Friday, June 5, 2015

भूकम्प, सरकार, दाता, कुहिएको चामल

लेख्न मन नभएको कुरामा लेख्न बसियो । यसमा लेख्न मन थिएन । तर, नलेखि रहन सकिएन । लामो समयदेखिको किचकिचका विषयमा मन नलागिनलागि पनि आज केही लेख्न मन लाग्यो ।

प्रसङ्ग  भूकम्पको ।  सरकारको । दाताको । कुहिएको चामलको ।

भूकम्प 

वैशाख १२ को मध्यान्ह सुरु हुँदानहुँदै हामीले प्रकृतिको एउटा विभत्स स्वरूप देख्यौँ । हामी सबैको खराब सपना बनेर लामो समयदेखि मनमस्तिष्कमा रहेको भूकम्प वास्तविक अवतारमा हामीलाई हल्लाउन आयो । धरहरा ढल्यो, घरहरू भत्के, मानिसको भागाभाग भयो । झण्डै ९ हजार उकालो लागेको मृतकको संख्या हामी आजको दिनसम्म गन्दैछौँ । घाइतेहरूको संख्या २० हजार नाघ्यो । भूकम्पको मानसिक त्रासबाट हामी बाहिर निस्कन बाँकी नै छ । बर्खा सुरु हुनैलाग्दा लडेको घर कहिले उठाउने ? भन्ने पिरलोले लाखौँलाई पोलेको छ । झण्डै २ पुस्ताका मानिसहरूका लागि कहिलै अनुभव नगरेको त्रासदीपूर्ण भूकम्पले हामीलाई जरैदेखि हल्लाएको छ ।

सरकार

नेपालमा सरकार त कहाँ नै थियो र ?! राजनीतिक भाँडभैलो र नेता भनाउँदाहरूको बदनियतपूर्ण छलकपटले गर्दा हामीले 'आफ्नो' भन्न लायकको सरकारको मुख नदेखेको धेरै भइसकेको छ । छ त एउटा राम्रो कान नसुन्ने, आँखा नदेख्ने र दिमाख नचल्ने बेसुरा सत्ता छ काठमाडौँमा जो आफैँलाई आफ्नो औचित्य र भूमिका के हो ? भन्ने थाहा छैन । आम नागरिकको रक्षा गर्ने दायित्व न यसलाई राम्रोसँग बोध छ न यसो गर्ने क्षमता नै ।

तर, सरकार भनेको बालुवाटार र सिंहदरबारमात्र होइन । भूकम्पको त्रासदमा नेपालीको रक्षा गर्न सुरक्षाकर्मी र सरकारका प्रतिनिधि आफ्नो ज्यान दाउमा राखेर उद्दार र राहतमा खटिए । उनिहरूले धरापमा फसेका मानिसका ज्यान जोगाए, उपचार नपाएकालाई उपचार दिए, सुरक्षा दिए, सबैलाई माया र उत्साह दिए । एकपटक दूर्लभरूपमा भए पनि आम मानिसले आफूले गाँस काटेर सरकारलाई तिरेको करको सदुपयोग भएको अनुभव गर्न पाए ।

यसका अतिरिक्त सर्वसाधारण मानिस र विशेषगरि युवावर्ग अदम्य साहस र प्रतिवद्धताका साथ उद्दार र राहतमा निस्क्यो । यसको यथेष्ट प्रशंसा मेरो सानो ब्लग लेखमा सम्भव छैन । 


दाता

भूकम्पले हामीलाई थिलथिलो बनाएका बेला नेपालमा स्थायीरूपमा काम गर्ने र यहाँ आफ्नो उपस्थिति नभएका अन्य दाताले सहयोगको हात बढाए । घाइतेहरूको उपचार गर्न र घरबास गुमाएकाहरूलाई तत्कालका लागि राहत प्रदान गर्नमा उनिहरूको साथ-सहयोग महत्त्वपूर्ण रह्यो । भुटानदेखि कतारसम्मका मेडिकल टिमले भूकम्पको त्रास छल्दै दुरदराजमा पुगेर घाइतेहरूको निशुल्क उपचार गरे । कति संस्थाले भूकम्पमा परि भत्केका प्रसुति केन्द्रमा पाल ठड्याएर तिनलाई आकस्मिक सेवा योग्य बनाए । अहिले पनि विदेशी संस्थाको सहयोगमा टेन्टमुनि प्राथमिक विद्यालय सञ्चालित भइरहेका छन् । विदेशी संस्थाको सहयोगमा भूकम्पपिडित क्षेत्रका हजारौँ मानिसले २ छाक हातमुख जोड्न पाइरहेका छन् ; जस्तापाता र आधारभूत निर्माण सामग्री पाएका छन् ; लत्ताकपडा र सरसफाईका सामग्री पाएका छन् ।

कुहिएको चामल

नेपालमा एउटा डरलाग्दो टपरटुइँया प्रवृत्ति छ । त्यो हो थोरै सुचना र सतही विश्लेषणका आधारमा (आफूबाहेक) अरूलाई भक्कुमार गाली गर्ने, र आफू विशिष्ट भएको आत्मरतिमा रम्ने ! यो प्रवृत्तिबाट आफूलाई पत्रकार भन्ठान्ने र विशेषगरि ठूला मूलधारे मिडियामा काम गर्ने पत्रकारहरू बढी ग्रसित छन् -जसलाई एकातिर सहती राष्ट्रवादको अमूर्त चिन्ता र अर्कातिर विदेशी संस्थाप्रतिको इर्श्यात्मक आक्रोशले गालेको छ ।

विदेशी सहयोग दिगो विकास र समृद्धिको यथेष्ट आधार होइन, हुनसक्दैन । दाता वा विदेशी संस्थामा अनियमितता नहुने पनि होइनन् । विदेशी संस्था र तिनको कार्यशैलीले परनिर्भरता बढाउने कुरामा पनि आंशिक सत्यता नभएको होइन । विकास, सुरक्षा र विपद् व्यवस्थापनमा विदेशी राष्ट्र वा संस्थाको नभइ सम्बन्धित सरकार (नेपाल सरकारको) नेतृत्वदायी भूमिका हुनुपर्छ भन्नेमा अवश्य कुनै शंका छैन ।

तर, विपत्तिको मारबाट देश गुज्रिरहँदा काठमाडौँका कफी पसलमा बसेर गरिने "सरकार बलियो बनाउनुपर्छ" भन्ने बुज्रुक तर्कले मात्र पिडितले उपचार, छानो र खानेकुरा पाउन सक्दैनन् । यसबेला जसको जे क्षमता छ  उसले त्यही आधारमा उद्दार र राहतमा हात बढाउनुपर्छ । बढाएका पनि छन् । जसले यो विपद्‌मा सरकारलाई सहयोग गर्न चाहाँदैन त्यसलाई सम्भवत: नेपालको विकास साझेदार भन्न पनि मिल्दैन ।

राज्यले आफ्ना नागरिकलाई दुईछाक खाना प्रत्याभूत गर्न नसकेकाले विश्व खाद्य कार्यक्रम नेपालमा आएको हो । विगतमा पनि मध्य र सुदूर-पश्चिमका दुर्गम क्षेत्रमा विश्व खाद्य कार्यक्रमले चामल बाँडेको हो । अहिले विपद्‌को समयमा भूकम्प प्रभावित क्षेत्रका हजारौँ परिवारलाई विश्व खाद्य कार्यक्रमले चामल बाँडिरहेको छ । अविकासले होस् वा विपद् -राज्यले आफ्ना नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न नसकेर विदेशी संस्थाले यसो गर्नु सुखद पक्कै होइन !

विश्व खाद्य कार्यक्रमले कुहिएको चामल बाँड्न हुँदैन । कसैले पनि हुँदैन । यदि कसैले राहत र उद्दारका नाममा भूकम्पपिडितलाई उपयोग गर्छ भने त्यसलाई उचित कारवाही गर्न सरकार तयार हुनुपर्छ ।

तर, विश्व खाद्य कार्यक्रमप्रतिको सोसल र मूलधारे मिडियामा देखिएको घृणा के शोभनीय छ ? विश्व खाद्य कार्यक्रमलाई 'विश्व खाते कार्यक्रम' सम्म भनेर घृणा व्यक्त गर्ने काठमाडौँका मूलधारे र सोसल मिडिया प्रयोगकर्ताहरूले उक्त संस्थाले असल र गुणस्तरीय चामल कहिँ कतै बाँडेको भए त्यसको कहिलै समाचार बनाएका छन् ?

यसको जवाफ मसँग छैन ।

मेरो भनाइ यत्ति हो कि -राष्ट्रवादी देखिन वा वरिष्ठ बन्न हामीले लामो समयदेखि अपनाएको औजार हो घृणा । तर, कुनै राष्ट्रलाई समृद्ध बनाउने घृणाले होइन -परस्पर सहयोग र आपसी सम्मानले हो । यो विपद्‌मा देशका भूकम्प पिडितलाई सरकारका कर्मचारी, सर्वसाधारण नागरिक, विदेशी राष्ट्र तथा संस्था देखि संसारका कतिपय ठाउँका स्कूले केटाकेटीले सम्म सघाएका छन् । विश्व खाद्य कार्यक्रमले पनि अवश्य हजारौँ परिवारलाई खान योग्य चामल पनि बाँडेको छ होला । उसका कामको छानविन होस् ।

निरपेक्ष घृणा हाम्रो विशेषता नबनोस् ।

2 comments:

  1. सरसँग म पुरै सहमत सर ! तर WFP को केसमा यो सयौं पटक आउने र उस्ले वास्ता नगर्ने गुनासो हो ! जाजरकोटमा केही बर्ष पहिलेको झाडापखाला उस्कै चामलका कारण हो भन्ने लगभग प्रमाणित हुँदा पनि त्यो घटना दबाइयो ! म आँफै कर्णाली बसेकोले उनीहरुले कस्तो चामल पुर्याउँछन् भनेर मैले भलिभाँती देखेको छु, धेरै पटक ! र सधैं त्यस्तै गर्छन् उनिहरुले ! पुरै गल्ती WFP को नहुन सक्छ, सप्प्लाएर यता त्यतालाई आरोप लगाएर पन्छिन नि सकिन्छ ! तर कैयौं गुनासो आउँदा पनि आफ्नो कार्यशैली सुधार नगर्नु WFP को भयंकर बदमासी हो ! उनिहरुको राम्रो नियतमा मलाई शंका छैन, तर जे काम राम्ररी गर्न भनेर तलप खाइन्छ, त्यो काम दशकौं सम्म पनि यो हालतमा रहँदा घ्रिणा भयो भनेर गुनासो गर्नु खासै सुहाएन ! कुरा बाहिर नआएर हो, नत्र WFP को बदमासी अझै माथिल्लो तहको कार्वाही लायक छ !

    राम्रो नियतले दशकौंसम्मा खराब काम गर्न पाइन्न सर !

    ReplyDelete
  2. सन्जीब सर ले ब्यक्त गर्नु भएको अभिव्यक्ति प्रति म पुरै सहमत छु। खै WFP ले राम्रो चामल बाडयो भनेर मिडिया ले भन्न सकेको? सरकार को उपस्थित पुग्न महिनौ लाग्ने दुर-दराज मा व्फ्प जस्ता सयौ संस्था हरु पुग्दा पुग्यो भनेर खै आयो समाचार? आफु निकट नेता र सभासद्ले ४ बोरा चामल बाड्दा समाचार बनाउने मिडिया हजारौ पिडित लाइ भोक मारी बाट बचाउने दात्रि निकाय र WFP को खै त समाचार? चिया पसल र भट्टीमा रास्ट्र बाद को खोक्रो आदर्स भट्ट्याउने अनि सेतो लाइ कालो र कालो लाई सेतो देख्ने?

    ReplyDelete