नेपालको निर्वाचनको माहोलबाट म टाढा छु । धुमधामले प्रचार-प्रसार चलिरहेका बेला को लोकप्रिय छ, कसले जित्ला, कसले हार्ला भन्ने अनुमान गर्न म सक्दिन, न त यसमा मेरो रुचि छ । त्यसैले, यो लेखमा म निर्वाचनको परिणामको आकलनमा केन्द्रित हुनेछैन । यस निर्वाचनले नेपालको राज्य र समाजलाई भोलिको दिनमा कस्तो प्रभाव पार्ला ? यस विषयमा मेरा दृष्टिकोण यहाँहरूलाई सुनाउन चाहन्छु ।
१. सबै राम्रा कुराको परिणाम राम्रो हुन्छ भन्ने छैन ।
विगतका तीन स्वतन्त्र र शान्तिपूर्ण आम निर्वाचनले नेपालको राजनीतिक र सामाजिक
अवस्थालाई सकारात्मक बाटोमा हिँडाउन कुनै योगदान गर्न सकेनन् । जनताको स्पष्ट
म्याण्डेट पाएर पनि नेपाली राज्य र बृहत् समाजका पेचिला मुद्दाहरूलाई राजनीतिक
दलहरूले सम्बोधन गर्न नसक्नु नेपालको मूल समस्या हो । राजनीतिक दलहरूको
अकर्मण्यताका निश्चित कारण छन् । ती नेपाली समाज तथा संस्कृतिको संरचनासँग जोडिएका
छन् । अर्थराजनीतिमा जोडिएका जटिलता सम्बोधन नगरी राजनीतिक दलहरू असल वा प्रभावकारी
हुने अपेक्षा गर्न सकिन्न । यसपटकको निर्वाचनमा पनि जोसुकैले जितहार पाए पनि
नेपालका मूल समस्या ज्युँका त्युँ रहनेछन् ।
२. यसपटकको निर्वाचनमा जुनसुकै दलले बहुमत ल्याए पनि
नेपालको अवस्थामा सुधार नहुने बरु यसको उल्टो दुःखकष्ट थप जटिल भएर जाने मेरो
बुझाइका निश्चित कारण छन् । निर्वाचनको माहोलमा लोकप्रिय न्यारेटिभहरूलाई हेर्दा
राज्य र त्यसमा नागरिकको स्थानका बारेमा राजनीतिक दलमात्र नभएर आम जनतामा पनि गलत
दृष्टिकोण स्थापित भएको देखिएको छ । शिक्षा प्रणाली ध्वस्त भएको र चेतनाको स्तर
खस्किएको वर्तमान नेपालको यथार्थमा यो अस्वाभाविक पनि होइन । नेपालको वास्तविक
अवस्था, यसका
वास्तविक सम्भावना र सुधारका वास्तविक आयामहरूलाई एउटा कुनामा थन्क्याएर
राजनीतिलाई सतही, मनोरञ्जनात्मक, आवेशपूर्ण दिशामा मोड्ने
प्रयास भएको छ, र
यो प्रयास निकै हदसम्म सफल पनि देखिएको छ । परिणामस्वरूप, यसपटकको निर्वाचनले देशलाई
कमजोर र व्यक्तिविशेषलाई सर्वशक्तिमान बनाउने जोखिम छ ।
३. यसपटकको आम निर्वाचनमा लोकतन्त्र, न्याय, समवेशिताका स्वरहरू
सीमान्तमा छन् । निर्वाचनमा होमिएका दल र तिनका प्रत्यक्ष, अप्रत्यक्ष बोली व्यवहार
हेर्दा आम निर्वाचनपछि नेपालमा अति दक्षिणपन्थी, संविधानविरोधी, समावेशिता र न्यायको भावना विपरित काठमाडौँकेन्द्रित मध्यमवर्ग र त्यसका
अजेन्डा बोकेर अर्थराजनीतिमा आफ्नो भूमिका बचाउन सफल अभिजातवर्गको बर्चस्व स्थापित
हुने बलियो सम्भावना छ । ‘दिल्लीको जस्तो फ्लाइओभर र सिङ्गापोरको जस्तो ठुलो
एअरपोर्ट नभएर नेपालको बदनाम भएको छ’ भन्ने पछुतो मनमा बोकेर बसिरहेको सतही
मध्यमवर्गको सपना निर्वाचनले पुरा गरिदेला । तर, निर्वाचनपछि संविधान कमजोर बनाउने, धार्मिक राज्यको अवधारणा
फर्काउने, राजतन्त्र
फर्काउने, राष्ट्रवादलाई
शासनको मूल मन्त्र बनाउने, सरकारलाई
अझ केन्द्रिकृत बनाउने प्रयासहरू थप घनिभूत हुँदै जानेछन् ।
४. देशको महत्त्व सबैले सपनामा देख्ने गरेको दोहोरो अङ्कको
आर्थिक वृद्धिदर वा भयङ्कर ठूला भौतिक पूर्वाधार मात्र होइन । प्राकृतिक
सुन्दरतासँगसँगै नेपाल यहाँको विविधता र खुलापन लागि पनि विश्वमा चिनिएको थियो ।
०४७ साल र २०६२-६३ को राजनीतिक परिवर्तनपछि लोकतन्त्र र सामाजिक न्यायका क्षेत्रमा
नेपालको प्रतिवद्धता तथा प्रयासलाई पनि संसारले सर्हाएको हो । नेतृत्वको अकर्मण्यताका
कारण राजनीतिक प्रणाली तथा दलप्रति मानिसहरूको नकारात्मकता बढेको भए पनि लोकतन्त्र, खुलापन र समावेशिता नै
नेपालका मर्म हुन् । तर, आज
प्रकृति, समाज
र राजनीतिका सुन्दर पक्षहरूलाई संरक्षण र संवर्धन गर्ने औचित्यबाट राजनीति र समाज
झनझन् विमुख हुँदै गएको छ । आसन्न निर्वाचनसम्म आइपुग्दा दल प्रणालीको विरोध गर्ने
दल वा शक्तिहरू लोकप्रिय देखिनु नेपालको दुखद् यथार्थ बनेको छ । नरेन्द्र मोदीले
हिन्दुवाद र संकिर्ण राष्ट्रवादको दलदलमा भारतलाई डुबाएर जसरी वास्तविक तथा समग्र
समुन्नतिको सम्भावनालाई दशकौं पछि धकेलिदिए त्यही असफल 'मोडेल'मा
नेपाल अघि बढ्न लालायित देखिएको छ ।
५. यसपटकको निर्वाचनले आम जनतालाई मूर्ख बनाएर कम्युनिस्ट
सिद्धान्तका नाममा मनपरी शासन चलाउने भ्रष्टहरूलाई कमजोर बनाउन सक्छ । विपन्न जाति
तथा क्षेत्रका मुद्दा बोकेर व्यक्तिगत स्वार्थको भूमरीमा डुबेका दलहरूले पनि
भविष्यमा रोजीरोटी गुमाउलान् । यी सुखद् कुरा होलान् । तर, यो सुखद् अवस्थालाई उपयोग
गरेर जनमत आफ्नो पक्षमा पार्ने इमानदार र प्रभावकारी वैकल्पिक राजनीतिक शक्ति
निर्वाचनको मैदानमा देखिएनन् । ‘फलानालाई किन भोट हाल्ने ?’ भन्ने प्रश्न गर्दा ‘त्यसो
भए ढिस्कानालाई हाल्ने त ?’ भन्ने प्रतिप्रश्न उठ्ने अवस्था दुखद् र दुर्भाग्यपूर्ण हो ।
६. नेपालमा विदेशीहरूको चलखेल छ भन्ने थ्यौरीमा म विश्वास
गर्दिन । भूराजनीतिक संवेदनशिलताका कुरा गर्नेहरूले नेपाललाई दिएको अति महत्त्व
पनि मलाई सतही लाग्छ । चीनका लागि नेपालले धेरै महत्त्व राख्दैन , भारतले नेपाललाई आफूसँग 'इन्गेज' गराइराख्ने बौद्धिक र नैतिक क्षमता गुमाएको छ । तर, नेपाल होस् वा संसारको
कुनै कुनामा रहेको कुनै अर्को अमूक देश -आन्तरिक सन्तुलन बिग्रेपछि विदेशी
हस्तक्षेपको सम्भावना व्हात्तै बढ्छ । गैरजिम्मेवार र सतही व्यक्ति वा शक्तिले
उत्पन्न गर्ने जोखिम आम मानिसले सोचेभन्दा भयानक हुन्छन् । मलाई लाग्छ नेपाल यस्तो
जोखिमतर्फ क्रमशः अघि बढिरहेको छ । यसको अर्थ विगतका सरकारका नेतृत्व र त्यसका
आसेपासे सक्षम, सन्तुलित
र जिम्मेवार थिए भन्ने होइन । आजको गैरजिम्मेवार र अपारदर्शी राजनीतिक संस्कार
निर्माण हुनुमा उनीहरू नै जिम्मेवार छन् । यो तुलना गर्ने कुरा होइन । यथार्थ के
हो भने चुनावी मैदानमा देखिएक राजनीतिक शक्तिहरूमा राजनीतिक स्पष्टता र
इमानदारिताको अभाव छ । यसले नेपाललाई अझ ठुलो संकटको भूमरीमा धकेल्ने जोखिम छ ।
७. राज्य कुनै कारखानामा उत्पादन हुने वस्तु होइन । एक सबल, स्थीर राज्यको स्थापना र
विकासका लागि अनेकन शताब्दिहरू खर्च हुन्छन् । सम्भवतः नेपालले अझ थप चुनौति र
संकट देख्न बाँकी नै छ । त्यस अर्थमा, यस निर्वाचनपछि नेपालले भोग्ने संकट अस्वाभाविक होइनन् । यही कारणले मलाई
लाग्छ यसपटकको निर्वाचनमा नयाँ मानिस र नयाँ शक्तिहरू विजयी हुनुपर्छ र उनीहरूलाई
पनि आम जनताले परीक्षण गर्न पाउनुपर्छ । यस पटकको निर्वाचनको परिणाम र त्यसपछि
उत्पन्न हुने खराब अवस्थाबाट असल र प्रभावकारी राजनीतीको महत्त्व बारे नेपालले
केही अनुभव हासिल गर्न सक्ला कि ? यदि यस्तो भयो भने चाहिँ यो निर्वाचनको सकारात्मक परिणाम हुनेछ ।
अन्तमा, निर्वाचनप्रति मेरो उदासिनता यसपछिको यसै ब्लगमा पोस्ट गरेको कवितामा प्रस्ट पारेको छु ।
No comments:
Post a Comment