Bluesky

@sanpokh.bsky.social

Tuesday, February 10, 2026

रमाइलो मेला

एक साँझ, एक गाऊँ
एक तलाउ, एक विपद्
धमिलो पानीमा क्रमशः डुबिरहेको एक शरीर
हतास आँखा, रुग्ण विलाप -‘मलाई बचाउन आउँछौ कि कोही !?’

तलाउको वरिपरी रमाइलो मेला छ ।
हाँसो, ठट्टा, विद्वत विमर्श, नाचगान
सेल्फी, लाइक, शेयर, हाँसोका फोहरा, भतेरका बडेमानका ढेरी
जलुस, सभा, भाषण अनवरत
'हामी सजाउने छौँ उसको सुन्दर मुहार' -एउटा भन्छ
'हामी भर्नेछौँ उसको शरीरमा तागत' -अर्कोको पालो
'हामीसँग छ उसलाई सुहाउँदो रहस्यमयी सुबास' - तेस्रो चिच्याउँदैछ
'हामीसँग छ ती ओठमा मुस्कान फर्काउने जादुयी सुत्र' -चौथोको दाबी
मादलको धुन ‍-धिनकिनातिन, धिनकिनातिन !
सबै मदहोस !

कसले भर्‍यो ज्यानमारा तलाउमा पानी ?
कसले धकेल्यो किनारबाट उसलाई ?

रमाइलो मेला प्रश्नहरूमा अल्झिने छैन ।
रमाइलो मेला विगतमा फर्किने छैन ।
'नमस्ते', 'भोट मलाई है', 'मुसुक्क', 'भइहाल्छ नि' !

पानीमाथि तैरिरहेको एउटा शरीर 
स्थीर आँखा, निभेको आगो ।

No comments:

Post a Comment