Thursday, December 4, 2014

बकबास –तर कसको ?

गढीमाईको प्रसङ्गमा आज सौरभले आफ्ना तर्कहरू प्रस्तुत गर्नुभएको छ -हेर्नुहोस् कान्तिपुर दैनिकमा प्रकाशित उहाँको लेख । तर्क अनपेक्षित छैनन् । परम्परागत हिन्दु सामाजिक तथा सांस्कृतिक मान्यताका पक्षमा उहाँको कलम निरन्तर चलिरहेकै छ । त्यसैले गढीमाईमा हुने पशुबलिको बचाउमा उहाँका विचार आउनुलाई अनौठो मान्न नमिल्ला । यस प्रसङ्गमा उहाँको कलम अलि ढिलो चलेकोमा भने बरु थोरै आश्चार्य लागेको हो ।

म गढीमाईमा हुने पशुबलि विरोधी अभियन्ता होइन । हुने रहर पनि छैन । गढीमाईमा हुने पशुबलिले मलाई भौतिकरूपमा वा प्रत्यक्ष असर गर्दैन । यस प्रसङ्गमा अलिदिन पहिले एउटा लेखमार्फत् आफ्ना बुझाइहरू राखिसकेको पनि छु । थप नबोले पनि हुने हो ।

तर, सौरभको लेख पढ्दैजाँदा मलाई लाग्यो कुरा गढीमाई वा पशुबलिको मात्र होइन । यो बहसमा अरू पनि कुरा लुकेका छन् । हाम्रो सोचाइको संरचना र विवेकको प्रसङ्ग लुकेको छ । आफ्नै नाकमुन्तिरको यथार्थलाई आत्मसात गर्ने कि नगर्ने ? भन्ने चुनौती लुकेको छ । अलिकति हाम्रो भविष्यको दिशा र सम्भावना लुकेको छ । यसैकारण उही प्रसङ्गमा फेरि लेख्ने चाहना भयो ।

आज म गढीमाईको बलि किन विरोधयोग्य छ ? भन्ने चर्चा गर्न गइरहेको छैन । किनकि यो विषयमा इन्टरनेट चलाउने क्षमता भएका यहाँजस्ता सबै मानिस जानकार छन् । सौरभको लेखमा उठाइएका तर्क त झनै बहसयोग्य छैनन् । तसर्थ, गढीमाईका पक्ष र विपक्षमा बहस गर्नु मेरो विचारमा अब दृष्टिकोणमा बहस गर्नुमात्र हो जसको कुनै निश्कर्ष हुँदैन । तसर्थ, मेरो आजको लेखलाई मूलतः दुई अवधारणाको चर्चामा सीमित राख्न चाहान्छु । ति हुन् –उत्तरऔपनिवेशिक लघुताभाष र पहिचानको सङ्कट ।

उत्तरऔपनिवेशिक लघुताभाष

नेपाल कहिलै कसैको उपनिवेश रहेन । यो ऐतिहासिक यथार्थ हो । तर, औपनिवेशिकता भूगोल वा प्रशासनको कुरामात्र होइन । यो मूलतः चेतको कुरा हो । दृष्टिकोणको कुरा हो । नेपालको भूगोल पश्चिमा मुलुकको उपनिवेश नभएको कुरा साँचो त हो तर नेपाली मानसिकता औपनिवेशिक सोचबाट स्वतन्त्र छैन । यो पनि साँचो हो ।

आफ्ना सामाजिक/सांस्कृतिक विशेषताको मूल्याँकन गर्दा कुनै अर्को देश वा समाजको दाँजोमा आफू उन्नत वा निकृष्ट भएको लेखाजोखा गर्नु समयको बरबादी मात्र हो । तर, अक्सर अरूलाई केन्द्रविन्दुमा राखेर आफ्नो मूल्याँकन गर्ने प्रवृत्ति नेपालमा बढी छ । औपनिवेशिक मानसिकताको प्रमुख विशेषता यही हो ।

समाज र संस्कृतिका बारेमा हुने छलफल –चाहे त्यो महिला अधिकारको विषय होस् या गढीमाईको –पश्चिमा संस्कृतिसँगको तुलनाबाट सुरु हुन्छन् र त्यहीँ पुगेर सकिन्छन् । यस्ता बहसका अधिकांश तर्क हुन्छन् –"पश्चिमा समाज विकृत छ । उनिहरू सतही छन् । उनिहरूको इतिहास छोटो छ, सभ्यता खोक्रो । उनिहरूका तुलनामा हामी उन्नत छौँ । हाम्रो संस्कृति गहिरो छ । इतिहास लामो छ । सभ्यता गुदी नै गुदीले भरिएको छ ।"

सौरभले अरूका तुलनामा आफ्नो संस्कृति र परम्परा विशिष्ट भएको प्रमाणित गर्ने ध्याउन्नमा ‘पश्चिमाले चलाउने’ डिस्कभरी आदि टेलिभिजन च्यानलमा सिंहले जिब्रा खाएको दृश्य देखाउने हुनाले तिनहरू ह्रिंसक हुन् भन्नसमेत भ्याउनुभएको छ ।

झट्ट हेर्दा/सुन्दा यो आफ्नोपनप्रतिको गौरव जस्तो सुनिन्छ । तर, यसमा नमिठो लघुताभाष लुकेको छ । एक प्रकारको असुरक्षा । एउटा गहिरो शंका ।

यसलाई एउटा अर्को पाटोबाट हेरौँ । विदेशी र विशेषगरि खैरो/गोरो छाला भएका मानिसले नेपालमा ठूलो सम्मान पाउँछन् । सामान्य गुण र क्षमताको भए पनि गोराहरूलाई हामीले गर्ने मानमनितो निकै ठूलो हुनेगर्छ । उनिहरूले जति सामान्य कुरा भनेपनि हामी त्यसलाई महत्त्वपूर्ण नै ठान्छौँ । उनिहरूका अगाडि सकिनसकि अङ्ग्रेजी बोल्छौँ । उनिहरूका देश घुमेको र उनिहरूले खाने खानेकुरा खाएको बखान गर्छौँ । ‘तिमीलाई नेपाल कस्तो लाग्यो ?’ भनेर सोध्छौँ । ‘धेरै राम्रो’ भनिदिँदा गौरवान्वित बन्छौँ ।

तर, जब आफूलाई सही वा प्यारो लागेको कुराको बचाउ गर्नुपर्ने हुन्छ; आफ्नो विशिष्टता प्रमाणित गर्नुपर्ने हुन्छ; आफू ठूलो देखिनुपर्ने हुन्छ –उनिहरूलाई सकेसम्म तथ्य र तर्क बटुलेर सराप्छौँ । किनभने आज नेपालीहरू आफूलाई कसैले होच्याउँछ कि ? अरूले आफ्नो बारेमा केही नराम्रो भनिदिन्छ कि ? यसबाट आफू सानो भइन्छ कि ? भन्ने असुरक्षा र लघुताभाषमा बाँचीरहेका जस्तो देखिन्छ ।

गढीमाईको परम्पराको बचाउमा टर्की, भेडा वा गाईको प्रसङ्ग निकालेर अरूलाई मुर्ख र आफूलाई उन्नत देखाउन खोज्नु यही लघुताभाषको परिणाम हो । एक अर्थमा पाखण्ड ।

गढीमाईको बचाउ गर्न विदेशीलाई गरिएको गाली सुन्दा कहिलेकाहिँ त यस्तो लाग्छ अब कुनै विदेशीले एक दिन “गाईबस्तुको गोबरमा मानव शरीरलाई हानी पुर्‍याउने किटाणु हुन्छन्” भन्यो भने उसका रिसले कतिपय मानिस गोबरको अचार बनाएर खान तत्पर हुन्छन् । हिन्दु परम्परामा घर लिपपोत गर्न होस् या पञ्चगब्य बनाउन –गोबरको महत्ता त्यसै पनि ठूलो छँदैछ । ‘पश्चिमाहरूले गाईको मलमुत्रको गहिरो अर्थ बुझेकै छैनन्’ भन्न पनि नसकिने होइन । सौरभको शैली पछ्याउँदै गोबर शब्दको उत्पति र व्युत्पति केलाएर मानव वंशको उत्पति नै गोबरबाट भएको हो भनिदिए पनि भयो ।

पहिचानको सङ्कट

विगत १०० वर्षमा संसार अभूतपूर्वरूपमा परिवर्तन भएको छ । यो परिवर्तनलाई कसैले विकास भनेर अर्थ्याउँछन्,  कसैले समृद्धिको नाम दिन्छन् । परिभाषा जे भए पनि हाम्रा बाँच्ने, मर्ने, खाने, लाउने शैली बदलिएका छन् । दृष्टिकोण बदलिएका छन् । जीवनयापनका पद्दति बदलिएका छन् ।

छोटो अवधिको अभूतपूर्व परिवर्तनले समानता र पृथकताको अन्तर्द्वन्द्वमा समग्र विश्वलाई धकेलेको छ । एकातिर समान जीवनशैली र सोचाइको प्रक्रियाबाट मानिसहरू प्रभावित छन्, अर्कोतर्फ आफूमा रहेका पृथकता र विशिष्टताका बारेमा पनि झन् बढी चेतना र चिन्ता बढिरहेको छ । अङ्ग्रेजीको Running with the hare, hunting with the hounds भन्ने उखान झैँ मानिसहरू अरूसँग समान पनि हुन खोजीरहेका छन् र सँगसँगै आफूलाई फरक देखाउने चुनौतीबाट पनि ग्रसित छन् ।

आधुनिक हुने या भनौँ पश्चिमा जस्तै देखिने यो दौडमा रहेका धेरैलाई विगतमा चासो नभएको आफ्नोपनले पोलेको छ । नेपालमा मात्र होइन आधुनिकता र भूमण्डलीकरणको प्रभावमा परेका धेरैलाई पहिचानको सङ्कटले सताएको छ ।

आफ्नो ऐतिहासिकता, संस्कृति, परम्परा, भाषा, भेषभुषा वा भूगोल आदि आफूलाई प्यारो लाग्नु स्वभाविक हो । तर पहिचानका लागि यिनलाई महत्त्व दिने होडमा हामी सामान्यतः यिनिहरूसँगको आफ्नो सान्निध्यको अन्तर्वस्तुमा ध्यान दिँदैनौँ । यसका सीमितता बुझ्दैनौँ । यसका जटिलतालाई आत्मसात गर्दैनौँ । बरु आफ्नो विशिष्टता र पहिचानलाई जोड दिन नयाँ प्रतिक र मानक खोज्छौँ र तिनको वकालत गर्छौँ । नयाँ तर्क र प्रमाण खोज्छौँ –चाहे ति सान्दर्भिक हुन् या असान्दर्भिक ।

यसको समाधान के हो ? पहिचानको प्रश्न सहजतापूर्वक कसरी हल होला ? समानता र विशिष्टताको अन्तर्विरोधलाई हामी कसरी व्यवस्थापन गरौँला ? यी प्रश्नहरू जटिल छन् । तर, एउटा कुरा प्रस्ट छ –हामी ठूलो हुन मुर्ख हुँदैछौँ; विशिष्ट हुन हास्यास्पद हुँदैछौँ; राम्रो हुन कुरुप हुँदैछौँ ।

गढीमाईको बलिलाई सही पुष्टि गर्न सौरभले प्रस्तुत गर्नुभएको एउटा तर्क हेरौँ –“अष्ट्रेलियाभर वर्षेनि लाखौं खरायो र हजारौं कंगारुहरू मारिन्छन् । अभियानकै रूपमा यो चलेको छ । यतिबेला त्यस मामिलामा यी किन मौन छन् ?” सौरभको यो भनाइ आफू विशिष्ट देखिनका लागि गरिने हास्यास्पद तर्कजस्तो मात्र सुनिन्छ । निश्चय पनि अष्ट्रेलियनहरू हजारौँ क्याङ्गारु र खरायोलाई दाम्लोले घिसार्दै खूला चौरमा लगेर भगवानको नाममा मार्दैनन् र तिनका रगत र मृत शरीर छोडेर लाखापाखा लाग्दैनन् । यो सामान्य तथ्य र वास्तविकतालाई लुकाएर सौरभले हालेको तर्क विवेकशुन्य छ ।

सूचना वा ज्ञान किनेर, मागेर वा चोरेरसमेत प्राप्त गर्न सकिन्छ –तर विवेक आफैँले सिर्जना गर्नुको विकल्प छैन । आजको विश्वमा र विशेषगरि हाम्रो विश्वमा विवेकको अभाव झन् गहिरो हुँदैगएको छ । अरुन्धती रोयले एक प्रसङ्गमा भनेझैँ सूचना प्रविधिको विकास र विस्तारको प्रभावले चेतनाको विस्तार हुनुको सट्टा आजका मानिस विगतको तुलनामा झनै बढी सतही, असहिष्णु हुँदैछन् । समग्रमा हामी विवेक गुमाउँदैछौँ ।

आफ्नो पहिचानको सङ्कटको कारकका रूपमा अरूलाई जिम्मेवार बनाउन प्रयत्न गर्न त नसकिने होइन । तर, यसको वास्तविक जिम्मेवार पहिचानवाला आफैँ हो । पहिचानका आधार र विशेषताको तार्किक र चित्तबुझ्दो व्याख्या खोज्ने र आफ्नो परम्पराको समयानुकुल सुधार गर्ने जिम्मा सम्बन्धित समुदायको हो -अरूको होइन ।

गढीमाई कुनै मुद्दा होइन । यो ठूलो चिन्ताको विषय पनि नहोला । तर, यसलाई बुझ्ने र अर्थ्याउने क्रममा हामी जेजस्ता तर्क गर्दैछौँ तिनले हाम्रो सोचाइको सीमितता र तिनमा अन्तर्निहित अन्तर्विरोधलाई सतहमा ल्याएका छन् । पहिचान र परम्पराको बचाउ गर्न तम्सेका विद्वानका तर्कहरू उहिलेउहिले सात कक्षाका विद्यार्थीले लेख्ने स्कूले निबन्धभन्दा सतही देखिएका छन् । सहज बुद्धि लगाएर हाम्रा परम्परा र संस्कृतिमा अन्तर्निहित जटिलताको चर्चालाई ‘पश्चिमाको षड्यन्त्र र बकबास’का रूपमा परिभाषित गर्दा हामी आफू कति बकबास गरिरहेका छौँ हेक्का पाइरहेका छैनौँ । चिन्ता यसमा छ ।

अन्त्यमा, दीपा मेहताले भारतमा विधवामाथि हुनेगरेको दुर्व्यवहारमाथि बनाएको Water सिनेमाबाट एक सम्वाद राख्दै विदा चाहान्छु । धन्यवाद ।

Narayana: All the old traditions are dying out.

Kalyani: But what is good should not die out.

Narayana: And who will decide what is good and what is not?

Kalyani: You!



6 comments:

  1. कृष्णि कोशिवाटDecember 4, 2014 at 4:57 PM

    सन्दर्भिक छ ।

    ReplyDelete
  2. आफ्ना सामाजिक/सांस्कृतिक विशेषताको मूल्याँकन गर्दा कुनै
    अर्को देश वा समाजको दाँजोमा आफू उन्नत वा निकृष्ट
    भएको लेखाजोखा गर्नु समयको बरबादी मात्र हो' भन्नू भएको छ । तर कुनै पनि कुराको मुल्यांकन गर्दा एउटा आधार त चाहिन्छ नि हैन र ? बिना तुलना कुनै कुराको मुल्यांकन गर्न कसरी सकिन्छ र ? तपाईं आफैले पनि आफ्नो तर्क प्रष्टाउन सय बर्ष अघिको समाज सँग अहिलेको समाजलाई तुलना गर्नु भएको छ त । मुल्यांकन को आधार उस्तै प्रकृतिको कुरासँग भएमा सहि निश्कर्ष आउँछ । त्यसैले एउटा समाजको मुल्यांकन गर्न अर्को समाजलाई आधार बनाउनु कसरी गलत भयो र ?

    ReplyDelete
  3. डकामरुDecember 4, 2014 at 8:20 PM

    सौरभको लेखमा धेरै कुराहरु तथ्यपरक छन् । पश्चिमा देशहरुको रवैयाको सहिरुपमा चित्रण गरेका छन् । हो, गढिमाइमा जसरी पशुबली दिइने गरिएको छ यो पक्कै पनि राम्रो छैन । यसलाई ब्यवस्थित बनाउनु पर्छ । ब्यवस्थित बधशाला बनाइनु पर्छ त्यसको ब्यवस्थापन सहिरुपमा गरिनुपर्छ । तर बुझ्नु पर्ने कुरो के हो भने राँगोलाई बोकेर ल्याउन नसकिने भएकोले डोरीले डोराएरमात्र गढिमाइ ल्याउन सकिन्छ । बर्षौ देखि चलिआएको आस्था र परम्परामा परिवर्तन आउन समय लाग्छ । यस किसिमका बहसले अवश्य पनि ढिलोचाँडो परम्परा देखि चलिआएक केहि गलत परम्पराहरुमा सुधार ल्याउन सहयोग पुग्ने छ भने अर्कोतिर राम्रा परम्पराहरुले निरन्तरता पाउने छन् ।

    ReplyDelete
  4. गाङ्गासागर ढकालDecember 5, 2014 at 8:59 AM

    यो कुनै नयाँ कुरा होइन । यसै गरी नेपालीहरुका सोचको पक्षमा कसैले विचार दियो भने खण्डनमा केही भन्ने र प्रकारान्तरले परचक्रीबाट हाम्रो मूल्य र मान्यतामा भएका आक्रमणहरुलाइ मलम पट्टि लगाएर सही सावित गर्ने प्रयास हुने गर्छ । यो लेखले घुमाएर त्यही काम गरेको छ ।

    ReplyDelete
  5. चिन्ताको कुरा के पनि हो भने संञ्जिव जी, हामीलाई नभएको चिन्ता पश्चिमालाई किन भइरहेछ ? माईहरुमा वध गर्नुहुन्छ हुन्न भन्ने बहस त बढि से बढि हामीले पो चलाउने हो त ।

    यहाँ त थोपरियो नि ? उतैबाट ।

    घरभित्र त दाजुभाईको झगडा पर्ला । तर त्यसमा छिमेकीले केही भन्यो भने भन्ने अधिकार कति र कुन हदसम्म हुन्छ ?

    युरोपेली वा अमेरिकी समाज र संस्कृति विश्वमै मानक समाज र संस्कृति हो ? हो भने उनैलाई पछ्याउँ न ।

    कुन आधारमा युरेपेली र अमेरिकी हैकम हामीमा लाद्ने काम भइरहेको छ ?

    जसरी संघियता र धर्म निरपेक्षताको माग मूल माग नहुँदा पनि ति कुरा स्थापित हुने दिशामा गयो, के हामी आम नेपाली त्यसमा सहमत छौं ? शिखण्डी नेताहरुले जनतालाई झुक्काएको हो कि होइन ? ती जो आफ्नो आगतबारेको दुई पाइलासम्म जानकार छैनन्, त्यस्ता पानीमरुवाले देशलाई, समाजलाई के हाँक्लान् ? तिनले झुक्काएको पनि के भन्नु ? ती त देशद्रोही हुन् ।

    यो अधिकारको कुरा नै वकवास लाग्छ मलाई ।

    सौरभका कुरा तपसिलका कुरा मानौं ।

    गढिमाइलाई सांस्कृतिक पेलाइको आलोकमा हेर्नुपर्ला । गढिमाइ त एउटा उदाहरण मात्र हो । तिहारमा सरकारले कस्को आदेश र आग्रहमा रातभर द्यौसी नखेल्नु भन्यो ?

    भक्तपुरको विस्केट जात्रामा झगडा हुने गरेको थियो, उरेन्ठेउाला केटाहरुले मापसे गरेर निहुँ झिक्ने कारणले । तर के तिहारमा मान्छे मारपिट हुने काण्ड भएको थियो । नेपाली समाज हिंस्रक र असहिष्णु समाज हो ?

    हाम्रा कमजोरी छन्, तिनलाई हटाउनु पर्छ, निसन्देह ।

    तर, न्युयोर्कमा हुने रंगभेदी व्यवहारबारे हाम्रो व्यावस्थापिकामा छलफल हुन पाउँछ कि पाउँदैन ? हाम्रो कार्यपालीकाले त्यस सम्बन्धि टिप्पणी गर्न पाउँछ कि पाउँदैन ? गर्यो भने त्यो सह्य हुन्छ उनीहरुलाई ?

    ग्वान्तानामो के हो ? इराकमा के भइरहेछ ? प्लालेस्टाइनमा के भइरहेछ ? लेवनानमा के भयो ? बोस्नियामा के भयो ?

    चेच्न्यामा के भइरहेछ ? अमेरिकी नागरिकलाई इबोला भाइरस नलागेको भए इबोला अहिलेको तातो विषय बन्थ्यो ? इबोला हिजो मात्र आएको रोग हो ?

    एउटा उतैको जोन उडले वर्षमा हजारौं वालवालिकालाई साक्षर बनाएर संसार बदल्ने कार्य गरिरहेका छन् । पचासौं वर्षदेखि स्थापित, अर्बौं डलर खर्च गरेका परोपकारी पश्चिमा संस्थाले के नापे ? तेस्रो विश्व जुन भन्छन् त्यहाँ भ्रष्टाचार संस्थागत गराउने ती डलरवाला संस्था होइनन् ?

    त्यही भ्रष्टाचारको एउटा रुप हो वौद्धिक भ्रष्टाचार, जुन नेपालमा सर्वव्यापक छ । र, नेपालका वौद्धिक भनिएकाको बुद्धि अन्त कतैबाट आयात भएर आउँछ । जो आफ्नो ब्रह्म छ भन्ने जान्दैन, तीनले के सत्य र न्यायको कुरा गरुन् सञ्जिव जी ।

    त्यसकारण गढिमाई वा अरु माई त्यँहा वलि किन दिइन्छ त्यसको परम्परा र इतिहास बुझौं । हामीलाई ठिक लाग्दैन भने के कसो गरेर ठिक हुन सक्ला त्यतातिर लाग्ने वातावरण बनाउँ । हाम्रो विषयमा हामी नै बोलौं । अर्काको लागि हामी नउफ्रिउँ । अर्काले केही भन्छ भने यो हाम्रो कुरा हो भन्ने अडान लिन सिकौं ।
    कि कसो ?

    ReplyDelete
  6. Sanjeev is right about the insecurity harbored by Nepalese people. I always hear this sort of argument coming from people when I say anything against existing Nepali culture or practices. But the truth is I judge people based on who they are individually rather than where they come from. I have gotten into arguments with non-Nepali people on women rights issues just as much as I have with Nepalese people. Yet, somehow the logics that are used by Nepalese to shun me are almost always related to "protecting Nepali culture". In fact, one time one Nepali guy from my University even expressed to me that I shouldn't talk about these issues in front of "gores". I don't understand why. Everyone has flaws. Every culture has some. There is no denying. There is no point in attaching oneself too much to a culture. If you do, then that's when you start getting insecure about every small flaws that others see in your culture and defending them illogically. If some jerk non-Nepali ever tries to use the flaws of Nepali culture or country to try to shame me, what I do is I accept them. I accept them and I arm myself with the knowledge of flaws in others culture and countries (the real ones - not the exaggerated ones). Then I tell them "see no country and cultures are perfect...and I'm not my culture or my country, I'm me".

    ReplyDelete