Bluesky

@sanpokh.bsky.social

Sunday, September 14, 2025

सत्य भ्रम हो, त्यसैले आफूलाई लागेका कुरा

यो लेखमा म नेपाल र नेपालीको बौद्धिक विश्लेषण गर्न गइरहेको छैन । सत्यसम्म पुग्न भनेर उपयोग गरिने बौद्धिकता पनि भ्रम हो । मानिस मूलतः मनोवेगबाट निर्देशित हुन्छ । सत्य, तथ्य, तार्किकता आदि कुरा त्यही मनोवेग (इमोशन, प्यासन, आदि)लाई लिपपोत गरेर टल्काउने औंजार हुन् । 

यस लेखमार्फत् म जे भन्न गइरहेको छु -ती पनि सबै मेरा नितान्त भावनात्मक कुरा मात्र हुन् ।

नेपालमा अहिले जे भएको छ त्यो आश्चार्यजनक छँदैछैन । नेताजीहरू मस्त जताबाट पायो त्यतैबाट सम्पत्ति सोहरेर  मोजमस्तीमा रमाइरहने र आम जनताले राज्यबाट असुविधा र अपमान मात्र खेपिरहने अवस्था अहिले सोसल मिडिया र इन्टरनेटको युगमा निकन्टक रहन सम्भव थिएन र छैन । तर, सोसल मिडियामात्र नेपालको यो आन्दोलनको ऊर्जा होइन । अहिलेको जस्तो सोसल मिडिया नहुँदा पनि नेपालमा भयङ्कर आन्दोलन भएका थिए । नेपालीहरू स्वभावैले आफ्नो अधिकारप्रति सचेत र जागरुक छन्, उनीहरू आफ्ना राजनीतिक अधिकारका लागि लड्न सत्तासँग डराउँदैनन् । २० वर्षअघिको जनआन्दोलन, मधेश आन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनहरूले नेपालीलाई विरोध गर्न सिकाएको छ । विरोध सशक्त भए आफ्नो माग पूरा हुनसक्छ भन्ने सिकाएको छ ।

नेपालका नेता कति मुर्ख हुन् भनेर म त छक्कै पर्छु ! पहिलो कुरा -पैसा र शक्तिप्रतिको मोह किन यति गाढा हो ? यिनीहरूलाई कति पैसा भए पुग्ने हो ? विलासिताका सामान (कार, घर, महँगा घडी, आदि) प्रतिको मोह किन यति सार्‍हो हो ? दोस्रो कुरा -राजनीतिक दलमा लागेर दलको काम गर्न र सार्वजनिक पदमा बस्नबाहेक जीवनमा अरू काम गर्न किन नजानेको हो ? अध्ययन गर्ने, आफूलाई रहर लागेको कला वा सीप सिक्ने, घुम्ने, परिवारसँग समय बिताउने, आफ्ना सिकाइ र अनुभव अरूसँग बाँड्ने आदि काम गर्न उनीहरूलाई सल्लाह दिने मानिस छैनन् होला ? यति बिधि घृणा र अपमान खेपेर पनि सत्ताको कुर्सीमा बसेर प्राण त्याग गर्ने रहर यिनीहरूलाई कहाँबाट आउँछ ? देउवा, प्रचण्ड र ओली अब पनि पार्टीको अध्यक्ष बन्ने र चुनावपछि प्रधानमन्त्री बन्ने रणनीतिमा छन् भन्ने लाग्छ है मलाई त ।

नेपालका नेताको सत्तामोह र पैसामोहमा निहित मुर्खता अन्तहिन र पिँधहिन (बटमलेस) छ । 'पैसा धेरै कमाऊ र ठूलो मानिस बन' भनेर प्रेरणा दिने सामाजिक परम्पराले मानिसलाई चैनले बाँच्न सिकाएको छैन । त्यसैले, मानिसहरू आफ्नो लोभ वा सम्पत्तिमोहलाई रिफ्लेक्सिभ भएर हेर्न सक्दैनन् । नेपालका नेता अरूलाई असल व्यवहार सिकाउने वास्तविक नेता बन्न सकेनन् -सर्वसाधारण मानिसजस्तो लोभी र इर्ष्यालु बने । सम्भवतः सर्वसाधारण मानिसभन्दा नेता गएगुज्रेका बने ।

अब कुरा गरौँ जेनजीको आन्दोलनले उजागर गरेको दुई राम्रा पक्षको ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई बुझ्ने सन्दर्भमा म बायस्ड छु । मलाई लाग्छ यो पार्टीको राजनीतिक र नैतिक धरातल कमजोर छ । नेपालका पुराना भ्रष्ट पार्टीको विकल्प भनेर बनाइएको यो पार्टीले देशलाई झन् ठूलो बेथितिमा धकेल्ने सम्भावना थियो । यसको कारण के भने यसको गठन गर्ने मूल व्यक्ति र यसमा आवद्ध धेरैजस्तो व्यक्ति विवादास्पद पृष्ठभूमिका थिए र छन् । रास्वपा गठनमा प्रमुख भूमिका खेल्ने व्यक्तिमध्ये कति त गलत र अनैतिक काम गरेर देश-विदेशका जेलमा छन् । आम जनताले विगतको निर्वाचनमा पुराना पार्टीको असन्तुष्टीको लाभ रास्वपालाई दिएका हुन् -तर भविष्यमा पनि यस्तै गरी लाभको उपयोग गरेर सत्ता र शक्ति हात पार्न सफल भएमा रास्वपा देशका लागि पुराना पार्टीभन्दा बढी हानिकारक हुने सम्भावना मैले देखेको थिएँ । पुराना पार्टीबाट धोका पाएका नेपालीले रास्वपाबाट फेरी धोका पाउँदा देश राम्रो बनाउन सकिन्छ भन्ने आशा नै मर्न सक्थ्यो । जेनजीको आन्दलोनले आम मानिसको असन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने रास्वपाको स्थापनाकाल देखिको सपनामा पानी खन्याइदियो । वास्तवमा भन्ने हो भने नेपालको राजनीतिमा रास्वपाको स्थान र अस्तित्व नै जेनजी आन्दोलनले समाप्त पारिदिएको छ । यो धेरै राम्रो कुरा भयो । 

जेनजी आन्दोलनको अर्को राम्रो पक्ष भनेको ज्ञानेन्द्र शाहको सपनामाथि खसेको चट्याङ् हो । ज्ञानेन्द्र शाह र उनले परिचालन गरेका मानिसहरूलाई राजनीतिक दलहरूप्रतिको मानिसको असन्तुष्टि आफ्नो पक्षमा उपयोग गर्न सकिने ठुलो आशा थियो । जेनजी आन्दोलनका क्रममा भएको हिंसामा उनीहरूले अवसर देखेका थिए र परिस्थिति आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास पनि गरे । सेनाले कु गर्दैछ भन्ने हल्ला नियोजित रूपमा चलाए । तर,  इतिहासले रद्दीको टोकरीमा फ्याकेंका सडेगलेका संस्था र मानिसहरूले नेपालका समकालिन जटिलताको सम्बोधन गर्लान् भनेर जेनजीले विश्वास गरेनन् । ज्ञानेन्द्रका पक्षमा माहोल बन्न सकेन । भविष्यमा पनि राजतन्त्र फर्काउने ज्ञानेन्द्रको तिकडमबाजी वा मानव परिचालन जारी रहन सक्छ । तर, उनको कुखुराले फुल पार्ने सम्भावना कमै छ ।

आफ्नो पछिल्लो लेखमा अमीत ढकालले लोकतन्त्र मास्ने प्रतिगमनको खतराको कुरा गर्नुभएको छ । लोकतन्त्रमाथि खतरा नभएको होइन, तर मलाई ज्ञानेन्द्र शाह वा नेपाली सेनाले लोकतन्त्र मासेर तानाशाही सुरु गर्ने हिम्मत गर्लान् जस्तो लाग्दैन । गरिहाले भने पनि यो तीन महिना बढी टिक्ने छैन । नेपाली जनता लोकतान्त्रिक वातावरणमा अभ्यस्त भइसकेका छन् । अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गरेर अब नेपालमा शासन चलाउँछु भनेर कसैले नसोचे हुन्छ । जुनसुकै तन्त्र भए पनि जनताका आवश्यकता र अपेक्षामा 'डेलिभर' गर्न नसक्ने शासनसत्ता ढल्न बेर नलाग्ने कुरा त जेन-जीकै पछिल्लो आन्दोलनले देखाइसकेको छ । त्यसैगरी, ज्ञानेन्द्र शाह कति पानीमा छन् भन्ने कुरा त उनी सर्वशक्तिमान भएका बेला उनी आफैँले चलाएको शासनशैलीबाट पनि देखिएको हो । सम्भावित ज्ञानेन्द्र शाहको शासन होस् वा सेनाको -त्यससँग जनताका अपेक्षा र देशका आवश्यकतामा डेलिभर गर्ने क्षमता वा भिजन दुवै हुनेछैन ।

बालेन शाहलाई देशभित्रको ठूलो जनसङ्ख्याले भविष्यको नेताका रूपमा हेरेको छ । उनका राजनीतिक दृष्टिकोणहरू अहिलेसम्म प्रस्ट रूपमा आएका छैनन् । उनले समर्थक र सुभेच्छुकको अपेक्षा पुरा गर्न आफ्ना दृष्टिकोण र व्यवहारलाई स्पष्टसँग आम जनतासँग राख्नुपर्नेछ । आगामी निर्वाचनले उनको राजनीतिक करिअरको भविष्य निर्धारण गर्नेछ ।

अनि 'ठूला' राजनीतिक पार्टी नि ?

विगत दुई दशकको मेरो पेशागत कर्ममा मैले केही नयाँ कुरा सुरु गरेँ, केही पुराना कुरालाई सुधार गर्ने प्रयास गरेँ । यस क्रममा मेरो अनुभव के रह‍यो भने -पुराना कुरा सुधार गरेर समय खेर फाल्नु भन्दा नयाँ कार्यक्रम, प्रक्रिया वा प्रयास थाल्नु धेरै व्यवहारिक हुन्छ । पुराना कुरा सुधार गर्दा खेर जाने समय नयाँ कुरामा लगाउन सके त्यसको प्रतिफल राम्रो हुन्छ । यो अनुभवका आधारमा मलाई लाग्छ कांग्रेस, एमाले र माओवादी पार्टीलाई सम्पूर्ण रूपमा पतन हुन दिनु नै बुद्धिमानी हुन्छ । यी दलहरूका विधि, प्रकृया र संगठनात्मक ढाँचा यति अप्रभावकारी र सुधारविरोधी छन् कि यी पार्टीहरूलाई असल र जिम्मेवार बनाउन सम्भव नै छैन ।

जेनजीको आन्दोलनपछि देउवा, ओली र प्रचण्डका बोली र व्यवहार हेर्दा पनि मलाई लाग्छ नेपालका पूराना दललाई सुधार गर्न वा राम्रो बनाउन सम्भव छैन ।

मानिसहरू लेगसीका कुरा गर्छन् । यो लेगसीको युग होइन । लेगसी भनेर मानेका कुरा संसारभर धमाधम भत्किरहेका छन् । नेपालमा पनि मानिसहरू अब पुरानो, बाजेका पालादेखि जानेको भनेर पहिलेको जस्तो 'आफ्नो' दललाई भोट हाल्दैनन् । यो कुरा असल राजनीति गर्न चाहने सबैले बेलैमा बुझेको राम्रो । राजनीतिक पार्टी खोल्न न धेरै पैसा चाहिन्छ न यसका प्रकृया जटिल छन् । पुराना पार्टीहरूमा  असल मानसिकता र चिन्तन भएका जेजति मानिसहरू छन् तिनीहरूले नयाँ पार्टी दर्ता गर्नु श्रेयस्कर होला । यसबाट आम जनताको अपेक्षा र लोकतन्त्रको मर्मअनुरूप पार्टी संगठन, विधि र प्रकृया तय गर्न सहज हुनसक्छ ।

नेपाली राजनीतिका बोटलनेक हटाउने कुरा चल्दा 'दोस्रो पुस्ता'को प्रसङ्ग धेरै उठ्छ । तर, नेपाली राजनीतिमा दोस्रो पुस्ताको कुरा मलाई मिसनोमर जस्तो मात्र लाग्छ । पुस्ता स्वयंमा योग्यता होइन । क्षमता, भिजन र पृष्ठभूमि हेर्दा भएका दलका दोस्रो पुस्ताबाट धेरै आशा गर्ने ठाउँ छैन । एमालेको दोस्रो पुस्ता (ईश्वर, शंकर, प्रदीप, योगेश, आदि)मा केपी ओलीको सडेगलेको मानसिकता भन्दा उन्नत मानसिकता छ जस्तो मलाई लाग्दैन । एमालेका केही महिला नेतृहरू (जस्तै, बृन्दा पाण्डे, समाजवादी पार्टीकी रामकुमारी झाँक्री आदि)मा विचारको प्रस्टता र केही व्यवहारिक दृष्टिकोण देखिन्छ । एमालेको भाइ पार्टीका घनश्याम भुषालका दृष्टिकोण र व्यवहार हेर्दा उनी यथार्थबाट १०० किलोमिटर पर रहेजस्तो लाग्छ मलाई -उनी पट्यारलाग्दा कोरा सैद्धान्तिक गफ गर्नमात्र माहिर छन् । माओवादीमा कि प्रचण्ड छन् कि कोही छैनन् ! उनीसँग बहस गर्नसक्ने र आफ्नो स्पेश बनाउन प्रयास गरिरहेका जनार्दन शर्मा अर्थमन्त्री हुँदाको पृष्ठभूमि हेर्दा नेपालको विषाक्त राजनीतिमा उनको योगदान प्रशस्त रहेको बुझ्न सकिन्छ। प्रकाशमान, प्रकाशशरण, पूर्णबहादुर आदिलाई दोस्रो पुस्ता भनेर कसैले पत्याउने छैन । गगन र विश्वप्रकाशले राजनीतिमा सफल हुन शेरबहादुरको आज्ञाकारी भएर आफ्नो इमेजलाई कमजोर बनाएका छन् । आगामी दिनमा उनीहरूले कसरी आफ्नो बिग्रेको इमेजमा सुधार गर्छन् त्यो हेर्न बाँकी छ । रास्वपामा मैले सुनेअनुसार सुमना श्रेष्ठ प्रशस्त अध्ययन गर्ने र आफ्ना विचारमा प्रस्ट नेतृ हुन् । उनले आफ्नो राजनीतिक करिअरलाई कसरी अघि बढाउने हुन् त्यो पनि आगामी दिनमा देखिएला ।

मलाई लाग्छ अबको निर्वाचन नयाँ जोश, जाँगर र भिजन भएका पार्टीहरूको हो । यसमा नयाँ संगठन, नयाँ नाम र नयाँ व्यक्तित्वको चर्चा हुनेछ । त्यसैले, जसले नयाँ कुरा दिन सक्यो त्यसको भविष्य छ । कांग्रेस, एमाले र माओवादी यही पार्टी संगठनबाट चुनाव लड्न गए राष्ट्रिय जमानत जोगिन पनि गार्‍हो देख्छु म त ।

No comments:

Post a Comment