीतिक दलको सदस्यता र त्यसप्रतिको लगाव आदिलाई नजिकबाट हेर्ने हो भने मानिस व्यक्तिगत स्वार्थ पुरा गर्न भौंतारिएको जीव नभएर मौरी झैं समूहको स्वार्थका लागि जुटिरहेको जीव जस्तो देखिन्छ । उद्विकास (Evolution) को प्रक्रियामा मानिसको स्वार्थ नहुने होइन -तर यो स्वार्थ सधैं व्यक्तिको तहमा मात्र हुँदैन । मानिसले आफ्नो समूहलाई पनि बलियो बनाउन आफ्नो ऊर्जा खर्च गरेको हुन्छ । समूहको सदस्यका रूपमा मानिसको अध्ययन गर्न आवश्यक छ ।

यो पुस्तक पढ्न सुरु गर्दा मेरो अपेक्षा आफूभन्दा पृथक सोच राख्ने मानिसहरूका दृष्टिकोणलाई कसरी सद्भावसहित बुझ्ने भन्ने बारेमा हाइटका दृष्टिकोण र सुझाव जान्ने थियो । पुस्तकको सुरुआत पनि यसै विषयबाट भएको छ ।

आजको विश्वमा त्यस्ता समूह र व्यक्तिहरूको जगजगी छ जसले साधारण सत्य (कमन सेन्स?)लाई जोझै चुनौती दिन्छन् । अमेरिकाका डोनल्ड ट्रम्पदेखि भारतका मोदीसम्म प्रोपागाण्डा र झुठ फैलाउन माहिर छन् । उनीहरू यसो गर्न सक्षम किन छन् भने उनीहरूका ‘डाइ हार्ड’ समर्थकहरू छन् । मोदी वा ट्रम्पको अतिवादी राष्ट्रवाद, धर्मवाद, जातीवादलाई उनीहरूले खडा गरेका समूहले जबरदस्त बनाएका छन् ।

न्याय, उदारता, विज्ञान वा पारदर्शिताका मूल्यमान्यतामा विश्वास गर्नेहरूले यस्ता र अन्य समूहको प्रतिवाद कसरी गर्ने ? एउटा उपाय हो उनीहरूलाई ठाडै चुनौती दिएर, आलोचना गरेर, उनीहरूका गल्ती देखाएर । तर, हाइटका विचारमा यो उपाय प्रभावकारी छैन ।

त्यसैले, हाइटका विचारमा मानिसले समूहका सदस्यका रूपमा कसरी व्यवहार गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । व्यक्तिका रूपमा मानिस जेजस्ता कुराहरूले प्रभावित भएको हुन्छ, समूहका तहमा पनि मानिसको दृष्टिकोण यसरी नै बनेको हुन्छ भन्ने छैन । सब समूहका आदर्श र मूल्यमान्यताको सन्दर्भ आउँछ, त्यसबेला मानिस सधैं र्‍याशनल हुँदैन । समूहको तहमा बौद्धिकता र सत्यको ठूलो महत्त्व हुदैन ।

बौद्धिकता (Reason) र संवेदना (Passion) का बारेमा हाइटको गजबको विश्लेषण छ । उनी व्यक्तिलाई एउटा हात्तीमाथि चढेको मानिसको प्रतिकको सहायतामा व्याख्या गर्छन् । यस प्रतिकमा हात्ती संवेदना हो भने व्यक्ति बौद्धिकता । हामीलाई लाग्छ हात्तीलाई त्यसमाथि चढेको मानिस (वा माहुते)ले निर्देशित गरेको हुन्छ । तर, हाइटको व्याख्यामा यो बिलकुल गलत हो । व्यक्ति संवेदना (Passion) बाट निर्देशित हुन्छ । बौद्धिकता (Reason) त्यही संवेदनालाई सही र तार्किक बनाउन उसले प्रयोग गर्ने औंजार मात्र हो । यस प्रतिकमा मानिसले हात्तीलाई निर्देशित गर्ने होइन, हात्तीले आफ्नो बाटो आफैं लिन्छ -मानिसले त हात्तीले लिएको बाटो किन सही छ भनेर पुष्टि गर्ने मात्र हो । 

यस प्रतिकमा हाइटले हात्ती रोज्नुको तात्पर्य के हो भने मानिस समग्रतामा निर्देशित हुने बौद्धिकताबाट होइन -आफ्नो संवेदनाबाट हो । संवेदनाको महत्त्व बौद्धिकताभन्दा हजारौँ गुना ठुलो हुन्छ ।

त्यसैले, हाइट भन्छन् -ट्रम्प वा मोदीका 'भक्त'हरूलाई गिज्याउने, गाली गर्ने, मुर्खको दर्जामा राख्ने कुरा समाधान होइन । उनीहरूको संवेदनालाई के-कस्ता कुराले प्रभाव पारिरहेको छ वा उनीहरूको 'हात्ती'को आकार वा रूपरङ्ग कस्तो छ -उदारवादीहरूले त्यसलाई सम्बोधन गर्नुपर्छ । पुस्तकमा हाइटले अमेरिकाको रिपब्लिकन पार्टी र त्यसको वरिपरी खडा भएको ‘टि पार्टी’ अभियानले प्रस्तुत गरेका तर्कलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यसलाई सामना गर्नमा डेमोक्रेटिक पार्टीको असफलताको रोचक विश्लेषण गरेका छन् ।

आफ्नो भन्दा फरक र अतिवादी दृष्टिकोणलाई सामना गर्नमा हाइटको सुत्र निकै चित्तबुझ्दो छ । तर, मेरा लागि भने पुस्तक महत्त्वपूर्ण यस अर्थमा रह्यो कि यसले समूहका तहमा मानिसको व्यवहारको अध्ययन गर्नका लागि हाइटले गजबको सैद्धान्तिक दृष्टिकोण प्रस्तुत गरेका छन् । माथि चर्चा गरिएको डकिन्सको मोडलमा रहेको अपर्याप्ततालाई हाइटले फ्रेन्च समाजशास्त्री एमिल डुखाइमको सिद्धान्तको सहायता लिएर पुरा गरेका छन् ।

हाइटको तर्क छ -मानिसले आफ्नो अस्तित्व रक्षा र अस्तित्वको प्रवर्धनलाई केन्द्रमा राखेको अवश्य हुन्छ, तर उसले व्यक्तिको अस्तित्वलाई मात्र हेर्दैन । मानिसका लागि समूह पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

हाइटले आफ्नो पुस्तकमा धर्मका बारेमा विस्तृत व्याख्या गरेका छन् । उदारवादी वा अथेइस्टहरू धर्मलाई समस्याका रूपमा देख्ने गर्छन् । उनीहरू धर्मलाई हिंसा र अन्यायको स्रोतका रूपमा नै मूल रूपमा बुझ्ने गर्छन् । तर, हाइटको विचारमा मानव विकासको इतिहासलाई हेर्दा धर्मले मानिसलाई अस्तित्वरक्षामा सहयोग नै गरेको देखिन्छ । धर्मले मानिसहरूलाई संगठित हुन, आफ्ना सीमाना निर्माण गर्न र एकआपसमा सहयोग आदानप्रदान गर्न सहयोग गरेका दृष्टान्तको उनले विस्तृत चर्चा गरेका छन् । रिचर्ड डकिन्सले धर्म र धार्मिकतामाथि गरेको कठोर आलोचनाको प्रतिवाद गर्दै हाइटले धर्मलाई मानिसले विकास गरेको सकारात्मक अभ्यासका रूपमा पुस्तकमा चित्रित गरेका छन् ।

समग्रमा, पुस्तक रोचक छ । यसलाई पढिसक्दा मैले विभिन्न खाले नयाँ दृष्टिकोणहरू जान्न पाएँ । हाइटको लेखन शैली पनि निकै रमाइलो छ । यस विषयमा चासो भए र समय भए हाइटको 'द राइचस माइन्ड' अवश्य पढ्नुहोला !

No comments:

Post a Comment