Friday, August 22, 2014

गाई, आस्था, राष्ट्र

ज्ञान सम्भवत मानिसको सबल पक्ष हो, र आस्था दुर्बल ।

जब आस्थाको कुरा आउँछ त्यसबेला मानिसको दुर्बल पक्ष छतछुल्ल हुन्छ । ऊ तर्क र विवेकलाई पाखा लगाएर आफ्नो आस्थाको संरक्षणमा जुट्छ । ज्ञान र परिवर्तनप्रतिको उसको लगाव पग्लिन्छ । मानिस बिल्कुलै निरिह देखिन्छ । 

सोसल मिडियामा धर्म र गाईका विषयमा हुने बहसले यही देखाउँछन् । आज गाईको प्रसङ्गलाई हेरौँ ।

गाईलाई हिन्दु धर्ममा देवताका रूपमा पूजिन्छ । केही उत्तरवैदिककालिन हिन्दु शास्त्रले गाईको धार्मिक महत्त्व स्थापित गराएका छन् । यही महत्त्वका आधारमा गाई नमार्ने मान्यता हिन्दुहरूमा दृढ छ । धर्म वा परम्परामा आस्था राख्ने हिन्दु सम्प्रदायका मानिस गाई मार्न वा गाईको मासु खान रुचाउँदैनन् ।

हिन्दु धर्ममा गाईको महत्ताको आर्थिक-सामाजिक पक्षका विभिन्न रोचक विश्लेषण पनि छन् । कतिपयले हिन्दु संस्कारको विकास भएका क्षेत्रमा स्थीर कृषि प्रणालीको सुरुआतसँगै पोषण (दूध), उर्जा (गोबर) र खेत जोत्नका लागि गोरुमाथिको निर्भरताका कारण गाईले उच्च सम्मान पाएको चर्चा गरेका छन् । दूध दिने र गोरु जन्माउने गाईलाई श्रद्धा गर्ने र काटेर नखाने प्रचलन सम्भवत तत्कालिन परिवेषमा जीवन निर्वाहका लागि अत्यावश्यक भएको हुनसक्छ । धार्मिक ग्रन्थ पनि सामाजिक धरातलका उपज हुन् । कल्पनाशीलता जीवन र जगतको व्यक्तिको अनुभवसँग गाँसिएको हुन्छ ।

आस्थाको व्याख्या विज्ञानले गर्न सक्दैनन् । आज जीवन निर्वाहको लागि गाई नचाहिने हिन्दु परम्पराका अनुयायी पनि गाई खाने कल्पना गर्न सक्दैनन् । गाई नखाने र गाईलाई श्रद्धा गर्ने हिन्दु परम्परागत विश्वास सामान्य आस्थाका रूपमा मात्र सीमित छैन -आजको नेपालको एक अहं प्रश्न बनेको छ ।

धर्म र राज्य पृथक कुरा हुन् । यसो भए तापनि राज्य र धर्मका सीमानाहरूबीचको घर्षण विश्वभर स्वाभाविक बनेका छन् । वर्तमान विश्वका अधिकांश द्वन्द्व यही घर्षणका कारण जन्मिएका हुन् ।

नेपालमा पनि निश्चित प्रसङ्गहरूमा राज्य र धर्मबीचको घर्षण प्रस्ट देखिन्छ ।

राष्ट्र निर्माणको प्रक्रियामा विगतका शाह र राणा शासकले हिन्दु धर्म र परम्परालाई आधार बनाए । यो क्रम पृथ्वीनारायण शाहबाट सुरुभएको हो जसले नेपाललाई 'असली हिन्दुस्तान' बनाउने लक्ष राखे । जङ्गबहादुरले जारी गरेको नेपालको पहिलो मुलुकी ऐनले जात प्रथालाई न्याय सम्पादनको आधार बनाएको थियो । बेलायतको यात्रामा निस्कँदा जङ्गबहादुरले अरू कुरासँगै नेपालबाट गाई पनि लिएर गएको चर्चा गरिन्छ । हिन्दुहरूका चाडपर्व, प्रतिक र मान्यतालाई राज्यसंरचनाको संरक्षण प्राप्त हुने क्रम ज्ञानेन्द्रको शासनकालसम्म पनि चल्यो र हालसम्म पनि जारी छ ।

विगतका शासकले नेपालमा गैरहिन्दुहरू रहेको र उनीहरूका सांस्कृतिक मान्यता पृथक रहेको तथ्यलाई स्वीकार गर्न कहिलै चाहेनन् । बरु उनिहरूलाई पनि बलको प्रयोगले हिन्दु बनाउन सकेसम्म प्रयत्न गरे । कसैलै जनजातिलाई दशैँ मान्ने उर्दी जारी गरे, कसैलै जनै लगाए राजद्रोहमा माफी दिने प्रस्ताव पठाए ।

यसको एउटा सानो उदाहरण हो मुलुकी ऐनमा गाईसम्बन्धी प्रबन्ध ।

नेपाल बहुसंख्यक भनिएका हिन्दुहरूको मात्र देश होइन । यहाँ ५४ भन्दा बढी आदिवासी जनजाति समूह छन् । उनिहरू सबै हिन्दु होइनन् र उनिहरूलाई पनि नेपाल उत्तिकै प्यारो छ -जति हिन्दुलाई छ । यसबाहेक नेपाल अन्य धर्मालम्बी र धर्म नमान्नेहरूको पनि साझा घर हो ।

यी सबै गैर हिन्दुहरूका लागि गाई केवल एउटा जनावर हो ।

नेपाल आदि कालदेखि हिन्दु राष्ट्र हो भन्ने सोच गलत हो । पञ्चायती संविधान बनाउने क्रममा राजा महेन्द्रले २०१७ सालको परिवर्तनपछि नेपाललाई हिन्दु राष्ट्रका रूपमा परिभाषित गरेका हुन् । अधिकांश जनसङ्ख्या हिन्दु भएको मुलुकमा राज्यका सीमानालाई धर्मसँग जोड्ने महेन्द्रको नीति पञ्चायती व्यवस्थाको राजनीतिक आधार बन्यो । यसबाट पञ्चायती राजतन्त्रले त प्रशस्त फाइदा उठायो तर यो निर्णयले हिन्दु धर्म नमान्ने मानिसको राष्ट्रिय पहिचानलाई कुण्ठित बनायो । यो एउटा ऐतिहासिक भूल थियो ।

दोस्रो जनआन्दोलनपछि नेपाललाई धर्म निरपेक्ष मुलुक घोषणा गरिँदा नेपालको उक्त ऐतिहासिक भुल सँच्चिएको हो । राज्य कुनै धर्म विशेषका मान्यता र संस्कारबाट निर्देशित नहुने असल भविष्यको सुरुआत थियो त्यो । तर, अन्य विभिन्न घोषणा जस्तै पुनर्स्थापित संसदको यो घोषणा पनि व्यवहारमा अनुवादित हुन सकेन । राज्यले हिन्दु धर्मलाई दिएको असन्तुलित महत्त्वमा कमी आएन । गाई मारेको कसुरमा मानिसलाई थुन्ने, धम्क्याउने र कुटपिट गर्ने प्रहरीको व्यवहारमा कानुनी बन्देज लागेन ।

राजनीतिक अन्यौल र बेथितिले गाँजिएको संक्रमणकालमा कानुन निर्माणको प्रक्रिया ठप्प हुँदा नीतिगत परिवर्तन हुन नसक्नु स्वाभाविक होला । तर, गाईका प्रसङ्गलाई लिएर हिन्दु परम्पराका अनुयायीमध्ये केहीले गर्ने तर्क ताज्जुबलाग्दा छन् ।

यी मध्ये पहिलो तर्क हो -गाई मारेर अरूको आस्थामा ठेस लगाउनु ग़लत हो ।

आस्था भएकाहरूले आफ्नो आस्थाको रक्षा गर्ने जिम्मेबारी आफूसँग सीमित राख्नुपर्छ । कुनै मुसलमानले सुँगुर छुँदैन, खाँदैन भने यो परम्पराको सम्मान ऊ आफैँले गर्ने हो -न कि हिन्दु वा क्रिश्चियनले उसको आस्था बचाइदिनका लागि सुँगुरबाट टाढा बस्ने । यदि सबै धर्मालम्बीले आफ्नो आस्थाको बचाउका लागि अरूबाट अपेक्षा राख्दै जाने हो भने संसारमा खाने र गर्ने कुरा केही बाँकी नरहलान् ।

गाई मारेर खाएको कसुरमा विशेषगरि काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका आदिवासी/जनजाति समूहका दर्जनौँ मानिसले बर्षौँ जेल सजाय बिताएका छन् । कति मानिस प्रहरी कारबाहीमा परिने डरले घर छोडेर भागेका छन् । यो क्रम हालसम्म जारी छ । उनिहरूलाई राज्य र प्रहरीले लगाउने आरोप उही हो- अरूको आस्थामा चोट पुर्याएको ।

मानिसले अरूको आस्थामा चोट पुर्याउन घरभित्र लुकिछिपी जनावर काटेर खाँदैन ।

दोस्रो तर्क हो -कानुनको पालना गरिनुपर्छ । प्रहरीले गाई काट्न नपाइने नेपालको कानुनलाई पारिपालना गराएका मात्र हुन् । 

नेपाल कानुनले कति र तजबिजले कति चल्छ भन्ने त सबैलाई थाहा भएको कुरा हो । तर पनि कानुनी सर्वोच्चतालाई आलोचना गर्नु गलत हो । देश वास्तवमा कानुनले नै चल्नुपर्छ । कानुनको सम्मान गर्नुपर्ने कुरामा दुईमत हुन सक्दैन ।

यसो भएता पनि कानुनका विज्ञ र सर्वसाधारणले प्रत्यक्ष अनुभव गरेको कुरा के हो भने कानुन समाजसापेक्ष हुन्छ -समाजभन्दा माथि होइन । कानुन बनाउने मानिसले नै हो कुनै अलौकिक शक्तिले होइन । मानिसका अपेक्षा र बुझाइलाई आत्मसात गर्न नसक्ने कानुन कि दराजमा थन्किन्छन् कि परिवर्तन हुन्छन् । यसको उदाहरण हामीले ०४६ वा ०६२/६३ को जनआन्दोलनमा देखिसकेका छौँ । तत्कालिन कानुनको सीमाभित्र रहेर जनआन्दोलन सफल हुने थिएनन् ।

दुःखका साथ भन्नुपर्दा नेपालमा कानुनको संसोधन वा परिमार्जनको प्रक्रिया ठप्प भएको झण्डै दुई दशक बित्नलागेको छ । आजको परिवर्तनशील समयमा दुई दशकको अवधि झण्डै एक जीवनकाल हो । तर, हामी अनेकन अव्यवहारिक र असान्दर्भिक कानुन घाँटीमा भिरेर बाँचिरहेका छौँ । नेपालको राजनीतिक द्वन्द्वको तितो परिणति एउटा यो पनि हो ।

तरयस्तो असान्दर्भिक कानुनबाट पन्छिने व्यवहारिक उपाय नभएका होइनन् । मानवीय र व्यवहारिक रूपमा लागु गर्न शोभनीय नहुने कानुनी प्रबन्ध निश्क्रय रहन्छन् र रहनुपर्छ । सार्वजनिक स्थलमा भेटिएका वयस्क जोडीलाई पक्रिँदै सजाय दिने वा गाई काटेको सूचनाका आधारमा पछ्याउँदै मानिस समात्न हिडँने कामलाई राज्यप्रशासनले प्रश्रय दिन आवश्यक छैन । आम नागरिकको सुरक्षाका प्राथमिकतामा पर्ने अरू काम छोडेर ग़रीब जनजातिका बस्तीमा गाई काट्ने मान्छे खोज्दै हिँड्ने प्रहरीको काम शोभनीय छैन ।

गाई काट्न दिनुहुन्न भन्ने पक्षमा सुनिने तेस्रो तर्क हो - हिन्दु बहुसंख्यक भएको मुलुकमा हिन्दु धर्मको रक्षा हुनुपर्छ ।

बहुसंख्यक हिन्दु भएको मुलुकमा हिन्दु धर्म आफैँमा संरक्षित छँदैछ । त्यसमाथि राज्यसंरचनाले समेत हिन्दु धर्म र परम्परालाई सताब्दिऔँ देखि विशेष सम्मान दिएको छ । उदाहरणका लागि हिन्दुका चाडपर्व र धार्मिक संस्कारमा जति सार्वजनिक विदा अन्य धर्मालम्बीले पाएका छैनन् । हिन्दु मठमन्दिर र संस्थाहरूलाई राज्यबाट सहयोग र संरक्षण प्राप्त भएकै छ । राज्यका विभिन्न अङ्ग र निकायले हिन्दु परम्परामा आधारित संस्कार र विधिका लागि पैसा खर्च गर्न पाएकै छन् ।

यस्तो परिस्थितिमा हिन्दु धर्म कसरी कमजोर भयो र यसलाई थप संरक्षण किन चाहियो ?! फेरि, नेपालमा सम्मान र संरक्षण नपाएको हिन्दु धर्मले होइन -यसबाहेकका अन्य धर्मले हो । आधुनिक राष्ट्रका रूपमा ३०० वर्ष पूरानो नेपालको इतिहासमा हामीले समावेशिता र परस्पर सम्मानको कुरा गर्न थालेको दुई दशक पनि भएको छैन । यो गफ व्यवहारमा अनुवाद हुन भर्खरै प्रारम्भ भएको छ । यो चरणमा हिन्दु संस्कारलाई संरक्षण चाहिन्छ भन्ने तर्क शोभनीय छैन ।

चौथो तर्क हो गाई राष्ट्रिय जनावर भएकाले काट्न मिल्दैन ।

मयुर भारतको राष्ट्रिय जनावर हो, क्याङ्गारु अस्ट्रेलियाको र येलोफिन टुना माल्दिभ्सको । यी जनावर तथा पंक्षी खाएको विषयमा यी देशमा आपत्ति भएको छैन । अस्ट्रेलियामा क्याङ्गारुको बढ्दो जनसंख्या रोक्न सरकारले  क्याङ्गारुको मासु बढी मात्रामा खान आफ्ना जनतालाई आव्हान गरिरहेको छ भने माल्दिभ्समा टुना अर्थतन्त्रको गतिलो आधार हो । बाघ, गिद्ध, सिंह, उल्लु वा भालु राष्ट्रिय जनावर भएका मुलुकमा तिनको विशेष संरक्षण हुनु स्वाभाविक हो । राष्ट्रिय जनावर काटेर खान हुन्न भन्ने तर्कमा आग्रह छ तर आधार छैन ।

पाँचौ तर्क हो सार्वजनिक स्थलमा गाई काट्ने क्रम सुरु भए यसले द्वन्द्व ल्याउँछ ।

सार्वजनिक स्थलमा पशु बध गर्ने चलन आफैँमा गलत हो । हामी यसमा अभ्यस्त भएर मात्र जथाभावि जनावर काट्ने कामलाई स्वाभाविक ठान्छौँ । मासुका लागि पशु बध तोकिएका बधशालामा स्वस्थ र सफा तवरले मात्र गर्ने नियम कडा रूपमा पालना गरिनुपर्ने हो । हालको चलनले हाम्रो असभ्यता र फोहरीपनको परिचय दुनियालाई गराइरहेको छ ।

तर, अरू सबै जनावर सार्वजनिक स्थलमा खुला काटेकोमा आपत्ति नजनाउने र गाई खुलेआम बाहिर काटिनेछन् भन्ने कुरामा चिन्ता दर्शाउनेहरूले आफ्नो असहिष्णुता मात्र प्रदर्शन गरिरहेका छन् । अन्य धर्म र सम्प्रदायले आफ्नो अधिकार उपयोग गर्दा त्यसबाट असुरक्षित ठान्ने मानसिकताको अन्त्य हुन ज़रूरी छ । हाम्रो जस्तै धार्मिक र सांस्कृतिक विविधता रहेको छिमेकी मुलुक भारतमा पनि गाई काटिन्छन् -त्यहाँ यही आधारमा सामाजिक सद्भाव बिग्रेको छैन । सद्भाव बिग्रने अरूका मान्यता र अधिकारको सम्मान गर्न नचाहने असहिष्णु प्रवृत्तिले हो ।

हाल नेपालका सबै ठूला होटल र रेस्टुराँमा गाईको मासुबाट बनेका परिकार बिकिरहेका छन् । यसको स्वतन्त्र उपभोग पनि भइरहेकै छ । नेपालका लागि आवश्यक मासु भारत तथा अन्य मुलुकबाट ठूलो मात्रामा आयात गरिन्छ । तर, गाई मारेको र खाएको अभियोगमा आदिवासी तथा जनजाति समूहका गरीब नेपालीले प्रहरी कारबाही भोग्नु परिरहेको छ । यो परिस्थिति आफैँमा अन्यायपूर्ण छ । 

ज्ञानमाथि आस्थाको विजय सम्भवत मानिसको सबैभन्दा ठूलो कमज़ोरी हो । सोसल मिडियामा गाईको विषयमा भइरहेका बहसले यही देखाउँछन् । ज्ञान र दक्षताले सम्पन्न प्रतिभाशाली मानिसहरू पनि आस्थाको प्रसङ्ग उठ्नासाथ निरिह देखिएर सबै तथ्य र वास्तविकतालाई पन्छाउन खोज्छन् ।

आस्था स्वतः सम्मानित हुनुपर्छ भन्ने मान्यता पनि सही होइन । आस्थाका विषयमा पनि बहस हुन्छ र हुनुपर्छ । आस्थाका नाममा सबै सोच र अभ्यासलाई सही मान्ने हो भने जातीय विभेद, सती प्रथा, दास प्रथा, देउकी प्रथा, कम्लरी र बोक्सीका बारेको मान्यता पनि शंकाको घेराभन्दा माथि राख्नुपर्ने हुन्छ । आस्था व्यक्तिगत मान्यताको कुरामात्र होइन –यसको सामाजिक-आर्थिक आयाम पनि छ र यसले सामाजिक न्याय र अधिकारको विषयसँग पनि सरोकार राख्छ ।

अन्त्यमा, यो लेखमा प्रस्तुत तर्क गाई काट्नैपर्छ वा खानुपर्छ भन्ने आग्रह पुष्टि गर्ने उद्देश्यका लागि उठाइएका होइनन् । के खाने वा नखाने भन्ने कुरा व्यक्तिको अधिकार र रुचिको विषय हो जसको सम्मान सबैले गर्नुपर्छ । मेरो आलोचना गाई हत्याका विषयमा राज्यले सामान्य नागरिकलाई सजाय दिने अमानवीय प्रवृत्तिका विषयमा हो । यो प्रवृत्ति समावेशीकरण र परस्पर सद्भावका आधारमा नयाँ र सुदृढ़ राष्ट्र बनाउने नेपालीको चाहनाको प्रतिकूल छ ।


1 comment: