आजभोलि समाचार पढ्ने जाँगर घटेको छ । यसको एउटा सम्भावित कारण के होला भने समाचारहरूमा प्रतिविम्बित नेपालको अवस्था दिनानुदिन दु:खद बनिरहेको छ । राजनीतिमा आधारभूत मर्यादा समाप्त भएपछि समग्र राजनीतिक संस्था र लोकतन्त्रको भविष्य नाजुक बनेको छ । राजनीतिक नेतृत्व गैरजिम्मेवार भएर आफ्नो स्वार्थमा मात्र केन्द्रित रहँदा राज्यका आधारभूत संस्था र पद्धति असान्दर्भिक बनिरहेका छन् ।
मलाई आजभोलि यस्तो लाग्छ, हामी बर्खाको मौसममा अविरल पानी परिरहेका बेला खोलाकाे
किनारमा उभिएर रमिता हेरिरहेका मानिस हौँ, जो विनाशकारी
बाढीले मानिस, चौपाया र अन्य कुरा बगाएको देखिरहँदा पनि केही
गर्न नसक्ने अवस्थामा छौँ । हाम्रो ‘एजेन्सी’ कमजोर र भुत्ते भएको छ ।
यही लाचारीबीच अहिलेको एउटा राजनीतिक
घटनाक्रमबारे मनमा प्रश्न उठिरहेको छ, जसले यो लेख लेख्न घचघच्यायो । प्रश्न हो- निवर्तमान अर्थमन्त्री युवराज
खतिवडाले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका रूपमा देशको अर्थतन्त्र चलाउने
जिम्मेवारी पाउनुको अन्तर्य के हो ? यसले के संकेत गर्छ ?
नेपालको अहिलेको समग्र रूपमा विकृत राजनीतिक परिवेशमा यसलाई
आममानिसले कसरी बुझ्ने ?
मलाई लाग्छ, यो निर्णयको स्रोत वा यसको अर्थ सतहमा छैन । त्यसैले, सतहमुनि मैले देखेका एक/दुई परिस्थिति यहाँहरूसमक्ष राख्नेछु ।
कुरा सुरु गरौँ युवराज खतिवडालाई दिइएको
जिम्मेवारी किन विशेष छ भन्ने प्रश्नबाट । नेपालको राजनीतिक इतिहासमा सम्भवतः
युवराज खतिवडा पहिलो व्यक्ति हुन् जो एउटा महत्त्वपूर्ण कार्यकारी जिम्मेवारीबाट
विमुख भएपछि चोरबाटोबाट उही जिम्मेवारीमा फेरि नियुक्त
भएका छन्, नियुक्त हुन राजी भएका छन् ।
यसबाट के प्रस्ट हुन्छ भने जसले यसरी उनलाई
नियुक्त गर्यो, त्यसको नजरमा उक्त पदका लागि
अन्य योग्य मानिस छैनन् । जसले नियुक्ति पाए, उनमा
‘मैले आफ्नो वैध कार्यकालमा जेजति काम गरेँ गरेँ, अब
कार्यकाल सकिएपछि म बाहिर बस्नुपर्छ’ भन्ने आधारभूत मर्यादा छैन । नियुक्ति दिने र
लिनेको मन मिलेपछि अब नेपालको इतिहासमा एक यस्ता अर्थमन्त्रीले देशको अर्थतन्त्र
चलाउनेछन्, जो अर्थमन्त्री होइनन् ।
अस्तित्ववादका प्रमुख दार्शनिक जाँ-पाउल
सार्त्रले मानिसको अस्तित्वको चर्चा गर्दा भनेका छन्, मानिस हुनुको अर्थको स्रोत कुनै ठोस वा अलौकिक कुरा
होइन -शून्यता (nothingness) हो । एकातिर मानिस छ अर्कोतिर
शून्यता छ । अर्थात् मानिसको अस्तित्वभन्दा पर, भित्र केही
छैन ।
मलाई युवराज खतिवडाको नियुक्तिको प्रसङ्गले
सार्त्रको दर्शन याद आइरहेको छ । नेपालमा अहिले यस्ता अर्थमन्त्री छन् जसको पदीय
हैसियतको अर्थ अर्थमन्त्री नहुनुबाट आइरहेको छ । यो नेपालको राजनीतिको न्यु नर्मल
भएको छ ।
तर, यसो किन भयो त ? प्रधानमन्त्रीले युवराज खतिवडालाई
किन निर्विकल्प ठाने ? युवराज खतिवडा संघीय सरकारका
अर्थमन्त्री भएर २ वर्ष ६ महिना काम गर्दा देशको अर्थनीति र अर्थतन्त्रमा के-कस्ता
सकारात्मक परिवर्तन आए, जसले अर्थशास्त्रीका र प्रभावकारी
अर्थमन्त्रीका रूपमा युवराज खतिवडालाई निर्विकल्प बनाए ?!
त्यस्तो त केही देखिएन । कमसेकम सर्वसाधारणले
यस्तो महसुस गरेजस्तो लाग्दैन । उनले बनाएका बजेटहरू परम्परागत हचुवा संरचनाबाट
बाहिर निस्किन सकेनन् । आन्तरिक राजस्व संकलनमा प्रभावकारी योजना र पद्धति सुरु
भएनन् । तीन तहका सरकारबीच स्रोत बाँडफाँटका लागि ठोस मापदण्ड र विधि बनेनन् ।
सरकारको खर्च गर्ने क्षमतामा कुनै सुधार आएन, बरु खर्च नहुने अवस्था भयावह बनेर गयो । आर्थिक अनुशासनहीनताको अवस्था
चुलिएर गयो, सरकारी स्रोत मनमौजी, निष्फिक्री
र खुलेआम दुरुपयोग भइरह्यो । महँगी घटेन । आन्तरिक उत्पादन र निर्यात बढेन ।
अर्थतन्त्रमा कुनै संरचनागत सुधारका पहल भएनन् ।
घघडान अर्थशास्त्रीहरूले टेलिभिजनको पर्दामा
नेपालका सम्भावना र चनौती भनेर अर्थतन्त्रका बारेमा
जति बकबक गरे पनि नेपाल दशकौँदेखि धानिएको बर्खे पानी र विदेशमा नेपालीले कमाएर घर
पठाएको पैसाले हो । यसको बलमा उपभोग टिकेको छ, अरू कामधन्धा
चलेका छन्, सरकारले राजस्व पाएको छ ।
कृषि र रेमिट्यान्सबाहेक नेपालमा दुई थप आधार
छन्, जसलाई आमजनता र विशेष गरी गरिब
जनताले अविच्छिन्न रूपमा अपनाएका छन् । त्यसमध्ये पहिलो हो फेन्ड फर योरसेल्फ
-अर्थात् आफ्नो जीउज्यानको सुरक्षा आफैँ गर । र दोस्रो हो- भोक । खान नपुगे भोकै
सुत्न नेपाली अभ्यस्त छन् ।
मेरो मनमा प्रश्न उठ्ने कारण के भने यो
अवस्थामा परिवर्तन ल्याउन निवर्तमान अर्थमन्त्रीले के नयाँ विकल्पहरू सोचे जसले
गर्दा अहिलेको इतिहासमै सबैभन्दा शक्तिशाली सरकारका निर्विकल्प अर्थमन्त्री हुन
पुगे ?
मेरो विचारमा निवर्तमान अर्थमन्त्री अर्थात्
अहिलेका अर्थमन्त्रीलाई यसमा धेरै दोष दिन मिल्दैन । अरू धेरै मानिसहरू जसरी उनले
पनि पाएको जिम्मेवारी लिए । सत्ता र शक्तिमा रहने चाहना धेरैको हुन्छ । उनमा पनि
रहेछ ।
जिम्मेवारी जसले दियो, उसले किन दियो ? मेरो विचारमा यसलाई
व्याख्या गर्ने दुई थ्यौरी छन् जुन बराबर सही हुन सक्छन् ।
पहिलो थ्यौरी हो, अहिलेका प्रधानमन्त्रीलाई अर्थमन्त्री चाहिएको छैन, अर्थमन्त्रीजस्तो
केही चाहिएको छ । यसो गर्दा उनलाई अर्थ मन्त्रालयलाई आफ्नो पूर्ण नियन्त्रणमा
राख्न सजिलो हुनेछ । भनेजस्तो गर्न पाइनेछ । रोकतोक हुने छैन । युवराज खतिवडा
अर्थमन्त्री हुँदा प्रधानमन्त्रीले भनेको कुरा काटेनन् । अब अर्थमन्त्री नै
नरहेपछि सल्लाहकारको त त्यति पनि हैसियत हुने भएन ।
मन्त्रीहरूलाई 'बुख्याँचा' बनाएर अहिले जसरी ओलीले सरकार चलाइरहेका
छन्, त्यसलाई हेर्दा यो थ्यौरी विश्वासिलो लाग्छ । तर,
मलाई यो थ्यौरीमा विश्वास छैन ।
मेरो विचारमा आफ्नो सल्लाहकारका रूपमा युवराज
खतिवडालाई नियुक्त गरेर प्रधानमन्त्रीले दुई स्पष्ट सन्देश दिएका छन् ।
पहिलो सन्देश हो- सरकार भनेको म हुँ । विधि, विधान, परम्परा, पद्धति र मर्यादा भनेको म नै हुँ । यसको स्रोत र औचित्य दुवै म नै हो । म नै साधन हो र म नै साध्य हो । त्यसैले, मलाई
अलग्गै, विधिसम्मत अर्थमन्त्री चाहिँदैन । अलग्गै अर्थ
मन्त्रालय पनि चाहिँदैन । सरकार मेरो हो र मैले जे मन लाग्यो, त्यही गर्ने हो ।
दोस्रो सन्देश हो- मलाई मन परेका मानिसलाई
सरकारबाट निकाल भन्ने हैसियत कसैको छैन । म जसलाई चाहन्छु, उसलाई अरूले जतिसकुकै आलोचना गरे पनि मबाट टाढा बनाउन
सक्दैन । मेरो विवेक र मेरो निर्णय अन्तिम हो । मानिसको गुण-दोष मैले निर्धारण
गर्ने हो, बाहिरी दुनियाँले होइन ।
मेरो विचारमा प्रधानमन्त्रीलाई युवराज खतिवडाको
क्षमतामा विश्वास छ भन्ने गतिलो आधार हामीसँग छैन । प्रधानमन्त्री ओलीलाई यदि कुनै
कुरामा विश्वास छ भने त्यो हो आफ्नो असीमित, अलौकिक र बहुआयामिक क्षमता । यो विश्वासको अगाडि कुनै अर्को मानिस योग्य
हुन सम्भव छैन ।
नेपालको राजनीतिमा यो नियुक्तिको अर्थ के त ?
मैले लेख सुरु गर्दा नेपालको निराशाजनक
अवस्थाबाट सुरु गरेको छु । मेरो निराशाको स्रोत प्रमको सल्लाहकारको जिम्मेवारीमा
युवराज खतिवडाको नियुक्ति होइन । यो नियुक्ति जसरी र जुन अभिप्रायले दिइयो, त्यसले नेपालको वर्तमान राज्यव्यवस्थाको चुनौतीलाई
उदाहरणका रूपमा प्रस्तुत गरेको छ । मलाई लाग्छ, जसलाई
देशको माया छ, त्यसलाई यो निर्णयले गम्भीर बनाउनुपर्छ ।
प्रधानमन्त्रीले आफ्नो सर्वसत्तावादी सोच र
शैलीमार्फत् नेपालको लोकतान्त्रिक पद्धति, संस्कार र आधारभूत मर्यादालाई जुन गति र जुन शैलीमा कमजोर बनाइरहेका छन्,
त्यसबाट नेपालको आन्तरिक कमजोरी (Vulnerability) बढेको छ । हालको नियुक्ति गलत प्रवृत्तिको एउटा सानो उदाहरण मात्र हो ।तर
यसले पनि नेपालमा जवाफदेही घट्ने र वित्तीय अव्यवस्था बढ्ने खतरा टड्कारो छ ।
सम्भवतः यसको हेक्का प्रधानमन्त्री स्वयम्लाई
नहोला, सबैमा आफ्नो अगाडिको
जोखिम देख्ने क्षमता नहुन सक्छ । तर, समग्र देश एक व्यक्तिको
कमजोरी र देशले धान्नै नसक्ने उसका इगोहरूका कारण लाचार
भएको छ । यही क्रम बढिरहने हो भने नेपाल झन् विषम राजनीतिक र आर्थिक सङ्कट र यसबाट
सिर्जना हुने मानवीय सङ्कटको भूमरीमा जाकिँदै जाने निश्चित छ ।
कसैले भन्ला, यो त परिस्थितिको नकारात्मक चित्रण भयो । यसमा मेरो भन्नु के छ भने
परिस्थिति खराब हुँदा जस्तो छ, त्यही रूपमा चित्रण गर्नु
नकारात्मक होइन । यथार्थ लुकाएर सकारात्मकताको झुटाे आत्मरतिमा
रम्नुचाहिँ नकारात्मक हो ।
प्रधानमन्त्रीको सोच र शैलीले निम्त्याइरहेको सङ्कटका प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव सबैलाई पर्ने नै छ । यसलाई नकार्नमा भन्दा आफ्नो तर्फबाट के गर्न सकिन्छ, त्यो बेलैमा सोचेको राम्रो ।
असोज १, २०७७ मा शिलापत्रडटकममा प्रकाशित (https://shilapatra.com/detail/41316)
No comments:
Post a Comment