Monday, April 15, 2024

शुभकामना र विमति

आज कुरा गरौँ एउटा टेलिभिजन टक शोको ।

सुधीर शर्माले ‘अनि, अब’ भन्ने टक शो सुरु गर्नुभएको छ । यसमा मलाई खुशी लागेको छ । नेपालका अधिकांश टक शोहरू टिभीमा आउँछन् जसका कारण तिनीहरूका सीमितता र कृतिमता धेरै छन् । समय र सन्दर्भको साँघुरो घेरामा सीमित नभएर खूला ढङ्गले कुराकानी गर्न युट्युब राम्रो माध्यम हुन सक्छ । छिमेकी भारतमा आजभोलि राम्रा कन्टेन्ट टिभीका लागि नभएर युट्युबका लागि बन्ने गरेका छन् -नेपालमा पनि यो क्रम सुरु हुनु स्वागतयोग्य छ ।

युट्युबमा हेर्न पाइने टक शोहरूमा एउटा विजयकुमारले चलाउने शो थियो (अहिले छ, छैन थाह छैन) जुन उनको आत्मप्रशंसा र अति कृतिम गफका कारण हेरिनसक्नु थियो । एक दुई कार्यक्रम छोडेर युट्युबमा आधारित समाचार र विश्लेषण फेक न्युजका गुँड भएका छन् । 'युट्युबमा कास्ट हुने सामग्री पनि गहन र विश्वसनीय हुन्छन् तर रोज्न जान्नुपर्छ' भन्ने सन्देश दिन सुधीर शर्माको टक शो उदाहरण बन्न सक्छ । बन्ला भन्ने आशा छ ।

अहिलेलाई सुधीर शर्माले आफ्नो पहिलो कार्यक्रममा स्वर्णिम वाग्लेसँग गर्नुभएको अन्तर्वार्ता भनौँ वा गफगाफ -त्यसको कुरा गरौँ ।



स्वर्णिम वाग्ले अर्थशास्त्री हुनुहुन्छ । उहाँसँग विज्ञता र अनुभव छ । विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा लामो समय देशविदेशमा काम गर्नुभएको छ । नेपाली सञ्चारमाध्यम र बुद्धिजीवी बृत्तमा उहाँको व्यक्तित्व सम्मानयोग्य मानिन्छ । कुराकानीका क्रममा पनि स्वर्णिमले आफ्नो विज्ञता र अनुभवको लामो विवरण प्रस्तुत गर्नुभएको छ । त्यसैले, म त्यो प्रसङ्गपट्टि नलागी उहाँले उठाउनुभएका विकास र समृद्धिका उपायहरूका बारेमा केही टिप्पणी राख्न चाहन्छु ।

अन्तर्वार्ताको प्रसङ्ग सुरु गर्नुअघि एउटा अवधारणाबारे उदाहरणमार्फत् छोटो कुरा गरौँ ।

मानिलिनुहोस् तपाईं कुनै ठाउँको रेल स्टेशनको यात्रु प्रतीक्षालयमा हुनुहुन्छ ।  आधा घण्टापछि तपाईँले चढ्नुपर्ने रेल आइपुग्ने छ । पहिला त तपाईं एक्लै हुनुहुन्छ, तर समय बित्दै जाँदा अरू मानिसहरू पनि त्यहाँ आइपुग्छन् । बिस्तारै मानिसको सङ्ख्या बढदै जान्छ । रेल आएर रोकिँदासम्म त्यहाँ पचासजना जति मानिस हुन्छन् । तपाईं रेलमा चढ्नुहुन्छ र आफ्नो गन्तव्यतिर लाग्नुहुन्छ । 

यो गतिविधिलाई हेरेर निश्कर्षमा यसो भन्न पनि सकिन्छ -स्टेशनमा मानिसहरू थिए र त्यही कारण रेल आउन सम्भव भयो ।

अब यहाँ एउटा प्रश्न गरौँ -के त्यो रेल स्टेशनसम्म आइपुग्नुमा रेल कुर्ने तपाईं र त्यहाँ जम्मा भएका मानिसहरूको भौतिक रूपमा केही भूमिका छ ? सहज जवाफ हो -छैन । ती मानिसहरू  स्टेशनसम्म रेल आइपुग्न सम्भव बनाउने कारण (Cause) होइनन् -उनीहरू जम्मा हुने र रेल आइपुग्ने कुरा अन्तर्सम्बन्धित (Corelated) मात्र हुन् ।

अब अर्को उदाहरण -तपाईंले एक ग्लास पानीमा दुई चम्चा चिनी मिसाउनुभयो भने ग्लासको पानी गुलियो हुन्छ । यो प्रसङ्गमा पानी गुलीयो बनाउनमा चिनीको भूमिका छ । त्यसैले, चिनी ग्लासको पानी गुलियो हुने कारण (Cause) हो ।

यी उदाहरणबाट मैले भन्न खोजेको के भने सबै अन्तर्सम्बन्धित कुराहरू एकअर्काका कारण हुँदैनन् । हामीले जीवन-जगतलाई बुझ्दा र व्याख्या गर्दा ‘कजेसन’ र ‘कोरिलेशन’ छुट्ट्याउन सक्नुपर्छ । कारण र अन्तर्सम्बन्धलाई राम्ररी छुट्ट्याउन नसक्दा विचार सतही हुन्छन् र कुनै विषयका बहुआयामिक जटिलतालाई बुझ्न सकिन्न ।

अब अन्तर्वार्तातिर लागौँ ।

अर्थशास्त्री वाग्लेको मुख्य तर्क छ -नेपालका छिमेकी मुलुकहरू चीन र भारतले जस्तै आर्थिक वृद्धिदरलाई तीब्र बनाएर नेपालले समृद्धि हासिल गर्नुपर्छ ।

देश वा सरकारले आर्थिक वृद्धिदरको तथ्याङ्क प्रयोग गर्नुपछाडिको राजनीति त सजिलै बुझ्न सकिन्छ । मलाई ताज्जुब त्यसबेला लाग्छ जब विद्वान अर्थशास्त्रीहरू पनि आर्थिक वृद्धिदर बढाएर देशलाई धनी बनाउन सकिन्छ भन्ने कुरा गर्छन् । यस्तो तर्कमा एउटा गजबको fallacy छ ।

‘समृद्धि हासिल गर्न आर्थिक वृद्धिदर बढाउनुपर्छ’ भन्नु र ‘मानिसलाई स्वस्थ बनाउन निरोगी बनाउनुपर्छ’ भन्नु उस्तै तर्क हुन् । आर्थिक वृद्धि  वा कुल ग्राहस्थ उत्पादनमा वृद्धि नचाहने संसारमा कुन देश होला ? कुन सरकार वा शासक होला ? भ्रष्ट र निकम्माले चलाएका देशका कुरा छोड्ने हो भने पनि -संसारका धेरै गरीब देशले आर्थिक वृद्धिलाई तीब्र बनाउन आ-आफ्नो ढङ्गले इमानदार प्रयास विगतमा गरेका छन्। अहिले पनि गरिरहेका छन् । तर, सीमित बाहेक बाँकी देश यसमा सफल भएनन् ।

आर्थिक वृद्धि वा समृद्धि आकासमा फल्ने र अङ्कुश लगाएर तान्न मिल्ने कुरा होइननन् । समृद्धि बहुआयामिक अवस्था हो -चाहनाको प्रतिफलमात्र होइन ।  एउटा देश कसरी समृद्ध भयो वा कसरी अविकासको चक्रमै रहिरह्यो भन्ने कुरा व्याख्याको विषय हो । यसका कुनै पनि व्याख्या निरपेक्ष वा अकाट्य हुन्नन् । अमेरिका वा दक्षिण कोरिया कसरी धनी भए भन्ने विषयमा हजारौँ तर्क गर्न सकिन्छ, त्यसका प्रशस्त कारण उधिन्न सकिन्छ । तर, आर्थिक वृद्धि दर बढाएर धनी भए भन्ने तर्कले एउटा देशले हासिल गरेको सकारात्मक परिवर्तन बुझ्न कुनै सहयोग गर्दैन ।

एकपटक यसलाई रेलवे स्टेशनको माथिको उदाहरणबाट हेरौँ -आर्थिक रूपमा सम्पन्न वा विकसित भनिने एउटा देशको कुल ग्राहस्थ उत्पादनमा निरन्तर वृद्धि भएको देखिएला । तर, त्यस देशको सम्पन्नताको कारण आर्थिक वृद्धिदरमा आएको सुधार हो भन्ने तर्क जायज हुन्न -त्यसरी नै जसरी स्टेशनमा मानिस आएकाले रेल त्यहाँसम्म आउन सम्भव भएको हो भन्ने तर्क गलत छ । कारण र अन्तर्सम्बन्ध फरक कुरा हुन् ।

अर्थशास्त्री वाग्लेको दोस्रो तर्क र त्यसमा मेरो विमतितिर लागौँ ।

उहाँ (सारमा) भन्नुहुन्छ भारत र चीन तीब्र आर्थिक वृद्धिको अभियानमा छन् । उनीहरूको लक्ष समृद्धिमात्र हो । नेपालजस्ता देशसँग उनीहरूका केही जायज स्वार्थ छन् । उहाँको आशावादी तर्क छ -छिमेकी देशका केही सानातिना चासोलाई सम्बोधन गर्न सके उनीहरूसँगै समृद्धिको दौडमा दौडमा पाइन्छ ।

अर्थशास्त्रीमात्र नभएर नेपालका अन्य प्रशस्त विद, विद्वानहरू भारत र चीनको परिवर्तनलाई एउटै वर्गमा राखेर व्याख्या गर्न चाहन्छन् । यो दृष्टिकोणमा प्रशस्त समस्या छन् जसको यथेष्ट चर्चा हुनेगरेको छैन । यी दुई देशका वर्तमान अवस्था र त्यहाँ भइरहेका परिवर्तनमा प्रशस्त भिन्नता छन् । भारत र चीन न त आर्थिक-राजनीतिक हैसियतमा समान छन् न उनीहरूका परिवर्तनका चरित्रमा कुनै समानता छ ।

तर, मेरो मुख्य विमति यस कुरामा होइन । मेरो विमति भारत र चीनको तीब्र विकासको फाइदा नेपालले उठाउनुपर्छ र यसो गर्न सम्भव छ भन्ने सोचसँगै छ । 

के धेरै मानिसहरू र अर्थशास्त्री वाग्लेले भनेजस्तै भारत वा चीन साँच्चिकै समृद्धिको 'महाअभियान'मा सफलतापूर्वक हिडिरहेका हुन् ? यो प्रश्न महत्त्वपूर्ण छ । मलाई लाग्छ होइन । समृद्धिको अभियान ती देशका शासकको निरङ्कुश हुने महत्त्वाकाङ्क्षा ढाकछोप गर्ने अस्त्र हुन् । आम जनतालाई अधिनायकवादी शासन र शासकको विरोध गर्नबाट रोक्ने उपाय हुन् ।

भारत र चीनको समृद्धिबारेको आम बुझाइमा समस्या छन् । उदाहरणका लागि भारतलाई हेरौँ । मानव विकास सूचकांकमा भारत आज पनि १९० देशको श्रेणीमा १३४ स्थानमा छ । यसको ६० प्रतिशत जनसङ्ख्या दिनको एक रुपैयाँ आय आर्जन गर्दैन । १२ प्रतिशत जनसङ्ख्या चरम गरीबीको रेखामुनि छ । कुल ग्राहस्थ उत्पादनमा भएको वृद्धिका बाबजुद असमानता बढेको छ । वाग्लेले उल्लेख गर्नुभएको सन् ४७ सम्ममा विकसित देश बनाउने मोदीको घोषणा सफल बनाउन भारतले अब आउने २३ वर्षसम्म निरन्तर कम्तिमा ७.६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्नुपर्छ ।

तसर्थ, भारत समृद्ध हुँदैछ र महाशक्ति राष्ट्र बन्ने लक्षमा अघि बढेको छ भन्ने संकथन नियोजित र भ्रामक छ । भारतको समृद्धिको चित्रभित्र गरीबी, बढ्दो असमानता, सीमान्तीकरण, हिंसा र विभेद लुकेको छ  र यो थप गहिरो हुँदै जाने सम्भावना प्रस्ट देखिएको छ ।

मेरो दोस्रो विमति छिमेकीसँग नेपालले राख्नेगरेको अपेक्षासँग जोडिएको छ । 

के अर्थशास्त्री वाग्लेले भनेजस्तै साँच्चिकै भारत र चीन नेपाललाई त्यति धेरै नै प्रेम गर्छन् कि केही स्वार्थ पुरा भए नेपालको समृद्धिका लागि भरपूर योगदान दिन तम्तयार छन् ?

यसमा मेरो बुझाइ फरक छ । भारत र चीन आर्थिक र सामरिक महाशक्ति हुने महत्त्वाकाङ्क्षाका कारण विगतको तुलनामा थप आक्रामक, असंवेदनशील, गैरजिम्मेवार, छुद्र र हिंसात्मक बन्दै गएका छन् । नरेन्द्र मोदीको धार्मिक राष्ट्रवाद र सि चिनफिङ्को आर्थिक समृद्धि राष्ट्रवाद नेपालका लागि वास्तवमा अवसर नभएर जोखिम हुन् । सन् २०१५ मा नेपालले भोगेको ‘नाकाबन्दी’ यसको एउटा उदाहरण हो । चीन र भारतको हिंसात्मक कुटनीति यसबाट नेपालले भोग्ने सम्भावित क्षति रोक्न प्रशस्त चिन्तन र तयारी गर्नुपर्ने आवश्यकता छ ।

त्यसैले -नेपाल र चीनबिच फ्लाइटको सङ्ख्या बढाएर, ठुलाठुला हवाइअड्डा बनाएर चीनबाट आउने पर्यटकको सङ्ख्या बढाएर, भारतसँग जोडिन लिंक रोड बनाएर, भारतलाई अदुवा र अम्लिसो बेचेर फटाफट आर्थिक वृद्धि गरिहाल्ने तर्क गाउँका बेरोजगार जान्नेसुन्नेले चियापसलमा गरिरहेकै छन् । विद्वानहरूबाट स्रोता, दर्शकले थप मिहिन विश्लेषणको अपेक्षा गरेका हुन्छन् ।

एकपटक सङ्क्षिप्तमा कुल ग्राहस्थ उत्पादनको अवधारणालाई हेरौँ ।

कुल ग्राहस्थ उत्पादन संसारका धेरै मानिसहरूका लागि गरीबी र समृद्धि बुझ्ने सहज सूचक भएको छ । तर, यो सूचक एउटा देशको स्वास्थको सटिक विवरण होइन । कुल ग्राहस्थ उत्पादनले देशको सम्पत्ति कसरी बाँडिएको छ भन्ने देखाउँदैन । यतिमात्र होइन, कुल ग्राहस्थ उत्पादनमा गणना हुने सम्पत्तिभित्र त्यस्ता सम्पत्तिको पनि गणना भएको हुन्छ जसको सम्बन्धित देश वा त्यसका जनताका लागि कुनै अर्थ हुन्न ।

अन्तमा कुरा गरौँ अर्थशास्त्री वाग्लेले कार्यक्रमको सुरुआततिर सुधीर शर्माको प्रश्नमा उठाउनुभएको ‘डेमोग्राफिक स्टोरी’ को ।

Demographic Dividend प्रशस्त प्रयोग हुनेगरेको जार्गन हो । यस जार्गनमा निहित सहज तर्क के हो भने सबल, स्वस्थ र क्षमतावान जनसङ्ख्या आर्थिक समृद्धिको आधार हो । आश्रित जनसङ्ख्याका तुलनामा काम गर्नसक्ने वर्गको जनसङ्ख्या बढी हुनु अवसर हो । वाग्लेको तर्क (मैले बुझेसम्म) नेपालमा अहिले समग्र जनसङ्ख्याको अनुपातमा युवा (सबल, सक्षम) वर्गको अनुपात उल्लेख्य छ र यसमार्फत समृद्धि हासिल गर्ने अनुपम अवसर छ -जसको लाभ उठाइहाल्नुपर्छ ।

सुन्दा निकै नै आकर्षक लाग्ने यो तर्क चीनमा विदेश घुम्न जाने धेरै छन् तिनीहरूलाई नेपाल ल्याएर समृद्धि ल्याउनुपर्छ भन्ने तर्कभन्दा खासै फरक लाग्दैन । नेपालमा अहिलेको युवा जनसङ्ख्या किन देशभित्र उत्पादनको क्षेत्रमा संलग्न हुन सकेको छैन ? यो प्रश्नको जवाफ पनि समग्र संरचना र त्यहाँ विद्यमान जटिलताभित्र नै निहित छ । युवा वर्गलाई उत्पादनशील क्षेत्रसँग जोड्नुपर्छ भन्ने सबैलाई थाह छ -तर त्यसो हुन सकेन । यसका विभिन्न कारण छन् र ती कारण नेपालका समग्र सम्भावना र सीमिततासँग जेलिएका छन् ।

समग्र अन्तर्वार्तामा अर्थशास्त्री वाग्लेले नेपाल अब समृद्धिको मार्गमा हिड्नुपर्छ, आर्थिक विकासको गति बढाउनुपर्छ, उत्पादनका क्षेत्रलाई व्यापक र परिस्कृत गर्नुपर्छ, आन्तरिक क्षमता बढाउनै पर्छ भनेर 'प्यासनेट' भएर धारणा राख्नुभएको छ । मलाई लाग्छ यी विषयमा कहिलै मतभेद थिएन । सबैले चाहेको त्यही नै हो । मूल कुरा परिवर्तन वा समृद्धि कस्तो, कसका लागि र कसबाट हासिल हुने हो र त्यसका प्रयास कसरी सफल बनाउने भन्ने हो ।

अन्तर्वार्तामा गरिएका राजनीतिक विषयका छलफलमा मेरा केही टिकाटिप्पणी छैनन् -किनकि त्यस विषयमा प्रशस्त टिप्पणी भइसकेका छन् । आशा यो चाहिँ गर्न सकिन्छ कि वाग्लेजस्ता सक्षम र सार्वजनिक बहस रुचाउने मानिसहरू राजनीतिमा सक्रिय हुँदा राजनीतिले केही नयाँ सोच र जाँगर पाउनेछ र सकारात्मक परिवर्तनका सम्भावनाहरू बलिया हुनेछन् ।

मलाई लाग्छ सकारात्मक परिवर्तनका लागि योगदान दिन चाहने मानिसहरूले जार्गन वा ठुलठुला कुरा गर्न छोडेर मसिना कुरा बुझ्न सके कति राम्रो हुन्थ्यो ! ‘कुल ग्राहस्थ उत्पादनलाई वार्षिक कति प्रतिशत बढाउने ?’ भन्ने तर्कलाई थन्क्याएर नेपालको भूमि वितरणमा रहेको असमानता, कृषि उपजको मूल्य सुनिश्चितता, स्वास्थ सुरक्षा, आर्थिक गतिविधिमा महिलाको पहुँच, जातीय विभेद र त्यसबाट गुम्न गएका आर्थिक अवसर अन्त गर्ने कार्यक्रम, शिक्षा क्षेत्रको आमूल सुधार, खाद्य सुरक्षा आदिका विषयमा उपर्युक्त नीति र कार्यक्रम बनाउन सके देश आफैँ बलियो हुँदैन र ?! समृद्ध हुने माध्यम त्यही होइन र ?! उत्पादन र व्यापारका क्षेत्रलाई पारदर्शी वा दुरुस्त बनाउने त सरकारको आधारभूत तथा स्वभाविक जिम्मेवारी भित्र पर्ने कुरा होइनन् र ?

ब्लगलाई बिट मार्दै सुधीर शर्मालाई कार्यक्रमको निरन्तरता र लोकप्रियताका लागि हार्दिक शुभकामना !


2 comments:

  1. Vanepachhi yaha je vairakhekochha tyo niyatiko khel ho, vagya le nadiye samma kehi hune wala chhaina vanne puran nai bachan garirakhnu parchha🤣 . Naya soch ka Swarnim haru, Sumana haru lai Nepal 🇳🇵 ko Musk ra Jukerberg ko jasto banna dinu hudaina, hami lai ta yaha vagban pasupainath ko kripa le rakchhya garirakhnu hunchha, satahi jharfuk vaye pugchha, ke lai chahiyo vagwsn koirala, Sanduk Ruit

    ReplyDelete
  2. समसामयिक वस्तुचित्र हो यो। अहिले पनि नेपालको उत्पादनशिल क्षेत्र (कृषि, पशुपंक्षीपालन, वनपैदावार, निर्माण सामाग्री आदि क्षेत्रमा कृयाशील जनशक्ति जो हेर्दा निर्वाहमुखी जस्तो देखिन्छ र जसले राज्यवाट खासै आस गर्दैन अथवा अविछिन्न रुपमा आ-आफ्नो पेशा र कर्मप्रति दत्तचित्त छ लाई राज्यले (कथित औपचारीक अर्थतन्त्र) जोडन सकेको छैन । यसको ठुलो संख्यालाई राज्यद्वारा प्रवर्दन हैन वरु राज्यको विधमान वेथिति र गैर जिम्मेवारीसिर्जित समस्याहरु ( वजारमा समयमा मल विउको अभाव, वजारको पहॅंुच, न्युनतम समर्थन मुल्यको अभाव, कमजोर वित्तिय पॅंहुच , नीतिगत आस्वपस्टता) द्वार प्रताडित छ । तसर्थ यो समुहलाई न्युनतम राज्यको उपस्थितिको प्रत्याभुति गराउन सक्दा मात्रै पनि सकारात्मक परिवर्तनको जग वलियो वन्न जान्छ । नेपालको विशिष्ट आर्थिक सामाजिक परिस्थितिमा चलनचल्तिको अर्थतन्त्रका सुचकमात्र हेरैर / वढाउॅंदैमा सहि अर्थमा समृद्दि आउॅंदैन , र दिगो हॅंदैन। यहा चम्तकारिक उथलपुथल हैन स-साना असल प्रयत्नको खाचो देखिन्छ

    ReplyDelete