Follow me on Twitter

Monday, September 9, 2013

बुद्धको जन्मस्थल, राजस्वको छापा र भड्किलो तीज

यस हप्ता र गत हप्ता सामाजिक सञ्जालमा बुद्धको जन्मस्थलको विवाद, शम्भु थापाको कार्यालयमा मारिएको छापा र तीजको तडकभडकका विषयमा निकै बहस भए । यी विषयहरूमा केही विस्तृतरूपमा केही विचार राख्न मन लाग्यो । त्यसैले यो ब्लग लेख्दैछु ।


१. बुद्धको जन्मस्थलसम्बन्धि विवाद

बुद्ध आजको नेपालको लुम्बीनी भन्ने ठाउँमा जन्मेको तथ्यलाई राष्ट्रिय गौरब मान्छौँ हामी । संसारको कुनै कुनामा कुनै अमुक व्यक्तिले जानेर वा नजानेर "बुद्ध भारतमा जन्मेका थिए" भन्यो भने त्यसकाविरुद्ध जाइ लाग्छौँ । बुद्ध भारतमा जन्मेको प्रचार गरेर भारतीयले निकै ठूलो फाइदा लिँदैछन् भन्ने कुरामा ठूलो डर छ हामीलाई । तसर्थ, हामी बुद्धलाई 'भारतीय बन्न नदिन' संघर्षरत छौँ । कोहि ५० हात लामो तुल बोकेर दशरथ रङ्गशाला घुम्छौँ त कोहि बुद्ध नेपालमा जन्मेको प्रचार गर्न ३ दिन लामो टेलिभिजन टक शो गर्न तम्सिन्छौँ । अहिले यस्तो लाग्न थालेको छ कि नेपालीका रूपमा हाम्रो अस्तित्व, पहिचान र प्रतिष्ठा बुद्ध कपिलबस्तुमा जन्मेको कारणले मात्र स्थापित छ ।


आजभन्दा लगभग ३००० वर्षअघि लुम्बीनीमा सिद्धार्थ गौतम जन्मिदा नेपाल भन्ने देश थिएन । ऐतिहासिक अभिलेख र पुरातात्विक अन्वेषणले भन्छ उनी लुम्बीनीमा जन्मेका हुन् र भारतको गया भन्ने ठाउँमा ध्यान गरेर बसेका थिए र त्यहिँ 'ज्ञान' प्राप्त गरेका थिए । बुद्ध सोचविचार गरेर पछि बन्ने नेपालमा जन्मेका हैनन्, न त पछि बन्ने भारतमा ज्ञान प्राप्त गरेका हुन् । उनको जीवनमा हामीले आज मरिहत्ते गर्ने राष्ट्र वा राष्ट्रवाद थिएनन् । कुनै निश्चित उद्देश्य र लक्षका लागि बाँचेका गौतम बुद्ध वास्तबमा को थिए र उनको लक्ष के थियो भन्ने विषयमा धेरैलाई चासो छैन । चासो मात्र केमा छ भने उनी नेपालमा जन्मेका थिए भनेर संसारले थाहा पाओस् ।

बुद्ध नेपालमा जन्मेको कुरा संसारका सबै मानिसहरूले थाहा पाएर नेपाल र नेपालीलाई के फाइदा भएको छ वा भविष्यमा हुनेछ मैले बुझेको छैन । धेरै मानिसलाई जिजस क्राइस्ट, गुरु नानक, मोहम्मद वा अरू धर्मगुरु कहाँ जन्मेका थिए भन्नेमा चासो  वा जानकारी भएजस्तो लाग्दैन । मलाई त छैन । नेपालीले आफ्नो देशका बारेमा गर्व गर्ने कुरा अरू पनि छन् र हुनसक्छन् । तर, लुम्बीनीलाई हाम्रो राष्ट्रिय पहिचान बनाउन हामी यसरी कटिबद्ध छौँ मानौँ यो तथ्य स्थापित भएपछि बाँकी सबै समस्या समाधान हुन्छन् ।

यसलाई सतही राष्ट्रवाद भन्छु म । मेरो बुझाइमा हाम्रो खिइँदै गएको आत्मसम्मान र निकम्मा बन्दै गएको राज्यसंयन्त्रबाट आमनागरिक हतास हुँदैगएको परिणाम हो यो । यो नराम्रो कुराको संकेत त हुँदै हो यसप्रकारको छाडा र सतही राष्ट्रवादले कसैको भलो गर्दैन ।

२. राजस्वको छापा

शम्भु थापा नाम चलेका वकिल हुन् । ज्ञानेन्द्र शाहको शासनकालमा उनले दरबारिया निरंकुशताको विरोधमा सशक्त आवाज उठाएका थिए । २०६२-६३ को जनआन्दोलनमा पेशाकर्मीका तर्फबाट राम्रो योगदान थियो उनको । लोकमानको योग्यता मलाई थाहा छैन । उनले दरबारिया निरंकुशताको सशक्त समर्थन गरेका थिए । पदीय सीमा र मर्यादा नाघेर राजालाई सघाएका थिए । मुलुकका राजनीतिक दलले बाह्य प्रभावलाई थेग्न नसकेको परिणामस्वरूप आज लोकमान अख्तियारको प्रमुखको पदमा छन् । शम्भु थापा सर्वसाधारण नागरिक । यो सबैलाई थाहै छ ।

तर, गतहप्ता राजस्व अनुसंधान विभागले थापाको कानुनी फर्ममा छापा मार्‍यो । उनको फर्मले कानुनअनुसार तिर्नुपर्ने कर तिरे-नतिरेको छानबिन गर्ने उद्देश्य थियो शायद । मानिसहरूले 'लोकमानको ठाडो आदेश'मा छापा मारिएको निश्कर्ष निकाले -यसको आधिकारिक प्रमाण मैले देखेको छैन । शम्भु थापाको पक्ष, विपक्षमा बहस सुरु भयो -राजस्वको कदमको समर्थन र विरोध चर्कोरूपमा देखा पर्‍यो सामाजिक सञ्जालमा ।

यस घटनालाई आधार मान्ने हो भने २ तथ्य अझ प्रस्टरूपमा देखिन्छ ।

१. हामी एउटा विषय वा प्रसङ्गलाई अर्कोसँग मिसाएर आफू दिग्भ्रमित हुन र अरूलाई पनि दिग्भ्रमित बनाउन माहिर छौँ । यो प्रसङ्गलाई राज्यको आधिकारिक निकायको 'रुटिन' काम मानिदिएको भए हुन्थ्यो । तर, हामी यसको विवेचना गर्ने क्रममा लोकमान को हुन् र शम्भु थापा को हुन् भन्ने इतिहास खोदलखादल गर्नतिर लाग्यौँ । परिणामस्वरूप, एउटा सामान्य घटना वा सरकारको सामान्य काम छापाहरूमा सनसनीखेज समाचारमा रूपान्तरित भयो । घटनाले राष्ट्रिय बहसको आकार ग्रहण गर्यो ।

२. हामी कसैलाई आमनागरिक हुन मन पर्दैन । यसो गरे प्रतिष्ठामा आँच आउँछ । आखिर शम्भु थापा आमनागरिक हुन् -एक पेशाकर्मी । उनले राज्यको अनुसन्धान गर्ने आफ्नो कर्तब्य र अधिकारलाई सकारात्मक र सामान्यरूपमा स्वीकार गरेको भए हुन्थ्यो । गर्न सकेनन् । थापाले लोकमानतिर औँला सोझ्याए । नेपालका धेरै नामचलेका ठूला भनिएका मान्छे नसोची बोल्छन् । यो घटनामा लोकमानको विरोध गर्दा वा आफ्ना वकिल मित्रहरूलाई वक्तव्यबाजी गर्न लगाउँदा शालीनता कायम हुन्न भन्ने शम्भु थापाले बुझेनन् । आममानिसको नजरमा उनी लोकमानभन्दा ठूला थिए, यो घटनापछि उनका प्रतिद्वन्दीमात्र भए ।

३. तीजको 'तडकभडक'

म सानो छँदा तीज महिनादिनसम्म यसरि 'भव्य'रूपमा मनाइन्नथ्यो । ब्रतको अघिल्लो दिन निश्चित परिकार खाने, भोलिपल्ट भोकै बस्ने र पञ्चमीका दिन पूजाआजा गर्नेगरेको देखेको हो । तर, केही वर्षयता तीज मनाउने परम्परामा व्यापक परिवर्तन आएको छ । महिनादिन चल्ने नाचगान र भोजभतेरले तीजलाई निकै ठूलो पर्व बनाइदिएका छन् ।

तर, तीजको यतिसारो आलोचनाको रहस्य मैले बुझ्नसकेको छैन । तीजको तडकभडकप्रति मानिसहरू (विशेषगरि पुरुषहरू) यति चिन्तित किन -अनुत्पादक खर्च बढ्ने चिन्ता वा विकृति बढ्छ भन्ने बुझाइ ? मलाई यी दुबै हेनन् भन्ने लाग्छ । पुरुषवादी अहंकार र महिलालाई होच्याउने, उडाउने प्रवृत्ति एउटा कारण हुनसक्छ । अर्को, समाज 'उपभोगवादी हुँदैगयो र उपभोगतावाद गलत चिज हो' भन्ने गनगने चिन्ता ।

तीजको सामाजिक-साँस्कृतिक अर्थ मन पर्दैन मलाई पनि । तर, चाडपर्व अर्थका लागि मनाइँदैन । चाडपर्व मानिसले प्रमुखरूपमा मनोरञ्जन गर्ने उद्देश्यले मनाउँछन् भलै यसका अन्य सामाजिक-आर्थिक उत्प्रेरकहरू हुन्छन् । मानिसका मनोरञ्जन गर्ने तरिकाहरू फरक हुँदैजाँदा चाडपर्व पनि फरक हुँदै जान्छन् । फेरि, भड्किलो हुँदैगएको चाड तीजमात्र हैन । हाम्रा दशैंतिहार, छठ, लोसार वा रमदानहरू पनि प्रशस्त 'भड्किला' हुँदैछन् । त्यसैगरि चाडपर्वका तरिकाहरू फरक हुने हामीकहाँ मात्र हैन ।

चाडपर्व कसरी मनाउने भनेर मानिसहरूले सरसल्लाह गर्दैनन् । सामाजिक सम्बन्ध र चेतनाहरू जसरि विकसित हुँदै जान्छन् चाडपर्वमा पनि त्यहि अनुसार परिवर्तन आउँछ । आज पनि २०-३० वर्ष अघिको झैँ ब्रत बस्न २ दिन हिँडेर माइत जाने चलन कायम राख्नुपर्छ भनेर गनगन गर्नु बेकार छ । फेरि चाडपर्वमा खर्च कटौति गरेर उपभोक्तावादलाई रोक्न सकिन्छ भन्ने तर्क पनि आफैँमा गलत छ ।

धन्यवाद ।

2 comments:

  1. बुद्धलाई अर्थ (पैसा) संग जोडेर हेर्दा नेपाललाई फाईदा छ र अहिलेको समयमा जसरी संसार कपिराईटको पछी छ त्यसैगरि त्यो कपिराईट नि हाम्ले लिंदा राम्रै हुन्छ। राष्ट्रले धर्म मान्दैन तर धर्मबाट हुने फाईदा भने लिनु पर्छ भन्ने मेरो बुझाई हो। त्यही बुद्ध कता जन्मे भन्ने कुरोले आर्थिक रुपमा फाईदा गर्छ भने यसमा जोड दिनु पर्छ। (यस कमेन्टमा मैले धर्म, बुद्धको सिद्धान्तलाई छेउ लगाएको छु)

    ReplyDelete
  2. नित्यमुक्ताSeptember 11, 2013 at 11:50 AM

    पत्तो पाएकै रहेनछु यो लेखको असाध्यै मन पर्यो, बुद्धबिबाद त झनै ! कसैले तेरो नाम यो हैन भनेर निहुँ खोजे काम धाम छोडेर घरि नागरिकता घरि चिना देखाउँदै आफ्नै नाम मेरै हो भनेर प्रुभ गर्न खोज्या जस्तै भाको छ अहिलेको अवस्था ! दुइचार असम्बन्धित मान्छेले कागले कान लगेको हल्ला गरे, तेसैका पछी सारा नेपाली कुद्दै छन् !

    ReplyDelete