Monday, May 13, 2024

उठ्न थाले आवाज

प्रसङ्ग भारतको तर नेपालका लागि पनि उत्तिकै चाखलाग्दो र सान्दर्भिक होला -ध्रुव राठीले आफ्नो ताजा भिडियोमा नरेन्द्र मोदीले खडा गरेको झुठको साम्राज्यको सानो पर्दाफास गरिदिएका छन् । लिंक तल छ ।

यसपटकको लोकसभा निर्वाचनको परिणाम कसको पक्षमा आउने हो त्यो कुरा जुन महिनाको ४ तारिकमा मात्र थाहा हुनेछ । जसको पक्षमा परिणाम आए पनि एउटा कुरा के प्रस्ट हुँदैछ भने नरेन्द्र मोदीले खडा गरेको शिशाको महल चर्किने क्रम शुरु भएको छ । मोदी भनेको भारत होइनन् भन्ने धारणा आम मानिसमा विकसित हुँदैछ । भारतीयहरूमा मोदी र भाजपामाथि औंला उठाउने साहस पलाएको छ ।

लोकतन्त्रमा शक्ति हुन्छ -तर यो आफैंमा भने कमजोर हुन्छ । लोकतन्त्र जीवित रहन आम मानिस र मतदाताको सुझबुझ चाहिन्छ । जब आम मानिस गुमराहमा पर्छ -लोकतन्त्रले पनि गलत बाटो समात्छ । इन्टरनेटको युगमा मानिसलाई गुमराहमा पार्न सजिलो भएको छ र त्यही कारण लोकतन्त्र थप vulnerable पनि भएको छ ।

नरेन्द्र मोदीजस्ता गलत मानिसले आफ्नो स्वार्थका लागि इन्टरनेटलाई माध्यम बनाउने कुरा संसारभर सामान्य हो । तर, यसका केही अपवाद पनि छन् । उदाहरण ध्रुव राठीजस्ता मानिसहरू हुन् । इन्टरनेटले प्रदान गर्ने सुविधा र स्रोतको उपयोग गरेर राठीले मोदीको झुठको पर्दाफास गरिरहेका छन् ।

राठीको कन्टेन्ट अहिले लोकप्रिय किन छ भने भारतमा आम मानिस नरेन्द्र मोदीको झट्ट हेर्दा शानदार देखिने-सुनिने तर भित्रभित्रै असफल नीति र कार्यक्रमबाट वाक्क भएका छन् र उनको विकल्पबारे सोच्न बाध्य हुँदैछन् । मोदीको विकल्पले यही चुनावमा जनमत पाउने हो कि होइन यो त निश्चित छैन -तर यसको जग भने बसेको छ ।

नरेन्द्र मोदी जस्तो प्रस्ट रूपमा आडम्बरी, अज्ञानी, झुटा कुरा गर्न थोरै पनि नहिच्किचाउने मानिस भारतजस्तो देशमा यो स्थानमा कसरी पुग्न सफल भए ?! दश वर्षको उनको शासनमा भारतले आफ्नो साख कसरी गुमायो ?! यी प्रश्नका जवाफ आज मानिसहरू खोज्न थालेका छन् ।

एउटा दुखद् यथार्थ के हो भने आम मानिसको मनमा गढेको भयलाई हतियार बनाएर उनीहरूमाथि शासन गर्ने तानाशाहहरू संसारका विभिन्न देशले विभिन्न कालखण्डमा भोगेका छन् ।

भारतको अनुभवले नेपालजस्ता सांस्कृतिक रूपमा समान देशहरूलाई सिकाइरहेको छ -धर्मलाई राज्यबाट अलग राख, आर्थिक रूपान्तरणलाई आम जनताका आवश्यकता र अपेक्षासँग जोड, सोसल मिडियाबाट नियोजित रूपमा झुठ फैलाएर मानिसहरूलाई गुमराहमा राख्न चाहने नेता र राजनीतिक पार्टीलाई समयमै चिन !

ध्रुवको भिडियो यता






No comments:

Post a Comment