Bluesky
Monday, July 28, 2014
किन बिर्सने जातपातका कुरा ?
Saturday, July 12, 2014
सुदूर-पश्चिमः उपेक्षा र अविकासको कथा
| दिपायलबाट स्याउलेबजार आउँदैगर्दा बाटोमा देखिएका मालबाहक ट्र्याक्टर |
Sunday, July 6, 2014
अङ्ग्रेजी शब्द नेपाली शैली
शब्द भाषाको अर्थपूर्ण एकाइमात्र होइन,
मानिसको क्षमता र सिर्जनशीलताको द्योतक पनि हो । लेखक,
कवि, कलाकार,
दार्शनिक, प्राज्ञ
वा वैज्ञानिक सबैले शब्द कै खेति गर्ने हो । शब्दलाई राम्रोसँग प्रयोग गर्न जाने
जस्तोसुकै लेखाइ पनि कलात्मक बन्छ, नजाने जस्तै गतिलो कुरा पनि नीरस ।
आफूले मिलाएर लेख्न वा सही उच्चारण गरेर बोल्न नजाने पनि
नेपालीका क्षेत्रीय लवजहरू मलाई औधि मन पर्छ । काम अथवा घुमघामको सन्दर्भमा
नेपालका विभिन्न ठाउँमा जाँदा त्यहाँ बोलिने लवजका केही पृथकता सिक्न रहर लाग्छ ।
पोखरा, जनकपुर,
जुम्ला, इलाम,
कास्की, बैतडी
वा सुनसरीमा बोलिने नेपाली भाषामा मिठा विविधता छन् –जसका स-साना उदाहरण पनि निकै
रोचक र आश्चार्यलाग्दा छन् ।
नेपाली भाषाको सन्दर्भमा मलाई रोचक लाग्ने अर्को कुरा
विभिन्न अङ्ग्रेजी शब्दको नेपालीकरण हो । नेपालीमा अङ्ग्रेजी भाषाको प्रभाव नयाँ
होइन । भारतको बेलायती उपनिवेशसँगको सन्निकटता वा बेलायती साम्राज्यसँगको सोझो
अन्तर्क्रियाबाट विगतमा हामीले उनीहरूका कतिपय शब्द आफ्नो भाषामा भित्र्याएका छौँ
। आजको सन्दर्भमा त नेपाली भाषामा अङ्ग्रेजीको प्रभावका कारण र आयाम अनगिन्ति छन्
।
यही प्रक्रियामा कतिपय अङ्ग्रेजी शब्दका उच्चारणलाई हामीले
ढुक्कसँग नेपाली बनाएका छौँ भने कतिपय शब्दका अर्थलाई नेपाली रङ्ग दिएका छौँ ।
भाषाको शुद्धीकरणको वकालत गर्ने वा भाषा विज्ञका यस विषयमा फरक मत होलान्,
तर नेपालीमा छिरेका अङ्ग्रेजी शब्दको प्रयोग मलाई रमाइलो
लाग्छ । आज केही टिपनटापन अङ्ग्रेजी शब्दको नेपाली प्रयोगलाई उदाहरण बनाउँदै मेरा
आफ्ना धारणाको बेलिबिस्तार लगाउँदैछु ।
अङ्ग्रेजीमा संज्ञाका रूपमा प्रयोग गरिने ‘लुक’ले नेपालीमा पनि लगभग उही अर्थ बोक्छ तर अन्तमा ‘स्’ थपिएर । मानिसको स्वरूप वा आवरण जनाउन प्रयोग गरिने ‘लुक्स’ नेपालीमा सधैं बहुवचन हुन्छ –जस्तै, ‘त्यसको लुक्स त क्या हरामी छ यार !’ सधैं बहुवचन हुने अङ्ग्रेजी शब्द लुक्स मात्र होइन –जोक्स र लेडिज पनि हुन् । ‘एउटा जोक्स भन्छु ल ?’ भनेको त हामी सधैं सुन्छौँ । ‘म लेडिज भएर पनि केटाको बाइक चलाउँछु ।‘ भनेर पनि कतिले गर्व गरिरहेका हुन्छन् ।
सधैँ बहुवचन हुने ट्राउजर्ज, सिजज, प्यान्ट्स, ग्लासेज (चस्मा) आदिलाई भने हामी एकवचनका रूपमा ट्राउजर, सिजर, प्यान्ट र ग्लास भनिरहेका हुन्छौँ ।
कतिपय अङ्ग्रेजी शब्द नेपाली भाषामा बहुआयामिक रूपमा प्रयोग
गरिन्छ । यसको उदाहरण हो ‘डेन्जर’ । अङ्ग्रेजी भाषामा संज्ञाका रूपमा प्रयोग हुने
यो शब्द नेपालीमा अनेकन सन्दर्भमा विशेषणका रूपमा प्रयोग गरिन्छ । उदाहरणका लागि
–“आजको मःमः डेन्जर थियो ! त्यता नजा है त्यहाँको बाटो डेन्जर छ । आज त क्या
डेन्जर देखिएको छस् नि ।“
अङ्ग्रेजीका कतिपय शब्द हामीले आफ्नै उच्चारण र प्रयोगसहित
नेपालीमा भित्र्याएका छौँ । गोदाम, जर्किन, गिलास,
अप्रेसन, हरन,
फाराम, इस्टेरिङ्ग,
नटबल्टु, पिज्जा,
प्लम्बर, पाइडल
आदि नेपाली शब्दका रूपमा सहजै प्रयोग र पाच्य भइसकेका छन् । अङ्ग्रेजीका उच्चारणमा
गोडाउन, जेरिक्यान,
ग्लास, अपरेशन,
हःन, फःम,
स्टिअरिङ्ग, नटबोल्ट, पिट्सा,
प्लमर, पेडल
निकट उच्चारण हुने शब्दलाई हामीले आफ्नै लवज दिएका छौँ । अङ्ग्रेजीको ओयललाई
हामीले नेपालीमा आयल बनाएका छौँ र यसैका आधारमा नेपाल आयल निगम नै खडा गरेका छौँ ।
कतिपय शब्दलाई हामी बिल्कुल नेपाली अर्थमा प्रयोग गर्छौँ ।
जस्तै, मोटरमा हाल्ने सबै इन्जिन
ओयललाई नेपालीमा हामी ‘मोबिल’ नै भन्छौँ । कसैले कुनैबेला खोलेको आवसिय
(बोर्डिङ्ग) स्कूलको नामबाट आवासिय नभए पनि सबै निजी स्कूल बोर्डिङ्ग भएका छन् । 'रेस्टरन्ट एन्ड बार' हुनका लागि अलग्गै 'बार' चाहिन्न ।
भाषा कहिलै पूर्णरूपमा मौलिक वा शुद्ध हुँदैन । प्रयोगकर्ता (मानिस)को जीवनसँगै भाषाको जीवन पनि गतिशील हुन्छ । त्यसैले भाषामा एकरूपता खोज्नु वा कुनै शब्द वा तिनको प्रयोगलाई स्थिर राख्छु भन्नु युक्तिसंगत नहोला । माथिका अङ्ग्रेजी शब्दहरूको नेपाली भाषामा प्रयोग र स्वीकार्यता यसको उदाहरण हुनसक्छ । यी शब्दका वैकल्पिक शब्दहरू समेत नेपाली भाषामा छैनन् वा तिनको आवश्यकता महसुस गरिएको छैन ।
तर, सबै सन्दर्भमा यो नियम नै
लागू हुन्छ भन्न मिल्दैन । भाषामा शुद्धता बुझाइको आधारमात्र होइन,
भाषाप्रति देखाउनुपर्ने अनुशासन र सम्मानको कुरा पनि हो ।
आफूलाई जस्तो मन लाग्छ उस्तै लेख्ने वा बोल्ने हो भने भाषाले सम्भवतः आफ्नो
उद्देश्य गुमाउँछ । संसारका सबै भाषामा त्यसका प्रयोगकर्ताले निश्चित मानक तोकेका
हुन्छन् –जसले भाषामा आउने परिवर्तनलाई स्वीकार गर्दै निश्चित नीति-नियमको
परिपालनामा पनि जोड दिएका हुन्छन् । अङ्ग्रेजी भाषाका नेपाली प्रयोगका सन्दर्भमा
पनि सामान्य अनुशासनको आवश्यकता रहेको नकार्न मिल्दैन ।
अङ्ग्रेजी भाषाका कतिपय शब्दलाई तिनको सही उच्चारण अज्ञानता वा लापरवाहीवश विगारेर गरिने प्रयोग कर्कश सुनिन्छ । यस्ता शब्दको सूची निकै लामो छ । तिमध्ये केही हुन् -टार्जेट, डेब्ट, लिभ्लिहुड, पिपुल, ट्राइब्रेकर, पोल्टिकल, ट्वान्टी, भोइलेन्स, कपबोर्ड, प्लेकार्ड, पार्केट, फन्नी, फ्याक्चर, मेसिन, साल्ट, बग्गी, हर्ट, पेन्गुइन, टोर्टाइज, एज्युम, डाइभोर्स, घोस्ट आदि । टागेट/टागिट, डेट, लाइभ्लीहुड, पिप्ल, टाइब्रेकर, पलिटिक्ल, ट्वेन्टी, भायलेन्स, कबर्ड, प्लाकार्ड, पार्के, फनी, फ्र्याक्चर, मसिन, सल्ट, बोगी, हार्ट, पेङ्ग्युइन, टःटस, असुम, डिभोर्स, गोस्ट हुनुपर्ने शब्दहरू गलत उच्चारणबाट कुरुप भएका छन् । नेपाली भाषामा शब्दहरू हुँदाहुँदै वा स्थापित अङ्ग्रेजी उच्चारणबाट जबर्जस्ती बिगारिएका यी उच्चारणहरू गलत मात्र होइन हास्यास्पद पनि सुनिन्छन् ।
भेज्टेबललाई भेजिटेबल, ब्रेकफस्टलाई ब्रेकफास्ट, सोसललाई
सोसियल, लाइभ्लीहुडलाई लिभ्लिहुड
भनिदिँदा नेपाली-अङ्ग्रेजीमा बानी नपरेको मानिसलाई बुझ्न गार्हो हुनसक्छ ।
नेपाली भाषामा उपलब्ध सहज शब्दहरू लक्ष, ऋण/सापटी, जनजीविका,
जनता, राजनीतिक,
हिंसा, दराज,
हाँसउठ्दो, नुन,
मुटु आदिका ठाउँमा जबर्जस्ती प्रयोग गरिएका माथि उल्लिखित
अङ्ग्रेजी शब्दको गलत उच्चारण मलाई सुन्दै कृतिम र असहज लाग्छ । अङ्ग्रेजी भाषामा
राम्रो दखल राख्ने विद्वानहरूले पनि यस्ता शब्दलाई गलत रूपले उच्चारण गरेको सुन्दा
अङ्ग्रेजी भाषीका सामुन्ने लाजमर्नु भएका केही अनुभव छन् । माथि भनेझैं
अङ्ग्रेजीका शब्दको गलत प्रयोग उच्चारणमा मात्र सीमित छैन ।
देशको नामका रूपमा प्रयोग गर्दा जर्मनी हुनुपर्नेमा जर्मन
लेख्ने/भन्ने बानी हामी धेरैमा छ । आकासमा बादल लाग्दा क्लाउडी भए पनि घमण्डी
मानिसलाई ‘प्राउडी’ भन्न मिल्दैन –प्राउडी शब्द अङ्गरेजी भाषामा छैन । तर,
‘त्यो केटी लास्टै प्राउडी छे’ भनेको धेरै सुनिन्छ । सामान
किन्न जाँदा मार्केटिङ्ग होइन शपिङ्ग गरिन्छ । मार्केटिङ्ग सामानको बिक्री बढाउन
गरिने प्रबर्धनको प्रक्रिया हो । तर ‘म मार्केटिङ्गमा जान्छु,
तिमीलाई के चाहिन्छ भन ?’ भनिएको धरै सुनिन्छ । त्यसैगरि, इक्विपमेन्ट शब्दको अर्थ मसिन वा औँजार होइन र यसको बहुवचन पनि हुँदैन तर हामी
इक्विपमेन्टलाई अक्सर बहुवचनमा प्रयोग गरिरहेका हुन्छौँ र भन्छौँ –‘उसको अफिसमा
थुप्रै नयाँ इक्विप्मेन्ट्सहरू छन्’ ।
सामान्य बोलचालमा त अशुद्ध बोल्ने वा लेख्ने चलन छँदैछ
अङ्ग्रेजी शब्दको गलत प्रयोगमा सञ्चारमाध्यम निकै नै अगाडि छन् । जतिसुकै टिप्पणी
गरेपनि सञ्चारमाध्यमले ट्वान्टी-ट्वान्टी, प्लेकार्ड र वेभसाइट भन्न छोडेका छैनन् । ट्वेन्टी,
प्लाकार्ड र वेबसाइटसँग सञ्चारमाध्यमको के दुश्मनी हो बुझ्न
सकिन्न ।
भाषामा सहजता र सिर्जनशीलताका लागि प्रशस्त स्थान हुन्छ ।
तर, यसो भन्दैमा शब्दका
जथावाभी उच्चारण वा प्रयोग सधैँ स्वीकार्य हुन्छन् नै भन्ने छैन । नेपाली भाषामा
अङ्ग्रेजी शब्दको प्रभाव ठूलो छ र हामी नेपाली बोल्दा अङ्ग्रेजी शब्दको प्रयोग
गरिरहेका हुन्छौँ । यसो गर्दा थोरै दुःख गरेर तिनको वास्तविक उच्चारण र सही
प्रयोगमा पनि ध्यान दिनु राम्रो हुन्छ । यसले अङ्ग्रेजी शब्दको नेपाली प्रयोगलाई
स्तरीय बनाउला र साथै अङ्ग्रेजी भाषा सिक्ने विद्यार्थी र अन्यलाई पनि केही
मात्रामा भए पनि सघाउ पुर्याउला ।
नोटः माथि प्रस्तुत उच्चारण सबै सही नहोलान् –फरक भाषामा
सही उच्चारण लेख्न सम्भव पनि हुँदैन । मेरो आग्रह नेपाली बोल्न/लेख्न अङ्ग्रेजी
शब्द प्रयोग गर्दा सकेसम्म सक्कली उच्चारण र प्रयोगका बारेमा पनि जानकारी राख्नु
राम्रो हुन्छ भन्ने हो । मातृभाषा आफ्नो अनुकुल बोल्न/लेख्न पाइएला तर दोस्रो वा
तेस्रो भाषा अरूसँग मागेर लिइएको हो । जसरी मागेर चलाएको भाँडा कुच्याएर फर्काउन
मिल्दैन, त्यसरी नै अरूको मातृभाषा
आफूले मनलाग्दी बिगारेर प्रयोग नगरेको राम्रो । ;-))