Bluesky

@sanpokh.bsky.social

Sunday, December 28, 2025

म किन ढुक्क छैन बालेन शाहका बारेमा ?!

बालेन शाहका बारेमा कुरा सुरु गर्नु पहिले केही स्पष्टोक्ति ।

पहिलो स्पष्टोक्ति -म अब हुने निर्वाचनमा केपी ओली, प्रचण्ड र शेर बहादुर देउवा र उनीहरूले नेतृत्व गरेका पार्टीको ‘लज्जास्पद’ पराजय देख्न चाहन्छु । उनीहरूको मात्र होइन -ठुला भनिएका पुराना पार्टी कुनैको पनि आगामी निर्वाचनमा आम जनतासँग मत माग्ने नैतिक तागत छैन, न त मतदाताहरूसँग उनीहरूलाई भोट हाल्ने चित्तबुझ्दो कारण छ ।

यही प्रसंगमा मलाई के लाग्छ भने अनुभव र स्थीरता आफूले मात्र दिनसक्ने पुराना नेताको दाबी पनि सतही गफभन्दा बढी केही होइन । केपी ओली, देउबा वा प्रचण्ड वा उनलाई संरक्षण गरी बसेका कोही नेतामा त्यस्तो कुनै बौद्धिक र नैतिक क्षमता छैन जसका आधारमा उनीहरूलाई जनताले विश्वास गर्न सकुन् ।

दोस्रो स्पष्टोक्ति -म यतिबेला नेपालमा छैन त्यसैले देशभित्रका समग्र उहापोह र अनगिन्ति ‘गसिप’हरूबारे अनभिज्ञ छु । मेरा जानकारी र विश्लेषणमा तथ्य भन्दा अनुमान बढी छन् ।

अब बालेन शाहका बारेमा मेरा दृष्टिकोण ।

१.    मलाई लाग्छ बालेन शाह आफ्ना आदर्श र लक्षहरूमा प्रस्ट छैनन् । प्रस्ट हुनुपर्ने आवश्यकता पनि महसुस गरेका नहुन सक्छन् । उन्नयन, समृद्धि, आर्थिक समुन्नति, सुशासन आदि अत्यन्त महत्त्वपूर्ण कुरा हुन् । आम जनताका अपेक्षा पनि तिनै हुन् । यद्यपि, राजनीति गर्ने मानिस वा दलका लागि यी पर्याप्त कुरा होइनन् । समृद्धि वा उन्नयन कुन आदर्शका आधारमा हासिल गर्ने हो ? यसका लागि चुकाउनुपर्ने मूल्य के हो ? यसको अन्तिम गन्तव्य के हो ? यी कुरामा पनि इमानदार स्पष्टता चाहिन्छ । नेता र सामान्य नागरिक बीचको फरक यही हो । राजनीति गर्नेहरू आफ्ना आदर्श र मूल्यमान्यताका बारेमा स्पष्ट छैनन् भने उनीहरूले तय गरेका मार्गमा जोखिम छन् भनेर बुझ्नुपर्ने हुन्छ ।

२. बालेन शाहका अहिलेसम्मका कार्यशैली हेर्दा उनलाई सहकार्य, समन्यव र परस्पर सम्मानमा विश्वास भएजस्तो देखिन्न । उनी आफू ठीक रहेको कुरामा सधैं विश्वस्त छन् र अरूले पनि आफूले तय गरेको बाटोमा चुपचाप हिड्नुपर्छ भन्ने अपेक्षा गर्छन् ।  फरक मतको अपेक्षा नगर्ने, फरक मतलाई सम्मान नगर्ने र फरक मत राख्नेहरूसँग सहकार्य गर्न नसक्ने नेताको नेतृत्वमा निश्चय पनि गम्भीर जोखिम हुन्छन् । मेयरको उमेदवार भएका बेला उनले एक अन्तर्वार्तामा आफू इन्जिनियर भएकाले भौतिक पूर्वाधारका योजना कसरी प्रभावकारी बनाउने भन्ने कुरा आफूले जान्ने दावी गरेको कुरा सुनेको थिएँ -यसबाट उनले आफ्नो बौद्धिक क्षमतालाई नै आफ्नो नेतृत्वको आधार बनाएको बुझ्न सकिन्छ । शहरको होस् वा देशको -नेतृत्वको जिम्मेवारीका लागि नेताको बौद्धिक क्षमताको भन्दा उसको नेतृत्व क्षमताको अर्थ बढी हुन्छ ।

३. बालेन शाहमा राष्ट्रवाद र देशभक्तिप्रति अतिरञ्जनापूर्ण श्रद्धा छ । निश्चय पनि हरेक राज्यले देश र जनताका गौरवगाथालाई प्रश्रय दिएका हुन्छन् । देशको नेतृत्व लिने मानिसले यसलाई मलजल गर्नु अस्वाभाविक होइन । तर, कोरा र उग्र राष्ट्रवादी चिन्तनलाई प्रश्रय दिने नेतृत्वले संसारका विभिन्न देशलाई दुर्घटनातर्फ डोहोर्‍याएका छन् । यो प्रवृत्ति इतिहासको मात्र पाठ होइन -वर्तमानमा पनि हामीले देखिरहेको प्रवृत्ति हो । देशको नेतृत्व लिने मानिसले त्यस देशका राम्रा कुरा मात्र होइन, सीमितताका बारेमा पनि सचेत हुन आवश्यक छ । हरेक देशमा सीमालाई गौरवका कथाहरूले लिपपोत गरिएको हुन्छ, तर सीमालाई आदर्श र लक्ष बनाउने अतिवादले निम्त्याउने भनेको निरंकुशता र द्वन्द्व हो । त्यसैले, बालेन शाहको कार्यकक्षमा भएको ‘ग्रेटर नेपाल’को नक्सा (यदि साँचो हो भने) चिन्ताको विषय हो ।

४. बालेन शाहको सामाजिक सञ्जाल प्रयोग र उनलाई संरक्षण र प्रवर्धन गर्ने सामाजिक सञ्जाल अभियान चिन्ताजनक छन् । भ्रामक र विवादास्पद सूचना तथा विश्लेषण संप्रेषण गरिरहेका विभिन्न सोसल मिडिया ‘ह्याण्डल’हरूमा बालेन शाहको प्रत्यक्ष संलग्नता पुष्टि गर्न नसकिए तापनि तिनले उनको नियोजित रूपमा संरक्षण र प्रबर्धन गरिरहेको स्पष्ट देखिन्छ । यसका अतिरिक्त उनी आफैंले सोसल मिडियामा व्यक्त गर्ने गरेका सूचना तथा दृष्टिकोणमा देखिने दूराग्रह तथा असहिष्णुताले उनको नेतृत्वशैली तथा गम्भीर मुद्दामा निर्णय लिनका लागि चाहिने क्षमतामाथि प्रशस्त संशय उत्पन्न गरेका छन् । उनलाई संरक्षण तथा प्रबर्धन गर्ने व्यक्ति तथा संस्थाहरूका विषयमा पनि आशंका छन् -र यी मध्ये कतिपय व्यक्तिको पृष्ठभूमि चिन्ताजनक तथा शंकास्पद छ ।

५. मेयरका रूपमा बालेन शाह विगतका सबै मेयरभन्दा असल र सक्षम होलान् तर उनी प्रचार गरिएजस्तो भयङ्कर सफल होइनन् । बालेनले काठमाडौँको मुहार फेरेको फेरेको भन्ने न्यारेटिभमा उनलाई सफल भएको देख्न चाहने र पुराना नेता र पार्टीबाट आजित मानिसहरूको ‘गुड विल’को भार बढी छ । काठमाडौँ सफासुग्घर बनाउने, प्राचिन सम्पदाको संरक्षण गर्ने वा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम एक मेयर वा पालिकाको प्रशासनले गर्ने नियमित र सामान्य काम हुन् र तीमध्ये कुनैले बालेनको विशेष क्षमतालाई पुष्टि गर्दैनन् । बरु, सार्वजनिक स्थलमा व्यापार गर्ने वा सार्वजनिक स्थानमा बसेका सुकुम्बासीले सिर्जना गरेका समस्यालाई बुझ्ने र यसको समाधान खोज्ने क्रममा बालेनले लिएका नीति र कार्यशैली यी समस्याको दिगो तथा न्यायपूर्ण समाधानका लागि सुहाउँदा छैनन् ।

अन्तमा, म चाहन्छु बालेन बारेमा मेरा संशय सबै गलत हुन् । मैले माथि उल्लेख गरेका कमजोरी बालेनलाई अस्वीकार गर्न वा उनी सफल नहुन् भन्ने उद्देश्यबाट रचना गरिएका होइनन् । म चाहन्छु उनी भविष्यमा सफल हुन् र उनले आफ्ना कमजोरी र सीमितताका बारेमा गहिरो आत्म समिक्षा गरुन् ।

एक नागरिकका रूपमा मेरो भूमिका नेता वा नेता बन्न चाहने व्यक्तिप्रति अनुग्रहित हुने होइन -उसका कमजोरीप्रति सचेत रहने र उसलाई प्रश्न गर्ने हो ।