Wednesday, December 17, 2014

व्यक्ति निर्माणको बहसमा मेरा केही भनाइ

नेपालमा व्यक्ति निर्माण कसरि भइरहेको छ ? भन्ने  विषयमा आज केही समाजशास्त्री र मानवशास्त्रीका लेखहरू पढ्ने अवसर मिल्यो । समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्र र मानवशास्त्रीहरू डा. सुरेश ढकाल र डा. जनक राइले यस विषयमा आफ्ना कुरा राख्नुभएको रहेछ । समाज र व्यक्तिबीचको सम्बन्धका विषयमा भएको उहाँहरूको छलफल निकै रमाइलो लाग्यो ।

कुरा निश्चय पनि गहिरा छन् । मेरो बुझाइ सामान्य रह्यो । प्रा. मिश्र व्यक्तिलाई मूलतः सामाजिक संयोगहरूको 'उपज' मान्नुहुन्छ । लेखमा उहाँले समाज गतिशील हुन्छ भन्ने कुरामा विशेष जोड दिनुभएको छ । उहाँको विचारमा व्यक्ति तथा उसको दृष्टिकोण/मनोदशा बुझ्न सामाजिक सन्दर्भमा आएका परिवर्तनलाई बु्झ्नसक्नुपर्छ । उहाँको अवधारणामा व्यक्तिले समाज Reproduce गर्छ, तर समाज व्यक्तिव्यक्तिको समष्टिगत रूपमात्र होइन । हेर्नुहोस् उहाँको लेख

प्रा. मिश्रको लेखको जवाफमा डा. सुरेश ढकालले व्यक्तिको महत्त्वको चर्चा गर्नुभएको छ । व्यक्तिलाई समाज वा सामाजिक सम्बन्धमा पूर्णरूपमा Reduce गर्न सकिन्न भन्ने उहाँको मत छ । व्यक्तिले आफ्नो विशिष्टता (संस्कृति ?) को मद्दतले समाज र सामाजिक सम्बन्धको प्रभावमा फेरबदल ल्याउन सक्छ भन्ने विश्वास छ उहाँको  । अहिलेको 'आफ्नो मूल खोज्ने' बढ्दो प्रवृत्तिको उदाहरण दिँदै उहाँले सामाजिक संरचनाले मात्र सधैँ व्यक्तिका अपेक्षा र चाहना निर्धारण गर्छ भन्नु सही नहुने चर्चा गर्नुभएको छ । हेर्नुहोस् उहाँको लेख

अन्त्यमा, डा. जनक राईले सांस्कृतिक बहुलतालाई संरचनाको अवधारणाले समेट्न नसक्ने तर्क गर्नुभएको छ । उहाँको विचारमा संस्कृति र पहिचानप्रतिको आस्था वा चासोको चर्चा नगरि समाज परिवर्तनको गति र दिशा बुझ्न सकिन्न । उत्पादन प्रक्रिया वा जीवन निर्वाहको माध्यममा रहेको समानताका बाबजुद आफ्नो इतिहास र संस्कृतिका आधारमा व्यक्तिका सोचाइ र भोगाइहरू पृथक हुनसक्ने हुनाले साँस्कृतिक पक्षको चर्चा नगरि समाज तथा सामाजिक परिवर्तनको विश्लेषण अधुरो रहने उहाँको तर्क छ । हेर्नुहोस् उहाँको लेख

बहसले विभिन्न गहिरा प्रश्नहरूलाई छोएको छ । झट्ट हेर्दा सैद्धान्तिक लाग्ने बहसका तर्कहरूले नेपालको अहिलेको द्विविधा र सामाजिक/सांस्कृतिक परिवर्तनका विभिन्न आयामको व्याख्या/विश्लेषणलाई सघाउ नै पुर्‍याउँछन् । मेरो आफ्नो चासोका कारण यो लेखमार्फत् विभिन्न विद्वानहरूले प्रस्तुत गर्नुभएका मूल अवधारणामा केही टिप्पणी गर्न चाहान्छु ।

प्रा. मिश्रलाई थोरैमात्र जान्ने वा उहाँबाट प्रशिक्षितहरूका लागि लेखमा प्रस्तुत उहाँको तर्क नौलो होइन । मार्क्सले जटिल सैद्धान्तिक व्याख्याबाट अर्थ्याउन खोजेको सामान्य कुरा के हो भने व्यक्ति सार्वभौम हुनसक्दैन । व्यक्तिको निर्माणमा बस्तु वा सेवा उत्पादन तथा उपभोग गर्ने क्रममा बनेका सम्बन्धको ठूलो भूमिका हुन्छ । तसर्थ, हाम्रा सोचाइ र अनुभवमात्र होइन सीमितता र सम्भावना पनि धेरै हदसम्म समाजबाट निर्धारित हुन्छन् ।

व्यक्ति कानुनको परिभाषामा सार्वभौम हुनसक्ला तर उसको अर्थ र अस्तित्व समाजसापेक्ष नै हुन्छ ।  यो बृहत् सैद्धान्तिक व्याख्यामा मिश्रसँग असहमत हुनुपर्ने कारण छैन । फेरि, सिद्धान्तले जीवन र जगत बुझ्न बृहत् दृष्टिकोण प्रदान गर्ने हुन् । तसर्थ, सिद्धान्तको बहसमा भुल्नुभन्दा त्यसका आधारमा गरिने व्याख्या/विश्लेषणको सान्दर्भिकताको चर्चा गर्नु लाभदायक हुनसक्छ ।

प्रा. मिश्रको लेखमा यथेष्ट चर्चा हुननसकेको प्रसङ्ग भने समाजको संरचना के हो र यसको निर्माण कसरि हुन्छ ? भन्ने हो । उहाँले समाजको संरचनालाई जोड दिइरहँदा त्यो संरचना बन्ने प्रक्रिया र त्यहाँ हुने अन्तर्द्वन्द्वका विषयमा उल्लेख गर्नुभएको छैन । समाज गतिशील हुन्छ भन्ने उहाँको तर्क छ, तर उहाँको लेखले समाजलाई बुझ्ने र व्याख्या गर्ने तरिका पनि गतिशील हुन्छन् र फरक स्वार्थबाट प्रेरित व्यक्ति वा समूहले यो गतिशीलतालाई आफ्नो पक्षमा उपयोग गर्ने अपेक्षा राख्छन् भन्ने यथार्थलाई आत्मसात गर्न सकेको देखिँदैन -बरु कताकता यो अन्तर्द्वन्द्व जायज होइन भन्ने आसय झल्किन्छ । पहिचान र संस्कृति रक्षाका लागि हाल बढिरहेको चासोको समाजशास्त्रीय व्याख्या रोचक हुनसक्थ्यो -जसमा मिश्रको लेख मौन रहेको देखिन्छ ।

प्रा. मिश्रको लेखमा सहमत हुन नसकिने अर्को पक्ष परिवर्तनप्रतिको उहाँको निरपेक्ष आशावादिता हो ।

संसारभर र कमसेकम तेस्रो विश्व भनिने नेपालजस्ता मुलुकमा भइरहेका परिवर्तन हेर्दा भविष्यमा समृद्धि, सन्तुलन र दिगोपनप्रति धेरै उत्साहित हुने ठाउँ देखिँदैन । फेरि, सूचनाप्रविधि र सञ्चारमा प्राप्त अहिलेका उपलब्धि नै नेपालजस्ता मुलुकका लागि दिगो विकास वा समृद्धिमा अनुवाद भइहाल्छन् भन्न नमिल्ला । आजको विश्व परिवेश विचार र विवेकको अन्यौलपूर्ण जङ्गलमा रुमलिएको छ जहाँ प्रविधिको प्रयोग आर्थिक विस्तार र सामाजिक न्यायका लागि नभइ शोषण र विभेदको सशक्तिकरणका लागि पनि भइरहेको छ । त्यसमाथि, नेपालजस्ता कम विकसित भनिने मुलुकका आजका अधिकांश समस्या मिश्रले राख्नुभएको आर्थिक विस्तारको लक्षका कारणले सिर्जना भएका पनि छन् ।

प्रा. मिश्रको तर्कमा असहमतिको अर्को बुँदा सामाजिक न्याय र समृद्धिको प्राथमिकीकरणको हो ।

लेखको अन्तिम अनुच्छेदमा मिश्रले सामाजिक विभेदको अन्त्य र न्यायपूर्ण समाजको स्थापनाका लागि पहिला आर्थिक विस्तार हुनुपर्ने तर्क राख्नुभएको छ । उहाँको यो तर्क चित्तबुझ्दो लाग्दैन । पहिलो, न्याय र सम्मानको प्रश्नलाई आर्थिक समृद्धिसँग मात्र जोडेर हेर्न मिल्दैन । दोस्रो, समृद्धि न्यायको आधार होइन परिणाम हो भनेर पनि तर्क गर्न नसकिने होइन । त्यसैगरि, विभेदको अन्त्यको माग र पहिचानको अपेक्षाले आर्थिक विस्तारको प्रक्रियालाई कसरि पछाडि धकेल्छ भन्नेमा प्रा. मिश्रको लेख प्रस्ट छैन ।

डा. सुरेश ढकाल र डा. जनक राईका लेखहरूमा धेरै भिन्नता देखिन्न । दुबै मानवशास्त्रीले व्यक्ति निर्माणका सांस्कृतिक पक्षमा जोड दिनुभएको छ । फरक उदाहरणहरूमार्फत् उहाँहरूले व्यक्तिलाई समाज वा संरचनाको अमूर्त अवधारणाका आधारमा व्याख्या गर्नुको साटो जीवन/जगतको परिभाषा निर्माणमा सक्रिय Agent का रूपमा हेरिनुपर्ने तर्क राख्नुभएको छ -जसमा असहमत हुने ठाउँ छैन ।

तर, ढकाल र राईको लेखले पनि पहिचानमा अन्तर्निहित मूल प्रश्नहरूलाई पर्याप्त रूपमा केलाउन सकेका छैनन् । जाति, भाषा, धर्म, ऐतिहासिकता आदि वास्तविक अनुभव भए तापनि आत्ममूल्यांकनका ठोस/स्थीर आधार होइनन् । समाज र सामाजिक सम्बन्धमा आउने परिवर्तनका आधारमा लेखकहरूले भनेझैँ व्यक्तिले सक्रिय रूपमा पहिचानको निर्माण र पूनर्निर्माण गर्छन् । तसर्थ, पहिचानको परिभाषाको संरचना र तिनमा आउने परिवर्तनका कारक तत्वहरूको चर्चा नगरि अहिलेको नेपालको व्यक्ति निर्माण प्रक्रिया बुझ्न सकिन्न ।

पहिचानको मुद्दालाई साधनस्रोत वा न्यायसँग जोडेर डा. राईले आफ्नो लेखमा प्रा. मिश्रले गरेको उही गल्ती दोहोर्‍याउनुभएको छ । पहिचान साधनस्रोतको वितरण वा अवसरको मात्र होइन, मेरो बुझाइमा आत्मसम्मानको प्रश्न पनि हो । कतिपय समूहका सन्दर्भमा समता र न्यायका कुरा पहिचानको वैधानकिताको स्रोतमात्र पनि हुनसक्छन् । मानवशास्त्रीहरूले यी Nuances को विश्लेषण गर्ने हो न कि पहिचानको प्रश्नलाई आफैँले सामाजिक संरचनाका आधारमा व्याख्या गर्ने ।

व्यक्ति र समाजमा कसको महत्त्व बढी ? भन्ने समाजशास्त्रमा कहिलै नसुल्झिएको प्रश्न हो । व्यक्ति निर्माणमा समाजको अहं भूमिका भए तापनि म आफू व्यक्तिगत रूपमा भने व्यक्तिलाई केन्द्रबिन्दुमा राखेर गरिने विश्लेषणलाई बढी रोचक पाउँछु । व्यक्तिलाई समाजको उपज भन्ने दृष्टिकोण बढी Teleological जस्तो लाग्छ । एक अर्थमा समाज व्यक्तिको Construction हो जसलाई हरेक मानिसले निश्चित अपेक्षा र स्वार्थ्यका लागि आ-आफ्नै ढङ्गले प्रयोग गरिरहेका हुन्छन् । समाजशास्त्री वा मानवशास्त्रीको काम यी अपेक्षा र स्वार्थ्यको नालीबेली केलाउने हो ।

यसरि हेर्दा आज सुरेश ढकालले औँल्याउन खोज्नुभएको 'मूलको खोजी' वा जनक राईले देखाउन खोज्नुभएको साँस्कृतिक विविधताभित्रको विभेदको प्रश्नको विश्लेषण कसरि गर्ने त ?! मेरो विचारमा जातीय पहिचान वा साँस्कृतिक विशिष्टताको अनुभव र यसले निश्चित सन्दर्भमा पाएको प्रधानतालाई हामीले अलग राखेर हेर्न सक्नुपर्छ । आफ्नो पहिचान वा सँस्कृतिप्रतिको चेत स्थीर रहने कुरा होला तर त्यो चेतलाई इतिहासको निश्चित कालखण्डमा मानिसले दिने विशेष महत्त्वका निश्चित आयाम छन् । यसको अध्ययन सम्भवतः समाजशास्त्रीय र मानवशास्त्रीय चुनौती हो ।

मलाई लाग्छ आजको संसार प्रगति, समृद्धि र समानताको विश्वव्यापी दौडले सृजना गरेको असन्तुलन र यसले जन्माएको असन्तुष्टिबाट प्रताडित छ । प्रा. मिश्रले भन्नुभए झैँ पहिचान र विभेदप्रतिको चेत आर्थिक विस्तारको अभावको परिणाम होइन -धेरै हदसम्म आर्थिक विस्तारको असन्तुलनले जन्माएको शंका र अविश्वासको पनि परिणाम हो । संसारका अन्य मुलुकमा सबल भइरहेको पहिचानको प्रश्न र मागलाई हेर्ने हो भने पनि आधुनिकताको विस्तारले सिर्जना गरेका असमानताको अर्थ लगाउने क्रममा मानिसले आफ्नो साँस्कृतिक र ऐतिहासिक विशिष्टतालाई जोड दिँदै गएको पाउन सकिन्छ । ढकाल र राईका लेखले पहिचानतर्फको पुनर्यात्राको यो पक्षको विश्लेषण गर्न सकेका छैनन् । उहाँहरूको 'साँस्कृतिक व्यक्ति'को तर्क धेरै हदसम्म चित्तबुझ्दो भए तापनि सँस्कृतिभित्रको अन्तर्विरोध केलाउन थप छलफल आवश्यक देखिन्छ ।

मेरो भनाइको तात्पर्य, सँस्कृति वा पहिचानको चेत/सम्मान आधुनिकताले जन्माएको छटपटीमात्र हो भन्ने होइन । आधुनिकताले जन्माएको अन्यौल र चिन्तालाई केलाएर पहिचान र सँस्कृतिप्रतिको बदलिँदो चेतको केही रोचक विश्लेषण गर्नसकिन्छ कि ? भन्ने हो । 

No comments:

Post a Comment