[नोटः अरू पार्टीका कुरा अरू बेलामा गरौँला -आजलाई केवल एमालेका कुरा गरौँ ।]
केपी ओली एमालेको अध्यक्ष पदमा पुन निर्वाचित भए । उनलाई हार्दिक बधाई छ !
जेनजी विद्रोहपछि एमालेको नेतृत्व संरचना र मानसिकतामा केही परिवर्तन आउला कि भनेर आश गर्नेहरू कि त एमाले विरोधी खेमाका मानिस थिए कि राजनीतिक दलहरूबाट स्वतन्त्र बौद्धिक व्यक्तित्व । ओली फेरी चुनिएको खबरबाट उनीहरू दुखी भएको सहजै बुझ्न सकिन्छ ।
तर, ओलीको विजय अस्वाभाविक थिएन । उनको जीत लगभग निश्चित नै थियो । त्यसैले,
मलाई लाग्छ धेरै मानिसहरूले यसलाई स्वभाविक रूपमा लिएको हुनुपर्छ । नेकपा एमाले
जेनजी विद्रोहले उजागर गरेको परिवर्तनको आवश्यकताप्रति सहमत छैन भन्ने कुरा उसको महाधिवेशनअघि
नै प्रस्ट थियो । त्यसैले, ओलीको सानदार विजयप्रति कसैले आश्चार्य मान्नुपर्ने
कारण छैन ।
म आज ओली एमालेको अध्यक्ष पदमा निर्वाचित हुँदा राम्रो भयो या नराम्रो भयो
भन्ने विषयमा टिप्पणी गर्न गइरहेको छैन । इश्वर पोखरेलको अहिलेसम्मको राजनीतक करिअर
सर्सर्ती हेर्दा सहजै बुझ्न सकिने कुरा के हो भने उनी अध्यक्ष पदमा निर्वाचित भएको
भए पनि उनले आफ्नो पार्टीको नीति तथा संगठनलाई व्यवहारिक मार्गमा हिडाउने
सम्भावना थिएन । मलाई लाग्छ -ओली नेतृत्वको एमाले र पोखरेल नेतृत्वको एमालेमा ‘पोस्टर
बोय’को तस्वीर मात्र फरक हुने थियो ।
सम्भावना नभएका कुरामा आशावादी हुनु सकारात्मक चिन्तन होइन -मुर्खता हो ।
एमालेमा कसरी केपी ओली फेरी विजय हुन सके ? यो प्रश्नमा विचार गर्न जरुरी छ ।
त्यसैगरी, एमालेजस्ता कम्युनिस्ट सिद्धान्तको आडमा खडा भएका पार्टीहरू कसरी
दशकौँदेखि नेपालीहरूलाई मुर्ख बनाइरहेका छन् ? यो फुर्सदको दोस्रो विचारणीय प्रश्न
हुनसक्छ ।
नेपालको सामाजिक संरचना विविधताले भरिएको छ । तर, नेपालका राजनीतिक दलहरू
सांगठनिक र मानसिक रूपमा एकाङ्की, असमावेशी, संकिर्ण र केन्द्रीकृत छन् । त्यसको
चरम उदाहरण हो एमाले । एमालेको नेतृत्व पङ्क्तिदेखि यसका स्थानीय स्तरका संरचनामा विविध
विचार, संस्कृति, लैंगिकता, वा जातीयतालाई सार्थक स्थान छैन । त्यसैले, एमाले नेतृत्वपङ्क्तिमा
देशलाई बलियो बनाउन आवश्यक समयानुकुल सुधारका मुद्दाहरूप्रति कुनै चासो छैन । अब
हुने आम निर्वाचनमा कथंकदाचित निर्वाचित भए पनि नेकपा एमाले भ्यु-टावर, रामको
जन्मभूमि, चुच्चे नक्सा, पानी जहाजजस्ता ‘क्रान्तिकारी’ मुद्दाहरूप्रति नै अडिग र
विचलित रहनेछ ।
निश्चित जात, धार्मिकता, वर्ग, संस्कृति वा लैंगिकताको प्रत्यक्ष-अप्रत्यक्ष पृष्ठपोषण
गर्ने इतिहासबाट गुज्रदै आएको एमाले केपी ओलीसम्म आइपुग्दा व्यक्तिपूजाको गौरवशाली
संस्कृतिलाई आत्मसात गर्न सफल भएको छ ।
एमालेका महाधिवेशनमा नेता चुन्ने प्रतिनिधिदेखि तल्लो तहका कार्यकर्तासम्म सबैले
अब आत्मसात गरेको हुनुपर्छ कि नेकपा एमाले भनेको केपी ओली हुन् र केपी ओली भनेको
नेकपा एमाले । त्यसैले, स्थापित नियमकानुन, विधि, पद्दतिलाई प्रयोग गरेर
एमालेभित्र कसैले केपी ओलीलाई चुनौति दिन सम्भव थिएन, र भविष्यमा पनि छैन । अस्ति
भएको निर्वाचनमा हासिल गरेको विजय ओलीले पार्टीमा वर्षौंदेखि स्थापित गरेको
व्यक्तिपूजाको संस्कृतिको परिणाम हो ।
असमावेशी मानसिक संरचनाबाट व्यक्तिपूजामा पुगेको पार्टीले समय, परिवेषअनुरूप आफ्ना
नीति र नेतृत्व परिवर्तन गर्ला भनेर अपेक्षा गर्न मिल्दैन ।
नेपालमा कम्युनिस्ट सिद्धान्तको नाम लिएर स्थापित दर्जनौं राजनीतिक पार्टीहरू
छन् । तिमध्ये केही दशकौँदेखि सत्ता र शक्तिमा छन् । कम्युनिस्ट दर्शन एउटा देशको
राजनीतिक र सामाजिक संरचनाको आधार हुन सम्भव छैन भन्ने कुरा संसारले दशकौँअघि
बुझिसक्दा नेपालमा कम्युनिस्ट पार्टी खोलेर राजनीतिमा होमिने उद्यम सधैं ‘नाफा’मा
छ । यो बेइमान र पाखण्डपूर्ण प्रवृत्तिले नेपालको राजनीति र समाजलाई थिलथिलो
बनाएको छ ।
कार्ल मार्क्सले प्रतिपादन गरेको चिन्तनको प्रशंसक म पनि हो । पश्चिमी
दर्शनशास्त्र तथा विचारको परम्परामा मार्क्सको योगदान विशिष्ट छ । तर, उनको दर्शनलाई
आधार बनाएर समाज र राज्यको ढाँचा निर्माण गर्ने प्रवृत्तिले संसारका विभिन्न देशमा
संकटमात्र सिर्जना गरेका छन् । आज पनि मार्क्सवादी दर्शनलाई आधार बनाएर केही
व्यक्तिवादी तथा अधिनायकवादी शासकहरूले केही देशमा शासन चलाएका छन् । तर, चीनको
राजनीतिक तथा अर्थव्यवस्थालाई मार्क्सवादी दर्शनबाट अलग राख्ने हो भने ती कुनै
शासन प्रणाली संसारका लागि उदाहरण मानिदैनन् ।
वास्तवमा केपी ओलीलाई मार्क्सवादी भन्नु र फर्सीलाई सुन्तला भन्नु एउटै कुरा
हो । तर, दुखद् कुरा के छ भने न्याय र समानताका मान्यतालाई कम्युनिस्ट पार्टीहरूले
आफ्नो पक्षमा विगतमा भरपूर उपयोग गरेका छन् र यसका आधारमा जनताको म्यान्डेट पाएर
पटकपटक सत्तामा पुगेका छन् । स्वभाविक रूपमा उनीहरूलाई मार्क्स वा कम्युनिस्ट
दर्शनबारे कुनै चासो र सम्मान छैन -तर त्यसबाट आर्जित सत्ता भ्रष्टाचार र कुशासनको
संरक्षणमा उपयोग भएको छ ।
नेपालको राजनीतिको केन्द्रबिन्दुमा रहेका मूल समस्यामध्ये एउटा समस्या कम्युनिस्ट
पार्टीहरूले संरक्षण गरेको कुशासन र भ्रष्टाचार हो । यसको अन्तका लागि न्याय र समानताका
मान्यतालाई कम्युनिस्ट पार्टीहरूसँग जोड्ने मानिसकताको अन्त आवश्यक छ । कम्यनिस्ट
वा समाजवाद नाम राखेर खुलेका ‘पसल’हरूको ठगीलाई सर्वत्र अस्वीकार गर्न सके नेपालको
राजनीतिमा विद्यमान एउटा बेइमान प्रवृत्तिलाई रोक्न सकिनेछ ।
एमालेमा केपी ओलीको पुनः निर्वाचनपछि देखिएको प्रस्ट सम्भावना के हो भने एमालेले
अब आफ्नो सम्पूर्ण शक्ति जेनजी विद्रोहको अपराधीकरण गर्नमा खर्च गर्नेछ । नेपालका
सबैभन्दा ठुला दलमध्येको एउटाले परिवर्तनको अपेक्षासहित सडकमा निस्केका र
दर्जनौंको सङ्ख्यामा निर्ममतापूर्वक मारिएका युवाको मागलाई अपराधीकरण गर्दा
राजनीतिक द्वन्द्व थप चर्किनेछ र समाज थप ध्रुवीकृत हुनेछ ।
जेनजी नामले चिनिएको भदौको विद्रोह नेपालका आम मानिसको असन्तुष्टि र छटपटीको
अभिव्यक्ति थियो । ओली-देउवा-प्रचण्डको आलोपालो कुशासनले संरक्षण गरेको बेरोजगारी,
असमानता, अविकास, सार्वजनिक सेवाको चरम क्षयीकरण र हरेक क्षेत्र र पाइलामा व्याप्त
भ्रष्टाचारबाट आजित मानिसहरूको साथ र समर्थन जेनजी विद्रोहमा सामेल युवाप्रति थियो
। यस क्रममा जुन प्रकारको अराजकता उत्पन्न भयो त्यसमा मूल रूपमा त्यस सत्ताका
सारथीहरू जिम्मेवार छन् ।
ओली एमालेको अध्यक्षमा निर्वाचित भएपछि यो सहज यथार्थलाई जटिल बनाउन र यसमा उनको कुनै भूमिका नरहेको प्रमाणित गर्न भरमग्दुर प्रयास हुनेछ ।
मैले निरन्तर भन्ने गरेको छु -नेपालमा अपेक्षा असीमित छन् तर नेपालका सम्भावना सीमित छन् । एउटा ‘सम्भावना’ अब हुन गइरहेको आम निर्वाचनमा जोडिएको छ । यसपटकको निर्वाचनमा समस्याहरूको जटिलतालाई राम्रोसँग बुझ्न सक्ने तथा स्पष्ट र सुधारवादी दृष्टिकोण भएका राजनीतिक दल र व्यक्तिलाई चुन्न सके केपी ओलीहरूले सिर्जना गरेको प्रदुषणको चक्रबाट राजनीतिलाई बाहिर निकाल्ने अवसर प्राप्त हुनेछ । तर, यो काम पनि त्यति सजिलो भने छैन ।
No comments:
Post a Comment