Follow me on Twitter

Wednesday, April 22, 2026

राहुल रोय सफल कि असफल ?

तपाईंमध्ये कतिले 'आशिकी' नामको हिन्दी फिल्म हेर्नुभयो होला । सन् १९९० मा रिलिज भएको यो फिल्म धेरै लोकप्रिय भयो । यसका 'हिरो' राहुल रोय पनि यही फिल्मका कारण लोकप्रिय भए । भनिन्छ यो फिल्म रिलिज हुनासाथ उनले केही दिनभित्र ४५ भन्दा बढी अरू फिल्मका सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तर पछि राहुल रोयले खेलेका फिल्म धेरै चलेनन् । भारतीय फिल्म उद्योगमा एकाएक चम्केका उनी केही समयपछि हराए ।
चानचुन ३६ वर्षअघि रिलिज भएको यो फिल्म गत साता फेरी निकै चर्चामा आयो । यसको कारण थियो -यसका 'हिरो' राहुल रोयको एउटा छोटो भिडियो (तलको लिंक) । भिडियोमा उनी एउटा सामान्य बस्तीबाट आफ्नो सुटकेस घिस्याउँदै, ढाडमा झोला बोकेर कतै जानका लागि हिंडिरहेका छन् । यो भिडियो कुनै हिसाबमा पनि अनौठो देखिँदैन । तर, यसलाई लिएर भारतको सोसल मिडियामा भइरहेका चर्चाबाट भने म अचम्भित भएँ । मलाई अचम्म लाग्नुको कारण के भने भारतमा भिडियोमाथि टिप्पणी गर्ने सबैले राहुल रोयमाथि दया देखाउँदै 'कुनै बेलाको यति ठूलो कलाकार आज आफ्नो सुटकेस र झोला आफैं बोकेर हिँडिरहेको छ' भनेर दुखमनाउ गरे । टिप्पणी गर्ने कोहीले भने 'सफलता पाएँ भनेर नमात्तिनु -आज राहुल रोयलाई हेर !' भनेर अरूलाई शिक्षा पनि दिए । भिडियो हेर्ने सबैको ठहर के देखियो भने राहुल रोय असफलताको प्रतिक हुन् । उनी दया गर्नका लागि योग्य पात्र हुन् । यो भिडियो भाइरल भएपछि राहुल रोयलाई 'तिमी आफ्नो अवस्थाप्रति खुसी छौ कि दुखी ?' भनेर कसैले सोधेको छैन । तर, भारतीयहरूका लागि भने आफ्नो सुटकेस आफैं घिस्याएर, आफ्नो झोला आफैं बोकेर हिड्नु दुःख पाउनुको सूचक रहेछ । हरेक मानिसको लक्ष सफल हुनेमात्र रहेछ । कुनै बेला चाहेको, खोजेको सफलता हासिल गर्न नसक्ने मानिस जीवनभर दुखी भएर बाँच्ने रहेछ । राहुल रोयले आशिकी फिल्मछि अरू हिन्दी फिल्महरूमा धेरै नरुचाइनुलाई सामान्य रूपले लिएका पनि त हुनसक्छन् । हाल उनी खुसी र सन्तुष्ट हुनसक्छन् । आफ्नो सामान आफैं बोकेर हिड्नु; सामान्य ठाउँमा बस्नु र सामान्य रूपमा जीवन बिताउनु रोयको रोजाइ पनि हुनसक्छ ।

यो छोटो भिडियोमा पनि आफ्नो भिडियो खिचिरहेकाहरूप्रति रोयले नम्र, शालीन व्यवहार देखाएका छन् । उनी खुसी र सामान्य देखिन्छन् । जीवनमा निरन्तर सफल भइरहनु पर्छ । चाहेको, खोजेको सफलता हासिल गर्न सकिएन भने जीवन बेकार बन्छ । सफल मानिसले महँगा गाडी चढ्नुपर्छ । आफ्नो काम कामदारलाई गर्न लगाउनुपर्छ । यस्ता मान्यताले संसारलाई गाँजेको छ -र भारत र नेपाललाई अलि बढी नै गाँजेको छ । मलाई भने राहुल रोयप्रति बिल्कुल दया लागेन -बरु ती मानिसहरूप्रति दया लाग्यो जसले सन्तुष्टिलाई विलासिता र रवाफ भनेर बुझ्छन् ।

No comments:

Post a Comment