नेपालमा कामकाजको संस्कृति कस्तो छ ? मलाई लाग्छ यो विषयमा गहिरो आत्ममूल्यांकन जरुरी छ ।
सरकारी सेवाको त कुरै नगरौँ ! नेपाल सरकारका कुनै अफिसमा काम विशेषका लागि जानु
छ भने कि त्यो ठाउँमा चिनजानको मानिस को छ भनेर पहिला सोधखोज गर्नुपर्छ कि पैसाको
बिटो बोकेर जानुपर्छ । होइन भने सरकारी कर्मचारीले सजिलो कामलाई पनि जटिल जस्तो देखाएर, फनफन घुमाएर, हप्काएर, धम्क्याएर
१०४ डिग्रीको ज्वरो निकालिदिन्छन् ।
सरकारीबाहेक निजी क्षेत्रका सेवा प्रदायकको काम गर्ने संस्कृति कस्तो छ नि ? आज म नेपालको ठुला र क वर्गका बैंकहरूमा पर्ने हिमालयन बैंकको सेवा प्रवाहको एउटा उदाहरण दिँदैछु । तर, त्यसमा जानु अघि काम गर्ने आम संस्कृितको कुरा गरौँ ।
समयको सम्मान नगर्ने कुरा त नेपालका लागि सामान्य नै हो । समयमा भनेको ठाउँमा नपुग्ने, सिध्याउँछु भनेको काम नसिध्याउने, डेडलाइन आफ्नो मनखुशी पर सार्ने कुरा नेपालका आम प्रवृत्ति हुन् । अरूलाई सेवा प्रदान गर्ने भूमिका निभाइरहेका मानिसहरू यी सबै काम निर्धक्क, निसङ्कोच र बिना पछुतो गरिरहेका हुन्छन् ।
मलाई लाग्छ नेपालमा व्याप्त कामकाजी संस्कृतिको अर्को खराब पक्ष आफ्नो वाचा वा वचनको सम्मान नगर्ने पनि हो । हचुवामा गरौंला, सिध्याउँला, सकौँला, भनौँला भनिहाल्ने, भनेपछि प्रतिवद्धता पूरा नगर्ने र भनेअनुसार काम नहुँदा क्षमा नमाग्ने प्रवृत्ति नेपालमा सामान्य हो । प्रतिवद्धता दिने बेलामा ‘हुन्छ’, ‘भइहाल्छ नि’, ‘पक्का’ भन्ने तर समय बितेपछि भ्याइनँ, सकिनँ, बिर्सेँछु, पछि आउनुस् भन्ने त आम चलन हो ।
नेपालको कर्म संस्कृतिको अर्को खराब पक्ष 'नेपाल त हो नि', ‘भइहाल्छ नि’, ‘के हुन्छ र ?’ ‘चलिहाल्छ नि !’ भन्ने 'गोर्खे' प्रवृत्ति पनि हो ।
बाटोको डिजाइन गडबड भयो ? थोरै बाङ्गो हुँदा के हुन्छ त ? पाइन्ट मोडिफाइ गर्दा आवश्यक भन्दा बढी काटियो ? अलिकति छोटो त हो नि ! रेस्टोराँको खानेकुरामा नुन बढी भयो ? कहिलेकाहीं चर्को भइहाल्छ नि ! ट्याक्सी फोहोर छ ? नेपाल हो, यत्तिको चलिहाल्छ नि !
यो नेपाल हो र यहाँ कमसल, खराब, गुणस्तरहीन काम, वस्तु सेवाले काम चल्छ भन्ने चिन्तन आम मानिसमा कडा रूपमा हाबी छ ।
एउटा गजबको उदाहरण हेरौँ । नेपालका बैंकहरू सेवा प्रवाहमा कमजोर रहेको कुरा नयाँ होइन । उदाहरणका लागि एटिएम मसिन नचल्ने, सामान्य सेवा लिन (जस्तै, एटिएम कार्ड, अनलाइन बैंकिङ् आदि) पनि अनेक झन्झट र वाहियात औपचारिकता पुरा गर्नुपर्ने, सार्वजनिक विदा भनेर छोटो सूचनामा बैंक बन्द गर्ने त सामान्य कुरा हुन् ।
आज मैले दिन लागिरहेको एउटा उदाहरण हिमालयन बैंकको विगत १५ दिनदेखि बन्द
रहेको अनलाइन सेवाको हो ।
हिमालयन बैंकले केही साताअघि आफ्नो वेबसाइटमा यसो भनेर सूचना निकालेको थियो -यस बैंकको अनलाइन बैंकिंग प्रणाली ‘अपग्रेड’ गर्नुपर्ने भएकाले कार्तिक ३ गतेदेखि कार्तिक १० गतेसम्म बैंकिङ् सेवा बन्द रहनेछ ।
बैंकहरूले आफ्नो अनलाइन प्रणालीलाई बेलाबेलामा 'मेन्टेनेन्स' गर्छन् । यसका लागि अनलाइन सेवा बन्द पनि हुन्छ । तर, यसरी बन्द गरिने अवधि केही घण्टाभन्दा बढी हुँदैन । बैंकहरूले अनलाइन सेवा बन्द गर्दा पहिले नै सूचना दिएर कम प्रयोग हुने समय पारेर केही घण्टाका लागि बन्द गर्छन् ता कि ग्राहकलाई असुविधा नहोस् ।
तर, हिमालयन बैंकले समग्र सेवा ७ दिनका लागि ड्याम्मै बन्द गर्ने निर्णय गर्यो र कस्तो बेलामा बन्द गर्यो भने जुन बेला तिहार र छठ पर्व थिए । यस्तो बेला पैसा ट्रान्सफर गर्न तथा अन्य प्रयोजनका लागि अनलाइन बैंकिंङ् चलाउने काम अरू बेला भन्दा बढि पर्छ भन्ने कुरा अति साधारण ज्ञान हो । चाडबाड नभए पनि आजभोलि बैंकिङ् सेवालाई धेरैजसो इन्टरनेटमार्फत चलाइन्छ र हप्तौंसम्म यस्तो सेवा बन्द हुँदा अत्यन्तै अप्ठेरो हुन्छ ।
हिमालयन बैंकका हाकिमहरूले सोचे होला –‘एक हप्ता त बन्द हो नि ? काम पर्दा बैंक खुलेका दिन बैंक गएर पैसा पठाए भैहाल्छ नि ! चाडपर्व मनाउन सबै व्यस्त हुन्छन्, कसले बैंकको साइटमा लगइन गर्छ र !? नेपाल हो, चलिहाल्छ नि !’ त्यसैले, उनीहरूले निसङ्कोच अनलाइन सेवा एक हप्ता बन्द गर्ने निर्णय गरे ।
कुरा यत्तिमा टुङ्गिदैन ।
कार्तिक ३ गतेदेखि १० गतेसम्म एक हप्ताका लागि बन्द भनेको अनलाइन सेवा आज यो ब्लग लेख्दा कार्तिक १७ गतेको बिहानसम्म बन्द छ ! बैंकले आफ्नो सोफ्टवेअर अहिलेसम्म अपग्रेड गर्न सकेको छैन, तर ग्राहकलाई दिने टर्रो सूचना भने अपग्रेड गरेको छ ।
हिमालयन बैंकको यस्तो बिल्कुल गैरजिम्मेवार काम नेपालको ‘गोर्खे’ संस्कृतिको एउटा जबरदस्त उदाहरण हो जसमा सेवा प्रदायकले आफ्नो असक्षमता तथा सेवाको गुणस्तरहीनताप्रति कसैलाई जवाफ दिनु पर्दैन । उल्टै धाकधक्कु लगाएर ठुलो पल्टिन पनि पाइन्छ -जसरी हिमालयन बैंकले आफ्नो माथिको सूचनामा गरेको छ । यो सूचना पढ्दा यस्तो लाग्छ बैंकको अनलाइन सेवा विगत १५ दिनदेखि बन्द हुनु सामान्य कुरा हो । यसमा बैंकले क्षमा याचना गर्नु पर्दैन -बरु ग्राहकले थप सतर्क हुनुपर्छ ।
अचम्मको कुरा के छ भने नेपालको एउटा ठूलो बैंकको महत्त्वपूर्ण सेवा हप्तौँदेखि नचल्दा यसबारेमा कतै चर्चा सुनिएको छैन । सञ्चारमाध्यममा यसबारे कुनै सूचना छैन । यस्तो लाग्छ -यो कुरा सामान्य हो ।
अनलाइन बैंकिङ् संसारका सम्भवतः सबै बैंकहरूको आधारभूत सेवा हो । आजभोलि प्राय सबै कारोबार अनलाइन हुने गर्छन् । यसलाई ठिक हालतमा राख्ने काम कुनै नयाँ र जटिल काम होइन -लाखौँ बैंकहरूले नियमित रूपमा गरिरहेको काम हो ।
अनलाइन बैंकिङ् ठिक हालतमा राख्ने सामान्य काम हिमालयन बैंकले गर्न सक्दैन भने यसले ग्राहकहरूको पैसा र तथ्याङ्कको सुरक्षा कसरी गर्ला ? अन्य सेवा प्रभावकारी रूपमा कसरी देला ? यसको आन्तरिक, सांगठनिक संरचना कति प्रभावकारी होला ?! यी सबै विषय शंकाको घेरामा छन् ।
यो नेपाल हो, यतिको चलिहाल्छ नि ! होइन त हिमालयन बैंक ?

No comments:
Post a Comment