धनगढीको काम सकेर
अत्तरियाबाट उँभोलाग्दा साँझको ५ बजिसकेको थियो । त्यस रात बुडरमा बास बस्ने निधो
भयो । बाटामा कुनै ठूलो अवरोध नभए डेढ घण्टामा बुडर पुगिहालिन्छ । पिपलचौतारी
होटलमा बास बसेर भोलिपल्ट बिहानै डडेलधुराको जोगबुढा जाने र बिहानको खानापछि स्याउले
बजार उक्लिने सल्लाह गर्यौँ ।
अत्तरियाको अत्यासलाग्दो
गर्मी छलेर बुडर उक्लिन नपाउँदै झोलाबाट सुइटर, ज्याकेट निकाल्ने हतार भइहाल्छ ।
उसै त सदाबहार चिसो स्याँठ त्यसमाथि त्यसदिनको उराठलाग्दो झरी । सहकर्मी राजुले
होटल साहुसँग खासखुस गरेर लोकल कुखुराको मासु र भातको बन्दोबस्त गरिहाले । भात
कुर्दाको अल्छी काट्न निराजनले मोबाइलबाट सुदूर-पश्चिमको भाखा घन्काए -
बुडर पुग्नुअघिको चर्चित भासुभिर |
चौबन्दी ढाकाको चोलो छिटका
फरिया की
बाँचकली घर काँ हो तम्रो
बैँस भरियाकी
राइझुमा झुमा क्या
मस्क्याकी छौ हो राइझुमा ।
भोलिपल्ट राम्रोसँग घाम
झुल्किन नपाउँदै हामी जोगबुडातिर सोझियौँ । राजुले गाडीको रेडियो खोले । समाचार
वाचकहरू ठूलोठूलो स्वरमा उत्साहित भएर ‘फलानो नेता फलानोसँग छलफल गर्दै, सहमति
जुटाउने प्रयास जारी, बन्दको घोषणा यथावत, संविधानसभाको बैठक बस्ने’ आदिआदि समाचार
पढ्दैथिए । राजुलाई अल्छि लागेछ क्यारे –‘तेसका बाजे’ भन्दै एकैछिनमा रेडियो बन्द
गरे ।
पूरानो जोगबुडा गाविस ।
हालको नयाँ नगरपालिका । जनसंख्या लगभग ५० हजार –समग्र डडेलधुरा जिल्लाको आधा
भनेपनि हुन्छ । बुडरबाट ३५ किलोमिटर कच्चिबाटो । यात्रा झन्डै २ घण्टाको ।
वर्षायाममा खोला बढ्छन्, गाडी चल्दैनन् ।
सुदूरपश्चिमको अविकासको पोल
जोगबुडाको नवघोषित अस्पतालले पनि राम्रैसँग खोल्नसक्छ । दुई डाक्टर र अन्य
स्वास्थ्यकर्मी भएको १५ सैयाको अस्पतालले नगरपालिका र वरपरको ठूलो जनसङ्ख्यालाई
सेवा दिइरहेको छ । कर्मचारीले बलबुताले भ्याएको गरेकै छन् । तर, जोगबुडालाई
अस्पताल भन्नका लागि आवश्यक न्युनतम पूर्वाधार छैनन् । सामान्य एक्स-रे र ल्याब त
छन् तर सुत्केरी जाँचका लागि अत्यावश्यक अल्ट्रासाउन्ड मसिन छैन । आधारभूत र कम
खर्चिलो मानिने इसिजी सेवा छैन । अस्पतालसँग एम्बुलेन्स छैन । सुत्केरी गराउँदा
गराउँदै बत्ती जान्छ, यस्तो बेला चाहिने वैकल्पिक बत्तिको व्यवस्था छैन । सामान्य
खालकै विसञ्चो वा सुत्केरीमा समस्या भए धनगढी वा अन्य ठाउँ जानुको विकल्प छैन ।
विकास-निर्माणका लागि
प्राथमिकतामा परेको जिल्ला र तुलनात्मक रूपमा सुगम ठाउँका बासिन्दाको आधारभूत
भौतिक पूर्वाधार र स्वास्थ्यसेवामा पहुँच नहुनुमा सात दशक लामो विकास प्रयासको
अप्रभावकारिता झल्किन्छ । यो दुखद परिस्थिति स्थानीय मानिसका लागि अब स्वभाविक
भइसकेको छ, तर देशका नीतिनिर्मातालाई जनताको यो दु:खले पोल्दैन ।
बुडर फर्केर भात खाँदा
अपरान्हको २ बजिसकेछ । स्याउले बजार हुँदै दिपायल पुग्नुछ । लगभग ४ घण्टाको यात्रा
। थकाइ मार्दै जाने हो भने झमक्क साँझ पर्दामात्र दिपायल पुगिने देखियो । बाटोभरि जोगबुडा
अस्पतालका नर्सहरूसँगको कुराकानी मनमा खेलिरह्यो । खोला बढ्दा नजिकैको गाउँमा कठिन
सुत्केरी गराउन जान नसकेको र मोबाइलबाट उताका स्वास्थ्यकर्मीलाई सिकाउँदाको
कठिनाइको कथाले मन पोलिरह्यो ।
स्याउले बजार पुग्दा
अपरान्हको झन्डै ४ बजिसकेको थियो । ओर्लेर चिया खाने सल्लाह भयो । गाडामा बेच्न
राखेका मौसमले ध्यान ताने । हेर्दा उति राम्रा र रसिला नदेखिए पनि ५० रुपैयाँ
किलोमा पाइने स्थानीय मौसम उल्का मिठा रहेछन् । स्याउलेमा एकछिन थकाइ मारेपछि
हाम्रो गाडी दिपायलतिर तेर्सो लाग्यो ।
स्याउले बजारबाट
दिपायलसम्मको ५० किलोमिटर बाटो प्राकृतिक सुन्दरताले भरिएको छ । वरिपरि पहाडले
घेरिएको खोला किनारको लामो र सम्म ठाउँ सुन्दर उपत्यका झैँ लाग्छ । सेती नदीको किनारै किनार सुलुलु बग्ने बाटाका
दुबैतिर ग्रामिण बस्ति छन् । जुनसुकै मौसममा पनि बालिनालीले खेतबारी भरिएकै
हुन्छन् । मान्छेको चहलपहल पनि उत्तिकै देखिन्छ ।
स्याउलेबजारबाट दिपायल जाने बाटोबाट देखिएको दृश्य |
तर, यो सुन्दर ठाउँको यात्रामा
मेरो मन एकतमासले पोल्छ, सधैँ । हरेक पटक यो बाटो हिँड्दा मैले महिलाले कठीन
परिश्रम गरेको र पुरुषले आराममात्र गरेको देखेको छु । खेतबारीमा गोडमेल गर्ने,
खन्ने, बालीनाली काट्ने, चुट्ने, केलाउने, भारी बोक्ने काम लगभग सतप्रतिशत महिलाले
मात्र गरिरहेका हुन्छन् । नाम्लोमा बडेमानका घाँसदाउराका भारीदेखि ठूलाठूला काठका
मुढा काँधमा बोकेर हिँडिरहेका महिला र बालिका देखेर मन अमिलो हुन्छ । पुरुषहरूले
फाट्टफुट्ट काँधमा छाता अड्याएर गाइबस्तु चराइरहेको र घर बनाउने डकर्मीको काम
गरेको देखिन्छ । अधिकांश पुरुषहरू आँगन, चौतारा र सडकछेउका चियापसलमा सुस्ताइरहेका
हुन्छन् ।
कतै कसैले लेखेको पढेको
थिएँ –“घाम पनि अस्ताउनमात्र आइपुग्छ सुदूर-पश्चिम” । स्याउले बजारदेखि
दिपायलसम्मको यात्रामा सुदूर-पश्चिममा निरन्तर अस्ताइरहेको घाम नजिकबाट देख्न
सकिन्छ ।
दिपायलको ‘रिभरसाइड’ होटल
पुग्दा झमक्क साँझ परेछ । खाना खाएर कोठामा पुग्दा २ दिनदेखिको वर्षाले उर्लेको
सेतीको गाढा आवाज कानमा गुञ्जियो । झ्याल बन्द नगरे निदाउनै गार्हो पर्ला झैँ पो
भयो । भोलिपल्ट बिहानै अछामको मङ्गलसेन पुग्नु छ –भेटघाट पनि बाक्लै छन् ।
वर्षा रोकिने छाँट छैन ।
राजुले भने ‘बाटो राम्रो छ, केही डर छैन ।’
अछाम र डोटी छुट्याउने कुनै
विशेष प्राकृतिक सीमाना छैनन् । डोटीको सदरमुकाम सिलगढी पार गरेर अघि बढेपछि
चौखुट्टे भन्ने ठाउँमा प्रहरीले बनाएको सानो चेकपोस्ट छ । हाम्रो गाडी चेकपोस्ट
पुगेपछि ड्युटीमा रहेका प्रहरीले छाता ओडेर अल्छी मान्दै बाँसको ढाट उठाइदिए ।
हामी अछाम पस्यौँ ।
टाढाबाट अछामको साँफेबगर |
अछामलाई बुझ्न खोज्दा भेउ
पाएँ –नेपालको यो दुर्गम जिल्लाको अस्तित्व भारतको अर्को कुनाको कुनै ठूलो शहरसँग
गाँसिएको रहेछ जसको नाम हो मुम्बइ ।
अछामका अधिकांश पुरुष बम्बै
भनिने मुम्बइमा काम गर्छन् । कतिपय स्थायीरूपमा काम गर्छन् भने खेतबाली लगाइसकेपछि
मूलढोका थुनेर परिवारसहित कामको खोजीमा बम्बै जानेको सङ्ख्या पनि उति नै छ । अछाम
घर भएका सहकर्मी निराजनसँगको गफगाफबाट बुझियो –अधिकांश पुरुष ‘सेठ’का लागि काम
गर्दा रहेछन् । ड्राइभिङ्ग, सिकर्मी आदि अर्धदक्ष र दक्ष पेशामा पनि अछामीहरूले
बम्बैमा काम गर्नेरहेछन् ।
साँफेबगर पुग्न झन्डै १
घण्टा बाँकी हुँदा चिया खान रोकियौँ । बाटामा चार महिला र एक पुरुष उकालो चढिरहेका
देखिए । उनिहरूलाई रोकेर गफ सुरु गरेँ । दिनभरिको बाटो धामी भेटेर आएका रहेछन् ।
साँफेबाट चौखुट्टेसम्मको पैदल यात्रा । हरेक महिलालाई ‘तपाईंका छोरा कहाँ छन् ?’
भनेर सोधेँ । एकजना बाहेक तीनैजनाको जवाफ एउटै थियो –बम्बै ।
![]() |
बाटामा जो भेटिए |
साँफे कटेर मङ्गलसेन पुग्ने
बेलामा राजुले भने ‘मङ्गलसेन नगरपालीका आइपुगेको थाहा पाउन सजिलो छ ।’ मैले सोधेँ –‘कसरी
?’ उनको जवाफ थियो ‘राम्रो बाटो सकिएर कच्ची बाटो र खाल्डाखुल्डी सुरु हुन्छन् ।’
नभन्दै अछामको सदरमुकाम मङ्गलसेन नगरपालिकाभित्रको सडक कुनै दुर्गम ठाउँमा भर्खरै
खनिएको कच्ची सडकभन्दा कम रहेनछ । मङ्गलसेन नगरपालीकाभित्रको बाटो र यहाँको
अव्यवस्थित बस्ती हेर्दा लाग्थ्यो हामीले बुझेको नगरको परिभाषामा गम्भीर समस्या
छन् ।
मङ्गलसेनको काम सक्दा झमक्क
साँझ परिहाल्यो । ‘साँफे झरेर बास बसे भोलि बिहानै दिपायल फर्किन सजिलो हुन्छ’ -राजुको
सुझाव सही लाग्यो । हामी साँफे झर्यौँ ।
बाटामा निराजनले हातेफोनबाट
पुरुष स्वरको ठाडी भाखा घन्काए :
पैया गुडन् लाग्या
बम्बै जाने रेलगाडीका
पैया गुडन् लाग्या
अब छुटन् लाग्या
पहाडका डाँडा खोला
अब छुटन् लाग्या
रोइदिन्या कोइ छैन
टोपी मैली धोती मैली
धोइदिन्या कोइ छैन
यो गीत दोहोर्याइ,
तेहेर्याइ सुन्दै र अछामका दु:ख गुन्दै हामी साँफे झर्यौँ । नेपालको अविकास र
असमानताको कथा बोकेर अछाम २१ औँ शताब्दीमा १२ औँ वा १३ औँ शताब्दी बाँचिरहेको छ ।
यता हाम्रो देशका नीतिनिर्माता काठमाडौँदेखि हेटौँडासम्म सुरुङ्गमार्ग खनेर
विकासको बाजी मार्ने दाउमा छन् ।
Trying to remember the exact location of the second picture from top. Do you still remember that place?
ReplyDelete