Monday, February 12, 2024

मान्छेको उद्देश्य सत्यको खोजी गर्नु होइन भनी बताउने किताब

 मानिस यस्तो प्राणी हो जो आफ्ना इन्द्रिय र विकसित मस्तिष्कको प्रयोगबाट यथार्थसम्म पुग्न सक्छ।” यो वा यस्तै कुरा त हामी धेरै सुनिरहेका हुन्छौं। तर, जीव विज्ञान र मानिसको मनोवैज्ञानिक चरित्रका विशेषतालाई आधार मान्दा यस्तो तर्क कतिको चित्तबुझ्दो छ त ?

मैले हालसालै पढिसिध्याएको एउटा पुस्तक ‘द केस अगेन्स्ट रिआलिटी’ का लेखक डोनल्ड होफमन भन्छन्- मानिससँग यथार्थ पत्ता लगाउने क्षमता हुन्छ भन्ने कुरा बिल्कुल गलत हो।

होफमनको रोचक पुस्तकमा समेटिएका उनका केही तर्कलाई साङ्गोपाङ्ग यहाँ प्रस्तुत गर्नेछु।

एउटा उदाहरणबाट सुरु गरौं- तपाईंको अगाडि एउटा टेबल छ। टेबलमाथि टमाटर छ। जुन बेला तपाईं टमाटर हेरिरहेको हुनुहुन्छ त्यसबेलासम्म टेबलमा टमाटर हुन्छ। तर, जब तपाईं अर्कोतिर हेर्नुहुन्छ- के त्यो टमाटर त्यसबेला पनि टेबलमाथि नै हुन्छ त ?

तपाईं (वा मलाई) लाग्ला टमाटर हामीले हेरिरहे पनि वा नहेरे पनि टेबलमाथि नै हुन्छ। तर, होफमनको विचारमा हामीले नहेरेको बेला पनि टेबलमाथि टमाटर उही अवस्थामा रहिरहन्छ भनेर ठोकुवा गर्ने हामीसँग कुनै आधार हुन्न।

संसारको कुनै पनि वस्तु र अवस्था त्यसबेलासम्म अस्तित्वमा हुन्छ जुन बेला हामी त्यसलाई अनुभव गरिरहेका हुन्छौं। हाम्रो अनुभव बाहिर कुनै पनि कुरा एउटा निश्चित अवस्थामा छ भन्ने बुझाइ केवल हाम्रो विश्वास मात्र हो। अर्थात्, संसार अर्थपूर्ण हुने हाम्रो अनुभवभित्र मात्र हो, हाम्रा अनुभवहरू सत्यप्रिय (Veridical) हुन्नन्।

यस्तो अनुभवको आधारचाहिं के हो त ? होफमनले प्रस्तुत गरेको यस प्रश्नको जवाफ भने निकै रोचक छ। उनको विचारमा मानिससँग यथार्थ पत्ता लगाउने वा त्यसका आधारमा निर्णय लिने क्षमता हुन्न।

तपाईंको बगैंचामा फुलेको फूल, आकाशमा उडिरहेको चरा, घर अगाडिको रूख सबै तपाईंले निर्माण गरेका धारणा हुन्। तिनीहरूको रूप, रङ्ग, आकार, अवस्थाका बारेमा तपाईंको धारणासँग फूल, चरा वा रूखको कुनै साइनो छैन। उदाहरणका लागि रुख हाम्रा लागि रुखका रूपमा अर्थपूर्ण हुनका लागि १३० मिलियनभन्दा बढी फोटोरिसेप्टरहरू मार्फत आँखाको प्रकाश प्रशोधन गर्ने क्षमता र त्यस्तै करोडौं न्युरोनहरू मार्फत चित्रलाई निश्चित अर्थ दिने मस्तिष्कको भूमिका हुन्छ। यो सब प्रक्रियामा रूखको भूमिका हुँदैन।

अब प्रश्न उठ्छ- के प्रकाश प्रशोधन गर्ने आँखा र त्यहाँ बनेको तस्वीरलाई अर्थपूर्ण बनाउने मस्तिष्कको भूमिका मानिसले प्रकृतिबाट प्राप्त गरेका विशिष्ट जैविक क्षमता हुन् ? होफमनका विचारमा, होइनन्। उनी भन्छन्- यथार्थसम्म पुग्ने क्षमताका आधारमा मानिसको जैविक विकास भएकै होइन।

मानिसले संसारसँग अन्तरक्रिया गर्ने र यस क्रममा संसारको अर्थ लगाउने कुराको सार जैविक निरन्तरतासँग जोडिएको छ- यथार्थसँग होइन। हामी प्रकृतिमा रहेका कुनै पनि वस्तु र अवस्थालाई बुझ्दा यसबाट कसरी आफ्नो जैविक आवश्यकता पूरा गर्ने वा आफूलाई सुरक्षित राख्ने भन्ने प्रश्नबाट निर्देशित भएका हुन्छौं। सत्य वा यथार्थ के हो भन्ने कुरा मानिसको जैविक चरित्रका लागि महत्त्वपूर्ण होइन।

इन्द्रिय वा मस्तिष्कको प्रयोगले हामीले निर्माण गर्ने अनुभव गलत र अस्थिर भएका प्रशस्त उदाहरण छन्।

होफमनले दिएको एउटा उदाहरण हो पश्चिमी अस्ट्रेलियामा पाइने जुल बिटल नामका कीरा र बियरका रित्ता बोतलसँग तिनीहरूको सम्भोग।

पश्चिमी अस्ट्रेलियाका निर्जन ठाउँहरूमा यात्रा गर्ने मानिसहरूले बियर पिएर जथाभावी फाल्ने काँचका रित्ता बोतलले कुनै बेला एउटा अनौठो समस्या सिर्जना गरे। पोथीको खोजीमा भौंतारिने जुल कीरा काँचका ती रित्ता बोतलसँग आकर्षित भए, र सम्भोग गर्न थाले। ती कीराको कमजोरीबाट लाभान्वित बने स्थानीय विशेष प्रजातिका कमिला। कमिलाले सम्भोगमा लीन जुल कीरालाई आफ्नो आहारा बनाए जसका कारण जुल कीराको तीव्र रूपमा विनाश हुन थाल्यो। यसको पत्तो पाएर स्थानीय सरकारले जथाभावी बियरका बोतल फ्याक्न प्रतिबन्ध लगाउनु पर्‍यो र जुल बिटल पूर्णरूपमा विनाश हुनबाट जोगिए।

प्रचलित बुझाइलाई हेर्ने हो भने जुल कीराका भालेले पोथी कीरा सहजै चिन्नुपर्ने हो। भाले र पोथीले एकअर्कालाई चिन्ने र प्रजनन् गर्ने क्षमता हरेक प्रजातिको विकासको आधारभूत क्षमता हो। तर, हरेक प्रजाति आफ्नो विशिष्ट क्षमताका कारणले अस्तित्वमा रहेको हुन्छ भन्ने जीव विकासको मान्यतालाई जुल कीराको उदाहरणले गलत प्रमाणित गर्छ।

जुल कीराको उदाहरणलाई होफमनले सशक्त रूपमा प्रस्तुत गरेका छन्। हामीले यथार्थ भनेर बुझ्ने गरेका कुरा कसरी हाम्रा अनुभूति मात्र हुन् भन्ने तर्क सशक्त रूपमा प्रस्तुत गर्न उनले मानिसको दृष्टि, मस्तिष्क र जैविक विकाससँग जोडिएका विभिन्न विशेषताको विस्तृत विवरण पनि पुस्तकमा पेश गरेका छन्। होफमनले सम्भोग साथी छान्ने जुल कीराको उदाहरण दिए। तर, हाम्रा इन्द्रियले पैदा गरेका भ्रमहरूबारे जो–कोहीसँग प्रशस्त अनुभव छन्।

सन् २०१९ मा प्रकाशित ‘द केस अगेन्स्ट रिआलिटी’ नामको होफमनको पुस्तकको सहायक शीर्षक पनि निकै रोचक छ। यसले भन्छ– ‘जैविक विकासको प्रक्रियाले सत्यलाई कसरी हामीबाट लुकायो !’

क्यालिफोर्निया विश्वविद्यालय अर्भाइनका प्राध्यापक होफमन मानव चेतना र मस्तिष्कको जैविक विकासका घागडान अध्येता हुन्। उनले यस क्षेत्रका संसारका प्रसिद्ध चिन्तक र अध्येतासँग सङ्गत गरेका छन् र ‘द केस अगेन्स्ट रिआलिटी’मा पनि उनीहरूका योगदानका सबल र दुर्बल पक्ष केलाएका छन्। पुस्तक पढिरहँदा उनको लेखन शैली मात्र नभएर उनका तर्कहरूको रोमाञ्चकताले हर कोही पाठकलाई लोभ्याउने सामर्थ्य राख्छ जस्तो लाग्छ मलाई।

तर, यो लेख होफमनको पुस्तक ‘द केस अगेन्स्ट रिआलिटी’को रिभ्यु होइन। रिभ्युको विशेष संरचना हुन्छ- जसमा म दक्ष छैन। न त मलाई संरचनासँग विशेष आसक्ति नै छ।

होफमनको पुस्तक पढ्दै जाँदा मलाई खट्केको कुराचाहिं विज्ञानका विशुद्ध विधाका अध्येताहरू समाज विज्ञानका क्षेत्रमा विकास भएका थ्यौरीहरूसँग कतिसम्म अनभिज्ञ छन् (!) भन्ने हो।

क्लिफर्ड ग्योट्ज मानवशास्त्रमा मलाई विशेष मन पर्ने अध्येता र लेखक हुन्। उनले विकास गरेको अध्ययन विधा व्याख्यात्मक मानवशास्त्रका नामले मानवशास्त्रको क्षेत्रमा प्रसिद्ध छ। ग्योट्ज भन्छन्-मानिसको सोचाइ र व्यवहार जैविक विशेषताका आधारमा व्याख्या गर्न सकिन्न। मानिसका हरेक व्यवहारका प्रशस्त तह हुन्छन्। यी तहहरूको निर्माणमा उनीहरूको ‘स्वार्थ’ को भूमिका हुन्छ।

सन् १९७३ मा प्रकाशित उनको पुस्तक द इन्टरप्रेटेशन अफ कल्चर्स मानवशास्त्रका विद्यार्थीले छुटाउनै नहुने पुस्तकका रूपमा गनिन्छ।

ग्योट्जको विचारमा एउटा निश्चित सन्दर्भमा एउटा निश्चित व्यक्तिले केही कुरा भन्छ वा कुनै काम गर्छ भने उसले किन यसो गरिरहेको छ ? भनेर बुझ्न उसको सामाजिक-सांस्कृतिक जीवनका विभिन्न तह केलाउनुपर्ने हुनसक्छ।

एउटा उमेर युवक वा युवतीले एउटा आँखो झिम्क्याएको छ भने उसले सामान्य ठट्टा गरेको हुनसक्छ, विपरित लिङ्गीप्रति विशेष इशारा गरेको हुनसक्छ, कसैलाई गिज्याएको हुनसक्छ, कुनै नाटक गरेको अभ्यास हुनसक्छ। जबसम्म आँखा झिम्क्याइमा निहित उद्देश्यको गहिराइमा पुग्न सकिन्न तबसम्म यसको अर्थ बुझ्न सकिन्न। आँखा झिम्क्याइको गहिराइमा पुग्न सम्बन्धित संस्कृतिको बृहत् अध्ययन आवश्यक हुन्छ।

ग्योट्जले हाल इन्डोनेशियाको बाली प्रान्तमा गरिने भालेजुधाईको अत्यन्त रोचक मानवशास्त्रीय अध्ययन गरेका छन्। एकदिन गाउँ घुम्न निस्किँदा उनले भालेजुधाई भइरहेको देखे जसमा एउटा निकै ठूलो सङ्ख्यामा गाउँलेहरू मनोरञ्जन लिइरहेका थिए। एकैछिनमा प्रहरीको टोली आइपुग्यो जसपछि गाउँलेको भागदौड मच्चियो- ग्योट्ज पनि उनीहरूसँगै भागे। त्यो घटनाको क्षणिक त्रासदी ग्योट्जका लागि मानवशास्त्रीय अध्ययनको विषयवस्तुमा परिवर्तन भयो। उनले बालीको सामाजिक संरचना र त्यसमा भालेजुधाईको स्थानको विस्तृत अध्ययन त पेश गरे नै, यसका साथै भालेजुधाईका बारेमा बालीका व्याख्याका तहहरू पनि निकै रोचक ढङ्गले पेश गरेका छन्।

ग्योट्ज मलाई विशेष मन पर्ने मानवशास्त्री हुन्। यसको एउटा कारण के हुनसक्छ भने उनको कलम सशक्त छ। उनी मानवशास्त्र अध्ययन गर्नुअघि साहित्यका विद्यार्थी थिए।

मेरा लागि मानवशास्त्र मूलतः साहित्य हो- यस्तो साहित्य जसले एउटा निश्चित रुचि भएका मानिसलाई छुन सक्छ।

अब बिट मारौं।

होफमनले मानिस सत्यको आधारमा होइन, भ्रमका आधारमा बाँचिरहेको हुन्छ भन्ने तर्क जुन जोडबलका साथ प्रस्तुत गरेका छन् त्यस्तो तर्क जीवशास्त्रमा नयाँ भए पनि मानवशास्त्रमा नयाँ होइन। मानवशास्त्रमा त हामी भनिरहेका हुन्छौं- मानिस भनेको त्यस्तो प्राणी हो जोसँग जीवन र जगतबारे अनन्त र बृहत् व्याख्याहरू हुन्छन्। ती व्याख्या र सत्य (वा यथार्थ) बीच कुनै साइनो हुन्न।

सत्य, वास्तविकता, यथार्थको लफडाले संसारलाई आक्रान्त बनाएको छ। अहिलेको समाधानमुखी संसारमा समस्याहरू ओझेलमा परेका छन्। समस्याको यो खडेरीमा डोनाल्ड होफमनको पुस्तकले थोरै प्राणवायु सञ्चार गरेको छ।

मानिस सत्य र यथार्थको प्राकृतिक स्रोत होइन भनेर चाखलाग्दा तर्क प्रस्तुत गर्ने होफमनको पुस्तक ‘द केस अगेन्स्ट रिआलिटी’लाई सलाम !


(अनलाइनखबरमा पुस २७, २०८० मा प्रकाशित)

No comments:

Post a Comment