नेपालका खबरले तपाईंको मस्तिष्क रन्थनिएको छ ? मेरो पनि छ । तर, मस्तिष्कलाई बोझ दिएर फाइदा केही छैन । तीनदिनको घनचक्करपछि आजबाट आफ्नो नियमित दैनिकीमा फर्किने प्रयास गर्दैछु । आजको लेखाइमा मेरो दैनिकीसँग जोडिएका एउटा पुरानो र एउटा नयाँ कुरा यहाँहरूसँग बाड्ने प्रयास गर्दैछु ।
मलाई किताब पढ्न मन पर्छ ।
गएको वर्ष (अर्थात् २०२४) भिएस नाइपुलको ‘इन अ फ्रि स्टेट’ र सिल्भिया प्लाथको ‘द बेल जार’ भन्ने उपन्यास पढेको थिएँ । तर, यीबाहेक पोहोरको वर्ष पढेका सबै पुस्तक ननफिक्सन विधाका रहेछन् ।
यो वर्ष पनि मेरो अध्ययनको सूचि रामचन्त्र गुहा, पिटर फ्रान्कोपान, रिचर्ड डकिन्स, माइकल सेन्डल, फरिद जकारिया, जोनथन हाइट, रोमिला थापर आदिले ओगटे । यिनमध्ये रोमिला थापरको भारतको इतिहास बाहेक सबै पुस्तकबारे छोटा-लामा गन्थन आफ्नो ब्लगमा गरेको छु ।
तर, गएको वर्ष नै मलाई मेरो अध्ययनमा फिक्सनको अभाव खट्केको थियो । बिएसम्मको पढाइमा अङ्ग्रेजी साहित्य मेरा ‘मेजर’ विषयमध्ये एक थियो । साहित्यको रस केही न केही थियो । बिएसम्मको पढाइ त पाठ्यक्रममा सामेल साहित्यिक कृतिहरू कनिकुथी पढेर पुरा गरियो -त्यो पनि परीक्षा पास गर्ने मुख्य उद्देश्यले । तर, संसारका प्रसिद्ध कृतिहरू पढ्ने मेरो लामो समयदेखिको धोको थियो जुन पुरा हुनसकेको थिएन ।
२०२५ को सुरुआतमा मैले सोचेँ यो वर्ष कम्तिमा पनि विश्वभर सम्मान पाएका साहित्यका १० महान कृतिहरू पढ्नेछु । मेरो सूचिमा यी पुस्तकहरू परे -Don Quixote, Ulysses, Heart of Darkness, Crime and Punishment, Beloved, To Kill a Mockingbird, The Trial, The Diary of a Young Girl, Nineteen Eighty-Four, Daisy Miller ।
गएको अगस्त महिनाको अन्ततिर एक दिन मैले सन्तोषको लामो सास फेरेँ -यी सबै पुस्तक पढि सिध्याएर ।
फिक्सन पढ्न रमाइलो त हुन्छ, तर हरेक पाना उत्तिकै रोचक हुँदैनन् । उदाहरणका लागि मिगेल सर्भेन्टसको डन कुआते असाध्यै रमाइलो मानिएको पुस्तक हो । तर, त्यसमा पनि कतिपय घटना र वर्णनहरू दोहोरिको भान हुन्छ र कुनै पाठकका लागि पट्यारलाग्दा लाग्न सक्छन् । फेरि, डन कुआते असाध्यै लामो पुस्तक हो । यो पुस्तक पढिसक्न मलाई चानचुन एक महिना लाग्यो ।
तर, फलामको च्युरा चपाउने खालको अप्ठेरो भने युलिसज पढ्दा भयो । जेम्स जोयसको युलिसज संसारको उत्कृष्ट उपन्यास मानिन्छ । तर, यसमा प्रयोग भएका विम्ब र वर्णनहरू ल्याटिन र ग्रीक साहित्य-दर्शनसँग जोडिएका छन् । त्यसमाथि जोयसले आजको रिपब्लिक अफ आयरल्याण्ड त्यसबेला बेलायतको उपनिवेष हुँदाको सामाजिक-मनोवैज्ञानिक परिवेषलाई उपन्यासमा जोडेका छन् । युलिसजका मुख्य पात्रहरू (जस्तै, स्टिभन डेडलस) उनका अन्य कृतिबाट ल्याइएका छन्, जसले मजस्ता आलाकाँचा पाठकका लागि पुस्तकलाई झन् जटिल बनाएको छ ।
यतिमा मात्र युलिसजको जटिलताको कुरा सकिँदैन । जोयसले उपन्यासमा ‘स्ट्रिम अफ कन्ससनेस’ भनिने शैलीको उपयोग गरेका छन् । यो शैलीमा उनी हरेक पात्रको मनभित्र खोला जस्तै बगिरहने अन्तरमनका उथलपुथललाई उपन्यासका पानामा उतार्छन् । त्यसले गर्दा पाठकलाई कुराको मेसो पाउन हम्मेहम्मे पर्छ । उपन्यासको अन्तिम परिच्छेद (पेनेलोपे)मा त कुनै कमा वा पूर्णविराम छैन ।
मलाई युलिसज पढ्दा विभिन्न च्याप्टरका निश्चित प्रसङ्गहरू राम्रोसँग बुझ्न (‘डिकोड’ गर्न) अन्य विभिन्न स्रोतहरू उपयोग गर्नुपर्यो । इन्टरनेटले यो काम सजिलो बनाइदियो । पुस्तक पढिसकेपछि मलाई लाग्यो आजको १० वा १५ वर्षअघि प्रयास गरेको भए मैले युलिसज अन्तसम्म पढ्ने र बुझ्ने सम्भावना रहेनछ ।
यी मध्ये हरेक पुस्तक पढ्दाका विशिष्ट अनुभूतिहरू छन् । अहिलेलाई पढाइबाट अर्को प्रसङ्गतिर जाऔँ । कुरा गरौँ पौडीको ।
म सानो छँदा हामी इनरुवा बजारबाट पूर्वपट्टी रहेको पूर्वटोल भनिने बस्तीमा बस्थ्यौँ । हामी बसेको घर नजिकै चीनका ठेकेदारले भर्खर बनाएको सिंचाइको नहर थियो ।
नहरमा केही महिना छोडेर प्राय लोभलाग्दो पानि बगिरहन्थ्यो । घर नजिकको त्यो नहरमा पौडिन बजारदेखि आधा घण्टा
हिंडेर मेरा स्कुले साथीहरू आइपुग्थे । उनीहरूले पौडी खेल्न जान मलाई कति कर गरे !
तर, म उनीहरूसँग गइनँ ।
नजानुको कारण थियो -आमाको चेतावनी । आमाले भन्नुभएको थियो -'पौडी खेल्दा नहरले बगाउँछ र मरिन्छ । त्यसमाथि पौडी खेल्ने केटाहरू बदमास हुन्छन् । तिनीहरूको संगत नगर्नु । लहैलहैमा नहरमा हाम फाल्न नजानु !’
आजभोलि मेरो समय आधा पाकिस्तान र आधा फिलिन्समा बित्छ । पाकिस्तानमा जताततै पौडीका पुल र समुद्र छैन । तर, फिलिपिन्समा पौडीनका लागि प्रशस्त ठाउँ र अवसरहरू छन् । खुशी र उद्यमले समुद्रको किनार वा स्विमिङ् पुलमा पौडिन प्रयास गर्न लगाउँछन्, मसँग पौडिने सीप छैन (थिएन)। त्यसैले, अरू पौडेको हेरेर पानीमा जिउ डुबाएर बस्नुपर्ने वाध्यता थियो ।
त्यसैले, मैले यस वर्षको सुरुआतमा अठोट गरेको थिएँ -यो वर्ष पौडिन सिक्छु ।
त्यसैले, २ महिनाअघि यहाँको एउटा होटलमा पौडी सिक्ने चाँजो मिलाएँ । मीर नामका पुलका सहायक म्यानेजर आफैँ मलाई पौडी सिकाउन तम्सिए । तीस वटा स्विमिङ् कक्षाका लागि मैले उनीसँग अनुबन्ध गरेँ । तर, लगभग १६-१७ दिनको उनको प्रशिक्षणपछि नै म पौडिन सक्ने भएँ -र उनले मलाई सिकाउने र अप्ठेरो पर्दा उद्दार गर्ने जिम्मेवारीबाट मुक्ति पाए । केही निश्चित शैलीमा अझ बढी अभ्यास गर्नुपर्ने छ । तर, अब स्विमिङ् पुलमा पौडिन, जतिसुकै गहिरो किन नहोस्, अब अप्ठेरो छैन ।
पौडिन जान्नेहरूका लागि मैले मेरो पौडी सिकाइको अनुभव बालसुलभ लागेको हुनपर्छ
। तर, यो सामान्य सीपका लागि मैले जुन परीश्रम गर्नुपर्यो त्यो सम्भवतः एउटा
दृष्टान्त हो कि जीवनमा सामान्य कुराहरू पनि कति जटिल र दुर्लभ बनिदिन्छन् । केटाकेटी
हुँदा सिकेको भए यस्तो हुने थिएन । तर, उमेर छिप्पिएपछिको पौडी सिकाइ मेरा लागि समय
र प्रतिवद्धताका हिसाबले निकै ठुलो कुरा भयो ।
म आजभोलि हरेक दिन पुलमा एकदेखि दुई घण्टा बिताउँछु । पानीमा बिस्तारै पौडँदा र लामो सास फेर्दा सचेत अनि अवचेतन मनभित्रका तनावहरूले केही समय भए पनि विश्राम पाउँछन् । यसपटकको दशैंमा मनिलामा आफ्नो नयाँ सीप प्रमीला र उद्यमलाई देखाउने धोको छ -र यसका लागि घर जाने दिन गनेर बसेको छु ।
२०२६ मा अर्को धोको पुरा गर्ने मन छ । त्यो हो -हार्मोनियम सिक्ने ।
No comments:
Post a Comment