Tuesday, August 6, 2013

विभेदको डिस्कोर्स बुझ्न खोज्दा

मिशेल फुको: नामका फ्रान्सेली चिन्तक र इतिहासकारले 'डिस्कोर्स*' र शक्तिको गहिरो विश्लेषण गरेका छन् । उनी भन्छन् समकालिन समाजमा हामी डिस्कोर्सबाट घेरिएका छौँ । डिस्कोर्सहरूले 'सत्य'लाई साङ्गोपाङ्गो प्रस्तुत गर्छन् र तिनमाथि एकाधिकार कायम गर्छन् । आममानिस पनि डिस्कोर्सले पेश गरेका सत्यलाई वास्तविक सत्य ठान्छन् । त्यसमा प्रश्न गर्दैनन् । फुकोका विचारमा डिस्कोर्सहरू शक्ति प्रयोगका माध्यम हुन् । यिनीहरूको निर्माण र उपयोग सत्य उजागर गर्नमा भन्दा पनि मानिसहरूलाई उनीहरूको आफ्नो विचार वा चिन्तनबाट विमुख गर्ने अभिप्रायबाट निर्देशित हुन्छन् । 'आधुनिक' भनिने युगमा विज्ञान, यौन, राज्य आदि विषयलाई डिस्कोर्सहरूले एकाङ्की ढङ्गले प्रस्तुत गरेका छन् -जसका कारण सहज वा मौलिक विचार, समलैङ्गिक सम्बन्ध, व्यक्तिगत स्वतन्त्रता आदिको संभावना ओझेलमा परेका छन् । चिन्तक र इतिहासकारका रूपमा फुकोले आफ्नो समग्र ध्यान डिस्कोर्सहरूको चिरफार गर्नमा र  डिस्कोर्सले ओझेल पारिदिएको अर्को सत्य उजागर गर्नमा खर्च गरे ।


फुकोको विश्लेषण पढ्दा मलाई कहिलेकाहिँ लाग्छ नेपालमा जति डिस्कोर्सको निर्माण र प्रयोग शायद संसारमा कतै भएको छैन होला । मेरो आफ्नै जीवनमा डिस्कोर्सको प्रभाव हेर्दा यो विश्वास अझ गाढा भएर आउँछ ।

स्कूल पढ्दा कम्युनिस्टहरू प्रगतिशील हुन्छन् र तिनका विरोधी प्रतिगामी, जनताविरोधी र स्वार्थी हुन्छन् भन्ने डिस्कोर्सको प्रभावमा परियो ।  गाउँका हुनेखाने र ठूला भनिएकाहरूलाई शोषक र प्रतिगामी ठानियो, घृणा गरियो । लु सुन र गोर्कीका हिन्दीमा अनुवाद गरिएका दुर्लभ पुस्तकलाई ठूलो स्नेहले पढियो ।  उसबेलाको क्रान्तिकारी दल माले (पछि एमाले)का जुलुस, सभामा कुदियो, मुठी ठड्याएर नारा घन्काइयो, नेताका भाषणमा ताली पिटियो । मुक्ति र क्रान्तिका गीत गाइयो, कविता लेखियो । आफ्नो र आफू ओरिपरीका अरू मानिसको गरिबीको कारण धनीमानीको षड्यन्त्र नै हो भन्ने कुरामा कुनै शंका भएन र यसको अन्त्यका लागि कम्निस्ट पार्टीलाई चुनाव जिताउन कडा परिश्रम पनि गरियो ।

यो क्रम लामो समसम्म चल्यो । विश्वविध्यालयका पाठ्यसामग्रीमा पनि नव-मार्क्सवादीहरूको बलियो प्रभाव थियो । विकासका पश्चिमा थ्यौरीहरूलाई चुनौति दिने Andre Gunder Frank, Sameer Amin, Immanual Wallerstein, Franz Fannon आदिका विचारले गहिरो प्रभाव पारे । संसारका अल्पविकसित मुलुकहरू आफ्नै कारणले गरिब भएका हैनन् -पुँजीवादी विश्व अर्थव्यवस्थामा उनीहरूको सीमान्तीकृत स्थान र परनिर्भरताले उनीहरूलाई गरिब हुन बाध्य बनाएको हो भन्ने विश्लेषणमा गहिरो विश्वास गरियो । पश्चिमा र समृद्ध अर्थतन्त्र भएका विकसित मुलुकरूलाई घृणा गरियो, अरूलाई पनि घृणा गर्न सिकाइयो । फ्र्याङ्क र अमिनका विचारमा यति लठ्ठ भइयो कि पुँजीवादी विश्व अर्थतन्त्र धराशायी नभएसम्म नेपालजस्ता अविकसित मुकुकको समृद्धिको कुनै संभावना छैन भन्ने कुरामा विश्वस्त भइयो । माथि उल्लिखित र अन्य लेखकहरूका पुस्तकमा उल्लेख गरिएका 'पुँजीवादी अर्थतन्त्र चाँडै नै धराशायी हुँदैछ' भन्ने भविष्यवाणीलाई स्नेहका साथ पत्याइयो, र यसमा आनन्द मानियो ।

विश्वविध्यालयको अध्ययन पूरा गर्दासम्म व्यक्तिका रूपमा आफ्नो महत्त्व र संभावनाको हेक्का मलाई कहिलै भएन । आफ्नो नियतीको कारक अरूलाई नै ठान्ने संस्कारको प्रभावले होला । आफ्नो सुखद भविष्यको संभावना अरूको विनाशमा देखिन्थ्यो । आर्थिक र सामाजिक रूपमा समृद्ध मानिसहरूलाई विश्वास गरिएन न त सम्मान नै गरियो । धनीहरू सबै ठग भए मेरा लागि, चिल्ला कारमा चढेर हिँड्नेहरू शोषक र प्रतिगामी भए । समृद्धिलाई समग्रमा घृणा गरियो । अभाव र गरिबीलाई 'सम्मान' गरियो ।

डिस्कोर्सहरू पनि एकनास रहँदैनन् । परजीवी भाइरस झैं तिनिहरू पनि 'म्युटेट' भइरहन्छन् । आजका डिस्कोर्सहरू सारमा उस्तै भए पनि रूपमा फरक छन् । हामी सामाजिक विभेद र असमानतालाई बुझ्न आज फरक डिस्कोर्सहरूको प्रयोग गरिरहेका छौँ । गरिबी, विभेद र असमानता बुझ्न र विश्लेषण गर्न हामीले नयाँ पिडक र नयाँ पिडाहरूको सृजना गरेका छौँ । मधेशमाथिको विभेदको कारक पहाड भएको छ; महिला मुक्तिको वाधक पुरुष; दलितको दुश्मन उच्च जात र गरीबको दुश्मन धनी । समस्या सँगै समाधानका पनि रेडिमेड उपायहरू छन् हामीसँग । मधेश मुक्तिका लागि पहाडलाई राज्यसंयन्त्रबाट विमुख गर्ने; बलात्कार रोक्न पुरुषको लिङ्ग काट्ने; दलित मुक्तिका लागि उच्चजातका भनिएकालाई दण्डित गर्ने र गरीबी कम गर्न धनीहरूलाई सेवा र अवसरबाट विमुख गर्ने ।

डिस्कोर्सहरू आफैँ बन्दैनन् । फुकोकै विचारलाई आधार मान्ने हो भने डिस्कोर्सहरू शक्तिका परिणाम हुन् र तिनको निर्माण र उपयोग पनि शक्ति कै खातिर हुन्छन् । यसरि हेर्दा अभाव, विभेद र गरीबीलाई रेडिमेड डिस्कोर्सबाट व्याख्या गर्नेहरूको नियत र उद्देश्य बुझ्न गार्‍हो छैन ।

तर, दुखद के छ भने हामीले सूचना र सञ्चारको यतिसारो विकास र त्यसमाथिको हाम्रो पहुँचलाई डिस्कोर्सहरूले देखाएको 'ब्लाक एण्ड व्हाइट' सत्यको विकल्प उधिन्ने उद्देश्यमा प्रचुर मात्रामा प्रयोग गर्नसकेका छैनौँ । कालो र सेतोका बीचमा अरू रङ्गहरू खोज्न सकेका छैनौँ । पिडा र पिडितहरूका कारक वा स्रोतहरूका बारेमा वैकल्पिक संभावनाहरूको अध्ययन गरेका छैनौँ । त्यसैले, नेपाली समाजमा विध्यमान विभेद र असमानताका रेडिमेड लजिकहरूको चिरफार हुनसकेको छैन । परिणाम बाबुराम भट्टराइ वा झलनाथ खनालहरू प्रतिशोधका नारालाई चुनावी जनमतमा परिणत गर्न उध्यत् छन् र उनीहरू सफल हुने संभावना पनि छ । र, दुखलाग्दो कुरा के छ भने विभेदका विविध कारण र तिनको न्युनीकरणका उपायहरूका बारेमा सोच्ने समय वा जाँगर कसैलाई छैन ।

पूनश्च: १. मेरो तर्क राज्यले विभेदको बेवास्ता गर्नुपर्छ भन्ने हैन । राज्य समावेशी हुनैपर्छ । अवसरहरूको समतामूलक वितरण हुनैपर्छ । तर, आफ्नो गरीबी र पछौटेपनको दोषी अरूलाई बनाएर मुक्तिको आत्मरतिमा रम्ने परिपाटी हाम्रो प्रगतिको बाधक हो । निच:ले परिभाषित गरेको Slave Morality हाम्रो चिन्तनको प्रमुख समस्या हो ।

२*. डिस्कोर्स बुझाउने नेपाली शब्द नभेटेर जस्ताको तस्तै प्रयोग गरेँ । मैले जानेअनुसार डिस्कोर्स कुनै विषयको निश्चित ढङ्गको बुझाइ हो -जसलाई विभिन्न तथ्यका आधारमा अकाट्य सत्यका रूपमा प्रस्तुत गरिन्छ र जसले अन्य विकल्पहरूलाई निस्तेज गर्छ । फुको:ले विपरित लिङ्गीबीचको यौनसम्बन्धलाई मात्र सही मान्ने र पागलपनलाई समस्याका रूपमा हेर्ने हाम्रो सोचलाई डिस्कोर्सको उदाहरणका रूपमा प्रस्तुत गरे । मैले राज्यसंरचनामा निश्चित वर्गको पहुँचलाई नै हाम्रो अविकास र विभेदको एकमात्र स्रोत मान्ने हाम्रो बुझाइलाई डिस्कोर्सका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको हुँ ।


3 comments:

  1. साह्रै मन पर्यो। अहिलेको स्थितिको सटीक विश्लेषण गर्नु भएको जस्तो लाग्यो।

    ReplyDelete
  2. गरीबको शत्रु धनी, महीलाको शत्रु पुरूष र दलितको शत्रु निश्चित जाती या वर्ग आदी बुझाईहरू राजनैतिक डिस्कोर्सहरू हुन जसका आधारमा राजनीति स्थापित हुँदै आएको सत्य हो ! हीनताबोध र अभिमान जस्ता केही मानविय प्रव्रित्तीहरू नै प्रचलित डिस्कोर्सहरूलाई बढावा दिने कारक हुन ! हामी जब सम्म आफु भित्रका अभिमान र हीनताबोध भन्दा माथी उठेर समस्यालाई बुझ्ने कोशिस गर्दैनौं, यस्ता डिस्कोर्सहरूले अकाट्य सत्यको रूप धारण गरेर हामीलाई आपसमा उल्झाई रहनेछन ! हामी शासित भइरहनेछौं ! अत्यन्तै महत्वपूर्ण र सारगर्भिक लेखका लागि धेरै धन्यवाद सरलाई ! आभार !!

    ReplyDelete
  3. amm i liked it daju

    ReplyDelete