Saturday, July 2, 2016

शनिवारे ब्लग : म पनि माफी पाऊँ



ट्विटरमा नयाँ राहदानी


देशका सीमानासँग मानिसले निर्माण गरेको सम्बन्धका कारण केही कुरा पक्कै सहज भएका हुन्छन्। देशले बाटाघाटा बनाइदिन्छकहिलेकाहीँ चोर समातिदिन्छसरकार बनाउन आफूजस्तै (मूर्ख वा सज्जन) मानिस छान्ने अवसर दिन्छ। एक्लो व्यक्तिले गर्न सम्भव नहुने तर नभइ पनि नहुने धेरै कुरा राज्यले जेजस्तो भए पनि जुटाइदिन्छ।

यो सहजतामा लोभिएपछि केही मानिस राज्यलाई राष्ट्र बनाउन खोज्छन्। राज्यसँग धेरै नै अपनत्व बनाउछन्। देश विशेषको नागरिक भएकामा गर्व गर्छन्। राज्य र आफूबीचको सम्बन्धमा रहेको कृतिमता र सीमितता बिर्सिन्छन्। कोही "तेरो देश भन्दा मेरो देश महान" भनेर सिँगौरी खेल्छन् त कोही भने "मेरो देश खत्तमपत्रुनिकम्मा" भनेर रोइकराइ गर्छन्। अझ कहिलेकाहिँ त 'बुद्ध वज बर्न इन नेपाल' भन्ने र 'मेरा भारत महान' भन्नेहरूको दोहोरी पनि चल्छ। देश वा राज्यलाई चाहिनेभन्दा बढी महत्त्व दिएर धेरै मानिस आफू दु:खी बन्छन् र अरूलाई पनि तनाव गराउँछन्।

नेपालबाहिर बस्ने नेपालीहरूसँगको कुराकानीमा मलाई सधैँ खट्किने कुरा यो हो कि उनीहरू नेपाल आफू बसेको देशजस्तै 'धनी 'सभ्यभएन भनेर हरदम चिन्ता गर्छन्। आफू बसेको देशमा "मोटर चालकले हर्न बजाउँदैनन्, कसैले बाटामा थुक्दैनन्जे गर्न पनि मानिस आफ्नो पालो पर्खिन्छन्नेताले जनताको भावना बुझेर काम गर्छन् –तर नेपालमा यस्तो देख्न नपाइने भयो" भनेर गनगन गर्छन्।

अरू देशमा गएको बेला त्यहाँ बस्ने साथीभाइले खान बोलाएर 'नेपालमा यस्तोउस्तोभनेर गुनासो गरिरहँदा त उनिहरूसँग आफू नेपाल बस्छु भन्न पनि लाजमर्दो पो हुन्छ। उनीहरूले दिएको खानेकुरा खाऊँ कि नखाऊँ हुन्छ। लञ्च वा डिनरको माहोल पूरै 'ग्लुमी' भइदिन्छ। नचाहिँदो हर्न बजाउने, बाटोमा थुक्ने, खराब नेता छान्ने म उनीहरूले दिएको मीठो खाना खान योग्छ छु कि छैन भन्नेमा पुरै 'कन्फ्युज्ड' हुन्छु।

एउटा देशका सीमानाभित्र हुने सबै बेबकुफीमा त्यो देशका हरेक नागरिक दु:खी र चिन्तित हुन आवश्यक छैन। नेपालमा आवारा, गुण्डा, मवाली, भ्रस्ट, चोर, पाकेटमार, बलात्कारी, आदि खराब मानिसहरू धेरै छन्। नाफा कमाउने व्यापारीदेखि जनताको प्रतिनिधित्व गर्ने नेतासम्म गलत काममा संलग्न छन्। सामान्य नागरिक पनि कम 'छट्टु' छैनन्। तर, उनीहरू र म दुबै नेपाली कहलिएकैले उनिहरूको बदमासीबाट म किन दु:खी हुने?! यसको प्रायश्चित मैले किन गर्नुपर्यो ?!

संसारभरमा कुनै देश यस्तो छैन जुन पूर्णत: लोकतान्त्रिकसमतामूलकअसल वा सुन्दर छ, जहाँका सबै नागरिक ज्ञानी, सदाचारी, असल र विद्वान छन्। नेपाल तुलनात्मक रूपमा अरूभन्दा भ्रष्ट, अनुदार, असभ्य र नराम्रो होला। तर, सम्पूर्णरूपमा जायज देश कहाँ र कसरी भेटिएला?! त्यसैले, कुन देशमा बस्ने भन्ने कुरा आफ्नो आवश्यकतारुचि र परिस्थितिमा भर पर्ने हो –राहदानीमा नाम लेखिएको देशको चरित्रमा होइन।

विदेशी राहदानी पाउने नेपालीले फेसबुकमा हर्षबढाईँ गरेको वा यो सफलतामा साथीभाइलाई भोजभतेर खुवाएको पनि सुनिएको थियो। तर, केही साताअघि एउटा नयाँ कुरा पनि सुनियो, देखियो । नेपाली मूलकी हाल क्यानडियन नागरिक एक लेखिकाले क्यानडाको राहदानी पाएको तस्वीर ट्विटरबाट सार्वजनिक गर्दै आफूले नेपाल छोडेको घोषणा गर्नुभयो। उहाँको भनाइ रहेछ -महिलालाई समान अधिकार नदिने यस्तो निकम्मा देशको राहदानी बोकेर के गर्नु?!

नेपाली नागरिकता वा राहदानी त्याग्ने लेखिकाको निर्णय उहाँको व्यक्तिगत हो जसमा म टिप्पणी गर्न चाहान्न। मेरो पनि कुनै देशप्रति गाढा आशक्ति छैन। आफू नेपाली भएकामा विशेष गर्व छैन। साँच्चै भन्नुपर्दा मलाई नेपाल अति नै मन पर्ने देश पनि होइन –संसारमा एकसे एक राम्रा देश छन् खोज्ने हो भने। मलाई त खासमा जमैका वरपरका कुनै टापुमा नरिवलका सिक्राको सानो घर बनाएर बस्ने रहर छ। विभिन्न परिस्थितिजन्य कारणहरूले धुवाँ, धुलो, नालायक नेताको बेबकुफी र बन्दहडताल सहेर यहाँ बस्नुपरिरहेको छ। फेरि, देश छोड्ने रहर भए पनि मजस्तालाई कुनै धनी, राम्रा वा आफूलाई मन परेको देशका प्रधानमन्त्री, राष्ट्रपतीले चिठी लेखेर राहदानी घरसम्म पठाइदिने छैनन्। मलाई लाग्छ -लेखिकाले जे गर्नुभयो ठीक गर्नुभयो!

लेखिकाको यो घोषणा राज्य र नागरिकबीचको सम्बन्ध अध्ययन गर्ने सबैका लागि एउटा रोचक विषयवस्तु भने हुनसक्छ। मानिस अब आफ्नो रुचि र सहजताका आधारमा मात्र होइन -लोकतन्त्र, समावेशिता, अधिकार, सामाजिक न्याय आदिका मानकका आधारमा देशहरूको मूल्यांकन गरेर कुन देशमा बस्ने, नबस्ने निर्क्यौल गर्न थालिसके। कुनै देशलाई मूल्यांकन गर्ने 'एजेन्सी' अब संयुक्त राष्ट्र संघ वा शक्तिसम्पन्न मुलुकमा मात्र रहेन, व्यक्तिमा पनि आइसक्यो। 

मलाई मनमा खट्केको कुरा यतिमात्र हो कि कुनैदिन विश्वका हरेक नागरिकले र विशेषगरी राज्य संरक्षित विभेदमा परेका पिडित, अपहेलितहरूले लेखिकाको जस्तै आफूले मन खाएको देशमा रोजेर बसाइ सर्ने अवसर पाउलान् कि नपाउलान्? नयाँ देशबाट पाएको राहदानी ट्विटर वा फेसबुकका भित्तामा टाँसेर अरूको ध्यान आफूतिर तान्ने, त्यस विषयमा बहस चलाउने, लाइक र रिट्विट पाउने अवसर अरूले पनि पाए कति जाति हुन्थ्यो!



'निस्सारताको युग'

सूचना प्रविधिको विकास र विस्तारसँगै संसारभर मानिसहरू अझ क्षमतावान र विवेकशील हुने अपेक्षा गरिएको थियो। तरपरिस्थिति यसको उल्टो भएको छ। तथ्य र वास्तविकतामा मानिसको रुचि र पहुँच कम हुँदैछ। ठाडो लवजमा भन्दा -मानिसहरू झनै बेबकुफ हुँदैछन् र यही बढ्दो बेबकुफी संसारभर सीमित कर्पोरेशनहरूका लागि व्यापारको उर्वर आधार बनेको छ।

Jean Camaroff  John L. Camaroff ले संसारभर -उहाँहरूको शब्दमा पुँजीवादी प्रणालीमा -आगो झैं फैलिरहेको बेबकुफीलाई Age of Futilitarianism भन्नुभएको छ। यो शब्दावली मलाई औधी चित्तबुझ्दो लाग्छ। संसारले वास्तवमै 'सारगुमाउँदैछ। मानिसका चेत र बुद्धिले गहिराइ गुमाएका छन्। राजनीति र समाजले मात्र होइन कलासाहित्यले पनि गहिराइ गुमाउदै गएको हो कि!

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आउने सूचना भेरिफाइ गर्न, थप सोचविचार गर्न र यसका विभिन्न पाटा केलाउन भन्दा तिनलाई विश्वास गर्न मानिसलाई हतार भएको छ। पढेलेखेका वा बुद्धिमान भनिएका मानिस पनि शिवजीको मुर्तीबाट सर्प निस्केको समाचारदेखि धानका जमराले क्यान्सर निको पार्ने अनुसन्धानका हावादारी कुरामा भुलेका छन्।
  
यसो किन भइरहेको छ तयो गहन अध्ययन र व्याख्याको विषय होला। यसै भनिहाल्न पक्कै सजिलो छैन। यद्दपिसञ्चारमाध्यम र सामाजिक सञ्जालले बेबकुफीलाई सरुवा रोग झैँ फैलाएका भने अवश्य छन्। धेरै मानिसले गहिरो सोचविचारबिना नै फेसबुक र ट्विटरमा आफ्नो चर्चा चलाउन र अरूको ध्यान (लाइकरिट्विटआदिकमाउनकै लागि बेबकुफ काम गरिरहेका छन्। सूचना र ज्ञानलाई reproduce गर्नुपर्ने सञ्चारमाध्यमले बेबकुफीलाई पो reproduce गर्दैछ।

बढ्दो सतहीपनको व्याख्या गर्न एउटा उदाहरण प्रस्तुत गर्छु।

केही साताअघि सञ्चारमाध्यममा स्याङ्जाका ६८ वर्षीय एक वृद्धका तस्वीर संसारभर भाइरल भए जसमा उनी विद्यालयको टाइसहितको पोसाकमा सजिएका छन्कुनै तस्वीरमा स-साना बालबालिकासँग भलिबल पनि खेल्दैगरेको देखिन्छकुनैमा उनी घरको कामकाजमा व्यस्त छन्।

स्याङ्जाका ति वृद्ध 'शिक्षा प्राप्त गर्न' त्यो उमेरमा विद्यालय भर्ना भएका रहेछन्र उत्साहका साथ बालबालिकासँग बसेर पढ्दै पनि रहेछन्।

कुन उमेरमा स्कूल जाने-नजाने आफ्नो रुचि र प्राथमिकताको कुरा हो। तर पनि अधिकांश मानिसले बहुत चासो र खुशी मानेर हेरेको त्यो तस्वीर र उनका बारेको समाचारले मलाई भने खिन्न बनायो। मलाई लाग्यो यो समाचारले शिक्षाका बारेको विश्वव्यापी मान्यतामा रहेको कमजोरीलाई उजागर गरिरहेको छ, तर यसप्रति कसैको ध्यान गइरहेको छैन।

एउटा मानिसले ७८ वर्षको उमेरसम्म कुनै विद्यालय नगइ पनि अथाह ज्ञान हासिल गरेको हुन्छ। दैनिक जीवनका आरोहअवरोहमाआफ्नो पेशामाप्रकृतिसँगको अन्तक्रियामा मानिसले प्रशस्त ज्ञान र सीप बटुल्छ –जसको समाजमा उचित महत्त्व र सम्मान हुनसकेको छैन। विद्यालयमा भर्ना भएरनिश्चित परिक्षा पास गरेरप्रमाण-पत्र लिएर पाएको शिक्षामात्र हाम्रो लागि शिक्षा हुन्छ। यसो नहुन्थ्यो त ति वृद्ध विद्यार्थीका रूपमा नभएर शिक्षकका रूपमा त्यो विद्यालयमा आउनुपर्ने।

स्कूले शिक्षा ज्ञानको पर्याय होइन त्यसैगरी जसरी कोक प्यासको पर्याय होइन। Ivan Illich नामका विद्वानले आफ्नो Deschooling Society भन्ने पुस्तकमा विद्यालयले औपचारिक शिक्षाको प्रभूत्व स्थापना गरेर ज्ञानलाई वस्तुका रूपमा परिमार्जन गरिरहेको तर्क गर्नुभएको छ। विद्यालय ज्ञानका एकमात्र स्रोत होइनन् भन्ने बुझ्न Ivan Illich कै पुस्तक पढ्नुपर्छ भन्ने छैन। हाम्रा आफ्नै परम्परागत मूल्यमान्यताले पनि अनौपचारिक रूपमा हासिल ज्ञान र अनुभवको सम्मान गर्न सिकाएका छन्। 

तरति वृद्धलाई महसुस भयो विद्यालय नगइ मैले हासिल गरेको ज्ञानको अर्थ रहेनछ। विद्यालयका कक्षा कोठामा सिकाइने ज्ञान र त्यहाँबाट प्राप्त गरिने शैक्षिक प्रमाण-पत्रबिना जीवन अधुरो रहेछ। 

वृद्ध, वृद्धाहरू पाठ्यपुस्तक बोकेर स-साना नानीहरूसँग विद्यालय जाने घटना योमात्र होइन। यस्ता घटना व्यापक हुँदै जाँदा औपचारिक शिक्षा र विद्यालयका बारेको हाम्रो गलत बुझाइ पनि उजागर भइरहेको छ। 

मलाई दु:ख लागेको कुरा हो - 'तपाईंले आफ्नो जीवनकालमा प्राप्त गरेको ज्ञान र अनुभवको पनि उच्च महत्त्व छभनेर ति वृद्ध मानिसलाई समझाइदिने चेत त्यो गाउँको कोही सज्जन र शिक्षित मानिसमा रहेनछ। औपचारिक शिक्षा यति निकम्मा भइसकेको रहेछ।

मेरो विचारमा ७८ वर्षीय वृद्धको विद्यालय भर्ना र टाइ लगाएर विद्यालय गएको त्यो तस्वीर गौरवको विषय होइनलज्जाको विषय हो। संसारभरका प्रतिष्ठित भनिएका सञ्चारमाध्यमले यसलाई सनसनिखेज समाचार बनाएर संसारभर बेचे। औपचारिक भनिएको शिक्षाको प्रमाणपत्र पाएका १३ वर्षे बालबालिकाका सामु ७८ वसन्त पार गरेका मानिस अशिक्षित र अज्ञानी प्रमाणित भए। दुनियाले यो बुझाइलाई सदर गर्यो।  आफूलाई शिक्षित ठान्नेले औपचारिक शिक्षाको सीमितता बुझ्ने सामान्य प्रयाससमेत गरेनन्।



म पनि माफी पाऊँ

केही सातादेखि एकले अर्कासँग माफी मागेका र दिएका समाचार र यसबारेका आलेख मिडियामा आइरहेका छन्। केही प्रबुद्ध लेखकबुद्धिजीवी र सामाजिक अभियन्ताले पिछडिएका वर्ग र समुदायका घरघरमा पुगेर उनीहरूमाथि भएका अन्याय र भेदभावप्रति माफी मागिरहनुभएको छ। माफी मागिएकाहरूले पनि उहाँहरूलाई न्यानो सत्कारसहित माफी दिएका तस्वीर मिडिया र सामाजिक सञ्जालमा आएका छन्।

यो सामाजिक अभियान माफी माग्ने र दिने कुरामा मात्र सीमित छैन। आफू उच्च जातको भए पनि उहाँहरूले दलित समुदायको घरमा गएर खानेकुरा पनि खाइरहनुभएको छ। धेरै मानिसले उहाँहरूको यस्तो कार्यलाई उदात्त चित्तको प्रतिफल र समाज सुधारको अभियानका रूपमा स्वागत गरेका पनि छन्। यसबाट छुवाछुतको संस्कार कमजोर हुने आशा गरिएको छ। सामाजिक सद्भाव बढ्ने विश्वास गरिएको छ।

यो अभियान सुरु भएपछि मैले पनि एउटा चुनौति महसुस गरेँ। म पनि कथित उच्च जातको। दलितको घरमा गएर माफी माग्ने दायित्व त मेरो पनि हो। काठमाडौँका दलित मित्रहरूसँग माफी मागेर फोटो फेसबुकतिर हाल्दा अलि अस्वभाविक होला भन्ने लाग्यो। बरु अभियन्ताहरूले जस्तै आफ्नो पहिलेको घर इनरुवा गएर छिमेकी दलितहरूसँग माफी मागेको फोटो खिचेर फेसबुकट्विटरमा राख्ने हो कि ? भन्ने विचार पनि मनमा आयो।

तर फेरि सोच्दै जाँदा यसो गर्नु पनि युक्तिसङ्गत लागेनविभिन्न कारणहरूले।

जातीय संरचनासँग गाँसिएका भेदभाव र थिचोमिचोका सांकेतिक आयाम नहुने होइनन् -यद्दपि तिनको मूल आधार राज्यका नीतिनियम वा तिनको कार्यान्वयनको तरिका नै हुन्। दलित वा अन्य पिछडिएका वर्गलाई चाहिएको यस्ता नीति नियमको सुधार, परिमार्जन र प्रभावकारी कार्यान्वयन हो जसबाट उनिहरूले आफ्ना आर्थिक र सामाजिक अधिकार प्राप्त गर्न सकुन्। उदाहरणका लागि नेपालका दलितहरूको प्रमुख समस्या भूमिमाथिको अधिकार स्थापित हुन नसक्नु हो ‍-जसले उनीहरूलाई पुस्तौदेखि 'सुकुम्बासी' बनाइरहेको छ। अर्को उदाहरण हाम्रो प्रशासन र न्याय प्रणालीको संरचना हो जसले कानुनमा भएका दलित अधिकारको संरक्षण गर्न सकिरहेको छैन।

यो समस्या गैरदलित कसैले दलितलाई हात जोडेर नमस्कार गर्दैमा समाधान हुँदैन। 

मधेशी समूहमाथि भएको राज्य संरक्षित भेदभावका लागि कडा संघर्ष र विद्रोहको वकालत गर्ने अभियन्ताहरू मधेशभित्रको भेदभावका लागि भने माफी र नमस्कार अभियानमा जुट्नु पनि अनौठो छ। माफी माग्ने, नमस्कार गर्ने र भान्सामा गएर खाने कामले विभेदको अन्त्य हुन्थ्यो र समतामूलक समाज बन्थ्यो भने सम्भवत मधेश आन्दोलन पनि चाहिन्नथ्यो कि?! 

मलाई लाग्छ दलित वा पिछडिएका वर्गको हितका लागि गर्नुपर्ने काम मधेश वा पहाडमा पछडिएका वर्गका मूल मुद्दा वा आवश्यकताको पहिचान हो। तिनको निर्क्यौलका लागि नागरिक समाज र राज्यले के गर्न सक्छन् भन्ने विषयमा बहस चलाउनुपर्छ। आजको सन्दर्भमा भने दलित लगायत अन्य पिछडिएका वर्गको हितका लागि गर्नुपर्ने र गर्न सकिने सहज र सटिक काम भनेको संविधानप्रदत्त उनिहरूको हक संस्थागत हुन दिने र राज्य पुनर्संरचनाको प्रक्रियालाई सघाउने हो। 

संविधान कार्यान्वयन हुने बाटो चाहिँ छेकेर घरघरमा गएर दलितलाई नमस्कार गर्दै हाँसीखुसी फोटो खिच्दैमा उनिहरूको राजनीतिक र आर्थिक अधिकार कसरी संस्थागत होला?!

संस्कारजन्य छुवाछुत, होचोअर्घेलो वा मान-अपमानका परम्परा बाहिरका मानिस गएर गाउँलेलाई सिकाएर फर्किपछि स्वत हराउँदै जान्छन् भन्ने बुझाइ सामाजिक संरचनामा विद्यमान अन्तरविरोधको सतही आकलन हो। चेतना प्रवर्धनका विगतका अभियानले हामीलाई सिकाएका छन् -पाहुनाले कोसेली जस्तो गरी बाँडेका ज्ञानगुनबाट समाज सुधार हुँदैन। समाज सुधारका लागि आर्थिक-राजनीतिक अन्तर्विरोधलाई चिर्न सक्नुपर्छ।

यस दिशामा प्रशस्त काम भएको पनि छ।

म मानवशास्त्रको विद्यार्थी। समाज र सँस्कृतिको अध्ययनका क्रममा मानवशास्त्रीको स्थान र हैसियतका बारेमा हामी चर्चा गर्छौँ। पछिल्लो समयमा मानवशास्त्रीहरूका लागि सबैभन्दा पेचिलो बनेको विषय नै आफूले अध्ययन गर्ने समुदायमाथि मानवशास्त्रीले अभ्यास गर्ने शक्ति हो। अर्थात्, सतहमा कुनै समुदायको सँस्कृति पढ्ने, बुझ्ने क्रममा हरेक मानवशास्त्रीले ज्ञान वा विज्ञानको वैधानिकताको प्रयोग गरेर उक्त समुदायमाथि नजानिदो गरी शक्तिको अभ्यास गर्छ। जसको अध्ययन गर्छ उसका बारेमा आधिकारिक ज्ञान भएको दाबी गर्छ। उनीहरूको प्रतिनिधित्व गर्छ।

माफी माग्ने अभियान केही अभियन्ताको मधेशका दलितको प्रतिनिधित्व गर्ने र उनीहरूमाथि शक्तिको अभ्यास गर्ने अन्तरमनको चाहनाको परिणाम हो कि?! 

छिमेकीको धानमा गोरु चराएर माफी माग्नु र राज्यसंरक्षित विभेदका लागि सामाजिक अभियन्ता बनेर पिडित समूहसँग माफी माग्नुमा केही भिन्नता अवश्य छ। पहिलो सन्दर्भमा माफी दिनेको गरिमा बढी हुन्छ र दोस्रो सन्दर्भमा माफी माग्नेको।

Voice of the Voiceless भन्ने एउटा जार्गन छ अङ्ग्रेजी भाषामा । यसको अर्थ हो केही मानिस, समूह बोल्न सक्दैनन् -उनीहरूका लागि अरूले बोलिदिनुपर्छ। यो जार्गन मलाई कहिलै मन परेन। भारतीय लेखिका अरुन्धती रोयले भनेजस्तै, आवाजविहिन कोही हुँदैन, कि त बोल्न खोज्नेलाई दबाइएको हुन्छ कि त आवाजलाई बेवास्ता गरिएको हुन्छ। माफी र नमस्कार अभियानका अभियन्ताले यो अभियानमा दलित र पिडितका बारेको आफ्नो आवाज त राख्नुभएको छ। जोसँग माफी मागिएको हो उनीहरू भने चुप छन्। मूलधारे वा डिजिटल पत्रिकाका लागि लेख लेखेर इमेलबाट काठमाडौँ पठाउन नसक्ने उनिहरू के भन्न चाहान्छन् त? यसको चासो कसलाई होला त?!

माफी के-का लागि माग्ने? कोसँग माग्ने? कहिले र कसरी माग्ने? माफी मागेपछि (र दिएपछि) माग्ने र दिनेबीचको सम्बन्ध के हुने? यी मूल प्रश्नको छिनोफानोमा माफी दिनेको संलग्नता नभएको माफी आदान-प्रदान कार्यक्रम दलित र गैरदलितबिचको असमान सम्बन्धको पुनर्उत्पादनमात्र हो -मेरो बुझाइमा।

यो ब्लग पढ्ने दलित वा अन्य पिछडिएका वर्गका मित्रहरूजोसँग मैले व्यक्तिगत रूपमा माफी माग्न सकिनँ वा चाहिनँमलाई माफ गरिदिनुहोला -मैले तपाईँसँग माफी माग्दै गरेको तस्वीर खिचेर सामाजिक सञ्जालको भित्तामा झुण्ड्याउन शोभनीय ठानिनँ । यसो गर्दा तपाईं र मबीचको असमानता झनै reinforce हुने सम्भावना बढी देखेँ। अरूले मलाई नै ठालू भन्ठान्ने हुन् कि भन्ने डर पो भयो।

दलित अधिकार र सम्मानका लागि दलित कै नेतृत्वमा भइरहेका अभियान र आन्दोलन सुन्दर छन्। तपाईंलाई चाहिएको म 'नत्थु खैरे'को क्षमायाचना पनि होइन होला। यहाँहरूको आर्थिक-सामाजिक अधिकारको अभियानमा सकेसम्मको साथ र समर्थन छ –जुन नभए पनि यहाँहरूलाई कुनै फरक पर्दैन।



यो कहाँ पर्‌यो ?!

कहिलेकाहीँ मोबाइल फोनमा मानिसहरूले गलत नम्बर डायल गर्छन् र सोध्छन् -'यो कहाँ पर्‌यो ?' मोबाइल फोनको निश्चित ठेगाना हुँदैन, मानिस फोन बोकेर हिँडिरहेको हुन्छ। एउटा साथीले मलाई एकदिन सिकाएको थियो त्यसरी सोध्नेलाई "अहिले नक्साल पर्यो, एकछिनमा पुतली सडकमा पर्छ र एकघण्टापछि जाउलाखेल" भन्दे न।

मैले एकदिन फोनमा 'यो कहाँ पर्‌यो ?' भनेर सोध्नेलाई रमाइलोका लागि त्यस्तै जवाफ दिएको थिएँ। फोन गर्ने मान्छे अलमलमा परे र हत्तपत्त फोन काटे।

मेरा कमेन्ट पनि मोबाइल फोनजस्तै हुन्। कसैलाई निसाना बनाएर आलोचना गर्ने नियत होइन। समसामयिक विषयमा कमेन्ट गरिरहँदा कहिले कहाँ पर्छ, कहिले कहाँ। यो कुरा मलाई पनि थाहा हुन्न। त्यसैले मेरा कमेन्ट जता परे पनि पढ्नेले नरिसाइ पढिदिनुहोला।

अर्को शनीवार फेरी भेटौँला है!


[नोट: माथि उल्लेख गरिएको लेखको स्रोत यसप्रकार छ Jean Comaroff; John L.  Comaroff "Occult Economies and the Violence of Abstraction: Notes from the South African Postcolony", American Ethnologist, Vol. 26, No. 2. (May, 1999), pp. 279-303. यसका अतिरिक्त लेखमा Ivan Illich को Deschooling Society Paulo Freire को Pedagogy of the Oppressed का शिक्षा सम्बन्धी अवधारणा पनि सापट लिएको छु। Arundhati Roy ले पिछडिएका वर्गको प्रतिनिधित्वका बारेमा राखेको भनाइ उनको Sydney Peace Prize Lecture बाट लिएको हुँ।]

No comments:

Post a Comment