यो
नाकाबन्दी
भारतबाट
पेट्रोलियम पदार्थ बोकेका ट्रक नेपाल आउन छाडेको समाचार बाक्लिएपछि एक जना विदेशी
मित्रले मसँग सोधे, “भारतले सीमा नाकाहरू किन बन्द गरिदिएको ?”
म उनलाई
नेपालको समग्र राजनीतिक अवस्था, नयाँ
संविधानमा केही दलको असन्तुष्टि र त्यसमा भारतको चासोको बेलिबिस्तार लगाउन थालें ।
तर, यी कुराहरूको वर्णन गर्दै जाँदा मलाई
नाकाबन्दीबारे प्रष्ट पार्न सफल नभइरहेको महसूस हुँदैगयो । नेपाल–भारत
सम्बन्धको उतारचढाव र दिल्लीको पछिल्लो चासोबारे मेरो व्याख्याको अन्त्यमा मित्रले
फेरि सोधे, “यी सब समस्याको समाधान नाकाबन्दीबाट हुन्छ त ?”
यो प्रश्नको
जवाफ मसँग अहिले पनि छैन । संचारमाध्यममा आउने समाचार र नेपाली राजनीतिको सतही
अध्ययनले मात्र भारतले छिमेकीहरूसँग गर्ने व्यवहारको आकलन गर्न नसकिने रहेछ ।
मोरक्कोमा
एउटा लोकोक्ति छ– वर्षा कहिले हुन्छ भनेर थाहा पाउन भगवानको दिमाग
पढ्न सक्नुपर्छ । २७ वर्षपछि नेपाललाई लगाएको तेस्रो नाकाबन्दीले प्रष्ट पारेको छ– भारतले
कहिले, किन र कसरी नेपालसँगका नाका बन्द गरिदिन्छ भनेर
जान्न पनि ‘भगवानको दिमाग’ पढ्न
सक्नुपर्ने रहेछ ।
नेपाल–भारत
नाका किन बन्द भए ? प्रष्ट छैन । सुनिएका कुराहरू पूर्ण
र पत्यारिला छैनन् । भारतले त नाकाबन्दी गरेको स्वीकारेको पनि छैन, तर
नाकाहरू बन्द छन् । पेट्रोलियम पदार्थ नआएपछि नेपालमा जनजीवन कष्टकर बन्दैछ र
परिस्थिति थप भयावह बन्ने सम्भावना छ । यातायातमा कठिनाई भोगिरहेका मानिस खाना
पकाउने ग्यास, औषधि लगायतका अत्यावश्यक वस्तुको अभाव गहिरिन
थालेपछि अहिलेकै अवस्थामा धैर्यवान भएर बस्लान् भन्न सकिने अवस्था छैन ।
असन्तुष्टि कसप्रति लक्षित र कसरी अभिव्यक्त हुने हो ? यसै
भन्न सकिंदैन ।
कारण र
प्रकृति जेजस्तो भए पनि २७ वर्षयता जन्मेका नेपालीहरूले पहिलोपटक छिमेकी मुलुकले
नाका बन्द गरिदिंदा उत्पन्न संकटको प्रत्यक्ष अनुभव गर्दैछन् । त्यसअघि
जन्मेकाहरूले नाकाबन्दीको दोस्रो अनुभव गरिरहेका छन् । संसारका अन्य भागमा दुई
देशका सम्बन्धमा यस्ता ‘रोमाञ्चक’ घटना कमै
देख्न पाइन्छन् । दुःखकष्टका बीच यो पटकको भारतीय नाकाबन्दी एउटा अमूल्य अनुभवका
रूपमा नेपालको इतिहासमा रहनेछ ।
यो एउटा
यस्तो घटना भएको छ, जसको सेरोफेरोमा वर्तमान नेपालका धेरै जटिलता
फुकाउन सकिन्छ । नाकाबन्दी भारतले गरेको हो, तर यसले
नेपाललाई आत्मबोध गर्ने अवसर दिएको छ ।
सार्वभौमिकताको अभ्यास
नेपालका
लागि आधुनिक राज्यको अवधारणा धेरै पुरानो होइन । पश्चिमी राष्ट्रहरूसँग राज्यका
औपचारिक संस्थाहरूको निकै लामो अनुभव भए पनि आम जनतामा उसको उपस्थिति बलियो रूपमा
स्थापित भइसकेको छैन । नेपालका दूरदराजका गाउँहरूका मानिस राज्यलाई चिन्दैनन्, राज्यले पनि उनीहरूलाई चिनिसकेको छैन । यस अर्थमा, नेपाल र नेपालीका लागि आधुनिक सरकारको अवधारणा अझ्सम्म पनि परीक्षण र
अभ्यासकै विषय हो ।
यसो भन्दैमा
नेपालको सार्वभौमिकता मिथ्या हो भन्न मिल्दैन । कुनै बाह्य मुलुकसँगको विशेष
सम्बन्ध, निर्भरता वा आसक्तिका आधारमा मात्र
सार्वभौमिकताको आकलन गरिनु पनि जायज होइन । त्यसो गर्ने हो भने संसारमा चानचुन एक
दर्जन मुलुकबाहेक अरूलाई सार्वभौम भन्न मिल्दैन ।
राष्ट्रजस्तै
सार्वभौमिकता पनि धेरै हदसम्म परिकल्पना (इम्याजिनेशन) को कुरा हो । स्थापनाको
करीब ३०० वर्षमा इतिहासका पाठ, गीत–कविता
वा निबन्धहरूबाट सार्वभौमिकताको ‘इम्याजिनेशन’ निर्माण गर्न सफल भएको छ, नेपाल राज्य ।
नेपालीहरूमा सार्वभौम मुलुकको नागरिक भएको चेत स्थापित छ र यो गर्वको विषय
बनिसकेको छ ।
सार्वभौमिकताको
सही अभ्यासमा भने नेपाल कमजोर छ । नेपालको सार्वभौमिकता विभिन्न देशका
दूतावासहरूमा हुने गोप्य मन्त्रणा, खुला रात्रिभोज
तथा नेता र उच्च पदस्थ कर्मचारीहरूको विदेश भ्रमण, छात्रवृत्ति
वा औषधोपचारका ‘सिफारिश–पत्र’ अनि विदेशीका अगाडि पर्दा अनुभव गरिने हीनताबोधबाट ग्रसित छ । अर्कोतर्फ, नेपालको सामान्य राजनीतिक प्रक्रियामा पनि आफ्नो सहभागिता खोज्ने ‘ठूलो’ छिमेकीको प्रवृत्तिले परस्पर शंका र
अविश्वास बढाएको छ, जुन अहिलेको नाकाबन्दीबाट चरम रुपमा
प्रकट भएको छ ।
नेपाल–भारत सम्बन्धमा पछिल्लो शंकट प्रस्तुत गर्ने घटनाक्रम नियाल्दा
सार्वभौमिकताको पाश्चात्य परिभाषा आत्मसात् गर्ने कुरामा दुवै मुलुक निराशाजनक
रुपमा कमजोर रहेको देखिन्छ र भन्न कर लाग्छ– सार्वभौमिकताका
विषयमा अब दुवैले एउटै कक्षाकोठामा बसेर धेरै पाठहरू पढ्नुपर्छ ।
विविधता
व्यवस्थापन र मधेश
प्रष्ट छ– नेपालको एउटा पेचिलो प्रश्न हो– मधेश । यो पनि
उत्तिकै प्रष्ट छ– विविधताको व्यवस्थापन र संरक्षण
गर्ने चुनौतीमा पेचिला प्रश्नहरूको सामना गर्ने नेपाल एक्लो मुलुक होइन । जातीय–भाषिक–क्षेत्रीय विविधता भएका दक्षिण अफ्रिका, बोलिभिया, स्वीट्जरल्याण्ड, बेल्जियम, इराक, टर्की
आदी र स्वयं भारतले पनि विविधता व्यवस्थापनमा चुनौती
भोगेका छन्, भोगिरहेका छन् ।
लगभग एकल
जातीय जनसंख्या भएका चीन, जर्मनी, फ्रान्स
आदि मुलुकले समेत विविधता व्यवस्थापनका नयाँ चुनौती सामना गर्नुपरिरहेको छ । चीनले
मुस्लिम युगुर, जर्मनीले टर्किस (अहिले सिरियन) तथा
उग्र राष्ट्रवादी र फ्रान्सले रोमा व्यवस्थापनको चुनौती झेलिरहेका छन् । विविधताको प्रश्नसँगै जोडिएर
आउने राष्ट्रिय अखण्डताको प्रश्न पनि भारतलगायत संसारका विभिन्न मुलुकका लागि नयाँ
होइन ।
हाम्रो तराई–मधेशमा जारी आन्दोलनले जातीय-क्षेत्रीय विविधता व्यवस्थापन प्रयासमा
नेपालले झेलिरहेको चुनौती
देखाउँछ । मधेशलाई बुझ्न नचाहने गैर–मधेशी राजनीतिक नेतृत्व
र मधेशका मुद्दा भजाएर राजनीतिक महत्त्वाकांक्षा पूरा
गर्न चाहने मधेशवादी दुवैतर्फको व्यावहारिक सोचको अभावले यो चुनौतीलाई गहिरो
बनाइदिएको छ ।
एकातर्फ
सतही राष्ट्रवादी सोचले ओतप्रोत गैरमधेशी राजनीतिक नेतृत्व नेपालका मधेशीलाई ‘विदेशी’ का रूपमा चिन्छ भने अर्कोतर्फ मधेशी
नेताहरूको कुनै हिस्सा मधेशी समुदायमा अवास्तविक शंका र अनियन्त्रित पूर्वाग्रहको
भावना भर्न उद्धत छन् । दुवै समूह अन्तरसांस्कृतिक सम्बन्धका होचो–अर्घेलोभन्दा माथि उठेर भविष्यमुखी व्यावहारिक संवाद गर्न चाहँदैनन् या
त्यसमा अक्षम छैन् ।
यसमा सुखद्
पक्ष के छ भने मधेशी, गैर–मधेशी दुवैतिर
यस्ता अतिवादीको संख्या निकै सानो छ । मधेशमा मधेशी र गैर–मधेशीबीचको
आर्थिक–सांस्कृतिक सम्बन्धको गाढापन बुझ्नेहरू अहिले मौन
भएपनि अतिवादीहरूका तुलनामा त्यो जमात धेरै ठूलो छ । सोसल मिडियामा देखिने आक्रोश, घृणा वा केही व्यक्तिहरूको सुनियोजित अभियानलाई अलग राखेर हेर्ने हो भने
नेपाली समाजमा मधेशी र गैर–मधेशबीचको ऐतिहासिक सम्बन्धप्रतिको
चेत यथेष्ट देखिन्छ ।
केही
हिंसात्मक घटनाका बाबजूद मधेशको आन्दोलन समग्रमा शान्तिपूर्ण थियो र छ । कतिपय
ठाउँमा आन्दोलनकारीको कमजोर नेतृत्वका कारण हिंसाका घटना भए भने कहिं
सुरक्षाकर्मीको प्रतिशोधपूर्ण व्यवहारले आन्दोलनलाई हिंसात्मक बनाएको देखिएको छ ।
त्यसैगरी, यो आन्दोलन आन्दोलनलाई जातीय द्वन्द्वका
रूपमा फैलाउने केही पक्षको प्रयास असफल भइसकेको छ । यी सब कुराले विविधता
व्यावस्थापनको अवसरलाई सुरक्षित बनाएको छ ।
संविधान
निर्माणमा अदुरदर्शीता
माओवादीको
हिंसात्मक आन्दोलन र मधेश आन्दोलनलाई व्यवस्थापन गर्दै समावेशी, सहभागितामूलक राज्यसंरचना बनाउने आधारका रूपमा बुझ्एिको नयाँ संविधान
नेपालका लागि बोकाका मुखमा कुभिण्डो सिद्ध भयो ।
लामो समय
अनुपयोगी बहसमा खर्च गरेका राजनीतिक दलहरू संविधान बनाउने प्रभावकारी प्रक्रिया तय
गर्न र मूल मुद्दामा फलदायी छलफल चलाउन असफल हुँदा यस्तो परिस्थिती सिर्जना भयो ।
संविधान बनाउने नाममा समय बिताउँदै जाँदा संक्रमणकालीन बेथिति र आम जनताका दुःखहरू
बढ्दै गए । यसले छटपटी र निराशा थप्यो । वर्षौंदेखिको किचलोबीच संविधान जारी हुने
समय आइपुग्दा अधिकांश मानिस वाक्क भइसकेका थिए ।
महाभूकम्पले
नेताहरूलाई जोडले हल्लाएपछि जसोतसो एउटा संविधान बन्ने संभावना बढेसंगै त्यसमा
आफ्ना कुरा पारिछाड्नेहरूको होडबाजी सुरु भयो । त्यसक्रममा एकथरीलाई खस–आर्य समुदायको घनघोर चिन्ता भयो । फलतः उनीहरूका लागि आरक्षणको व्यवस्था
नगरी संविधान जारी गर्न असम्भव भयो । अर्को पक्ष आफूले चाहेजस्तो प्रदेश नबने नयाँ
संविधान जलाउन कटिबद्ध भयो । यस्तो चेपुवाका बीचमा नयाँ संविधान जारी त भयो, नयाँ द्वन्द्व पनि सँगै लिएर आयो ।
समग्रमा, संविधान लेख्ने राजनीतिक शक्तिहरूले नेपालको संविधानलाई सम्झैताको
दस्तावेजका रूपमा बुझ्न–बुझाउन सकेनन् । अपेक्षा मात्र होइन, डरलाई पनि सम्बोधन गर्नुपथ्यो, संविधानले । तर, प्रमुख दलका नेताहरूले दूरदृष्टिका साथ यो चुनौती स्वीकार्न असहज माने ।
नेताहरू यति ‘भविष्यमुखी’ भए
कि उनीहरू भोलि चुनाव जित्न संविधानका अक्षरहरूलाई कसरी सहायक बनाउने भन्नेमा
केन्द्रित हुन पुगे ।
संविधान
जीवित दस्तावेज हो र यसमा परिवर्तन हुन्छ भन्ने धारणा पनि स्थापित नहुदा यसलाई
प्रस्थानबिन्दु मानेर अघि बढ्ने विषयमा मत्यक्य भएन ।
आन्दोलनका
संभावित उपलब्धि
मधेश
आन्दोलनले फेरि एकपटक नेपालको सामाजिक संरचनाभित्रका अन्तरविरोधहरूलाई प्रष्टसंग
सतहमा ल्याइदिएको छ, जसले मधेश–पहाडबीचको
वास्तविक र काल्पनिक ‘दूरी’ लाई
उजागर गरेको छ । आन्दोलनले काठमाडौंलाई कडा चुनौती दिन मधेश सक्षम छ भन्ने पनि
देखाइदिएको छ । यसको पाठ मधेशी, गैर–मधेशी सबैका लागि उपयोगी छ, किनभने यसले
नेपालको सार्वभौमिकताको प्रश्न कति पेचिलो र संवेदनशील छ भन्ने पनि देखाइदिएको छ ।
माथि नै
भनियो, राजनीतिक द्वन्द्वमा सार्वभौमिकताको प्रश्न
प्रायः गाँसिएकै हुन्छ, एक हदसम्म नियन्त्रित गरिएको भए
पनि । अन्तर्वस्तुमा जे सुकै भए पनि राजनीतिक आन्दोलनको चरित्र–उद्देश्यलाई ‘घरभित्रको मामिला’ भनेर व्याख्या गरिन्छ, तर पछिल्लो मधेश
आन्दोलनका दौरान यो सिद्धान्त लागु भएन र परिणामका हिसाबबाट यसले सार्वभौमिकताको
रक्षामा नेपालका चुनौती उजागर गरेको छ ।
सम्भावित
दीर्घकालीन प्रभावका दृष्टिकोणबाट हेर्दा भने अन्य राजनीतिक आन्दोलन जस्तै यो पनि
भविष्यमा सकारात्मक हुने आशा गर्न सकिन्छ ।
अमेरिकाका
चर्चित राजनीतिक विश्लेषक फरिद जकारियाले विश्वका विभिन्न ठाउँमा भइरहेका राजनीतिक
आन्दोलन वा विद्रोहको साङ्गोपाङ्ग विश्लेषण गर्दै एउटा रमाइलो तर्क अघिसारेका छन्
। जकारिया लेख्छन्– ‘विभिन्न अल्पविकसित मुलुकमा निर्वाचित तर अनुदार
शासकले जनभावना विपरीत शासन चलाउने प्रवृत्ति बढ्दो छ । पेरुदेखि प्यालेस्टाइनसम्म, सियरालियोनदेखि स्लोभाकियासम्म, पाकिस्तानदेखि
फिलिपिन्ससम्म लोकतन्त्रका नियम वा संस्थाहरूको प्रयोग अनुदार र अलोकतान्त्रिक
राजनीतिक शासन पद्धतिका लागि भइरहेको छ ।
तसर्थ, निर्वाचित तानाशाहका अलोकतान्त्रिक शासनको प्रतिरोध गर्न जनस्तरबाट हुने
राजनीतिक आन्दोलनको भूमिका झ्नै बढेर गएको छ ।’ उनको
विचारमा, यस्ता विद्रोह वा आन्दोलनले तत्कालका लागि
अप्ठेरो परिस्थिति सिर्जना गरेपनि कालान्तरमा उदार लोकतन्त्रको विकासमा उपयोगी
हुन्छन्, अहिलेको विश्व परिवेशमा निर्वाचित तर अनुदार
लोकतन्त्रको सही उपचार आन्दोलन नै हो । आन्दोलनको यो सकारात्मक पाटोसँगै
जवाफदेहिताको पक्षमा ध्यान दिनुपर्छ ।
मधेश
आन्दोलन अहिले लगभग उत्कर्षमा छ र यस्तो वेला आन्दोलनकारी शक्तिहरूलाई सहजताको लाभ
हुन्छ– अडानमा अडिग रहन पाइने र द्वन्द्व सिर्जित
कठिनाईप्रति ठूलो जिम्मेवारी पनि नहुँने । आन्दोलन सकिएपछि भने जवाफदेहि र
जिम्मेवारी एकाएक बढ्न पुग्छ । आन्दोलनको औचित्यबारे मानिसहरूले वर्षौंसम्म प्रश्न
गरिरहन्छन् । आन्दोलनको नेतृत्वले आफ्नो राजनीतिक क्षेत्रबाट जटिल अपेक्षा र
प्रश्नहरूको सामना गर्नुपर्छ । मधेशी नेताहरूले पनि मधेशका विभिन्न जातीय, भाषिक, धार्मिक समूहहरूसँग समन्वय गर्नुपर्नेछ ।
आन्दोलनको
औचित्य पुष्टि कति मानिस सडकमा आए वा कतिले शहादत प्राप्त गरे भन्ने कुराले नभई
आन्दोलनका उपलब्धिहरूले आम मानिसको जीवनमा कत्ति सकारात्मक प्रभाव पार्यो भन्ने मूल्यांकनबाट हुन्छ । माओवादीको हिंसात्मक विद्रोह र विगतको मधेश
आन्दोलन यो पक्षमा कमजोर रहेको सबैले देखे–भोगेकै हो ।
मधेश र अरू
राजनीतिक
आन्दोलन ज्वालामुखी जस्तै हुन्छ, जुन बिस्फोट हुँदा फैलिने
खरानीले धेरै कुरालाई छोपिदिन्छ, सबै कुरा लगभग उस्तै
देखिन्छन् । नयाँ संविधान जारी हुने क्रममा चर्केको मधेश आन्दोलनको ज्वालामुखीले
पनि कतिपय यथार्थहरूलाई छोपिदिएको छ । कति समूहका अपेक्षा–आशंकालाई
गौण बनाइदिएको र स्वाभाविक प्रश्नका सरल जवाफहरूलाई जटिल बनाइदिएको छ । तर, अवस्था जतिसुकै अप्ठेरो भए पनि नयाँ संविधानलाई नेपालको ऐतिहासिक उपलब्धि
मान्नुपर्छ ।
कुनै पनि
संविधान पूर्ण र अजर–अमर हुदैन । विभिन्न कमि–कमजोरीका
बाबजूद नेपालको संविधान २०७२ ले २००४ सालदेखि थाती रहेका राजनीतिक अजेण्डाहरूको
व्यवस्थापन गरेको छ । निरंकुश राज्यसंरचनाका आधारहरू भत्काईदिएको छ । समावेशी, सहभागितामूलक, लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको राजनीतिक ‘कोर्स’ नयाँ संविधान जारी भएसँगै सकिएको छ र
भविष्यको दैलो उघ्रिएको छ । यद्यपी, संविधान लेखनमा
संलग्न राजनीतिक शक्तिहरूले जनतासँग आवश्यक संवाद गर्न नसक्दा नयाँ संविधानका
राम्रा पक्षहरू मधेश आन्दोलनको ज्वालामुखीबाट निस्केको खरानीले ढाकिएको छ ।
मधेशी
मध्यमार्गी, सञ्चारमाध्यम, नागरिक
समाज आदिको भूमिका पनि प्रभावकारी हुन नसक्दा मधेशको आक्रोश यथार्थभन्दा भावनामा र
सामाजिक संरचनाभन्दा सांकेतिक हेपाइमा केन्द्रित भएको छ । नयाँ संविधानका नागरिकता, संघीयता, निर्वाचन क्षेत्र आदिका प्रावधानलाई
लिएर मधेशी युवालाई गलत ढंगले प्रशिक्षित गरिदा निराशा र आक्रोश बढेको छ । मधेश
आन्दोलनको ज्वालामुखीले नेपालको संरचनागत विभेदको बहुआयामिक विशेषतालाई पनि
ढाकिदिएको छ ।
नेपालको
परम्परागत, केन्द्रीकृत र एकांकी राज्यसंरचनाले निर्माण
गरेका विभेदका आयामबाट प्रताडित नहुने नेपाली कमै छन् । विभेदको संरचना यति धेरै ‘क्रसकटिङ्ग’ (एकसाथ विभिन्न समूहलाई छुने) छ कि कुनै
एउटा क्षेत्र, समूह वा समुदायलाई निरपेक्ष रूपमा
लाभान्वितका रूपमा चित्रण गर्न गाह्रो छ । सीमान्तीकृत भनिएका समुदायभित्रै पनि
विभेद र असमानताका आयामहरू छन् । यो यथार्थलाई मधेश आन्दोलनले तत्कालका लागि ओझेल
पारेको छ । संविधानले नाम किटेर सम्बोधन नगरेका र विशेष प्रावधानले नसमेटेका समूह
थुप्रै छन्, तर मधेश आन्दोलनले परम्परागत राज्यसंरचनाको
विभेदले पछि पारेको समूह मधेशी मात्र हो र मधेशीको जनसंख्या ठूलो भएकाले उसले
मात्र विशेष संविधानप्रदत्त हक पाउनुपर्छ भन्ने बुझाई स्थापित गरिरहेको छ ।
समष्टिमा, मधेशी राजनीतिकर्मीहरू संविधानसभाको बहुमतले अल्पसंख्यकलाई नसमेटेको
अडानका आधारमा मधेशको बहुमतको हितको रक्षा गर्ने संवैधानिक प्रबन्धको माग गरिरहेका
छन् । संविधान संशोधनका क्रममा समाधान कसरी खोजिन्छ, हेर्न
बाँकी छ ।
बन्द, समाज
र अर्थतन्त्र
भनिन्छ, जसको मेरुदण्ड हुँदैन उसलाई त्यो भाँचिने चिन्ता हुंदैन । कृषिजन्य
उत्पादन, विप्रेषण र वैदेशिक सहयोगमा आधारित नेपालको
अर्थतन्त्र उसै पनि जर्जर छ । सरकारको पारदर्शिता र प्रभावकारिता पनि संक्रमणकालको
बहानामा रछ्यानमा पुगेको छ । आम नेपालीको जनजीविका ‘भगवानको
भरोसा’ मा छ । राज्यको सेवा दयनीय छ । त्यसमाथि, महाभूकम्पले अर्बौंको क्षति थपेको छ । यो अवस्थाको अर्थतन्त्रलाई मधेशको
बन्दले थप कमजोर कसरी बनाउला र ?
यद्यपि, अर्थतन्त्रको संकट लम्बिंदै जाँदा सामाजिक असुरक्षा बढ्दै जान्छ, जसको प्रत्यक्ष प्रभाव निम्नवर्गका मानिसहरूमा बढी पर्छ । मधेश आन्दोलनले
दूरगामी रूपमा लोकतन्त्रलाई संस्थागत गर्न त सघाउला तर, यही कारण सरकारको सामाजिक सुरक्षा र आधारभूत सेवा प्रवाह क्षमता धराशायी
हुँदा दैनिक जनजीवन अस्तव्यस्त हुन जान्छ । यसबाट आन्दोलनको चरित्र झ्नै जटिल बन्न
सक्छ र सामाजिक संकट गहिरिन्छ । मधेश आन्दोलनले नेपालको भविष्यलाई दूरगामी रूपमा
असर पार्नेछ भन्ने विश्लेषण भने सही नहुन सक्छ ।
धेरैले
प्रत्यक्षरूपमा देखेको तर थोरैले चर्चा गर्ने गरेको नेपाली समाजको विशेषता यसको
लचकता (रेजिलिएन्स) हो । नेपालीहरूमा दुःखलाई छिट्टै बिर्सनसक्ने क्षमता र
प्रतिशोधलाई करुणामा बदल्न सक्ने खूबी छ । नेपालीहरू कष्टका बीचमा पनि हाँस्ने
फुर्सद निकाल्छन् । पाश्चात्य समाजशास्त्रीय शिद्वान्तहरूले व्याख्या नै गर्न
नसक्ने अदम्य विशेषता छ, नेपाली समाजमा ।
नेपालीहरूले
दशक लामो गृहयुद्ध र १७ हजार मानिसको मृत्यु सहेका छन् । जनआन्दोलन र मधेश
आन्दोलनका क्रममा भएका हिंसा र कठिनाई झेलेका छन् । अतिवादी कम्युनिष्ट वा जातीय समूहको
प्रतिनिधित्व गर्ने नाममा गठन भएका आपराधिक समूहका बम र खुकुरीबीच ज्यान जोगाएर
हिंडेका छन् । र, विनाशकारी महाभूकम्पको त्रासदीका बीच जुरुक्क
उठेर घरको कामधन्दामा जुटेका छन् । त्यसकारण, नेपाललाई
अहिलेको मधेश आन्दोलनले विक्षिप्त बनाउन सक्दैन ।
मधेशीसहितको राष्ट्र र नाकाबन्दी
भनिन्छ, नयाँ धुन सिक्न पहिले जानेका गलत ‘नोट’हरू बिर्सन सक्नुपर्छ । हामी नयाँ धुन सिक्न लालायित त छौं तर पुराना ‘नोट’हरूको प्रभावबाट आफूलाई अलग राख्न निकै गाह्रो
भइरहेको छ । पुरानामध्येको यस्तै एउटा ‘नोट’ हो– राष्ट्रिय अखण्डता । तर, राष्ट्रिय अखण्डताको रक्षा वा प्रवद्र्धन त्यो वेला हुनसक्छ जब सबै
नागरिकले बराबर अधिकार र अवसर पाउँछन्, कमजोरले
राज्यबाट केही बढी आडभरोसा र संरक्षण पाउँछन् । सबै वर्ग र समुदायबीच सद्भाव बढ्छ
र हामी शंकालाई विश्वासमा बदल्छौं ।
नेपालमा
राष्ट्रिय अखण्डताका धेरैजस्तो हिमायतीहरू सेना र प्रहरीले सीमामा पहरा दिएर
जोगाइदिने राष्ट्रिय अखण्डताको पक्षपाती जस्ता लाग्छन् । संघीयता, समावेशिता र सकारात्मक विभेदको आलोचना गर्नेहरू के बुझ्दैनन् भने
राष्ट्रिय अखण्डता यी सब हुँदा होइन, नहुँदा संकटमा
पर्छ । मधेशवादी दल र मधेश समर्थकहरूको एकोहोरो विरोध गर्ने, मधेशका अपेक्षा नमान्ने र राज्यसंरचनामा समाहित गर्ने उपायको खोजी नगर्ने
प्रवृत्ति पनि अहिलेको जटिलताको कारक हो । तर, आन्दोलनका
दौरान मधेशमा उठेका स्वरहरूले मधेशी विनाको नेपाल पूर्ण र सार्थक नहुने कुरा थप
प्रष्ट पारेको छ । मधेशलाई सदैव शंकाको दृष्टिकोणले हेर्नेहरूले आन्दोलनमा उठेका
स्वर र त्यसभित्रका अपेक्षाहरूलाई राम्रोसँग बुझ्नुपर्छ ।
हो, अहिले भारतले ‘मधेशी नेताहरूको अपेक्षा सम्बोधन
गराउन’ नाकाबन्द गरिदिएको छ । मधेशी नेताहरूले यसलाई
स्वागत गदै नाकाबन्दीलाई सफल बनाउन आफैं जुटेका छन् । यी सतहका कुरा हुन् । सतहका
यिनै कुरालाई आधार मानेर भारतले नेपालमाथि लगाएको नाकाबन्दीमा मधेशीको मात्र
भूमिका देख्नु चाही नेपालको इतिहास र भारतीय शासनसत्ताको मूल चरित्र नबुझ्नु हो ।
केही
वर्षअघि दिल्लीमा आयोजित छलफलमा एक जना सेवानिवृत्त भारतीय अधिकारीले यो
पंत्तिकारसँग भनेका थिए–“भारतीय महाद्वीपमा विभिन्न सार्वभौम राष्ट्रहरू
छन्, तर वास्तवमा यो एउटै ठूलो तलाउ हो । यसको कुनै
कुनामा हानेको ढुङ्गाले पूरै तलाउमा छालहरू पैदा गर्छ ।” उनी एक सज्जन भारतीय हुन् र नेपालको सार्वभौमिकताको अपमान गर्न चाहेका
थिएनन् । उनमा नेपालप्रति ठूलो सम्मान पनि छ, तर उनको
भनाइबाट भारतीय कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वको छिमेकी राष्ट्रहरूप्रतिको
दृष्टिकोणमा रहेको कठिनाई बुझ्न सकिन्छ ।
भारतीयहरू
नेपाललाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार त गर्छन्, तर सार्वभौमिकताको समकालीन मान्यताका आधारमा द्विपक्षीय सम्बन्धलाई
व्यवस्थापन गर्न चाहदैनन् वा जान्दैनन् । उनीहरू ‘भारतीय
सभ्यता’ को परम्परागत मान्यताबाट निर्देशित छन् र
त्यसको केन्द्रमा आफैंलाई राख्छन् । त्यसमाथि, भारत यतिवेला
उपनिवेशकालपछिको सबभन्दा जटिल मोडबाट गुज्रिरहेको छ । मनमोहन सिंह नेतृत्वको
सरकारविरुद्ध नरेन्द्र मोदी र उनी निकट धार्मिक संगठनहरूले चलाएको तुफानी निर्वाचन
अभियान सफल भएपछि भारतको राज्यसत्तामा धार्मिक अतिवादको प्रभाव बढेको छ ।
मोदीको
राजनीतिक उदयसँगै मुस्लिम, दलित र आदिवासीहरूमाथि राज्यसंरक्षित हिंसा
बढ्दै गएको छ । राज्यका प्रायः सबै अङ्ग र निकायमा भाजपा निकट धार्मिक अतिवादी
संगठनहरूको दबदबा छ । उदार लोकतन्त्रका पक्षपातीहरू धार्मिक अतिवादीको निशानामा
पर्न थालेका छन् । यसले भारत स्वयंलाई एकातिर अभूतपूर्व रूपमा विभाजित बनाएको छ
भने अर्कोतिर अल्पसंख्यक जाति तथा समुदायको राजनीतिक अधिकारलाई संकुचित गरिदिएको छ
। राज्यव्यवस्थामा हिन्दू अतिवादीहरूको बढ्दो प्रभुत्व छिमेकीसँग भारत सरकारले
गर्ने व्यवहारमा प्रत्यक्ष रूपमा प्रतिबिम्बित भइरहेको छ । दुर्भाग्यवश, यसको प्रभाव यतिवेला नेपालमा परेको छ । यसले देखाउँछ, सार्वभौमिकता निरपेक्ष कुरा होइन, गरीब मुलुकका
सन्दर्भमा त झ्नै होइन ।
दुई छिमेकी
देशका सम्बन्धमा उतारचढाव आउँछन्, तर यही उतारचढाव र
मनमुटावका आधारमा छिमेकी राष्ट्रका जीवन रेखाहरू थुन्ने कुकाम कुनै राष्ट्रले
गर्दैन । तर, नेपालको हकमा भारतले ग¥यो । यो नाकाबन्दीको समर्थन गरेर मधेशी दलहरूले आफ्नो आन्दोलनलाई सशक्त
बनाएका छन्, यसमा शंका छैन । नाकाबन्दीको पृष्ठपोषण
गर्दा आफूलाई पर्ने दूरगामी असरको मूल्यांकनमा भने उनीहरू पुरै चुकेका छन् । समयको
मात्र कुरा हो, नाकाबन्दीको त एकदिन अवश्य अन्त हुन्छ ।
त्यसपछि राष्ट्रिय राजनीतिमा उठ्ने असंख्य प्रश्नहरूको जवाफ दिनमा मधेशी दलहरू
सक्षम होलान् कि नहोलान् ? यो कुरा थाहा पाउन केही
समय पर्खिनुपर्ने हुन्छ ।
नेपालका गैर–मधेशी अतिवादीहरू मधेशी समुदायलाई ‘भारतप्रति
बढी आसक्त’ भएको आरोप लगाउँछन् । मधेशी दलहरूले भारतीय
नाकाबन्दीका पक्षमा गरेको शक्ति परिचालनले यो आरोपलाई बल पुर्याएको छ । मधेशी दलको यस्तो कार्यप्रति असहमत लाखौं मधेशी आफूले नगरेको गल्तीको
जवाफ दिन बाध्य हुनुपर्ने परिस्थिति सिर्जना भएको छ । यद्यपी, राजनीतिक लाभका लागि भारतको आडभरोस खोज्ने मधेशी मात्र होइनन् । यो पटक त
जनजाति नेताहरू पनि भारतीय दूतावास गएर नाकाबन्दीको समर्थन गरेर फर्केको समाचार
आएका छन् ।
छिमेकीको आड
लिएर आफ्नो घरमा ढुङ्गा फ्याँक्ने काम अल्पकालका लागि फलदायी होला, तर दीर्घकालीन अपेक्षाको हित गर्दैन । आन्दोलनको नेतृत्व गर्ने राजनीतिक
शक्तिले आन्दोलनपछिको परिस्थितिको पनि आकलन गर्न सक्नुपर्छ । मधेशी दलले दशगजामा
बसेर आन्दोलन गरेको कुराको हिसाबकिताब भविष्यमा पेश गर्नुपर्नेछ । सोधिएका र
नसोधिएका धेरै प्रश्नहरूको जवाफ दिनुपर्नेछ ।
अत्यन्त
नाटकीय शैलीमा भएको यो उत्तरआधुनिक नाकाबन्दीले एउटा पक्ष मात्र होइन सबै पक्षका
कमी–कमजोरीलाई उजागर गरिदिएको छ । भलो यसमा हुनेछ कि
सबैले यो उदेकलाग्दो नाकाबन्दीबाट पाठ सिकुन् र आ–आफ्ना
कमजोरीलाई आत्मसात् गरून् । परस्पर सम्मान र स्वाधीनताको महत्त्व बुझून् । छिमेकीलाई यथास्थानमा राख्न सिकून् ।
हिमाल खबरपत्रिकामा प्रकाशित
@sanpokh
हिमाल खबरपत्रिकामा प्रकाशित
@sanpokh
No comments:
Post a Comment