पुस २७ पृथ्वी जयन्तीका लागि चिनिन्छ। तर यसपटक,
अर्थात् २०८२ को पुस २७ नेपाली कांग्रेसका दुई महामन्त्री
गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको शरीरमा सास हाल्न पार्टीभित्र गरेको
विद्रोहका लागि अभिलेखमा रहनेछ।
मैले कांग्रेसबारे समाचारहरू चाख मानेर पढ्न छाडिसकेको
थिएँ। शेरबहादुर देउवा र उनका चरम स्वार्थी आसेपासेहरूको नियन्त्रणबाट नेपाली
कांग्रेस बाहिर निस्किन सक्ने आशा कम थियो।
म गगन र विश्वप्रकाशसँग यस कारण पनि असन्तुष्ट थिएँ र अहिले
पनि छु, किनभने उनीहरूले
शेरबहादुरविरूद्ध सशक्त र सामयिक विद्रोह गर्ने साहस देखाएनन्।
ढिलो भए पनि यो साहस प्रकट भएको छ। यो खुसीको क्षण हो।
महाधिवेशनका उपलब्धि आगामी दिनमा देखिनेछन्। स्पष्ट देखिएको
प्रमुख उपलब्धि के हो भने, नेपाली कांग्रेसका
बहुसंख्यक नेता र प्रतिनिधिले जेनजी विद्रोहको भावना आत्मसात गर्नुपर्ने र
पार्टीलाई जनताको अपेक्षाअनुकूल परिमार्जन गर्नुपर्ने भावना औपचारिक रूपमा व्यक्त
गरेका छन्।
यसले नेपालको आगामी निर्वाचन र भविष्यको राजनीतिक दिशामा
महत्त्वपूर्ण अर्थ राख्नेछ।
नेपालमा सयौंको संख्यामा राजनीतिक दल छन्। तर तीमध्ये
अधिकांश कि कम्युनिस्ट छन् कि वैचारिक रूपमा स्पष्ट छैनन्। लोकतन्त्र,
उदारवाद र अभिव्यक्तिको स्वतन्त्रतालाई आधार मानेर राज्य र
नागरिकको सम्बन्ध परिभाषित गर्नुपर्ने दृष्टिकोण भएका दलहरूको विकल्प कम छ।
नेपाली कांग्रेस सीमित विकल्पमध्येको एक हो। त्यसैले,
यस पार्टीमा हुने घटनाहरूले चासो र महत्त्व पाउनु स्वाभाविक
हो।
आज २८ गते विशेष महाधिवेशनले कस्तो रूप लिन्छ र यो कसरी अन्त्य हुन्छ, म अनुमान गर्न सक्दिनँ। तर यो महाधिवेशनसँग मेरा तीन अपेक्षा जोडिएका छन् —
पहिलो, गिरिजाप्रसाद
कोइरालाले सशस्त्र द्वन्द्व अन्त्यका लागि र शेरबहादुर देउवाले सत्तास्वार्थका
लागि कम्युनिस्ट पार्टीहरूसँग गठबन्धन गरे। यसबाट राजनीतिक इमानदारी र वैचारिक
स्पष्टताको महत्त्व हराएर गयो। मिलिजुली खाने र खुवाउने प्रवृत्ति हाबी भयो।
नेपालको राजनीतिक अनिश्चितता र कुशासनको प्रमुख कारण यही हो।
पार्टीका उच्च पदाधिकारीका रूपमा गगन र विश्वप्रकाशले पनि
यो गलत प्रवृत्तिप्रति आफ्नो भूमिका र जिम्मेवारी स्वीकार गर्नुपर्छ। विगतमा जे
भयो, भयो। इतिहासबाट पाठ सिक्दै
यस महाधिवेशनबाट प्राप्त 'म्यान्डेट'
लाई नेपाली कांग्रेसले भविष्यमा कम्युनिस्टहरूबाट आफ्ना
नीति र संगठन अलग राख्न पाउन सक्छ।
यसो हुन सके जनताले आगामी निर्वाचनमा दुई फरक राजनीतिक
दृष्टिकोण र कार्यक्रममध्ये एकलाई रोज्न पाउँछन्।
दोस्रो, नेपालका
राजनीतिक पार्टीका सांगठनिक संरचना र प्रक्रियामा घनघोर जटिलता छन्। एकातिर योग्य र इच्छुक व्यक्तिलाई राजनीतिक पार्टीमा आबद्ध भएर देश र जनताका लागि काम
गर्न असम्भव छ भने अर्कातिर, राजनीतिलाई
पेसा बनाएर नमरूञ्जेल मन्त्री, प्रधानमन्त्री
हुन चाहनेले महत्त्वपूर्ण अवसर ओगटेका छन्।
कांग्रेसको यो महाधिवेशनले कांग्रेस मात्र नभएर सबै
राजनीतिक दलमा आवश्यक सांगठनिक र आर्थिक सुधार र पारदर्शिता सुनिश्चित गर्नुपर्छ।
सामाजिक सञ्जालमा गगन, विश्वप्रकाश वा नेपाली कांग्रेसको आलोचना व्यापक भए पनि धेरै मानिसले बुझेको
कुरा के हो भने, अहिलेको जटिल परिस्थितिमा
देशलाई नेतृत्व दिने सही सामर्थ्य उनीहरूमा छ। नेपाली कांग्रेसमा सांगठनिक सुधार
हुने हो र पार्टी आर्थिक रूपमा पारदर्शी हुने हो भने अन्य राजनीतिक दलका लागि पनि
यस्तो सुधारको दबाब सिर्जना हुनेछ।
तेस्रो, जेनजी
विद्रोह स्वाभाविक र स्वस्फुर्त थियो। विद्रोहपछि देशलाई नेतृत्व दिन्छौं भनेर
उदाएका अनुहार स्वाभाविक र स्वस्फुर्त छैनन्।
रवि लामिछाने वा बालेन शाहमा नेपाललाई बलियो र सुन्दर
बनाउनुपर्छ भन्ने इमानदार चिन्ता र चासो हुनसक्छ। तर उनीहरू वैचारिक रूपमा
पारदर्शी र इमानदार देखिएका छैनन्।
कुलमान घिसिङ एक क्षमतावान व्यक्ति हुन्,
तर राजनीतिक नेतृत्वका लागि व्यक्तिगत क्षमता मात्र भएर
पुग्दैन। आम मानिसले विचार र दृष्टिकोण पनि सुन्न, बुझ्न चाहन्छ। यो कुरा मैले विभिन्न लेखहरूमा निरन्तर भनिरहेको छु।
मलाई के कुरामा पूर्ण विश्वास छ भने,
यो बुझाइ मेरो मात्र होइन, धेरै नेपालीको बुझाइ हो।
त्यसैले, सुधारिएको
नेपाली कांग्रेस निर्वाचनमा जाँदा रवि र बालेनलाई विश्वास नगर्नेहरूका लागि एउटा 'विकल्प' उपलब्ध हुनेछ।
यो विशेष महाधिवेशन असफल भए नेपाली कांग्रेस इतिहासको
डस्टबिनमा पुग्नेछ। यसको परिणाम आगामी निर्वाचनमा प्रस्ट देखिनेछ र नेपालको
राजनीतिक संकट गहिरिने छ।
सफल भयो भने यसले आगामी निर्वाचनलाई सकारात्मक रूपमा प्रभाव
पार्नेछ।
No comments:
Post a Comment