Tuesday, May 6, 2014

समस्या नकारात्मक सोच कि असक्षम राज्य ?!

नेपाल किन बन्न सकेन ? के गर्दा बन्न सक्थ्यो ? र, बनाउनलाई अब के गर्नुपर्छ ? भन्ने विषयमा प्रशस्त टिप्पणी भइरहेका छन् । देश विकासका विषयमा केन्द्रीत यो बहस समृद्धिको हाम्रो लक्ष प्राप्तिमा कतिको सहायक होला त्यो हेर्न बाँकी छ । यसो भए तापनि अहिलेको बहसको एउटा सकारात्मक पाटो छ । राजनीतिक दलका नेताले मात्र विचार दिने र अरूले त्यसैको वरिपरि बहस गर्ने हाम्रो पूरानो चलन भत्काउनमा थोरै भए पनि यसले सहयोग गरेको छ । सर्वसाधारण मानिस मुलुकको परिवर्तनका विषयमा ठोस छलफल गर्न इच्छुक हुनुलाई सकारात्मक मान्नुपर्छ ।

यस लेखको उद्देश्य नेपाल किन बन्न सकेन ? भन्ने प्रश्नका थप कारणहरू खोज्ने होइन । केही महिना यता धेरै लेखकले यस्ता कारणहरू उधिनेर हामीसमक्ष प्रस्तुत गरेका छन् । बहसको यो चरणमा अब भने हामीले एकैछिन रोकिएर विभिन्न लेखकले प्रस्तुत गरेका कारणहरूकै एउटा अर्को तहमा विश्लेषण गर्नुपर्ने आवश्यकता देखिएको छ । यस्तो ‘सिंहावलोकन’ले बहसलाई थप गुणस्तरीय र उपयोगी बनाउन सहयोग पुर्‍याउन सक्छ ।

नेपालका अधिकांश प्रतिष्ठित लेखक/बुद्धिजीवीले सकारात्मक सोच र व्यक्तिगत पहल/प्रयत्नको अभावलाई नेपाल नबन्नुको कारणका रूपमा व्याख्या गरेका छन् । यो व्याख्या लेखक/बुद्धिजीवीबीचमात्र होइन आम नागरिकबीच पनि प्रशस्त लोकप्रिय छ । नेपाल सरकारका मुख्यसचिव लिलामणि पौड्यालले ‘सकारात्मक सोच र इमानदारिताको खडेरी’लाई समाज रूपान्तरणको प्रमुख अवरोधका रूपमा औँल्याएपछि नेपालको राज्यसंरचनाको उपल्लो तहमा पनि जनताको ‘सोच’ र इमानदारिताको अभावलाई नै विकासको बाधक मानिने रहेछ भन्ने प्रस्ट भएको छ (हेर्नुहोस् कान्तिपुर दैनिकमा प्रकाशित लिलामणि पौड्यालको लेख) । तसर्थ, सकारात्मकहरूको सोचाइमा नकारात्मक रहेको नेपालीको सोच र हराभरा सम्भावनाका बीच विद्यमान इमानदारिताको खडेरीका विषयमा थप चर्चा आवश्यक देखिएको छ ।

सकारात्मक सोच र समाज रूपान्तरण

व्यक्ति र समुदायका लागि सकारात्मक सोच उपयोगी हुने कुरामा शङ्का छैन । सकारात्मक सोचले व्यक्तिगत र सामाजिक सम्बन्धलाई सौहार्दपूर्ण बनाउन सहयोग गर्छ । यतिमात्र होइन सकारात्मक सोच्ने बानी बसाले तनाव कम हुन्छ, मानसिक शान्ति मिल्छ र शारीरिक स्वास्थ्य पनि राम्रो बनाउन सकिन्छ । सकारात्मक सोचले द्वन्द्व कम गर्न र शान्तिपूर्ण वातावरणको विकास गर्नमा अवश्य पनि सहयोग गर्छन् ।

तर, नेपालीहरू समग्रमा नकारात्मक छन् र नकारात्मकता नै विकास वा उन्नतिको बाधक हो भन्ने तर्क गलत र विरोधाभाषपूर्ण छ ।

काठमाडौँ शहर, यसभित्रको तनाव, यहाँका राजनीतिक दलका नेता र तिनका वरिपरि घुम्ने बुद्धिजीवीको परस्पर खिचातानी, उच्च तहका प्रशासकको आपसी लडाईं आदिलाई एकैछिन पर राखेर हेर्ने हो भने जातीय, सांस्कृतिक, भाषिक र धार्मिक विविधता र त्यसभित्रको अन्तर्विरोधका बाबजुद परस्पर सम्मान र सहकार्यको वातावरण नेपालमा देशैभरि देख्न सकिन्छ । व्यक्तिको नकारात्मकता मापन गर्ने कुनै यन्त्र नहोला तर, विश्वका कतिपय मुलुकका नागरिकका तुलनामा नेपालीहरू सौम्य र सहृदयी पाउँछु म ।

प्रभावकारी नीति र कानुनको परिपालनाको अभावमा प्रदुषित भएको बाग्मती सफाइ गर्ने एक व्यक्तिको अभियानले आम मानिस र सञ्चारमाध्यमबाट पाएको साथ/समर्थन हेर्ने हो भने मुख्यसचिवको तर्क सही नभएको स्वतः प्रमाणित हुन्छ । व्यक्तिविशेषको अभियानमा यसरी स्वतस्फुर्त सामेल भएर गन्हाउने खोला सफा गर्न तत्पर आम मानिस भएको समाजलाई नकारात्मक भनेर चित्रण गर्न सुहाँउदैन ।

त्रिवी परिक्षा नियन्त्रण कार्यालयको लापरवाहीले नाम र नम्बर गल्ती भएर महिनौँ प्रक्रियागत झन्झटमा फसेका विद्यार्थी; सरकारले तोके बमोजिम मूल्य तिरेर पेट्रोलियम पदार्थ खरिद गर्न घण्टौँ लाइनमा बसेका मानिस; कहालिलाग्दो तुइनमा बाँदरझैँ झुण्डिदै ज्यान हत्केलामा राखेर खोला तरिरहेका स-साना स्कुले नानीहरू; सडक, बिजुली, खानेपानी, विद्यालय आदि आधारभूत सेवा नपाएर पनि गुजारा गरिरहेका गरिब गाउँले; र देशमा काम नपाएर अरबको मरुभूमिमा पसिना बगाउन राज्यले दिने अनुमतिका लागि भ्रष्ट कर्मचारीलाई घुसको रकम तिर्दा पनि चुपचाप बसिरहेका युवायुवतीका कथा सुन्दा नेपालीहरू चाहिने भन्दा बढी नै सकारात्मक भएका त होइनन् ? भन्ने प्रश्न उठिरहेको हुन्छ मेरो मनमा बेलाबेला ।

यी मानिसलाई नकारात्मक भन्ने हो भने सकारात्मक भनेर कसलाई भन्ने ?!

परिवर्तनको प्रारम्भ आफैँबाट

समाज रूपान्तरणका लागि व्यक्तिको भूमिका उल्लेख्य हुन्छ । व्यक्तिले गरेका सकारात्मक प्रयासले मानिसको आर्थिक स्तर, स्वास्थ्य, शिक्षा तथा शान्तिनिर्माणमा ठूलो सहयोग गरिरहेका हुन्छन् । राज्यको सीमित पहुँच र भूमिकाका कारण हरेक नागरिकले आफ्नो तहबाट आफू स्वयं र समाजका लागि पुर्‍याउने योगदानको महत्त्व ठूलो छ । समाज परिवर्तनका लागि आफू उदाहरण बनेर देखाउने मानिसको योगदानलाई पनि अवमूल्यन गर्न मिल्दैन ।

तर, परिवर्तनको प्रारम्भ आफैंबाट गर्नुपर्छ भन्ने आग्रहमा प्रशस्त समस्या छन् । पहिलो त नेपालमा आम मानिस सबै अल्छे छन् त्यसैले उनीहरू आफ्नो प्रयासमा आफ्नो वा समुदायका लागि केही गर्न इच्छुक छैनन् भन्ने तर्क आफैंमा गलत छ । काठमाडौँको वातानुकुलित कार्यकक्षमा बसेर चिया/कफीको चुस्कीमा सहकर्मीहरूसँग गफ गर्दा यो तर्कमा सबैले टाउको हल्लाएर सही थाप्लान् । तर, नेपालको र विशेषगरि काठमाडौँबाहिरको वास्तविकता फरक छ ।

राज्यको अत्यन्त कमजोर र लगभग शून्य उपस्थिति र सहयोगका बाबजुद व्यक्ति र समुदायको तहमा नेपालका दुरदराजका ग्रामीण क्षेत्रमा रहरलाग्दा प्रयत्न र परिवर्तन भएका छन् । कृषि, पशुपालन, स्वास्थ्य सेवाको विस्तार, प्राथमिक शिक्षा, बन तथा वातावरण संरक्षण आदि क्षेत्रमा व्यक्ति तथा समुदायले उल्लेखनिय योगदान दिएका छन् र यसको अत्यन्त सकारात्मक प्रभाव उनीहरूको जीवनमा प्रत्यक्ष देख्न सकिन्छ । कुनै एक व्यक्तिले एक ठाउँमा सुरु गरेको सकारात्मक कामलाई अन्यत्र विस्तार गर्ने, समुदायमा असल कामको सचेतना बढाउने, परम्परागत र अनुपयोगी पद्दति र संस्कारको अन्त्य गर्दै नयाँ सोच र आचरणको विस्तार गर्ने काममा नेपालको ग्रामीण क्षेत्र अत्यन्त सक्रिय रूपले लागिरहेको छ । काठमाडौँबाहिर ग्रामीण भेगको कुनै कृषि तथा पशु सहकारीमा गएर उत्पादन समूहका कृषकहरूसँगको एकैछिनको कुराकानीले यो परिवर्तनको झल्को दिनसक्छ ।

दोस्रो, व्यक्तिका रूपमा सर्वसाधारणको प्रयत्न राज्यको भूमिकाको विकल्प होइन । ‘एजेन्सी’का रूपमा आम मानिसको भूमिका ठूलो त हुन्छ, तर ‘स्ट्रक्चर’ सही र उपयोगी नभए व्यक्तिगत प्रयास र प्रयत्नको अर्थ र उपलब्धि हुँदैन । राज्यले आवश्यक वातावरण (जस्तै, पुँजी, सुरक्षा, क्षमता, पूर्वाधार, आदि) नबनाएसम्म व्यक्ति आफैंले चाहेर आफ्नो जीवन र समाज/राष्ट्रका लागि सकारात्मक परिवर्तनको बाहक बन्न असम्भव छ ।

सकारात्मक सोचको डिस्कोर्स

केही समय पहिले ‘देश बनाउन सिद्धान्त सहायक हो कि अवरोध ?’ भन्ने विषयमा उज्ज्वल प्रसाईंले एउटा लेख लेख्नुभएको थियो । उहाँको तर्क थियो सिद्धान्त चाहिँदैन (व्यवहारमात्र सही भए पुग्छ) भन्ने सोच आफैंमा एउटा सिद्धान्त हो । नागरिकको सोच वा प्रवृत्तिलाई विकासको अवरोध मान्ने र यसलाई ठाकठुक पारेर मर्मत गरे विकास आफैं हुन्छ भन्ने तर्कलाई प्रसाईंले रोचक ढङ्गले आलोचना गर्नुभएको छ । सकारात्मक सोच र परिवर्तन आफैंबाट सुरु गरौँ भन्ने सतही नाराको चिरफारमा प्रसाईंको विचार आधार हुनसक्छ (हेर्नुहोस् उज्ज्वल प्रसाईंको कान्तिपुर दैनिकमा केही अघि प्रकाशित लेख)

‘सकारात्मक सोच राखौँ’ भनेर राज्य वा सरकारले अरूलाई सिकाउने चलन नेपालमा नयाँ होइन । हरेक सरकार वा त्यसका प्रतिनिधिले जनतालाई ‘सरकारको मुख नताकी विकासको काममा लाग्न’ सुझाउने गर्छन् । पञ्चायती व्यवस्थादेखि नै यो सोचले विकास वा परिवर्तनको नेपालको अभियानलाई निर्देशित र चित्रित गरेको छ । यही सोचको प्रभावस्वरूप सकारात्मक सोच राखेर आफ्नो लागि आफैँ केही गरे विकास आफैं हुन्छ भन्ने सोच नेपालमा शङ्काको घेराभन्दा माथि उठिसकेको छ ।

हामीले यो दृष्टिकोणमा अन्तर्निहित राजनीतिलाई बुझ्न सक्नुपर्छ ।

समाज वा राष्ट्रको रूपान्तरणमा आम मानिसको सोचको केही भूमिका होला । तर, रूपान्तरण आम मानिसको सोचले सम्भव वा असम्भव हुने कुरा होइन । सामाजिक रूपान्तरणका लागि सर्वप्रथम प्रणाली र संरचनामा आवश्यक सुधार वा परिमार्जन हुन आवश्यक छ ।

नेपालमा विगत १५ वर्षदेखि नीतिनिर्माणको प्रक्रिया लगभग ठप्प छ । न्यायलय सुधारको साटो विघटनको प्रक्रियामा छ । प्रशासनिक संरचना झनै अस्तव्यस्त र भ्रष्ट हुँदैगएको छ । स्थानीय स्तरमा आधारभूत सेवा प्रवाहको स्थिति बिग्रँदो छ । नीतिनिर्माण प्रक्रियामा आम मानिसको सहभागिता शून्यप्राय छ । यसको जिम्मेवारी वा उत्तरदायित्व महशुस नगर्ने वा गर्न नचाहाने अनि ‘आम मानिस सकारात्मक भएर आफ्नो काम गरे विकास आफैं भइहाल्छ’ भन्ने तर्क गलत मात्र छैन सुनियोजित पनि छ ।

नेपालमा समाज रूपान्तरणको पहलमा यदि कुनै क्षेत्र सबैभन्दा बढी चुकेको छ भने त्यो हो राज्य र यसका उपल्लो तहका संरचना । राज्यको असक्षमता र कमजोरीको दोष सर्वसाधारण नागरिकलाई दिन मिल्दैन । सोच अमूर्त कुरा पनि हो । हामी सबैले सल्लाह गरेर वा अखबारमा लेख छपाएर विद्यमान सोचलाई परिवर्तन गर्न सक्दैनौँ –चाहे त्यो सकारात्मक होस् या नकारात्मक । सकारात्मक परिवर्तनका लागि आवश्यक नीति र पूर्वाधार राज्यले तयार पारिदिनुपर्छ । यो भूमिकामा राज्य कति प्रभावकारी छ हामी सबैलाई थाहा भएकै कुरा हो ।

समृद्धिको त कुरै छौडौँ आधारभूत आवश्यकता पूरा गर्न समेत असमर्थ गरिब र अपहेलित नागरिकलाई ‘अविकासको जिम्मेवार तिमीहरू नै हौ’ भन्ने नेपाल सरकारका मुख्यसचिवको सन्देश हाम्रो राष्ट्रिय अधोगतिको परिचायक उदाहरण पनि हुनसक्छ ।

काम, क्रोध, लोभ, मोह, अहंकार त्यागौँ

मुख्यसचिव लिलामणी पौड्यालको लेखमा विद्यमान विभिन्न विसङ्गतिका अतिरिक्त एउटा रमाइलो सन्देश पनि छ । त्यो हो, ‘काम, क्रोध, लोभ, मोह र अहंकार त्यागे जीवन आफैँ सुखी हुन्छ’, धेरै लेठो गरिरहनु पर्दैन । उनको शब्दमा ‘पूर्वीय दर्शन’मा उल्लेखित यो सन्देश नेपालको सामाजिक रूपान्तरणको आधार बन्न सक्छ ।

यदि यही सिद्धान्तलाई इमानदार भएर व्यवहारमा उतार्ने हो भने न पौड्यालले मुख्यसचिवको कुर्सीमा बसेर यत्रो दुख गरेर लेख लेख्नुपर्छ न त मैले यसको आलोचना गरिरहन आवश्यक हुन्छ । तर, मुख्यसचिवका रूपमा पौड्यालबाट राष्ट्रले अपेक्षा गर्ने सन्देश हामीले हरेक दिन टेलिभिजनमा हेर्ने ब्राम्हण पण्डाको प्रवचनभन्दा पृथक हुन आवश्यक छ । मुख्यसचिवका रूपमा उनले राज्यको संयन्त्र र संरचनामा कहाँकहाँ आवश्यक परिमार्जन/सुधार हुन आवश्यक छ ? यसका लागि विभिन्न क्षेत्रको भूमिका र यसको सफल कार्यान्वयनको योजना के हुन सक्छ ? भनेर चिन्तन गर्न र विचार दिनसके आम मानिसले पनि आफूले तिरेको करको सदुपयोग भएको महशुस गर्नसक्थे । सबै मानिसले काम, क्रोध, लोभ, मोह र अहंकार त्याग्न नसक्ने भएर नै राज्यको आवश्यकता परेको हो ।

अन्त्यमा,

‘नेपालमा सकारात्मक सोच छैन, त्यसैले हामी समृद्ध हुन सकेका छैनौँ’ भन्ने आम धारणा राज्य वा यसका प्रतिनिधिले चाहेको र गरिरहेको विराजनीतिकरण (डिपलिटिसाइजेसन)को परिणाम हो । नेपालको समस्या सकारात्मक सोचको अभाव होइन बरु राज्यको उपल्लो संरचनाको क्षयीकरण र अप्रभावकारिता हो । सकारात्मक सोच भ्रम पनि हो –कुनै पनि मुलुकमा मानिसको सोच सकारात्मक वा नकारात्मक प्रस्ट छुट्टिने खालको हुँदैन, न त नेपालमै छ । तसर्थ, हामीले यस्ता अमूर्त हल्लामा भन्दा सर्वप्रथम राज्यलाई प्रभावकारी र बलियो बनाउनमा ध्यान दिन आवश्यक छ । रूपान्तरणको जिम्मेवारी राज्यको थाप्लोबाट सोझासिधा गरिब नेपालीको थाप्लोमा सार्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ ।

[यस विषयमा अजय भद्र खनालको सटिक विश्लेषणका लागि उहाँको ब्लग हेर्नुहोस् ।]

No comments:

Post a Comment