Bluesky

@sanpokh.bsky.social

Monday, November 24, 2025

Random Thoughts: कहिले बन्ला नेपाल समृद्ध ?

Disclaimer: यो एक निराशावादी मोनोलग हो । तपाईंलाई नेपालको भविष्यका बारे सुखद् र आशावादी कुराहरू मात्र सुन्न मन लाग्छ भने यो लेख तपाईंका लागि रुचिकर नहुन सक्छ ।

शीर्षकको प्रश्नमा मेरो मनमा उठेको जवाफः नेपाल समृद्ध बन्ने सम्भावना छैन ! 

प्रश्न भित्र पसेर कुरा गरौँ न । बन्नु भनेको के हो ? यो प्रश्नको जवाफ सजिलो छैन । के कस्तो अवस्था भयो भने नेपाललाई समृद्ध भयो भनेर मान्ने -यस बारेमा हरेक व्यक्ति, उसको आर्थिक हैसियत, जात, धर्म, क्षेत्र, सांस्कृतिक पहिचान, लैंगिकता आदि विभिन्न अवस्थाले प्रभाव पारेको हुन्छ ।

काठमाडौँको कुनै निजी बैंकमा उच्च ओहोदामा काम गर्ने तथा राम्रो औषत आम्दानी भएको एउटा वयष्क पुरुषको समृद्ध नेपालको सपना र बैतडीकी १७ वर्षे गरीब दलित परिवारकी किशोरीको समृद्ध नेपालको सपनाका बिचमा आकाश पातालको फरक छ । नेपाल कहिले समृद्ध हुन्छ भनेर कसैले प्रश्न सोधिरहेको छ भने ऊ को हो, कहाँको हो ? उसका आवश्यकता र सपना के हुन् ? बुझ्न आवश्यक छ ।

समृद्धिको स्पष्ट, सर्वस्वीकार्य खाका हुँदैन । त्यसैले, समृद्धिको खाका बनाउनु र यो कहिलेसम्ममा कसरी सम्भव होला भनेर भविष्यवाणी गर्नु टपरटुइयाँ विकासविद, अर्थशास्त्री वा दलको नेताले गफ हाँकेजस्तो सजिलो कुरा होइन ।

नेपालको सबैभन्दा ठूलो समस्या के हो भने समृद्धि के हो भन्ने बारेमा कुनै छलफल नै हुँदैन । यस्तो लाग्छ कि समृद्धिको परिभाषामा सबै प्रस्ट छन् । यसलाई कसरी सम्भव गराउने भन्ने विषयमा मात्र फरक मत छन् ।

यो हास्यास्पद कुरा हो । नेपालीहरू देश बनाउने सपनाका पछाडि दौडिरहेछन् तर त्यो सपनाको अन्तरवस्तुबारे कसैलाई मतलब छैन ।

एकै छिन समृद्धिका बारे चलनचल्तिमा रहेका केही सपनाको कुरा गरौँ ।

यदि युरोप वा उत्तर-अमेरिकाका धनी देशहरूको जस्तो भव्य र गुणस्तरीय भौतिक पूर्वाधार नेपालीहरूको समृद्धिको सपना हो भने यसमा सबैले प्रस्ट भए हुन्छ -यो सम्भव छैन । मलाई लाग्छ कमसे कम अब आउने १०० वर्षसम्म सम्भव छैन । यदि १०० वर्ष नेपालीहरूले मेहनत गरेर, सम्पत्ति जम्मा गरेर त्यताको जस्तो भौतिक पूर्वाधार बनाउने लक्ष हासिल गरे भने पनि त्यो बेला सम्ममा हाम्रा आवश्यकता र प्राथमिकता विभिन्न कारणले बदलिसकेका हुनेछन् ।

त्यसैले, भौतिक पूर्वाधारको मृगतृष्णामा छटपटाउनुभन्दा समृद्धिको अन्तरवस्तु र त्यससँग जोडिएका चुनौति र सम्भाव्यताका बारेमा छलफल गर्नु नेपालका लागि लाभदायक हुनेछ ।

भौतिक पूर्वाधार मानसिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाहरू जोडिएर संयोगवस हासिल हुने परिणाम हो । यीमध्ये नेपालका कुनै पनि अवस्था युरोप वा अमेरिकाको जस्तो आर्थिक वा भौतिक समृद्धिका लागि अनुकुल छैन । नेपालको मात्र होइन -भारतको पनि छैन ।

अब के गर्ने त ?

आँगन टेढो भएर नाच्न अप्ठेरो भयो भने आँगन सोझ्याउन पट्टि लाग्ने होइन -नाच्ने शैली फेर्ने हो । आवश्यक परे जुन गीतमा नाचिरहेको हो त्यो गीत फेर्ने हो ।

नेपाल एक मध्यम आर्थिक हैसियतको शान्त मुलुकका रूपमा अस्तित्वमा रहन सक्थ्यो । माओवादी सशस्त्र द्वन्द्वको अन्त र त्यसपछिको राजनीतिक परिवर्तनपछि नेपालका लागि एउटा स्थीर र प्रगतिशील देशका रूपमा स्थापित हुने सम्भावना थियो ।

तर, त्यो सम्भावनालाई ओली-देउवा-पुष्पकमल लगायतका क्षमताहीन, लालची र अनैतिक नेताहरूले रक्सीले मातेको मानिसले माटोको गाग्रोलाई लात्तले हानेर फुटाए झैं फुटाइदिए ।

नेताहरू अनैतिक, गैरजिम्मेवार र असक्षम हुने एक तहको समस्या हो । तर, केही नेता खराब हुनेमात्र नेपालको समस्या होइन । किन होइन भने अहिले राजनीतिक पार्टीहरूलाई हेर्दा धेरै मानिसले घृणा गर्ने सीमित वयोवृद्ध नेताको समूहपछि नेतृत्व सम्हाल्ने सम्भाव्य दोस्रो पुस्ताका नेताहरूमा पनि विश्वासिलो र क्षमतावान अनुहारहरू पाउन गार्‍हो छ । जेनजी आन्दोलनपछि धमाधम मो:मो: पसल झैं खुलिरहेका दलहरूको हालत उही छ । राजनीतिको केन्द्रमा मात्र नभएर प्रदेश वा स्थानीय तहको नेतृत्वमा पनि चरम समस्या छ ।

यसो हेर्दा लाग्छ -नेपाल खराब नेता उत्पादन गर्ने विशाल कारखाना हो ।

नेताहरू खराब हुँदा कहिलेकाहिँ तिनलाई चुन्ने जनतालाई दोष दिने गरिन्छ । मेरो विचारमा त्यो पनि समस्याको सही पहिचान होइन । समस्या नेपालको सामाजिक-सांस्कृतिक आयामहरूमा जकटिएको छ र नेपालको अर्थराजनीतिमा जोडिएको छ ।

नेपाालको समस्या व्यक्तिविशेष, दलविशेष, नेताको पुस्ता विशेष राज्यको संस्था विशेषसँग सीमित छैन । राज्य र समाजको आम अवस्थामा गम्भीर समस्या छन् । यी समस्यको छोटो समयमा र कुनै विशेष सुत्रको प्रयोग गरेर हल गर्न सम्भव छैन ।

उदाहरण नै हेरौँ न -राजनीतिक नेता वा सार्वजनिक पद सम्हालेको कुनै पनि व्यक्तिले आम नागरिकले तिरेको पैसाबाट तलव वा सेवा सुविधा लिएको हुन्छ र उसले प्रयोग गर्ने साधन-स्रोत पनि आम नागरिकले तिरेको पैसा नै हो । तर, यो सामान्य यथार्थ आत्मसात गर्न नेपालीलाई सजिलो छैन । यसका कारण राजनीति र समाज सबै विकृत बनेका छन् । नेपाल यही विकृतिबाट गुज्रिरहेको छ ।

महेन्द्रले फलाना ठाउँमा पुल बनाए, ओलीले फलाना धरहरा बनाए, सूर्यबहादुरले फलानो बाटो बनाए, बालेन शाहले यति वटा ढुङ्गेधारा मर्मत गरे भनेर अभीलेख राख्ने र त्यसको गीत गाउँदै हिड्ने आम प्रवृत्ति नेपालको पछौटेपन र अविकासको परिचायक मात्र होइन -स्रोत पनि हो । महेन्द्र, बालेन, ओली, सूर्यबहादुर आफ्नो राजीखुशीले सार्वजनिक पद सम्हालेर जनताको करबाट आर्जित राज्यको सम्पत्ति व्यवस्थापन गर्ने मानिसहरू थिए वा हुन् भन्ने कुरा स्थापित हुन नसक्दा नेपालको हालत सुधार हुने दिशामा नभइ थप बिग्रेर जाँदैछ ।

बालेनले बनाएको ढुङ्गेधारा वा महेन्द्रले बनाएका पुल कसको पैसाबाट बनेका हुन् ? यति कुराको हेक्का नराख्ने हुस्सु हामी नेपालीलाई राज्य र नागरिकबिचको सम्बन्धलाई बुझ्न र वास्तविक रूपमा अभ्यास गर्न धेरै लामो समय लाग्नेछ । समृद्धि त त्यसपछि आउने कुरा हो ।

नेपालको समग्र जनसङ्ख्यासँग आफूप्रति विश्वास र सम्मान छैन । म करदाता नागरिक हो र राज्यमा मेरो निश्चित तथा महत्त्वपूर्ण भूमिका छ भन्ने कुराको नै अनुभूति छैन । शासकलाई पूजा गर्ने र उसको दास भएर रमाउने चाहना छ । देश अरूले बनाइदेला भन्ने आश छ । आम जनताको यही मनोवृत्तिमा विगतमा निरङ्कुश राजतन्त्र मौलाएको हो, अहिले नेतातन्त्र मौलाएको छ । नेपालीहरू कहिले महेन्द्रको गीत गाउन मस्त कहिले बालेनको !

फेरि एकपटक सुरुको प्रश्नमा फर्कौँ ! धेरै नेपालीहरू राम्रो काम गर्न सके नेपाल पनि युरोप-अमेरिकाका धनी देश जस्तै केही वर्षमा धनी हुन सक्छ भनेर विश्वास गर्छन् । के यो कुरा सम्भव छ ? छ भने यसका आधार के के हुन् ?

नेपालले युरोप-अमेरिकाको जस्तो ‘समृद्धि’ हासिल गर्ने सम्भावना छैन -माथि पनि भनिसकेको छु । नेपालले सबैभन्दा पहिले यस्तो बकबास आत्मविश्वासबाट बाहिर निस्किन जरुरी छ ।

  •  नेपालले संसारका अरू देशलाई उपनिवेष बनाएर विगतमा सम्पत्ति थुप्र्याउने अवसर पाएको थिएन;
  • नेपालसँग आधुनिक राज्य निर्माण र यससँग जोडिएको आदर्श संस्कार निर्माणको हजारौँ वर्षको इतिहास र अनुभव छैन;
  • नेपालसँग संसारका लागि आज काम लाग्ने प्राकृतिक स्रोत वा खनिज स्रोत (तेलका कुवा वा कोबाल्ट माइन) छैनन्;
  • नेपालीसँग जटिल र ठुला आर्थिक तथा व्यापारिक क्षेत्रमा लगानीको आर्थिक र बौद्धिक क्षमता छैन;
  • नेपालमा उद्योग-व्यवसाय स्थापना गर्दा तुलनात्मक लाभ हुने विशिष्ट सम्भावना भौगोलिक, भूराजनीतिक वा नीतिगत कारणबाट सम्भवना छैन;
  • दोस्रो विश्वयुद्धपछि रणनीतिक रूपमा सिंगापुर, दक्षिण कोरिया वा ताइवानले पाएको विदेशी लगानीको अवसर नेपालसँग छैन;
  •  बहुसङ्ख्यक नेपालीसँग संसारका अन्य विकसित मुलुकका लागि काम लाग्ने विशिष्ट शीप, क्षमता वा दक्षता छैन -केहीमा छ, तर धेरैमा छैन -किनकि शिक्षा वा सीप विकासका संस्थाहरूलाई दशकौँदेखि धराशायी बनाइएको छ;
  • र, मेरो विचारमा प्रगति र उन्नतिको मार्गमा नेपालको एउटा महत्त्वपूर्ण सीमितता के छ भने नेपाल जातिवादको कुहिएको मानसिकतामा जकटिएको छ ।

पर्यटन प्रवर्धन गरेर, विद्युत बिक्रि गरेर, उद्योगधन्धाको स्थापना तथा लगानी प्रवर्धन गरेर नेपाललाई केही हदसम्म सुरक्षित र आत्म निर्भरसम्म बनाउन सकिन्छ । यसका लागि सार्थक प्रयत्न हुन जरुरी पनि छ । तर, बुझ्नुपर्ने कुरा के छ भने यी सबैबाट नेपाललाई स्विट्जर्ल्याण्ड वा क्यानडा बनाउन बनाउन सकिन्न -भलै स्विट्जर्ल्याण्ड वा क्यानडा नेपालका लागि आदर्श देश हुनुपर्छ भन्ने पनि मलाई लाग्दैन ।

नेपालका क्षमता र सम्भावना सीमित छन् । यो कुरा बुझौँ ।

आफ्नो देशको मायाले ओतप्रोत भएर ‘नेपालमा के छैन ?’ भन्न नसकिने होइन । तर, यो प्रश्न वा बोक्रे आत्मविश्वासले कहिँ पुर्‍याउँदैन । सही प्रश्न यो हो -नेपालसँग के छ ? नेपालसँग जे छ त्यसको मूल्य आधुनिक संसारका लागि धेरै छैन । त्यसैले, नेपालका चुनौति जटिल छन् ।

नेपालले एउटा शान्त र स्थीर देशका रूपमा दक्षिण एसियामा आफूलाई स्थापित गर्न नसक्ने होइन । तर, यो काम पनि त्यति सजिलो छैन । यसका लागि संरचनागत, प्रणालीगत सुधार चाहिन्छ । शिक्षामा, कृषिमा, स्वास्थ्यमा, सेवा प्रवाहमा -जसका बारेमा मैले यसअघिका ब्लगहरूमा प्रशस्त कुरा गरेको छु र आज दोहोर्‍याउन चाहन्न । सँगसँगै मानसिकता सुधार पनि चाहिन्छ । जातिवाद, छुवाछुतवाद, सांस्कृतिक संकिर्णताबाट बाहिर निस्किनु पर्‍यो । संसारको अवस्था र बढ्दैगएका चुनौतिलाई बुझ्नुपर्‍यो ।

देशलाई सबल र समृद्ध बनाउने काम एउटा कम्पनी खडा गरेर नाफा कमाउने काम जति सहज र सरल छैन ।

आजको लेखलाई यति भनेर बिट मारेँ -नेपाल गलत सपनाबाट निर्देशित छ । पहिला सपनालाई संशोधन गरेर आफ्नो क्षमता र सम्भावनाका बारेमा इमानदार भएर सोच्नु पर्‍यो ।

No comments:

Post a Comment