Follow me on Twitter

Tuesday, May 6, 2014

समस्या नकारात्मक सोच कि असक्षम राज्य ?!

नेपाल किन बन्न सकेन ? के गर्दा बन्न सक्थ्यो ? र, बनाउनलाई अब के गर्नुपर्छ ? भन्ने विषयमा प्रशस्त टिप्पणी भइरहेका छन् । देश विकासका विषयमा केन्द्रीत यो बहस समृद्धिको हाम्रो लक्ष प्राप्तिमा कतिको सहायक होला त्यो हेर्न बाँकी छ । यसो भए तापनि अहिलेको बहसको एउटा सकारात्मक पाटो छ । राजनीतिक दलका नेताले मात्र विचार दिने र अरूले त्यसैको वरिपरि बहस गर्ने हाम्रो पूरानो चलन भत्काउनमा थोरै भए पनि यसले सहयोग गरेको छ । सर्वसाधारण मानिस मुलुकको परिवर्तनका विषयमा ठोस छलफल गर्न इच्छुक हुनुलाई सकारात्मक मान्नुपर्छ ।

यस लेखको उद्देश्य नेपाल किन बन्न सकेन ? भन्ने प्रश्नका थप कारणहरू खोज्ने होइन । केही महिना यता धेरै लेखकले यस्ता कारणहरू उधिनेर हामीसमक्ष प्रस्तुत गरेका छन् । बहसको यो चरणमा अब भने हामीले एकैछिन रोकिएर विभिन्न लेखकले प्रस्तुत गरेका कारणहरूकै एउटा अर्को तहमा विश्लेषण गर्नुपर्ने आवश्यकता देखिएको छ । यस्तो ‘सिंहावलोकन’ले बहसलाई थप गुणस्तरीय र उपयोगी बनाउन सहयोग पुर्‍याउन सक्छ ।

नेपालका अधिकांश प्रतिष्ठित लेखक/बुद्धिजीवीले सकारात्मक सोच र व्यक्तिगत पहल/प्रयत्नको अभावलाई नेपाल नबन्नुको कारणका रूपमा व्याख्या गरेका छन् । यो व्याख्या लेखक/बुद्धिजीवीबीचमात्र होइन आम नागरिकबीच पनि प्रशस्त लोकप्रिय छ । नेपाल सरकारका मुख्यसचिव लिलामणि पौड्यालले ‘सकारात्मक सोच र इमानदारिताको खडेरी’लाई समाज रूपान्तरणको प्रमुख अवरोधका रूपमा औँल्याएपछि नेपालको राज्यसंरचनाको उपल्लो तहमा पनि जनताको ‘सोच’ र इमानदारिताको अभावलाई नै विकासको बाधक मानिने रहेछ भन्ने प्रस्ट भएको छ (हेर्नुहोस् कान्तिपुर दैनिकमा प्रकाशित लिलामणि पौड्यालको लेख) । तसर्थ, सकारात्मकहरूको सोचाइमा नकारात्मक रहेको नेपालीको सोच र हराभरा सम्भावनाका बीच विद्यमान इमानदारिताको खडेरीका विषयमा थप चर्चा आवश्यक देखिएको छ ।

सकारात्मक सोच र समाज रूपान्तरण

व्यक्ति र समुदायका लागि सकारात्मक सोच उपयोगी हुने कुरामा शङ्का छैन । सकारात्मक सोचले व्यक्तिगत र सामाजिक सम्बन्धलाई सौहार्दपूर्ण बनाउन सहयोग गर्छ । यतिमात्र होइन सकारात्मक सोच्ने बानी बसाले तनाव कम हुन्छ, मानसिक शान्ति मिल्छ र शारीरिक स्वास्थ्य पनि राम्रो बनाउन सकिन्छ । सकारात्मक सोचले द्वन्द्व कम गर्न र शान्तिपूर्ण वातावरणको विकास गर्नमा अवश्य पनि सहयोग गर्छन् ।

तर, नेपालीहरू समग्रमा नकारात्मक छन् र नकारात्मकता नै विकास वा उन्नतिको बाधक हो भन्ने तर्क गलत र विरोधाभाषपूर्ण छ ।

काठमाडौँ शहर, यसभित्रको तनाव, यहाँका राजनीतिक दलका नेता र तिनका वरिपरि घुम्ने बुद्धिजीवीको परस्पर खिचातानी, उच्च तहका प्रशासकको आपसी लडाईं आदिलाई एकैछिन पर राखेर हेर्ने हो भने जातीय, सांस्कृतिक, भाषिक र धार्मिक विविधता र त्यसभित्रको अन्तर्विरोधका बाबजुद परस्पर सम्मान र सहकार्यको वातावरण नेपालमा देशैभरि देख्न सकिन्छ । व्यक्तिको नकारात्मकता मापन गर्ने कुनै यन्त्र नहोला तर, विश्वका कतिपय मुलुकका नागरिकका तुलनामा नेपालीहरू सौम्य र सहृदयी पाउँछु म ।

प्रभावकारी नीति र कानुनको परिपालनाको अभावमा प्रदुषित भएको बाग्मती सफाइ गर्ने एक व्यक्तिको अभियानले आम मानिस र सञ्चारमाध्यमबाट पाएको साथ/समर्थन हेर्ने हो भने मुख्यसचिवको तर्क सही नभएको स्वतः प्रमाणित हुन्छ । व्यक्तिविशेषको अभियानमा यसरी स्वतस्फुर्त सामेल भएर गन्हाउने खोला सफा गर्न तत्पर आम मानिस भएको समाजलाई नकारात्मक भनेर चित्रण गर्न सुहाँउदैन ।

त्रिवी परिक्षा नियन्त्रण कार्यालयको लापरवाहीले नाम र नम्बर गल्ती भएर महिनौँ प्रक्रियागत झन्झटमा फसेका विद्यार्थी; सरकारले तोके बमोजिम मूल्य तिरेर पेट्रोलियम पदार्थ खरिद गर्न घण्टौँ लाइनमा बसेका मानिस; कहालिलाग्दो तुइनमा बाँदरझैँ झुण्डिदै ज्यान हत्केलामा राखेर खोला तरिरहेका स-साना स्कुले नानीहरू; सडक, बिजुली, खानेपानी, विद्यालय आदि आधारभूत सेवा नपाएर पनि गुजारा गरिरहेका गरिब गाउँले; र देशमा काम नपाएर अरबको मरुभूमिमा पसिना बगाउन राज्यले दिने अनुमतिका लागि भ्रष्ट कर्मचारीलाई घुसको रकम तिर्दा पनि चुपचाप बसिरहेका युवायुवतीका कथा सुन्दा नेपालीहरू चाहिने भन्दा बढी नै सकारात्मक भएका त होइनन् ? भन्ने प्रश्न उठिरहेको हुन्छ मेरो मनमा बेलाबेला ।

यी मानिसलाई नकारात्मक भन्ने हो भने सकारात्मक भनेर कसलाई भन्ने ?!

परिवर्तनको प्रारम्भ आफैँबाट

समाज रूपान्तरणका लागि व्यक्तिको भूमिका उल्लेख्य हुन्छ । व्यक्तिले गरेका सकारात्मक प्रयासले मानिसको आर्थिक स्तर, स्वास्थ्य, शिक्षा तथा शान्तिनिर्माणमा ठूलो सहयोग गरिरहेका हुन्छन् । राज्यको सीमित पहुँच र भूमिकाका कारण हरेक नागरिकले आफ्नो तहबाट आफू स्वयं र समाजका लागि पुर्‍याउने योगदानको महत्त्व ठूलो छ । समाज परिवर्तनका लागि आफू उदाहरण बनेर देखाउने मानिसको योगदानलाई पनि अवमूल्यन गर्न मिल्दैन ।

तर, परिवर्तनको प्रारम्भ आफैंबाट गर्नुपर्छ भन्ने आग्रहमा प्रशस्त समस्या छन् । पहिलो त नेपालमा आम मानिस सबै अल्छे छन् त्यसैले उनीहरू आफ्नो प्रयासमा आफ्नो वा समुदायका लागि केही गर्न इच्छुक छैनन् भन्ने तर्क आफैंमा गलत छ । काठमाडौँको वातानुकुलित कार्यकक्षमा बसेर चिया/कफीको चुस्कीमा सहकर्मीहरूसँग गफ गर्दा यो तर्कमा सबैले टाउको हल्लाएर सही थाप्लान् । तर, नेपालको र विशेषगरि काठमाडौँबाहिरको वास्तविकता फरक छ ।

राज्यको अत्यन्त कमजोर र लगभग शून्य उपस्थिति र सहयोगका बाबजुद व्यक्ति र समुदायको तहमा नेपालका दुरदराजका ग्रामीण क्षेत्रमा रहरलाग्दा प्रयत्न र परिवर्तन भएका छन् । कृषि, पशुपालन, स्वास्थ्य सेवाको विस्तार, प्राथमिक शिक्षा, बन तथा वातावरण संरक्षण आदि क्षेत्रमा व्यक्ति तथा समुदायले उल्लेखनिय योगदान दिएका छन् र यसको अत्यन्त सकारात्मक प्रभाव उनीहरूको जीवनमा प्रत्यक्ष देख्न सकिन्छ । कुनै एक व्यक्तिले एक ठाउँमा सुरु गरेको सकारात्मक कामलाई अन्यत्र विस्तार गर्ने, समुदायमा असल कामको सचेतना बढाउने, परम्परागत र अनुपयोगी पद्दति र संस्कारको अन्त्य गर्दै नयाँ सोच र आचरणको विस्तार गर्ने काममा नेपालको ग्रामीण क्षेत्र अत्यन्त सक्रिय रूपले लागिरहेको छ । काठमाडौँबाहिर ग्रामीण भेगको कुनै कृषि तथा पशु सहकारीमा गएर उत्पादन समूहका कृषकहरूसँगको एकैछिनको कुराकानीले यो परिवर्तनको झल्को दिनसक्छ ।

दोस्रो, व्यक्तिका रूपमा सर्वसाधारणको प्रयत्न राज्यको भूमिकाको विकल्प होइन । ‘एजेन्सी’का रूपमा आम मानिसको भूमिका ठूलो त हुन्छ, तर ‘स्ट्रक्चर’ सही र उपयोगी नभए व्यक्तिगत प्रयास र प्रयत्नको अर्थ र उपलब्धि हुँदैन । राज्यले आवश्यक वातावरण (जस्तै, पुँजी, सुरक्षा, क्षमता, पूर्वाधार, आदि) नबनाएसम्म व्यक्ति आफैंले चाहेर आफ्नो जीवन र समाज/राष्ट्रका लागि सकारात्मक परिवर्तनको बाहक बन्न असम्भव छ ।

सकारात्मक सोचको डिस्कोर्स

केही समय पहिले ‘देश बनाउन सिद्धान्त सहायक हो कि अवरोध ?’ भन्ने विषयमा उज्ज्वल प्रसाईंले एउटा लेख लेख्नुभएको थियो । उहाँको तर्क थियो सिद्धान्त चाहिँदैन (व्यवहारमात्र सही भए पुग्छ) भन्ने सोच आफैंमा एउटा सिद्धान्त हो । नागरिकको सोच वा प्रवृत्तिलाई विकासको अवरोध मान्ने र यसलाई ठाकठुक पारेर मर्मत गरे विकास आफैं हुन्छ भन्ने तर्कलाई प्रसाईंले रोचक ढङ्गले आलोचना गर्नुभएको छ । सकारात्मक सोच र परिवर्तन आफैंबाट सुरु गरौँ भन्ने सतही नाराको चिरफारमा प्रसाईंको विचार आधार हुनसक्छ (हेर्नुहोस् उज्ज्वल प्रसाईंको कान्तिपुर दैनिकमा केही अघि प्रकाशित लेख) ।

‘सकारात्मक सोच राखौँ’ भनेर राज्य वा सरकारले अरूलाई सिकाउने चलन नेपालमा नयाँ होइन । हरेक सरकार वा त्यसका प्रतिनिधिले जनतालाई ‘सरकारको मुख नताकी विकासको काममा लाग्न’ सुझाउने गर्छन् । पञ्चायती व्यवस्थादेखि नै यो सोचले विकास वा परिवर्तनको नेपालको अभियानलाई निर्देशित र चित्रित गरेको छ । यही सोचको प्रभावस्वरूप सकारात्मक सोच राखेर आफ्नो लागि आफैँ केही गरे विकास आफैं हुन्छ भन्ने सोच नेपालमा शङ्काको घेराभन्दा माथि उठिसकेको छ ।

हामीले यो दृष्टिकोणमा अन्तर्निहित राजनीतिलाई बुझ्न सक्नुपर्छ ।

समाज वा राष्ट्रको रूपान्तरणमा आम मानिसको सोचको केही भूमिका होला । तर, रूपान्तरण आम मानिसको सोचले सम्भव वा असम्भव हुने कुरा होइन । सामाजिक रूपान्तरणका लागि सर्वप्रथम प्रणाली र संरचनामा आवश्यक सुधार वा परिमार्जन हुन आवश्यक छ ।

नेपालमा विगत १५ वर्षदेखि नीतिनिर्माणको प्रक्रिया लगभग ठप्प छ । न्यायलय सुधारको साटो विघटनको प्रक्रियामा छ । प्रशासनिक संरचना झनै अस्तव्यस्त र भ्रष्ट हुँदैगएको छ । स्थानीय स्तरमा आधारभूत सेवा प्रवाहको स्थिति बिग्रँदो छ । नीतिनिर्माण प्रक्रियामा आम मानिसको सहभागिता शून्यप्राय छ । यसको जिम्मेवारी वा उत्तरदायित्व महशुस नगर्ने वा गर्न नचाहाने अनि ‘आम मानिस सकारात्मक भएर आफ्नो काम गरे विकास आफैं भइहाल्छ’ भन्ने तर्क गलत मात्र छैन सुनियोजित पनि छ ।

नेपालमा समाज रूपान्तरणको पहलमा यदि कुनै क्षेत्र सबैभन्दा बढी चुकेको छ भने त्यो हो राज्य र यसका उपल्लो तहका संरचना । राज्यको असक्षमता र कमजोरीको दोष सर्वसाधारण नागरिकलाई दिन मिल्दैन । सोच अमूर्त कुरा पनि हो । हामी सबैले सल्लाह गरेर वा अखबारमा लेख छपाएर विद्यमान सोचलाई परिवर्तन गर्न सक्दैनौँ –चाहे त्यो सकारात्मक होस् या नकारात्मक । सकारात्मक परिवर्तनका लागि आवश्यक नीति र पूर्वाधार राज्यले तयार पारिदिनुपर्छ । यो भूमिकामा राज्य कति प्रभावकारी छ हामी सबैलाई थाहा भएकै कुरा हो ।

समृद्धिको त कुरै छौडौँ आधारभूत आवश्यकता पूरा गर्न समेत असमर्थ गरिब र अपहेलित नागरिकलाई ‘अविकासको जिम्मेवार तिमीहरू नै हौ’ भन्ने नेपाल सरकारका मुख्यसचिवको सन्देश हाम्रो राष्ट्रिय अधोगतिको परिचायक उदाहरण पनि हुनसक्छ ।

काम, क्रोध, लोभ, मोह, अहंकार त्यागौँ

मुख्यसचिव लिलामणी पौड्यालको लेखमा विद्यमान विभिन्न विसङ्गतिका अतिरिक्त एउटा रमाइलो सन्देश पनि छ । त्यो हो, ‘काम, क्रोध, लोभ, मोह र अहंकार त्यागे जीवन आफैँ सुखी हुन्छ’, धेरै लेठो गरिरहनु पर्दैन । उनको शब्दमा ‘पूर्वीय दर्शन’मा उल्लेखित यो सन्देश नेपालको सामाजिक रूपान्तरणको आधार बन्न सक्छ ।

यदि यही सिद्धान्तलाई इमानदार भएर व्यवहारमा उतार्ने हो भने न पौड्यालले मुख्यसचिवको कुर्सीमा बसेर यत्रो दुख गरेर लेख लेख्नुपर्छ न त मैले यसको आलोचना गरिरहन आवश्यक हुन्छ । तर, मुख्यसचिवका रूपमा पौड्यालबाट राष्ट्रले अपेक्षा गर्ने सन्देश हामीले हरेक दिन टेलिभिजनमा हेर्ने ब्राम्हण पण्डाको प्रवचनभन्दा पृथक हुन आवश्यक छ । मुख्यसचिवका रूपमा उनले राज्यको संयन्त्र र संरचनामा कहाँकहाँ आवश्यक परिमार्जन/सुधार हुन आवश्यक छ ? यसका लागि विभिन्न क्षेत्रको भूमिका र यसको सफल कार्यान्वयनको योजना के हुन सक्छ ? भनेर चिन्तन गर्न र विचार दिनसके आम मानिसले पनि आफूले तिरेको करको सदुपयोग भएको महशुस गर्नसक्थे । सबै मानिसले काम, क्रोध, लोभ, मोह र अहंकार त्याग्न नसक्ने भएर नै राज्यको आवश्यकता परेको हो ।

अन्त्यमा,

‘नेपालमा सकारात्मक सोच छैन, त्यसैले हामी समृद्ध हुन सकेका छैनौँ’ भन्ने आम धारणा राज्य वा यसका प्रतिनिधिले चाहेको र गरिरहेको विराजनीतिकरण (डिपलिटिसाइजेसन)को परिणाम हो । नेपालको समस्या सकारात्मक सोचको अभाव होइन बरु राज्यको उपल्लो संरचनाको क्षयीकरण र अप्रभावकारिता हो । सकारात्मक सोच भ्रम पनि हो –कुनै पनि मुलुकमा मानिसको सोच सकारात्मक वा नकारात्मक प्रस्ट छुट्टिने खालको हुँदैन, न त नेपालमै छ । तसर्थ, हामीले यस्ता अमूर्त हल्लामा भन्दा सर्वप्रथम राज्यलाई प्रभावकारी र बलियो बनाउनमा ध्यान दिन आवश्यक छ । रूपान्तरणको जिम्मेवारी राज्यको थाप्लोबाट सोझासिधा गरिब नेपालीको थाप्लोमा सार्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ ।

[यस विषयमा अजय भद्र खनालको सटिक विश्लेषणका लागि उहाँको ब्लग हेर्नुहोस् ।]

No comments:

Post a Comment