पश्चिमी वायुको प्रभावले केही दिनदेखि परिरहेको झरी थामिएपछि इस्लामाबादको आकाश बिहीबारबाट केही खुलेको छ।
घाम र बादलको लुकामारीबीच उत्तरपट्टिको मार्गला हिलमुनिको सुन्दर इस्लामाबाद सहर थप सुन्दर देखिएको छ।
यति नै बेला इस्लामाबाद एउटा ऐतिहासिक घडीको पर्खाइमा पनि छ। अमेरिका–इरान–इसराइलको युद्ध विरामपछि अमेरिका र इरानबीच आउँदो शनिबारबाट कुराकानी सुरू हुँदैछ।
उच्चस्तरीय वार्ताको तयारी स्वरूप सहरको सबभन्दा ठूलो होटल
सेरिना सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएका छन्। सहरका महत्त्वपूर्ण नाकाहरूमा
सेनाले कन्टेनर तेर्स्याएर आवतजावत नियन्त्रण गरेको छ।
इस्लामाबादमा बिहीबार र शुक्रबार सार्वजनिक विदा घोषणा गरिएको छ। सुरक्षा व्यवस्थालाई ध्यानमा
राख्दै सर्वसाधारण नागरिकलाई आवश्यक काम नपरी यात्रा नगर्न अनुरोध पनि गरिएको छ।
आगामी जून महिनामा
आफ्नो कार्यकाल पूरा गरेर फर्किनुअघि मेरा लागि यो वार्ता र यसको भव्य तयारी एउटा
सम्झिनलायक घटनाका रूपमा रहनेछ।
प्रधानमन्त्री शेबाज शरीफ र सेनाका फिल्ड मार्शल आसीम
मुनीरको सफलताका रूपमा हेरिएको पाकिस्तानको यो भूमिका बुझ्न विगत केही वर्षका घटना
हेर्नुपर्ने हुन्छ।
सात वर्षअघि, २०१९ जून महिनामा म पाकिस्तान आउँदा इमरान खानको नेतृत्वको सरकार सत्तामा
थियो। त्यस बेला 'नयाँ पाकिस्तान'
भन्ने नारा खुब लोकप्रिय थियो।
इमरान खान हरेक साता सरकारका कुनै न कुनै नयाँ योजना उदघाटन गर्थे र यसको प्रचारका लागि गजबको भाषण गर्थे।
तर कोभिड महामारीबाट उत्पन्न आर्थिक संकट अनि सुशासनमा उनको
सरकारको खराब प्रदर्शनपछि इमरानका विरोधीहरू जुर्मुराए। संसदको बहुमतबाट उनको
सरकार गिराइयो।
अहिले उनलाई विभिन्न आरोपमा जेलमा थन्क्याइएको छ। दुई
वर्षअघि भएको निर्वाचनका आधारमा पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शेबाज शरीफको
नेतृत्वमा सरकार बनेको छ।
डेढ वर्षअघि अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिको
निर्वाचनमा विजयी भएपछि धेरै मानिसहरूले ट्रम्पले इमरान खानलाई जेलबाट बाहिर
निकाल्न दबाब दिने अपेक्षा गरेका थिए।
वासिङटन डिसी र इस्लामाबादका घघडान विश्लेषकहरू ट्रम्प र
इमरानबीच विगतमा दौंतरी सम्बन्ध रहेको र इमरान छिट्टै जेलबाट बाहिर निस्किने दाबी
गर्दै थिए। जो बाइडेनको प्रशासनले पाकिस्तानी सेनासँग मिलेर इमरान खानमाथि अन्याय
गरेको कुरा तहेरिक–ए–इन्शाफ पार्टीका नेताहरूले ट्रम्पको नयाँ प्रशासनलाई
बताइरहेका थिए।
इमरानका समर्थकहरूमा पनि उनी र उनकी श्रमती बुसरा बिबी
जेलबाट बाहिर निस्किने आशा पलाएको थियो।
तर ट्रम्पले यो आशामाथि पानी खन्याइदिए। यसको ठिक उल्टो
इमरान खानका कट्टर विरोधी मानिएका सेनाका फिल्ड मार्शल आसिम मुनीर र प्रधानमन्त्री
शेबाज शरीफसँग पो ट्रम्पको सम्बन्ध सुमधुर भएर गयो।
अमेरिका र पाकिस्तानबीच इतिहासदेखि बलियो सम्बन्ध छ। तर भारत–पाकिस्तान बिचको गत वर्ष मे महिनामा भएको युद्ध रोक्न ट्रम्पको
हस्तक्षेपपछि यो सम्बन्ध असाध्यै सुमधुर र ऐतिहासिक रूपमा सुदृढ भएर गएको छ।
ट्रम्पले आसिम मुनीर र शेबाज शरीफलाई यतिबिघ्न मन पराउनुका
कारणबारे विभिन्न 'थ्योरी'
हरू प्रचलनमा छन्।
एउटा छ — पाकिस्तानले अमेरिकालाई आफ्नो देशमा रहेका दुर्लभ
खनिजमाथिको पहुँच दिलाउने सम्झौता गरेकाले ट्रम्प मख्ख छन्। गत वर्ष (सन् २०२५) सेप्टेम्बरमा भएको दुर्लभ खनिज पदार्थबारे दुईदेशीय सम्झौताका विषयमा विभिन्न
अडकलबाजी र षड्यन्त्रका सिद्धान्त पाकिस्तानभित्र चर्चामा छन्। पाकिस्तानका दुर्लभ
खनिज पदार्थलाई जटिल भूराजनीतिक अवस्थामा स्वार्थपूर्ण ढंगले प्रयोग गरिएको
अड्कलबाजी छ।
दोस्रो थ्योरी — डोनाल्ड ट्रम्प त्यस्ता मानिसहरूको संगत
रूचाउँछन् जो आफूभन्दा कमजोर अनि कम लोकप्रिय छन्। र, जसले आफ्नो विशालताबारे
खुलेर प्रशंसा गरिदिन्छन्।
शेबाज शरीफले नोबेल शान्ति पुरस्कारका लागि डोनाल्ड
ट्रम्पलाई गरेको मनोनयन उनले जीवनमा कहिलै बिर्सिने छैनन्।
इरान युद्धको दलदलबाट बाहिर निस्किने उपायका रूपमा शेबाज
शरीफ र आसिम मुनीरलाई रोज्नु ट्रम्पको आत्ममुग्धता मात्र भने होइन।
पाकिस्तान एक जटिल र संवेदनशील भूराजनीतिसँग चाहेर–नचाहेर
जोडिएको छ। भारतसँगको जटिल र द्वन्द्वले भरिएको सम्बन्धका कारण नेपालभित्र
पाकिस्तानलाई हामी मूलतः भारतको विरोधी राष्ट्रका रूपमा चिन्छौं। यद्यपि,
अफगानस्तान, इरान र चीनसँग सीमा जोडिएको पाकिस्तान पश्चिम एसियामा मात्र नभएर मध्यपूर्वका
आरोह–अवरोहमा पनि जोडिएको छ।
त्यसमाथि, पाकिस्तान
संसारको एक मात्र त्यस्तो मुस्लिम राष्ट्र हो जोसँग आणविक हतियार छ। यो विशेषताका
कारण मध्यपूर्वमा पाकिस्तानको विशेष महत्त्व छ।
साउदी अरबसँग त पाकिस्तानले गत वर्ष रणनीतिक सुरक्षा
सम्झौता गरेको छ। स्पष्ट रूपमा उल्लेख नभए पनि धेरै मानिसको अनुमान के छ भने
पाकिस्तानले परेको बखत साउदी अरबको सुरक्षाका लागि आणविक हतियार प्रयोग गर्ने
प्रतिबद्धता गरेको छ।
आणविक शक्तिसम्पन्न राष्ट्र पाकिस्तानको अवस्था भने
उत्साहजनक छैन। आन्तरिक अर्थतन्त्र बाह्य ऋणमा डुबेको छ जसमा पूर्वाधार विकासका
लागि भनेर चीनसँग लिएको ऋणको हिस्सा सबैभन्दा ठूलो छ।
कुल ग्रार्हस्थ्य उत्पादन वार्षिक रूपमा दुईदेखि तीन
प्रतिशतले मात्र बढिरहेको अर्थतन्त्र शिथिल अवस्थामा छ। तथ्यांकका अनुसार चानचुन ४५ प्रतिशत जनसंख्या चरम गरीबीको
रेखामुनि छ। कुल ग्रार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको हिस्सा १० प्रतिशत मुनि
छ। सार्वजनिक सेवा प्रवाहको अवस्था कमजोर छ।
तर, शेबाज शरीफको सरकार यति
बेला देशभित्रका यावत चुनौती सामना
गर्ने जिम्मेवारीमा नभएर मध्यस्थताकर्ताको जिम्मेवारीमा स्वाभाविक रूपमा डटेको छ।
शनिबार र आइतबार सेरेना होटेलमा अमेरिका र इरानबिच शान्ति सम्झौता सम्पन्न हुन सके
यसको श्रेय इस्लामाबादले पाउने छ यसबाट विश्वस्तरमा पाकिस्तानको छविमा सकारात्मक
प्रभाव पर्ने विश्वास गर्न सकिन्छ।
शेबाज शरीफको नेतृत्वको सरकार पाकिस्तानभित्र उतिसारो
लोकप्रिय छैन। दुई वर्षअघिको निर्वाचन निस्पक्ष नभएको बुझाइ सर्वसाधारण मानिसहरूको
मनमा गढेर बसेको छ। इमरान खान र उनको समग्र पार्टीमाथि राज्यले गरेको व्यवहाररेमा
पनि मानिसहरूमा असन्तुष्टि र आक्रोश छ।
यद्यपि, शेबाज
शरीफ सरकारले मध्यपूर्वमा भइरहेको युद्ध अन्त्य गर्न खेलेको भूमिकाबारे भने
पाकिस्तानको सामाजिक सञ्जालमा सकारात्मक
आश्चार्य देख्न सकिन्छ। पोस्टहरूले शेबाज शरीफ र
आसिम मुनीरलाई शान्ति स्थापनमा उनीहरूको भूमिकालाई सरहाएका छन्,
र सफलताको शुभकामना दिइरहेका छन्।
शान्तिको 'दलाल'
र मध्यस्थकर्ताका रूपमा संसारभर यति बेला पाकिस्तानको चर्चा
भइरहँदा भारतको चर्चा पनि जोडिएको छ।
'यस्तो भूमिका भारतले पो
खेल्नुपर्ने थियो' भन्ने आशयका टिप्पणी नयाँ
दिल्लीमा प्रशस्त देखिएका र सुनिएका छन्। पाकिस्तानको लोकप्रियतालाई आफ्नो असफलता
ठान्ने भारतको संस्थापनलाई अहिलेको भूरानजीतिक परिस्थितिबाट निकै असहजता सिर्जना
भएको बुझ्न सकिन्छ।
विश्लेषकहरूका अनुसार भारतको कूटनीतिक परम्परामा युद्ध
अन्त्यका लागि मध्यस्थता कर्ताका रूपमा संलग्न भएको
दृष्टान्त छैन। त्यसमाथि, अहिलेको युद्धबाट
अप्रत्यक्ष रूपमा प्रभावित भए पनि तुलनात्मक रूपमा पाकिस्तान मध्यपूर्वको
भूराजनीतिक परिवेशमा सान्दर्भिक भएकाले मध्यस्तकर्ताका रूपमा उसको भूमिका
स्वाभाविक भएको हुन सक्छ।
यथार्थ के पनि हो भने, विगतका वर्षहरूमा नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको कूटनीतिक भूमिका
कमजोर बनाएको छ। विश्व परिवेशमा भारतको कमजोर भूमिका भारत–पाकिस्तानबीच गत वर्ष
भएको तीन दिने युद्धको निरूपणका क्रममा प्रस्ट भएको थियो।
इरानमाथि इसराइलले आक्रमण गर्नु ठिकअघि प्रधानमन्त्री मोदीले इसराइल भ्रमण गर्दै बेन्जमिन नेतन्याहुको प्रशंसा गर्नु भारतका लागि प्रत्युत्पादक
भएको अनुमान विश्लेषकहरूले गरेका छन्। भारतका विदेशमन्त्री जयशंकरले
मध्यस्थकर्ताका रूपमा पाकिस्तानको भूमिकालाई 'दलाली'
का रूपमा व्याख्या गर्नुले पनि भारतका रणनीतिक कमजोरीलाई
छतछुल्ल पारेका छन्।
आफू 'विश्वगुरू'
भएको भनेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा
गरेको प्रचारप्रसार आज उनका विरोधीहरूका लागि मजाकको विषय बनेको छ।
इस्लामाबादको सेरेना होटल उच्चस्तरीय विदेशी पाहुनालाई
सत्कार गर्ने पाकिस्तानको गजबको केन्द्र हो। यसै होटलको अर्को भवनको व्यापारिक
भवनमा मेरो कार्यालय रहेकाले विगतमा अनगिन्ती उच्चस्तरीय विदेशी पाहुना र क्रिकेट खेलाडीको आवागमन प्रत्यक्ष रूपमा देख्न
पाएको छु।
यस पटक भने पाकिस्तानको सुरक्षा निकायले विशेष सुरक्षा
सतर्कता अपनाउँदै हाम्रो कार्यालय भवन समेत खाली गराएको छ। 'हाइ प्रोफाइल भिजिट' क्रममा आफ्नो कार्यालय
परिसर वरपर देखिने रोमाञ्चकताबारे म घरमा बसेर अनुमान मात्र गर्न सक्छु!
तर फेब्रुअरीको २८ तारिकमा अमेरिका र इसरेलले इरानमाथि
संयुक्त रूपमा आक्रमण सुरू गर्नुअघिको अवस्थामा विश्व कूटनीति र अर्थतन्त्र फर्किन
सम्भव छैन।
अमेरिका र इसराइलको यो मूर्खतापछि धेरै कुरा फेरिएका छन् र फेरिनेछन्। मध्यपूर्वमा नयाँ
भूराजनीतिक परिवेश निर्माण हुनेछ। पर्सियन खाडीमा रहेका अरबका विलासी राजा र
युवराजहरूका लागि तेल बेचेका पैसाले अनन्तकालसम्म सुरक्षा र विलासिता किन्ने
सम्भावनाको पनि अन्त हुन सक्छ।
यो अनावश्यक युद्धको प्रभाव भने संसारका गरिब र विपन्नहरूमाथि नै बढी पर्नेछ। पेट्रोलियम पदार्थ लगायत
अत्यावश्यकीय सामग्रीको अभाव र यसबाट सिर्जना हुने महँगीले गरीबलाई थप गरीब
बनाउनेछ।
तर युद्धको निरन्तरताबाट सिर्जना हुने अवस्था झन् भयावह
हुनेछ। त्यसैले, संसारको आँखा यस बेला
पाकिस्तानको इस्लामाबाद सहरमा अडेको छ।
मलाई आशा छ पाकिस्तानको मध्यस्थतामा भइरहेको शान्ति वार्ता
सफल हुनेछ र अमेरिका–इरान–इसरेलबिचको युद्ध रोकिनेछ।
अल द भेरी बेस्ट इस्लामाबाद!
No comments:
Post a Comment