जेनजी आन्दोलन राज्यले उपेक्षा गरेका वर्ग र समूह सबैको सपनाको जगमा उभिएको थियो । राज्यले भूईंमान्छेका दुःख देखेन भनेर विद्यार्थी सडकमा आए र उनीहरूका पछाडि युवा, बृद्ध, बालबालिका सबै आए । रगत बगाए, भविष्यको मिठो सपना बुने ।
अस्तिको चुनावमा मानिसहरूले ठुलो आशा र भरोसाका साथ बालेन शाहलाई जिताएका छन् । उनको जीतमा अन्याय सहेका गरीबदुखी, सीमान्तीकृत, बृद्ध, अपाङ्गता भएका व्यक्ति, बालवालिका सबैको सामूहिक सपना जोडिएको छ ।विगतका दुई दिनमा शहर खाली गर्न गरीबका घरमा डोजर चलाएर राज्यले जस्तो व्यवहार देखायो त्यो असाध्यै गलत भयो !
आफ्नो टहरो गुमाएको त्रासमा थर्थर काँपीरहेका बालबालिका र रोइरहेका वृद्धका भिडियोहरूले हामी सबेलाई लामो समयसम्म पछ्याइरहनेछन् ।
देशमा यति धेरै समस्याका चाङ् छन् । राजनीति र अर्थतन्त्रका मूल समस्या गरीब र सुकुम्बासीका कारण होइन, धनीमानी, शक्तिशाली, सम्भ्रान्तहरूका गलत व्यवहारका कारण सिर्जना भएका छन् । सरकार बनेको केही साता नबित्दै गरीबलाई तारो बनाइनुले राज्य कसको स्वार्थमा काम गर्छ भन्ने दुखद् उदाहरण पेश गरेको छ ।
बालेन शाहको सरकार सफल हुन आवश्यक छ । यो सरकारसँग मानिसहरूका सपना जोडिएका छन् । तर, यो तरिका ठिक भएन । सुकुम्बासीको बस्ती उजाडिएपछि शहर पहिलेको भन्दा सुन्दर देखिएला -तर यसले मानिसहरूको मन शान्त बनाउने छैन । सुकम्बासी वस्तीमा चलेको डोजर बालेन शाहको संकिर्ण प्रतिशोध र शहरबारेको गलत बुझाइको संयुक्त परिणाम हो भन्ने कुरा प्रस्ट भएको छ ।
एउटा मान्छे रोजेर सुकुम्बासी हुँदैन । मानिस भूमिहिन र आवासविहिन हुने राज्यको असमान र अन्यायपूर्ण नीतिका कारण हो । नेपालको इतिहास भूमिवितरणमा राज्य संरक्षित अन्यायको दुखद् कथाले भरिएको छ ।
शहरका केही बस्तिबाट रातारात सुकुम्बासीको वस्ती हटाएर नेपालको भूमिवितरणमा रहेको जटिलता र भूमिहिनताको अन्त हुँदैन -यसले समस्यालाई थप भयावह मात्र बनाउनेछ र गरीब भूमिहिनलाई थप असुरक्षित बनाउनेछ ।
अहिले महानगरपालिका र सरकारले विस्थापित सुकुम्बासीलाई देखाएको कृतिम माया केही दिनपछि पखालिएर जानेछ । तर, सुकुम्बासीका आँशु रहिरहनेछन् ।
समाधान संरचनागत होस् । टिकाउ होस् । प्रतिशोधबाट उब्जेको नहोस् । राज्यले विसंगति र बेथितिहरूको अन्त गर्ने कारवाही सुरु गर्दा धनीमानी र शक्तिशालीहरूबाट सुरु गरोस् ।
No comments:
Post a Comment