आजभोलि मेहदी हसनका गीत-गजलहरूमा मेरो रुचि व्हात्तै बढेको
छ । हिंड्दा, गाडी चलाउँदा वा आकासमा
उडीरहँदा मेरा कानहरूमा हसन नै गुनगुन-गुनगुन गरिरहेका हुन्छन् ।
फेब्रुअरी २७ को साँझ सात हप्ताको इस्लामाबाद बसाइपछि फेरी
मनिला फर्किंदै थिएँ । इस्लामाबाद शहर दिनभरको
रमाजान ब्रतपछिको खानपिनमा जुटेको थियो । म सवार गाडी शहरका बत्तीहरू छिचोल्दै
एअरपोर्टतिर हुइँकीरहेको थियो । मेरो कानमा थिए उनै मेहदी हसन ।
अब के हम बिछड़े तो शायद कभी ख़्वाबों में मिलें
जिस तरह सूखे हुए फूल किताबों में मिलें
अहमद फराजले लेखेको यो कविता आफैंमा गहीरो र सुन्दर छ ।
कविताले जब मेहदी हसनको संगीत र गला भेट्छ त्यसपछि तयार हुन्छ एउटा सुन्दर कलाकृति
। यो गजल हसनको स्वरमा हजारौँपटक सुनेँ होला, तर धित मरिसकेको छैन ।
TG350 । मेरो नियमित यात्राको
फ्लाइट नम्बर । मध्यरातमा इस्लामाबादको विमानस्थलबाट उडेको मेरो हवाइजहाज अमृतसर
कटेर दिल्ली आसपास हुँदै इन्डियन ओसनतिर सोझिँदै गर्दा झ्यालबाहिर ओरायन बेल्टको
भव्य दृष्य थियो, र मेरो कानमा मेहदी हसन
गुनगुनाइरहेका थिए ।
ख़ुशबू तुम्हारी ज़ुल्फ़ की फूलों से कम नहीं
दुनिया किसी के प्यार में जन्नत से कम नहीं
त्यस रात मैले छोडेको इस्लामाबादमा केही तनाव थियो ।
पाकिस्तानले अफगानस्तानमाथि हवाइ आक्रमण गरेको थियो । विगतमा वर्षौंसम्म
मित्रतापूर्ण सम्बन्धमा रहेका तालीवान र पाकिस्तानका सेना दुस्मन बनेर
एकअर्काविरुद्ध लडाईं गरिरहेका थिए । प्राय शान्त रहने इस्लामाबादमा विगत केही
समयदेखि छिटपुट आतंककारी गतिविधी भइरहेका थिए । शान्ति सुरक्षाको अवस्था थप
खस्किने हो कि भन्ने चिन्ताले मानिसहरूलाई सताएको थियो ।
जब राजनीतिमा विवेकको ठाउँ प्रतिशोधले लिन्छ तब शासन
चलाउनेले सनकका आधारमा निर्णय लिन्छन् । आम जनताका आवश्यकताका लागि नीति निर्माणमा
कुनै स्थान हुँदैन । पाकिस्तान र अफगानस्तानमा आधाभन्दा बढी जनता चरम गरीबीको
मारमा छन् -तर त्यहाँका शासक, मुल्ला
र तिनका विदेशी मतियारलाई जनताको गरीबीको कुनै वास्ता छैन । वास्ता आफ्नो शासन
कसरी लम्ब्याउने भन्नेमा छ ।
इस्लामाबादबाट मनिलाको यात्रा छरितो किन छ भने बैंककमा जहाज
बदल्न धेरै कुर्नु पर्दैन । एउटाबाट ओर्लेर अर्कोमा पाइला टेक्न मुस्किलले डेढ, दुई घण्टा लाग्छ । बैंककबाट उडेको जहाज बिहानको घामसँग बात मार्दै
क्याम्बोडिया र भियतनामका आकासमा एक घण्टा बिताएपछि साउथ चाइना सागरमाथिको
आकासभित्र पस्छ र अन्तमा मनिलाको जमीनमा पाइला टेक्छ । तीन घण्टाको यात्रा, अर्को चिर-परिचित फ्लाइट -TG620 ।
जहाजमा निदाउन सक्दिन म । पहिला मस्तले निदाउथेँ । उमेर बढ्दै
गएपछि निद्रा पातलिँदै गयो । आजभोलि जहाजमा उँघ्छु मात्र । शनिवारको त्यो बिहान
३७००० फिटमाथि मेरा कानमा मेहदी हसन भन्दै थिएः
बात करनी मुझे मुश्किल कभी ऐसी तो न थी
जैसी अब है तेरी महफ़िल कभी ऐसी तो न थी
पुच्छर हल्लाएर लडिबुडी गर्दै स्वागत गर्ने किवीको ढाड
सम्सुम्याएपछि मेरो यात्रा रुटिनमा पालो आउँछ केही छिन निद्रा पुर्याउने । एक
बजेको निद्रा चार बजेतिर त खुलीहाल्छ ।
फेब्रुअरी २८ को निद्रा जब खुल्यो मेरो कोठाबाहिर प्रमिला
‘ब्रेकिङ्’ समाचार हातमा बोकेर मलाई सुनाउने ब्यग्र प्रतिक्षामा थिइन् -अमेरिका र
इसरेलले इरानमा आक्रमण सुरु गरे ।
अमेरिका र इरानबिच जिनिभामा कुराकानी भइरहेको थियो । सनकी
अमेरिकी राष्ट्रपती अर्को सनकी इरानी मुल्लाहसँग ‘डिल’ गर्न चाहन्थे । त्यो डिल
केमा हो भन्ने प्रस्ट थिएन -तर बाहिर बाहिर आणविक बमको कुरा भए पनि भित्रभित्र
तेलको कुरा होला भनेर अनुमान गर्न चाहिँ सकिन्थ्यो । अर्को सनकी इसरेलको नेता
नेतन्याहु अमेरिका र इरानले साँच्चै ‘डिल’ गर्ने हुन् कि भन्नेमा चिन्तित थियो र
त्यसअघि नै इरानमाथि आक्रमण गर्न व्यग्र थियो । यो सबैमा अमेरिका र इसरेलका
मिसलहरू इरानमा बर्सिन सुरु भए ।
एउटा सानोतिनो युद्धको सुरुआत छोडेर इस्लामाबादबाट बाहिर
निस्केको म आफ्नो गन्तव्यमा पुग्दा त्यो भन्दा कैयौँ गुना ठूलो र महँगो युद्ध
टेलिभिजनको स्क्रिनमा हेरिरहेको थिएँ ।
सन् २००३मा इराकमाथि अमेरिकाले आक्रमण गर्दा म इटालीको रोम
शहरमा थिएँ । रोमका मानिसहरू अमेरिकाको उग्रवाद र क्रुरताका विरुद्धमा नाचगान
गर्दै हजारौँको सङ्ख्यामा सडकमा निस्केका थिए । सेप्टेम्बर ११को आततायी आक्रमणको
बदला लिन इराकमाथि गरिएको आक्रमण र पछि अफगानस्तानको आक्रमणको पटाक्षेपसँगै अरब
क्षेत्रको राजनीतिक र मानसिक तस्वीर बदलियो ।
बदलिएको तस्वीरको रमाइलो पक्ष के थियो भने अरबका पेट्रोल
तानाशाहहरू अमेरिकी सेनाका ब्यारेकले आफ्नो क्षेत्रमा शान्ति कायम गरिदिनेछन्
भन्ने अतिरञ्जनामा डुबे । युएइ, कतर, साउदी वा ओमानमा संसारमा कतै नभएको शान्ति छ, यी देश दिगो आर्थिक समृद्धिको भर्याङ् उक्लिरहेका छन् भन्ने भाष्यको निर्माण
जबरजस्त रूपमा भयो । पेट्रोल बेचेका पैसाले संग्रहालय, फुलका बगैँचा र आलिसान महलहरू सजिए । पैसा भए अभिव्यक्ति स्वतन्त्रता वा
लोकतन्त्र केही चाहिँदैन भन्ने नयाँ अरब मोडेलको शासनप्रणालीको जोडतोडका साथ
प्रबर्धन भयो ।
क्रुर संयोग कस्तो छ भने मध्यपूर्वका पेट्रोल तानाशाहले
हावा भरेर फुलाएको शान्ति र समृद्धिको बलुन फुटाउन इरानको अर्को उस्तै दमनकारी
क्रुर शासन सकेसम्म प्रयास गरिरहेको छ ।
मनिलामा गर्मी उकालो चढिरहेको छ । अप्रिल र मे महिनामा
बर्षा कम हुन्छ र घामको ताण्डव थामिनसक्नुको हुन्छ । अहिले साँझपख सितल हावा
चलिरहेको छ । हातमा चियाको कप बोकेर म घरबाहिर निस्किन्छु र मेहदी हसन बोलाउँछु ।
उनी कानमा भन्दैछन् –
किस किस को बताएँगे जुदाई का सबब हम
तू मुझ से ख़फ़ा है तो ज़माने के लिए आ
टिग्रिस र युफ्रेटस नदी वरिपरी आजको इराक भएको स्थानमा
समृद्ध मानव सभ्यताको विकास भयो । यो समृद्धि पर्सिआ (आजको इरान) हुँदै मध्य
एसियाका विभिन्न क्षेत्रहरू (कजाकस्तान, किर्गिस्तान, तुर्कमेन्स्तान, उज्वेकस्तान, ताजिकिस्तान)मा फैलियो ।
आजभन्दा तीन हजार वर्षपहिले यो क्षेत्र हरेक फाँटमा अब्बल र समृद्ध थियो । आज
जोर्डन, सिरिया, लेबनान, टर्कीले ओगटेको र प्राचिन
समयमा लेभान्त (Levant) भनिने
क्षेत्रमा कला, विज्ञान र धर्मको जग बस्यो
। जब लेभान्त र मेसोपोटामियआ सभ्यताको उत्कर्षमा थिए त्यसबेला आजका युरोप र
अमेरिका भनिने क्षेत्रहरू आर्थिक र बौद्धिक रूपमा अत्यन्त कमजोर थिए । यसको वर्णन
‘द सिल्क रोड्स’ भन्ने पुस्तकमा पिटर फ्रान्कोपानले रोचक ढङ्गले गरेका छन् -जसको
चर्चा मैले केही अघि आफ्नो ब्लगमा गरेको छु ।
विगतमा धेरैपटक इस्लामाबाद नजिकैको पाकिस्तानको शहर पेसावर पुगेको छु । पेशावर शहरको केन्द्रमा एउटा सानो बजार छ जसको नाम ‘किस्साकहानी बजार’ हो । यो नामको अर्थ के भने यहाँ विगतमा कथा-कहानी भन्न सिपालु मानिसहरूले ‘सिल्क रोड’मा भएका रोचक, दुखद् घटनाका ‘किस्सा’हरू पेशावरका बासिन्दालाई सुनाउने गर्थे । पेशावर त्यसबेलाको सिल्करोडको एक प्रमुख व्यापारिक बिन्दु थियो । मलाई स्थानीय मानिसहरूले बताएअनुसार केही कथावाचकहरू अहिले पनि ‘सिल्करोड’का विगतका कथा सुनाउने पेशामा छन् ।
मैले आफैँले
भन्ने यस्ता कथा सुन्ने अवसर पाइनँ ।
आकास र जमिनमा नयाँ बाटाहरू बने । बाटामात्र होइन, यात्रीहरू पनि फेरिए । यात्राको उद्देश्य र औचित्य फेरियो । रेशमी बाटोको
गरिमा हरायो । नयाँ बाटाहरू सर्वेसर्वा भए । कथा हराए । कथावाचक हराए ।
सुरुको मेहदी हसनको गजलको
एउटा टुक्राले पनि समय फेरिएपछि के हुन्छ भनेर बताउँछः
अब न वो मैं न वो तू है न वो माज़ी* है 'फ़राज़'
जैसे दो शख़्स तमन्ना के सराबों में मिलें
(*विगत)
विगतको समृद्ध लेभान्त, मेसोपोटामिआ वा पर्सिआ आज द्वन्द्व, गरीबी, निरंकुशता आदिको चपेटामा छन् । यसो हुनुको कारण एउटामात्र छैन । तर, मेरो विचारमा एउटा प्रमुख कारणचाहिँ आधुनिक युगलाई चाहिएको इन्जिन, इन्जिन चलाउन चाहिने तेल, तेलको
आपुर्ती सुनिश्चित गर्न चाहिने गोलाबारुद, गोलाबारुद बनाउन र प्रयोग गर्न चाहिने छलकपट आदिको अन्तहिन चक्र हो ।
आज मध्यपूर्व र अरबका प्राय सबै देशमा भोकै प्यासै मानिसहरू सिमेन्टका थुप्राभित्र आफन्तजनको धुकधुकी खोज्दैछन् । निर्दोष बालबालिकाको आम संहारका समाचार हृदयविदारक छन् । आफूलाई सर्वश्रेष्ठ प्राणी स्वघोषणा गरेको मानिस मेरो बम राम्रो कि तेरो बम राम्रो भन्ने प्रतिश्पर्धामा डुबेको छ ।
मेरो कानमा मेहदी हसन गुनगुनाइरहेका छन्ः
भरे जहाँ में कोई मेरा यार था ही नहीं
किसी नज़र को मेरा इंतज़ार था ही नहीं