आजभोलि मेहदी हसनका
गीत-गजलहरूमा मेरो रुचि व्हात्तै बढेको छ । हिंड्दा, गाडी चलाउँदा वा आकासमा उडीरहँदा मेरा कानहरूमा हसन नै गुनगुन-गुनगुन गरिरहेका
हुन्छन् । यतिबेला इस्लामाबाद शहर दिनभरको
रमाजान ब्रतपछिको खानपिनमा जुटेको छ । म सवार गाडी शहरका बत्तीहरू छिचोल्दै
एअरपोर्टतिर हुइँकीरहेको छ । मेरो कानमा छन् उही मेहदी हसन ।
जिस तरह सूखे हुए फूल किताबों में मिलें
अहमद फराजले लेखेको
यो कविता आफैंमा गहीरो र सुन्दर छ । कविताले जब मेहदी हसनको संगीत र गला भेट्छ
त्यसपछि तयार हुन्छ एउटा सुन्दर कलाकृति । यो गजल हसनको स्वरमा हजारौँपटक सुनेँ
होला, तर धित मरिसकेको छैन ।
फेब्रुअरी २७ को
मध्यरातमा ७ हप्ताको इस्लामाबाद बसाइपछि फेरी मनिला फर्किंदै थिएँ । उही TG350, उही यात्रा । हवाइजहाज अमृतसर कटेर दिल्ली आसपास हुँदै इन्डियन ओसनतिर सोझिँदै
गर्दा झ्यालबाहिर ओरायन बेल्टको भव्य दृष्य थियो, र मेरो कानमा मेहदी हसन गुनगुनाइरहेका थिए ।
दुनिया किसी के प्यार में जन्नत से कम नहीं
त्यस रात मैले
छोडेको इस्लामाबादमा केही तनाव थियो । पाकिस्तानले अफगानस्तानमाथि हवाइ आक्रमण
गरेको थियो । वर्षौंसम्म मित्रतापूर्ण सम्बन्धमा रहेका तालीवान र पाकिस्तानको सेना
दुस्मन बनेर एकअर्कासँग लडाईं गरिरहेका थिए । प्राय शान्त रहने इस्लामाबादमा कुनै
अप्रिय घटना हुने हो कि भन्ने चिन्ताले मानिसहरूलाई सताएको थियो । रमाजानको ब्रतको
महिनामा सुरक्षाको चिन्ता ओढेर गजधुम्म बसेको इस्लामाबादलाई छोडेर मधयरातमा मेरो
जहाज आकाशतिर सोझियो ।
जब राजनीतिमा
विवेकको ठाउँ प्रतिशोधले लिन्छ तब शासन चलाउनेले सनकका आधारमा निर्णय लिन्छन् । आम
जनताका आवश्यकताका लागि नीति निर्माणमा कुनै स्थान हुँदैन । पाकिस्तान र
अफगानस्तानमा आधाभन्दा बढी जनता चरम गरीबीको मारमा छन् -तर त्यहाँका शासक, मुल्ला र तिनका विदेशी मतियारलाई जनताको गरीबीको कुनै वास्ता छैन । वास्ता
आफ्नो शासन कसरी लम्ब्याउने भन्नेमा छ ।
इस्लामाबादबाट
मनिलाको यात्रा छरितो किन छ भने बैंककमा जहाज बदल्न धेरै कुर्नु पर्दैन । एउटाबाट
ओर्लेर अर्कोमा पाइला टेक्न मुस्किलले डेढ, दुई घण्टा लाग्छ । बैंककबाट उडेको जहाज बिहानको घामसँग बात मार्दै
क्याम्बोडिया र भियतनामका आकासमा एक घण्टा बिताएपछि साउथ चाइना सागरमाथिको
आकासभित्र पस्छ र अन्तमा मनिलाको जमीनमा पाइला टेक्छ । तीन घण्टाको यात्रा, अर्को चिर-परिचित फ्लाइट -TG620 ।
जहाजमा निदाउन
सक्दिन । पहिला मस्तले निदाउथेँ । उमेर बढ्दै गएपछि निद्रा पातलिँदै गयो । आजभोलि
जहाजमा उँघ्छु मात्र । शनिवारको त्यो बिहान ३७००० फिटमाथि मेरा कानमा मेहदी हसन
भन्दै थिएः
जैसी अब है तेरी महफ़िल कभी ऐसी तो न थी
पुच्छर हल्लाएर
लडिबुडी गर्दै स्वागत गर्ने किवीको ढाड सम्सुम्याएपछि मेरो यात्रा रुटिनमा पालो
आउँछ केही छिन निद्रा पुर्याउने । एक बजेको निद्रा चार बजेतिर त खुलीहाल्छ ।
फेब्रुअरी २८ को
निद्रा जब खुल्यो मेरो कोठाबाहिर प्रमिला ‘ब्रेकिङ्’ समाचार हातमा बोकेर मलाई
सुनाउने ब्यग्र प्रतिक्षामा थिइन् -अमेरिका र इसरेलले इरानमा आक्रमण सुरु गरे ।
अमेरिका र इरानबिच
जिनिभामा कुराकानी भइरहेको थियो । सनकी अमेरिकी राष्ट्रपती अर्को सनकी इरानी
मुल्लाहसँग ‘डिल’ गर्न चाहन्थे । त्यो डिल केमा हो भन्ने प्रस्ट थिएन -तर बाहिर
बाहिर आणविक बमको कुरा भए पनि भित्रभित्र तेलको कुरा होला भनेर अनुमान गर्न चाहिँ
सकिन्थ्यो । अर्को सनकी इसरेलको नेता नेतन्याहु अमेरिका र इरानले साँच्चै ‘डिल’
गर्ने हुन् कि भन्नेमा चिन्तित थियो र त्यसअघि नै इरानमाथि आक्रमण गर्न व्यग्र
थियो । यो सबैमा अमेरिका र इसरेलका मिसलहरू इरानमा बर्सिन सुरु भए ।
एउटा सानोतिनो
युद्धको सुरुआत छोडेर इस्लामाबादबाट बाहिर निस्केको म आफ्नो गन्तव्यमा पुग्दा त्यो
भन्दा कैयौँ गुना ठूलो र महँगो युद्ध टेलिभिजनको स्क्रिनमा हेरिरहेको थिएँ ।
सन् २००३मा
इराकमाथि अमेरिकाले आक्रमण गर्दा म इटालीको रोम शहरमा थिएँ । रोमका मानिसहरू
अमेरिकाको उग्रवाद र क्रुरताका विरुद्धमा नाचगान गर्दै हजारौँको सङ्ख्यामा सडकमा
निस्केका थिए । सेप्टेम्बर ११को आततायी आक्रमणको बदला लिन इराकमाथि गरिएको आक्रमण
र पछि अफगानस्तानको आक्रमणको पटाक्षेपसँगै अरब क्षेत्रको राजनीतिक र मानसिक तस्वीर
बदलियो ।
बदलिएको तस्वीरको
रमाइलो पक्ष के थियो भने अरबका पेट्रोल तानाशाहहरू अमेरिकी सेनाका ब्यारेकले आफ्नो
क्षेत्रमा शान्ति कायम गरिदिनेछन् भन्ने अतिरञ्जनामा डुबे । युएइ, कतर, साउदी वा ओमानमा संसारमा
कतै नभएको शान्ति छ, यी देश दिगो आर्थिक
समृद्धिको भर्याङ् उक्लिरहेका छन् भन्ने भाष्यको निर्माण जबरजस्त रूपमा भयो ।
पेट्रोल बेचेका पैसाले संग्रहालय, फुलका
बगैँचा र आलिसान महलहरू सजिए । पैसा भए अभिव्यक्ति स्वतन्त्रता वा लोकतन्त्र केही
चाहिँदैन भन्ने नयाँ अरब मोडेलको शासनप्रणालीको जोडतोडका साथ प्रबर्धन भयो ।
क्रुर संयोग कस्तो
छ भने मध्यपूर्वका पेट्रोल तानाशाहले हावा भरेर फुलाएको शान्ति र समृद्धिको बलुन
फुटाउन इरानको अर्को उस्तै दमनकारी क्रुर शासन सकेसम्म प्रयास गरिरहेको छ ।
मनिलामा गर्मी
उकालो चढिरहेको छ । अप्रिल र मे महिनामा बर्षा कम हुन्छ र घामको ताण्डव
थामिनसक्नुको हुन्छ । अहिलेसम्म साँझपख सितल हावा चलिरहेको छ । हातमा चियाको कप
बोकेर म घरबाहिर निस्किन्छु र मेहदी हसन बोलाउँछु । उनी कानमा भन्दैछन् –
तू मुझ से ख़फ़ा है तो ज़माने के लिए आ
टिग्रिस र युफ्रेटस
नदी वरिपरी आजको इराक भएको स्थानमा समृद्ध मानव सभ्यताको विकास भयो । यो समृद्धि
पर्सिआ (आजको इरान) हुँदै मध्य एसियाका विभिन्न क्षेत्रहरू (कजाकस्तान, किर्गिस्तान, तुर्कमेन्सत्तान, उज्वेकस्तान, ताजिकिस्तान)मा फैलियो ।
आजभन्दा तीन हजार वर्षपहिले यो क्षेत्र हरेक फाँटमा अब्बल र समृद्ध थियो । आज
जोर्डन, सिरिया, लेबनान, टर्कीले ओगटेको र प्राचिन
समयमा लेभान्त (Levant) भनिने
क्षेत्रमा कला, विज्ञान र धर्मको जग बस्यो
। जब लेभान्त र मेसोपोटामियआ सभ्यताको उत्कर्षमा थिए त्यसबेला आजका युरोप र
अमेरिका भनिने क्षेत्रहरू आर्थिक र बौद्धिक रूपमा अत्यन्त कमजोर थिए । यसको वर्णन
‘द सिल्क रोड्स’ भन्ने पुस्तकमा पिटर फ्रान्कोपानले रोचक ढङ्गले गरेका छन् -जसको
चर्चा मैले केही अघि आफ्नो ब्लगमा गरेको छु ।
विगतमा धेरैपटक
इस्लामाबाद नजिकैको पाकिस्तानको शहर पेसावर पुगेको छ । पेशावर शहरको केन्द्रमा
एउटा सानो बजार छ जसको नाम ‘किस्साकहानी बजार’ हो । यो नामको अर्थ के भने यहाँ
विगतमा कथा-कहानी भन्न सिपालु मानिसहरूले ‘सिल्क रोड’मा भएका रोचक, दुखद् घटनाका ‘किस्सा’हरू त्यहाँका बासिन्दालाई सुनाउने गर्थे । मलाई स्थानीय
मानिसहरूले बताएअनुसार केही कथावाचकहरू अहिले पनि ‘सिल्करोड’का विगतका कथा सुनाउने
पेशामा छन् । मैले आफैँले भन्ने यस्ता कथा सुन्ने अवसर पाइनँ ।
आकास र जमिनमा नयाँ
बाटाहरू बने । बाटामात्र होइन, यात्रीहरू
पनि फेरिए । यात्राको उद्देश्य र औचित्य फेरियो । रेशमी बाटोको गरिमा हरायो । नयाँ
बाटाहरू सर्वेसर्वा भए । कथा हराए । कथावाचक हराए ।
सुरुको मेहदी हसनको गजलको एउटा टुक्राले पनि समय फेरिएपछि के हुन्छ भनेर
बताउँछः
जैसे दो शख़्स तमन्ना के सराबों में मिलें
(*विगत)
विगतको समृद्ध
लेभान्त, मेसोपोटामिआ वा पर्सिआ आज
द्वन्द्व, गरीबी, निरंकुशता आदिको चपेटामा छ । यसो हुनुको कारण एउटामात्र छैन । तर, मेरो विचारमा एउटा प्रमुख कारणचाहिँ आधुनिक युगलाई चाहिएको इन्जिन, इन्जिन चलाउन चाहिने तेल, तेलको
आपुर्ती सुनिश्चित गर्न चाहिने गोलाबारुद, गोलाबारुद बनाउन र प्रयोग गर्न चाहिने छलकपट आदिको अन्तहिन चक्र हो ।
आज मध्यपूर्व र
अरबका प्राय सबै देशमा भोका प्यासा मानिसहरू सिमेन्टका थुप्राभित्र धुकधुकी
खोज्दैछन् । निर्दोष बालबालिकाको आम संहारका समाचार हृदयविदारक छन् । आफूलाई
सर्वश्रेष्ठ प्राणी स्वघोषणा गरेको मानिस मेरो बम राम्रो कि तेरो बम राम्रो भन्ने
प्रतिश्पर्धामा डुबेको छ ।
मेरो कानमा मेहदी
हसन गुनगुनाइरहेका छन्ः
किसी नज़र को मेरा इंतज़ार था ही नहीं
No comments:
Post a Comment